उदयपुर । नेपाली साहित्यिक जगतमा लघुकथा विधाको गरिमालाई उच्च स्थानमा पुर्याउन अथक र मौन साधना गर्नुहुने वरिष्ठ लघुकथाकार लता केसीलाई ‘लघुकथा प्रतिष्ठान, नेपाल’ले आफ्नो चौथो वार्षिकोत्सवको विशेष अवसर पारेर ‘लघुकथा अभिभावक’ को सर्वोच्च उपाधिबाट सम्मान गर्ने ऐतिहासिक घोषणा गरेको छ । यो उपाधि केवल सम्मानपत्र मात्र नभई, नेपाली लघुकथा आन्दोलनको सैद्धान्तिक परिपक्वता र सर्जकीय जिम्मेवारीको नवीन युगको उद्घोष हो ।
२०८२ मङ्सिर १ गते सोमबार प्रतिष्ठानद्वारा जारी गरिएको विज्ञप्तिअनुसार नेपाली लघुकथाको विकास, विस्तार र विशेष गरी त्यसको सैद्धान्तिक धरातललाई बलियो बनाउन केसीले पुर्याउनुभएको अतुलनीय योगदानको गहिरो कदरस्वरूप यो उपाधि प्रदान गरिने भएको हो ।
लघुकथालाई ‘सत्यको सर्वनाम’ बनाउने नेतृत्व
विज्ञप्तिमा स्पष्ट भनिएको छ, केसीले लघुकथालाई साधारण तीन–चार अनुच्छेदको सीमित ढाँचाबाट माथि उकाली यसलाई “मनको चाल, समाजको प्रतिविम्ब र सत्यको सर्वनाम” बनाउने महाअभियानको नेतृत्व गर्नुभएको छ । उहाँको लेखनको गहनताले लघुकथालाई केवल कथा नभई, जीवनको सूक्ष्म दर्शनको ‘धारिलो हतियार’ का रूपमा स्थापित गर्न सफल भएको छ ।
प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजाल र ‘सन्दर्भ लघुकथा प्रधान पत्रिका’ का प्रधान सम्पादक अक्षान्तद्वारा संयुक्त रूपमा जारी गरिएको उक्त विज्ञप्तिले लता केसीको साहित्यिक यात्रालाई ‘मौन समर्पण र निरन्तरता’ को उदात्त उदाहरणका रूपमा चित्रण गरेको छ । उहाँको सेवाले आधुनिक लघुकथालाई ‘उत्तरदायित्वको उज्यालो’ देखाएको छ ।
विज्ञप्तिमा उद्धृत गरिएको एक सशक्त वाक्यांशले केसीको महत्त्वलाई अझ उजागर गरेको छ–
“लघुकथा बाँचिन्छ, बोलिन्छ, रहन्छ; र त्यसलाई समाल्नेहरू युगका उज्यालो हुन् ।”
लघुकथा प्रतिष्ठान, नेपालले लता केसीको लेखनमा झल्कने ‘कलमको उपहार’, ‘कलमको अनुशासन’ र ‘कलमको संस्कार’ जस्ता तीनवटा विशिष्ट गुणहरूको उल्लेख गरेको छ । प्रतिष्ठानको ठहर छ– लघुकथाका कठोर ‘बहसका गल्लीहरूमा’ उहाँ कहिल्यै विचलित हुनुभएन, बरु निरन्तर रूपमा अगाडि बढ्नुभयो । उहाँमा रहेको ‘अँध्यारोमा पनि उज्यालो देख्न सक्ने’ क्षमताले नवप्रवेशीहरूका लागि सधैँ प्रेरणाको स्रोत बन्ने काम गरेको छ ।
लता केसीलाई नवप्रवेशी लघुकथाकारका लागि प्रेरणादायी मार्गदर्शक मानिनुका साथै अग्रज साहित्यकारहरूले पनि उहाँमा “अनुभवको माटोबाट उम्रिएको स्मरण” देख्ने गरेको प्रतिष्ठानको दाबी छ । प्रतिष्ठानले यो ‘लघुकथा अभिभावक’ उपाधिलाई वर्तमान र भविष्यबीचको एउटा “सूक्तिमय सन्धि” का रूपमा परिभाषित गरेको छ, जसले नयाँ पुस्ताको सिर्जनात्मक क्षमतामा निरन्तर हरियाली थप्ने विश्वास व्यक्त गरेको छ ।
सम्मानित व्यक्तित्वका प्रमुख कृति तथा योगदानहरू
लता केसीको योगदान उहाँको लेखनमा मात्र सीमित छैन । उहाँको परिचय लघुकथा क्षेत्रमा यसरी पनि स्थापित छ :
क) प्रमुख लघुकथा सङ्ग्रहहरू :
- अ) ‘चोटदेखि मृत्युसम्म’ (२०७७) : जीवनका पीडा, सङ्घर्ष र सामाजिक यथार्थको सूक्ष्म चित्रण भएको विषयवस्तु ।
- आ) ‘दृश्य’ (२०७८) : सामाजिक मनोविज्ञान, यथार्थमा चोटिलो व्यङ्ग्य र विद्रोहको भाव समेटिएको ।
- इ) ‘सफलता’ (२०८०) : समकालीन समाजका विकृति, कुरीति र नारी सशक्तीकरणमा रुचि भएको विषयवस्तु ।
- ई) ‘पाहुर’ (२०८१/८२) : सामाजिक विषयवस्तु र व्यक्तिगत भोगाइमा आधारित लघुकथाहरू ।
ख) संस्थागत नेतृत्व :
उहाँ ‘हाम्रो लघुकथा केन्द्र, नेपाल’ की संस्थापक/निवर्तमान अध्यक्ष हुनुहुन्छ । यस संस्थामार्फत उहाँले धेरै नयाँ लघुकथाकारहरूलाई प्रशिक्षण दिनुभएको हुनाले उहाँलाई “लघुकथा–शिक्षक” का रूपमा पनि चिनिन्छ ।
ग) लेखन शैली :
उहाँका लघुकथाहरू सरल भाषाशैली र सामाजिक यथार्थको सूक्ष्म चित्रणका लागि प्रसिद्ध छन् ।
लघुकथाकार नन्दलाल आचार्यद्वारा ‘लघुकथा अभिभावक’ लता केसीको व्यक्तित्वलाई चित्रण गर्ने यो लघुकथा यहाँ प्रस्तुत छ :
लघुकथा : लघुकथा अभिभावक
“हजुर, रातभर सुत्नुभएन कि कसो ?” पुरानो टेबलमाथिको ल्यापटपले निस्तब्ध रात चिर्दै सोध्यो ।
उहाँले हल्का मुस्कुराउँदै भन्नुभयो, “म सुतेँ भने लघुकथाहरू पनि निदाउँथे बाबु !”
ल्यापटप झसङ्ग भयो– “हजुरले लघुकथालाई सन्तानझैँ हेरचाह गर्नुहुन्छ, तर आफैँलाई कहिल्यै सम्झनुहुन्न । छ दशक वसन्त फुलाउँदा पनि मालीझैँ हजुरले लघुकथाको बगैँचा सिँच्दै आउनुभएको छ ।”
…बाहिरको सहर निद्रामा थियो, तर उहाँको कोठा अक्षरको उज्यालोमा बाँचिरहेको थियो । बत्तीवरिपरि अक्षरका मौरी गुन्जिरहेका थिए ।
त्यसैबेला छेउको माउस चिच्यायो, “हजुरले सयौँ लेखक जन्माउनुभयो, तर कहिल्यै आफूलाई लघुकथामा जन्माउनुभएन !”
उहाँ हाँस्नुभयो, “मरेपछि मेरो नाम तिमीहरूको मेमोरीमा अडियोस्, त्यो नै काफी हो ।”
ओभरलोड पेनड्राइभका फाइलहरू आफैँ खुल्दै गए– सयौँ लेखकका नाम, असङ्ख्य कृतिका फोटा, हजारौँ लघुकथाका जीवित अक्षरहरू झिलमिलाए ।
ल्यापटप केही बेर मौन रह्यो, अनि बिस्तारै भन्यो, “हजुर, अब आफूलाई पनि लघुकथामा पात्र बनाइदिनुस् न !”
उहाँको अनुहार उज्यालोले भरियो– “म पात्र होइन, पृष्ठभूमि हुँ; जहाँ शब्दहरू सास फेर्छन्, कथाहरू बाँच्न सिक्छन् र लघुकथा अमर हुन्छ ।”
स्क्रिनको उज्यालो थप फैलियो । ल्यापटपले भावुक स्वरमा भन्यो– “त्यसैले त हजुर लघुकथाको आत्मा मात्रै होइन, भविष्य पनि हुनुहुन्छ– ‘लघुकथा अभिभावक’ !”
(समाचारदाता : नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर)
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



