निर्बन्ध- आख्यान कृतिको पाण्डुलिपिमाथि विमर्श सम्पन्न
वालिङ, स्याङ्जा, १५ पौष ।
निबन्धकार वसन्त खनालकृत ‘निर्बन्ध- आख्यान’ कृतिको पाण्डुलिपिमाथि केन्द्रित विशेष विमर्श कार्यक्रम सम्पन्न भएको छ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको ७औँ वर्षोत्सवको अविस्मरणीय एवं ऐतिहासिक अवसरमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३९औँ पाइलाको रूपमा यो कार्यक्रम आयोजना गरिएको हो। स्याङ्जाली साहित्यको इतिहासमै पहिलोपटक पाण्डुलिपिमाथि यसरी आयोजना गरिएको विमर्श कार्यक्रम मङ्गलवार अपरान्ह वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्टको पुस्तकालय कक्षमा सम्पन्न गरिएको थियो।
निबन्धकार वसन्त खनालको नवीनतम कृतिमाथि केन्द्रित रहेर अनौपचारिक रूपमा सञ्चालित उक्त विमर्श कार्यक्रमलाई अभियानका संस्थापक संयोजक एवं युवा कवि मिलन समीरले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा कृतिका स्रष्टा निबन्धकार वसन्त खनाल, कृतिका सम्पादक मिलन समीर, वक्ताद्वय अभियानका संस्थापक अभियन्ता शम्भु अर्याल र अभियन्ता पारिश्वर न्यौपानेद्वारा पाण्डुलिपिमाथि केन्द्रित रहेर गहन पाठकीय समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियो।

कार्यक्रममा अग्रज कवि व्यक्तित्व ध्रुवप्रसाद शर्मा पङ्गेनी र साहित्यप्रेमी व्यक्तित्व चक्र डुम्रेले नवीनतम निर्बन्ध- आख्यान कृति प्रकाशनारम्भ हुन लागेकोमा खुशी प्रकट गर्दै कृतिको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।


