काठमाडौँ । अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको स्मृतिमा शोकसभा सम्पन्न भएको छ ।
राजधानीमा मंगलबार आयोजित उक्त शोकसभाको प्रारम्भमा शर्माको तस्बिरमा माल्यार्पण गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । सभामा बोल्ने अधिकांश वक्ताहरूले शर्माको व्यक्तित्व र साहित्यिक योगदानबारे चर्चा गरेका थिए ।
शर्माका मित्र, अग्रज साहित्यिक पत्रकार तथा रचना का प्रधान सम्पादक रोचक घिमिरेले शर्मासँग बिताएका विभिन्न अविस्मरणीय क्षणहरू स्मरण गरे । उनले भाषा–साहित्यमा आफूहरू जोडीकै रूपमा स्थापित भएको उल्लेख गर्दै कतिपय पुरस्कार तथा सम्मानहरू पनि संयुक्त रूपमा प्राप्त गरेको जानकारी दिए । शर्मा र अभिव्यक्ति साहित्यिक पत्रिका एकअर्काका परिपूरक जस्तै रहेको उल्लेख गर्दै घिमिरेले भने, “नाताले काका परे पनि उहाँसँग मेरो अत्यन्त घनिष्ठ सम्बन्ध थियो । मैले राजनीतिक परिवर्तनका कारण चार वर्ष रचना को प्रकाशन रोक्नुपरे पनि उहाँले अभिव्यक्ति लाई निरन्तर प्रकाशन गर्नुभयो । अभिव्यक्ति को निरन्तरता नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हो ।” उनले अभिव्यक्ति को प्रकाशन निरन्तरताका लागि सबैलाई सहयोग गर्न आग्रहसमेत गरे ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष एवं नराश कोषका सदस्य रामप्रसाद पन्तले शर्माका बारेमा जति लेखे पनि कम हुने बताए । उनले शर्मालाई उदार र सहृदयी व्यक्तिका रूपमा स्मरण गरे ।
नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष एवं जनमत का प्रधान सम्पादक मोहन दुवालले शर्मालाई अभिव्यक्ति मा आज पनि बाँचिरहनुभएको व्यक्तित्वका रूपमा सम्झिए ।
नेपाल स्रष्टा समाजका अध्यक्ष एवं नराशका सदस्य श्रीओम श्रेष्ठ ‘रोदन’ले भने, “शर्मालाई नबिर्सन उहाँले गरेका सत्कर्मको अनुसरण गर्न सकियो भने त्यो उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।” उनले अभिव्यक्ति पत्रिकाको निरन्तरताका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले शर्मासँगका पुराना सम्झनाहरू सुनाउँदै उहाँलाई ‘आँखामा राख्दा पनि नबिझाउने’ स्वभावका व्यक्तिका रूपमा चित्रण गरे ।
अग्रज कवि एवं नराशका सदस्य विधान आचार्यले शर्माका असल गुणहरूको अनुसरण सबैले गर्नुपर्नेमा जोड दिँदै उहाँले अनुकरणीय र प्रेरणादायी जीवन बाँचेको धारणा व्यक्त गरे ।
कार्यक्रममा अग्रज साहित्यकार किशोर पहाडी, ज्ञानुवाकर पौडेल, डा. नवराज रिजाल, शर्माका सुपुत्र प्रणयराज शर्मा, त्रिभुवनचन्द्र वाग्ले, शुकदेव उपाध्याय, तारा सुवेदीलगायतले शर्माको व्यक्तित्व र योगदानमाथि प्रकाश पार्दै आफ्ना अनुभव तथा अनुभूति साझा गरेका थिए ।
नेपाल स्रष्टा समाज, अभिव्यक्ति परिवार र नराशको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम अभिव्यक्ति का प्रधान सम्पादक एवं नराश साहित्यिक पत्रकारिता पुरस्कार कोषका अध्यक्ष पवन आलोकको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको सञ्चालन नराश साहित्यिक पत्रकारिता पुरस्कार कोषका सदस्य–सचिव देविका तिमिल्सिनाले गरेकी थिइन् भने धन्यवाद ज्ञापन कोषका कोषाध्यक्ष शंकर भारतीले गरेका थिए ।
शर्माको गत असार ३१ गते ८९ वर्षको उमेरमा निधन भएको थियो ।


