संस्मरण: बाल्यकाल
— जनक राज जोशी
मेरो बाल्यकाल कुनै परिकथाजस्तो सजाइएको थिएन, तर त्यो जीवनको सबैभन्दा साँचो र न्यानो अध्याय थियो। जहाँ अभाव त थियो, तर माया अपार थियो। जहाँ आँसु पनि थिए, तर हाँसो त्योभन्दा बढी थियो।
हाम्रो परिवार सात जनाको थियो— बुबा, आमा, हजुरआमा र हामी चार भाइबहिनी। मभन्दा जेठी दिदी राधा जोशी, मभन्दा कान्छी बहिनी बिन्दु र कान्छा भाइ धनञ्जय। हामी चारै भाइबहिनी साथीजस्तै थियौँ। ससाना कुरामा झगडा हुन्थ्यो, तर त्यो झगडामा पनि माया लुकेको हुन्थ्यो। रिस धेरै बेर टिक्दैनथ्यो; किनकि हामीलाई थाहा थियो— हामीसँग एकअर्काबाहेक अरू कोही थिएन।
बुबा रोजगारीका सिलसिलामा भारत जानुहुन्थ्यो। घरको जिम्मेवारी र हाम्रो भविष्यको सपना बोक्दै बुबा परदेशिनुहुन्थ्यो। घरमा भने हजुरआमा, आमा र हामी चार भाइबहिनी गरी कुल छ जना हुन्थ्यौँ। आमा बिहान सबेरै उठ्नुहुन्थ्यो; हामी सबैका लागि खाना बनाउनुहुन्थ्यो, स्कुल पठाउनुहुन्थ्यो र दिनभर घर–व्यवहार सम्हाल्नुहुन्थ्यो। हजुरआमाको काख हाम्रो पहिलो पाठशाला थियो। उहाँका कथाहरू, अनुभवहरू र मायालाई आज पनि सम्झँदा मन भरिएर आउँछ।
बुबा वर्षमा एक पटक मात्र घर आउनुहुन्थ्यो। तर, त्यो एक पटकको आगमन हाम्रा लागि कुनै चाडपर्वभन्दा कम हुँदैनथ्यो। बुबाले ल्याइदिनुभएका मनपर्ने खानेकुरा, नयाँ लुगा र साना उपहारहरूले हामी सबैको अनुहारमा खुसी छचल्किन्थ्यो। “बुबा आउनुहुन्छ” भन्ने खबरले हामी दिन गन्ती गर्थ्यौँ र बाटोतिर हेर्दै घण्टौँ कुर्थ्यौँ। टाढाबाट बुबालाई देख्नासाथ दौडिएर अँगालो मार्थ्यौँ। त्यो क्षणमा हामी न गरिबी सम्झन्थ्यौँ, न त अभाव नै। त्यही नै हाम्रो बाल्यकालको सबैभन्दा सुन्दर समय थियो।
हामी धुलोमा खेल्थ्यौँ, खेतबारीमा कुद्थ्यौँ र सामान्य कुरामा झगडा गर्थ्यौँ, तर बेलुका सधैँ एउटै थालमा बसेर खान्थ्यौँ। आज सम्झँदा लाग्छ— त्यो बेला हामीसँग धेरै भौतिक सुख थिएन, तर मन भने पूर्ण सन्तुष्ट थियो।
समय बिस्तारै बग्दै गयो र बाल्यकाल पनि टाढिँदै गयो। जेठी दिदी राधाको विवाह भयो; उनी आफ्नै घर–संसार बसाउन हाम्रो घर छोडेर गइन्। त्यसपछि घर एक्कासि शून्य लाग्न थाल्यो। म पनि उच्च शिक्षाका लागि तराई झर्न बाध्य भएँ। गाउँमा राम्रो शिक्षाको सुविधा नहुँदा सपना बोकेर घर छोड्नुपर्यो। आमा, हजुरआमा, बहिनी र भाइलाई छोडेर निस्कँदा मन निकै भारी भएको थियो।
आज हामी सबै आफ्नै जीवनको दौडमा र फरक–फरक बाटोमा छौँ। कसैलाई पढाइले, कसैलाई जिम्मेवारीले त कसैलाई जीवनका अन्य मोडले टाढा पुर्याएको छ। तर, जति टाढा पुगे पनि मनको कुनै कुनामा उही बाल्यकाल अझै जीवितै छ— जहाँ बुबा परदेशबाट फर्किनुहुन्थ्यो, आमाको माया असीम थियो, हजुरआमाको काख सबैभन्दा सुरक्षित थियो र हामी चार भाइबहिनी एकअर्काको साथले संसारकै धनी थियौँ।
बाल्यकाल फेरि फर्केर त आउँदैन, तर त्यसको मिठो सम्झनाले आज पनि जीवन जिउने ऊर्जा र शक्ति दिइरहन्छ।
–०००–
शैल्यशिखर ८, दार्चुला
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



