काठमाडौँ, पुस २२, २०८२ ।
साहित्यकार पार्वती पुडासैनीको नवीन कवितासङ्ग्रह ‘छेपारो समय’ हालै प्रकाशित भएको छ । उहाँले विगत ३० वर्षदेखि नेपाली साहित्यका कविता, कथा, निबन्ध र स्वास्थ्य विषयका लेखहरू लेख्दै आउनुभएको छ ।
पुडासैनीको नवीन कवितासङ्ग्रहमा ७५ वटा कविता सङ्ग्रहित छन् । ती कविताहरूले मानवीय मूल्य-मान्यतामा देखिएको विचलन, राजनीतिक गतिहीनता, मानवीय संवेदनाको ह्रास, मानवीय स्वार्थका कारण सत्यको पहिचान हुन नसकेको, समाजमा स्वार्थीहरूको बोलवाला बढ्दै गएको तथा मानिसमा शक्तिलोलुपता बढेको विषयलाई चित्रण गरेका छन् । मानिस सत्य र समृद्धितर्फ अघि बढ्नुभन्दा शक्ति र धनको मोहमा क्षण-क्षणमा रूप परिवर्तन गर्दै गएको र मानिसको सम्बन्ध प्रेममा भन्दा पैसामा नापिने गरेको भए तापनि सही विचार र दर्शनका माध्यमबाट संसार र समाजलाई उन्नतिशील बनाउन सकिने सन्देश कविताले दिएका छन् ।
‘छेपारो समय’ कृतिका सम्बन्धमा डा. हेम भण्डारी भन्नुहुन्छ– “कवि पार्वती पुडासैनीका कविता कोमल अनुभूतिका सरस अभिव्यक्तिमा अघि बढेका छन् । उनी मनका कविता लिएर प्रस्तुत भएकी छिन् । शब्दहरूको सजावट, लयको संयोजन र कविताको अस्तित्व निर्माण लगायतका पक्षमा उनको सचेतना मजबुत छ । उनका कविता सरल संरचनामा प्रस्तुत भई गम्भीर अर्थ ध्वनित गर्न सफल छन् ।”
त्यस्तै अर्का समालोचक डा. दामोदर पुडासैनी भन्नुहुन्छ– “पार्वतीका कविता बलजफ्ती रचिएका होइनन् । मान्छेले मान्छेलाई गरेको हेपाइ र अर्घेल्याइँ, मानव र प्रकृतिबीच चलिरहेको द्वन्द्व, राजनीतिले निम्त्याएको अँध्यारो-उज्यालो, मानवीय प्रेम र सद्भाव जस्ता विषयहरू उनका कवितामा समेटिएका छन् । छोटो संरचनामा व्यापक अर्थ दिन सक्ने क्षमता उनका कवितामा छ ।”
कवि पार्वती पुडासैनीको यो कवितासङ्ग्रह भुँडीपुराण प्रकाशन, बागबजारले प्रकाशनमा ल्याएको हो । प्रकाशन संस्थाका प्रबन्ध निर्देशक केशव पराजुलीले नेपाली काव्य भण्डारमा कवि पार्वती पुडासैनीको उपस्थिति प्रभावशाली भएको बताउनुभयो ।


