अर्घाखाँचीमा दुई साहित्यिक कृति विमोचन


अर्घाखाँची, २५ पुस ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान, जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा दुई साहित्यिक कृतिको विमोचन सम्पन्न भएको छ । कार्यक्रममा साहित्यकार नारायण खनाल ‘नीलम’ को कविता सङ्ग्रह ‘जिजीविषाको लय’ र गजलकार डिल्लीराज घिमिरे ‘सङ्गम’ को गजल सङ्ग्रह ‘भँगेरी’ सार्वजनिक गरिएको हो ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद वस्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव तीर्थराज आचार्यले गर्नुभएको थियो भने उपाध्यक्ष कमल पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
विमोचित कृतिहरूमध्ये नारायण खनालको ‘जिजीविषाको लय’ माथि प्रतिष्ठानका पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार माधवराज चुँदाली र ध्रुवबहादुर खत्रीले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । त्यसैगरी, डिल्लीराज घिमिरेको गजल सङ्ग्रह ‘भँगेरी’ माथि साहित्यकार कल्पना मरासिनी र विष्णुप्रसाद वस्यालले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा स्रष्टा द्वय नीलम र सङ्गमका साथै विष्णुप्रसाद वस्याल, कल्पना मरासिनी, कमल पोखरेल, तीर्थराज आचार्य, बुद्धिराम गैरे, ईश्वरा पराजुली लगायतले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।

परम्परागत औपचारिक ढाँचाभन्दा केही फरक शैलीमा सम्पन्न उक्त कार्यक्रममा कुनै छुट्टै प्रमुख अतिथि तोकिएको थिएन । उपस्थित सबै महानुभावहरूबाट सामूहिक रूपमा कृतिको विमोचन गरिएको थियो । साहित्यिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।


