श्रीमानकाे छट्पटी नियाली रहेकी शाेभाले
सान्त्वना दिदै भनिन् ;
“रातकाे १ बज्न लागि सक्याे। हजुर निदाउनु भाकाे छैन ! यसरी चिन्ता गरेर पनि हुन्छ ?”
शाेभाकाे कुरा सुनेर उनका श्रीमानले भने;
“नासै भाे ! त्यत्राे दूध दिने भैंसी मर्याे। अब कसरी तिर्ला बैककाे ऋण चिन्ता लागि रहेछ शाेभा!”
“देवर बाबुकाे आँखाबाट आँसु खस्दा साह्रै पीडा भयाे हजुर मलाई पनि।” शाेभाले थपिन्।
हिजाे देउरानी बहिनीलाई सान्त्वना दिउँ भनेर गाकाे थिए। भैंसी मर्नुमा कारण मै भए जस्ताे पाे व्यवहार गरिन्। नजिकै बसेकी कान्छी काकीले यसाे भनेपछि म छक्क परे।
“शत्रु लाग्याे। भैंसी मारिदिए। रिस गर्ने आफ्नै रहेछन्।”
“यस्ताे अपराध त आफू मार्ने शत्रुलाई पनि कसैले नगराेस्। हामी त एउटै भात भान्साका। यस्ताे अपराध साेच्न पनि सक्दैनाैं।”
शाेभाले मनकाे पीडा पाेखिन श्रीमानसँग।
” न खाकाे विष लाग्दैन।”
लामाे श्वास फेरेर शाेभाका श्रीमानले भने।
घटना घटेकाे रात बुढा बुढीले दुखेसाे पाेख्दै रात छर्लङ्ग कटाए।
घटना घटेकाे दाेस्राे दिनकाे बिहान-
चिया पसल मेलापात जताततै भैंसी मरेकाे खबर फैलियाे। भैंसी मर्नुमा सबैकाे आ- आफ्नाे अडकलबाजी थियाे । धनमान साहुकाे चिया पसलमा बहस भयाे। गाउँकाे जान्ने सुन्ने बलविरे काकाले कुरा उठाए।
” भैंसी मर्नुकाे कारण पक्कै छ। सारसाउँदाे भैंसी एक्कासी कसरी मऱ्यो ?” तिमीहरूलाई के लाग्छ केटा हाे ?
त्यहाँ मध्यकाे एउटाले प्वाक्क भन्याे,
” केही कैफियत छ काका।”
अर्काेले थप्याे;
” केही न केही त छ। मेराे बिचारमा विष खाएर मऱ्यो भैंसी ।”
“घरमा बाँधेकाे भैँसीलाई विष कस्ले दिन्छ? ” प्रश्न माथि प्रश्न थियाे।
” भन्न त नहुने। आँखाले नदेखि। तैपनी शत्रु टाढाका हुदैनन् काका! ” मिठ्ठारामले सशङ्कित भएर रत्न तर्फ कर्के आँखा लाउदै भन्याे।
एउटै आँगन करेसा जाेडिएकाे दाजुकाे घरभन्दा अर्काे कस्काे घर छ र नजिक। शंकाकाे सुई दाजुकाे घरतिर लगेर उनीहरू चुप लागे।आधा खान बाँकी चियाकाे गिलास भुइँमा राखेर रत्न घरतर्फ लागे।
आँगनमा भाइ झाेक्राएर बसेकाे थियाे। भाइलाई देखेपछि उनलाई झनै पीडा भयाे। सानाेमा आँफूले दुखै काटेर भएपनि भाइकाे इच्छा पुरा गरिदिएकाे। बासँगै काममा गएर भाइहरूकाे पढ्न खर्च जुटाउन सहयाेग गरेकाे। सबै सम्झिए उनले। रत्न सरासर आफ्नाे घरभित्र पसे र पत्नी शाेभालाई भने,
“शाेभा! अस्ति मैले राख्न दिएकाे पैसा छ नी।त्याे पैसा ल्याउँ त। भाइलाई अहिले अप्ठ्यारो परेकाे छ। अर्काे भैंसी किन् भन्नुपर्याे नत्र कसरी तिर्छ बैककाे ब्याज?”
शाेभाले श्रीमानकाे आग्रह स्विकार्दै पैसा ल्याएर हातमा राखिदिइन्। पैसा बाेकेर रत्न भाइकाे घर तर्फ लागे। उनले भाइलाई ढाडस दिदै भने;
” पिर नगर। जे नहुनु थियाे त्याे भयाे। ला याे पैसाले नयाँ भैंसी किनेर लेरा। ”
भाइले केही बाेल्न नपाउँदै बुहारीले भित्र काेठा बाट भनिन्;
” भाे भाे पर्दैन। हामीले जे काम गरे पनि शत्रु लाग्छ गरि खान दिदैनन्। पर्या छैन पैसा लिन।”
बुहारीले आक्राेस पाेखिन। पीडामा छन् के बाेल्नु भनेर रत्न चुप लागे।
बेलुकाकाे खाना खाने समयमा शाेभाकाे छाेराले भन्याे।
“पारी गाउँमा त यस्ताे हल्ला छ रे , दाजु भाउजुले विष खुवाएर भैंसी मारिदिए रे भन्ने। मेराे साथीले साेध्दै थियाे।”
शाेभाकाे परिवार ठुलाे तनावमा पर्याे। एकातिर आराेप अर्कातिर भाइकाे नाेक्सान।
” आमा! मैले पनि सुनेकाे धारामा माथि चमेली काकी र माइली काकी कुरा गर्दै थिए भैंसीकाे। मलाई देखेर चुपचाप लागे।” किन गाउँलेहरू भैंसी हामीले मारिदिए झै गर्छन्?”
छाेरीकाे प्रश्न थियाे?
छाेरा छाेरीकाे प्रश्नकाे जवाफ शाेभाका बुढा बुढी सँग थिएन ।
घटना घटेकाे तेस्राे दिनदेखि,
शाेभाकाे परिवारसँग देवर , देउरानीकाे बाेलचाल बन्द भयाे। उनिहरू दाजुकाे आँगनकाे बाटाे हिड्न पनि छाेडे। बेलुका शाेभाकाे ९ बर्षकाे छाेरा दिपेशले गुनासाे पाेख्याे।
मलाई बाटाेमा साथीहरूले जिस्काए ।
“ऊ…… भैंसी माराकाे छाेरा आयाे। भैंसी माराकाे छाेरा आयाे। म त स्कुल जान्न अब।”
बडाे दिलदार मन भएका थिए रत्न। आफ्ना र भाइका सन्तान छुट्टाउदैनथे। उस्तै माया गर्थे। घरमा मिठाे मसिनाे पाक्दा सँगै राखेर खुवाउथे। छाेरा- छाेरी पनि ठुला बा भनेर पछ्याउँथे ।
एकदिन बेलुकाकाे खाना देवरका छाेरा छाेरी र आफ्ना छाेरा छाेरी सँगै राखेर शाेभाले खान दिइन्। उनिहरू पनि खुशी भएर खाँए।
खाना खुवाएकाे एक हप्तापछि गाउँमा यस्ताे हल्ला सुनियाे।
कसैले नसुन्नेगरि चमेलीले शाेभाकाे कानमा मुख जाेडेर भनिन्;
” दिदी ! तपाईंको देवरकी छाेरी बिरामी छ रे। आफ्नैले खानामा बिगारिदिएकाे पाे भन्दा रैछन्। राति राति जान्ने आउँछ रे घरमा। तपाईंलाई त बाेक्सी पाे भन्दा रहेछन् त।”
चमेलीकाे कुरा सुनेपछि शाेभाकाे मन बेसरी दुखेकाे थियाे। अरूसँग भए प्रत्तिवाद गर्नुहुन्थ्यो । आफ्नासँग कसरी प्रतिवाद गर्नु।
शाेभाले यस्ता आराेप आफूमाथि लागाएपछि गाउँमा नबसाै। कतै टाडा गएर बसाै। यस्ता कुरा हामीले सुन्नै नपाेस् भनी धेरै पटक श्रीमानसँग गुनासाे गरिन्। मलाई देवर , देउरानी नजिक पटक्कै बस्ने मन छैन भनेर।
रत्नले त्याे पल श्रीमतीलाई सम्झाउदै भनेका थिए;
“शाेभा! आफ्नाे थलाे छाेडेर कहाँ जाने? आफु जन्मेकाे ठाउँ। आफ्नाे सालनाल गाडेकाे ठाउँ। सबै यहि छ। यस्ता साना तिना कुरा मनमा लिनु हुँदैन। यहीं बस्नुपर्छ।”
“देवर त पढेलेखेका मान्छे। सम्झाउनु पर्दैन बुढीलाई। यस्ता आराेप अरूमाथि लगाउनु हुन्छ?” शाेभाले आक्राेशित भएर भनिन्।
रत्नले धेरै पटक सम्झाए पछि बल्ल शाेभा चुप लागेकी थिइन् । त्यसपछि आँगनकाे डिलमा रहेकाे नासपातीकाे बाेटमा धेरै पटक पालुवा फेरिसकेकाे थियाे।
उदास अनुहार लिएर रत्नले याे पटक गाउँका लक्ष्मण काकालाई आफ्नाे घरबारी बेचे। श्रीमती र छाेरा छाेरीकाे खुशी हराम हुनेगरि लागेकाे आराेपबाट बच्न टाढा जाने गरि उनीहरूले गाउँ छाेड्ने निधाे गरे।
भाेलिपल्ट बिहान लक्ष्मण काकालाई घरकाे चाबी बुझाउन तयारी हुँदै थियाे। गाउँकी महिला स्वयंसेवीका दिदी हस्याङ्ग फस्याङ्ग गर्दै रत्नकाे घरमा आइपुगिन् र भनिन्;
“माैसम धुम्म थियाे। मैले बिहान आलुमा कीटनाशक बिषादी हालेर आएकाे थिए। बेलुका बाटाेमा अरू केटा – केटीसँग तिम्राे भाइकाे छाेरी खेल्दै थिई। उनिहरूले मेरै खेतकाे घाँस काटेर ल्याएछन् त्यहि घाँस खाएर भैंसी मर्याे “। गाउँकी स्वयम्सेवीका ले भैंसी मर्नुकाे कारण खाेलिन् देवर र देउरानीकाे सामु।
भैंसी विषादी घाँस खाएर मरेकाे कुरा पशु विशेषज्ञले पनि भनेका थिए।
” सुनिस् त भाइ! मेरा बा आमाले मारेकाे हाेइन रै छ त भैंसी। तैले हिजाे मलाई भैंसी माराकाे छाेरा भनेकाे हाेइन”।
खेल्दा खेल्दै शाेभाकाे छाेराले देवरकाे छाेरा तर्फ फर्केर भन्याे।
“मैले त मेरा बा आमाले भनेकाे सुनेर भनेकाे हुँ दाइ “!
त्याे अबाेध बच्चाकाे स्पष्टीकरण थियाे।
छाेराकाे कुरा सुनेर लज्जा बाेधले देवर देउरानीकाे शिर झुकेकाे थियाे।
” जे नहुनु थियाे त्याे भयाे। अब आफ्नाे गल्ती सच्चाएर माफी माग दाजु, भाउजुसँग।”
महिला स्वयम्सेवीका दिदीले भनिन्।
बा आमाकाे मुखमा हेर्दै भाइकाे छाेराले भन्याे;
” बा! ठुला बालाई घर छाेडेर नजानु भन्नू न। उहाँहरू गएपछि हामीलाई कस्ले माया गर्छ। हजुर घरमा नहुदा अरूले हेपेकाे बेलामा हामीलाई कस्ले साथ दिन्छ? मिठाे चाेखाे पाक्दा बाेलाएर कस्ले खान दिन्छ? ठुला बा त हाम्राे घरकाे बलियाे आधार हाे।”
छाेराकाे कुरा सुनेर उनीहरू लज्जित भए र भने;
” हामीलाई माफ गरिदिनुस्।”
” याे घर मलाई चाहिदैन। तँ गाउँ छाेडेर जाने कुरा नगर रत्न! हामी यहि गाउँमा जिउँदाकाे जन्ती र मर्दाकाे मलामी भएर बस्नुपर्छ।”
लक्ष्मण काकाले घरकाे चाबी फिर्ता गरे। भाइ- बुहारीलाई रत्नले माफ गरिदिए। छाेराहरू पनि मिलेर खेल्न थाले। आकाशमा मडारिरहेकाे बादल फाटेर छानामथि सफा निलाे आकाश देखा पर्याे।