“त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये” : अमर ज्योति सम्मान, पुस्तक तथा पत्रिका लोकार्पणसहित कवि गोष्ठी कार्यक्रम सम्पन्न
विद्युतकर्मी साहित्यिक समाजको आयोजनामा सोही समाजका संस्थापक तथा प्रथम निर्वाचित कार्यसमिति अध्यक्ष केशवप्रसाद रूपाखेतीको सम्मानमा उहाँकै रचना उहाँलाई नै सुनाउने कार्यक्रम “त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये” सम्पन्न भएको छ ।
कार्यक्रममा केशवप्रसाद रूपाखेतीको कविता सङ्ग्रह ‘रमणीय धुनीबेँसी’ र विद्युतकर्मी साहित्यिक समाजको नियमित प्रकाशन ‘अमर ज्योति’ लोकार्पण गरिएको थियो । कार्यक्रममा साहित्यकार केशवप्रसाद रूपाखेतीलाई माला, दोसल्ला र उहाँको योगदान झल्कने सम्मानपत्र अर्पण गरिएको थियो । त्यसैगरी “त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये” कार्यक्रममा सम्मानित स्रष्टा रूपाखेतीकै आज लोकार्पण भएको कविता सङ्ग्रहबाट कविताहरू वाचन गरी उहाँलाई सुनाइएको थियो ।

“त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये” कार्यक्रममा विद्युतकर्मी साहित्यिक समाजका पूर्वअध्यक्षहरू विष्णुबहादुर सिंह, वीरेन्द्र पाठक, पुण्य घिमिरे, रामेश्वर राउत ‘मातृदास’ र कृष्णदेव रिमालले ‘रमणीय धुनीबेँसी’ कविता सङ्ग्रहमा सङ्ग्रहित कविताहरू वाचन गर्नुभएको थियो । त्यसैगरी सोही कार्यक्रममा विद्युतकर्मी साहित्यिक समाजका उपाध्यक्ष शारदा पराजुली, कोषाध्यक्ष मुकुन्दप्रसाद प्रसाईं, सदस्यहरू रमेश सागर, कविता सुवेदी, सङ्गीता पौडेल, रीता चालिसे, अनिल पौडेल र रामराजा ओझाले कविता वाचन गर्नुभएको थियो । “त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये” अन्तर्गत नै चक्रपाणि स्मारक प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेल, सचिव रामगोपाल आशुतोष र चाँगुनारायण साहित्य समाजबाट बसन्ती भुजेलले कविता वाचन गर्नुभएको थियो ।

सोही कवि गोष्ठी कार्यक्रममा समकालीन समयका सशक्त कविहरू नेत्र कुँवर “अशोक”, सुमन थापा ‘सङ्गम’ र राधिका कल्पितले कविता वाचन गर्नुभएको थियो । कविता वाचनकै क्रममा चिनियाँ साहित्यकार लिलीले चिनियाँ साहित्यकार स्याओमोको कविता वाचन गर्नुभएको थियो भने उक्त कवितालाई विद्युतकर्मी साहित्यिक समाजका पूर्वसचिव प्रकाश आचार्यले नेपालीमा रूपान्तरण गर्नुभएको थियो ।

लोकार्पण गरिएको कविता सङ्ग्रह ‘रमणीय धुनीबेँसी’ माथि वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी र विद्युतकर्मी साहित्यिक समाजका पूर्वअध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ ले समीक्षा गर्नुभएको थियो ।
त्यसैगरी विद्युतकर्मी साहित्यिक समाजको वार्षिक सम्मान कार्यक्रम अन्तर्गत ‘अमर ज्योति सम्मान २०८३’ बाट दोसल्ला, सम्मानपत्र र नगद रु. ५,००५/– सहित समाजका पूर्वसहसचिव यादवराज घले र पूर्वसदस्य विन्दु शर्मा आचार्यलाई सम्मानित गरियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रामप्रसाद पन्त रहनुभएको थियो । मिति २०८३-०३-०७ गते आइतबार सम्पन्न उक्त कार्यक्रम पुतलीसडकस्थित ‘ग्रिनलिफ फुड क्याफे’ मा भएको थियो । कार्यक्रममा उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । कार्यक्रमको सभाध्यक्षता र कार्यक्रमबारे प्रकाश पार्ने कार्य विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कवि विष्णुप्रसाद आचार्यले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत विद्युतकर्मी साहित्यिक समाजकी उपाध्यक्ष शारदा पराजुलीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव युवराज शर्माले गर्नुभएको थियो । अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।



