काठमाडौँ । कवि तारा सुवेदीको कवितासङ्ग्रह ‘अनुभूतिका महक’ लोकार्पण गरिएको छ ।
राजधानीमा आइतबार नेपाल स्रष्टा समाजको आयोजनामा सम्पन्न कार्यक्रममा शैलेन्द्र साकार, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा. कृष्णप्रसाद दाहाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, पवन आलोक र कवि तारा सुवेदीले संयुक्त रूपमा उक्त कवितासङ्ग्रह लोकार्पण गरे ।
कार्यक्रमका प्रमुख अतिथि अग्रज कवि एवं साहित्यकार शैलेन्द्र साकारले नेपाल स्रष्टा समाजमा रहँदाका पुराना दिनहरू स्मरण गर्दै सुवेदीलाई आफूले मिलनसार, सक्रिय र लगनशील व्यक्तित्वका रूपमा पाएको बताए ।
लोकार्पित कृतिमाथि चर्चा गर्दै प्रा.डा. कृष्णप्रसाद दाहालले सुवेदीलाई क्षमता भएका कविका रूपमा आफूले पाएको बताए । उनले करिब डेढ दशकदेखि कवितामा सक्रिय सुवेदीको यो कृति पहिलो कृतिजस्तो नलाग्ने उल्लेख गर्दै यसका कविताले पाठकको मन जित्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अग्रज कथाकार भागिरथी श्रेष्ठ, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, पवन आलोक, विवश पोखरेल, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, विधान आचार्य तथा चन्द्रप्रसाद भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कवि सुवेदीले आफ्ना अनुभूतिहरू पनि सार्वजनिक गरिन् ।
उक्त कार्यक्रममा लोकार्पित कृतिका कविता विधान आचार्य, राधेश्याम लेकाली, मणि लोहनी, प्रकाश घायल, रञ्जना निरौला तथा खुशी अधिकारीले वाचन गरे ।
श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रदीप सापकोटाले गरेका थिए भने स्वागत मन्तव्य डा. शान्तिमाया गिरीले राखेकी थिइन् ।


