“हो कि हो कि।”
नियालेर हेर्छु उसलाई — हो कि हो कि जस्तो लाग्छ । यता आफ्नो मन कागति निचोरेको झैं अमिलो हुन्छ ।
माघ ५ गते, आजै बिहानदेखि सुरु भयो । पुस फासफुस सकिएको छ । यहीं माघ ५ को कस्तो महत्व हुन्थ्यो जीवनमा । उ बिउँझिन् नपाउँदै गालामा च्वाप्प म्वाई खाइदिन्थेँ । मेरो म्वाईको झड्काले उ झसङ्ग हुन्थी र आत्तिदै बिउँझिन्थी । म भने जन्मदिनको शुभकामना भन्थे, उ मुस्कुराउँथी र चुम्बनको धङ्गधङ्गतीमा ‘धन्यवाद’ भन्दै उठ्थी ।
म पर्दा हटाउँछु झ्यालका सिसाहरुमा पानीको वाफ लपक्कै टाँसिएको छ । औलाले बाफ च्यात्दै हेर्छु एउटा सानो संसार, बाटोमा मान्छेहरु डम्म लुगा गुथेर कोही घामको प्रतिक्षामा र कोही कामका लागि कुदिरहेका छन्। पूर्वबाट एउटा बिरसिलो सूर्य हुस्सु छिचोल्दै देखिदै छ ।
‘कस्तो बिरसिलो बिहान’ म कल्पदै आफ्नै कोठामा केन्द्रित हुन्छु उ ओछ्यानमा कोल्टिएकी छे । म उसको कोल्टाइलाई एक नजर फ्याकिदिन्छु, अहो ! उहीँ हो कि हो कि ले म फेरि भाउन्न हुन्छु । दिमागमा एउटा तेज झड्काले हान्छ । म रन्थनिन्छु । हिजोआज यहीं रन्थनिनु नै दैनिकी भएको छ ।
‘कस्तो छ तिमीलाई शोभा ?’
मनको भित्री वाफलाई अलिकति चलाउन खोज्छु म ।
‘जिउ भारी भएको छ । हल्का टाउको दुखेको छ ।’
उ सिरकको गुटुमुटुभित्रै बाट बोल्छे ।
उसलाई हेर्न सक्दिन, शब्दहरु निशब्द छन् । आँखा कोठाभरि फ्याकिदिन्छु, अस्तव्यस्त छन् सामानहरु पर्दा विरक्तिएर झुण्डिएको छ । कोठा मेरो मानसिकता झैं हतास हतास छ । उदास उदास । कुनै पनि सामान ठिक र सन्तुलनमा छैन ।
म नियाल्छु आफ्नै विगत । सम्झन्छु आफ्नै सोचहरु ।
सब राष्ट्रिय सोच र अनुशासनमा बसेर बिताएछु । २५ वर्षको उमेरमा २१ वर्षकी केटीसंग बैवाहिक जीवनमा बाँधिए । दुई सन्तान इश्वरको बरदानलाई अक्षरशः पालना गरेँ । विदेशिएर हैन स्वदेशी माटोमा नै केही गर्नु पर्छ भनेर कृषिमा होमिइरहेँ । हेर्छु अझै आफैलाई, एउटी छोरी उच्च शिक्षाको लागि विदेश गएकी दुई वर्ष भयो । अर्की छोरी स्कुल छाडेर कलेज भर्खर पढ्दै छे । सन्तानको उमेरको भिन्नता, संस्कार र संस्कृति सरकारले भने लेखे बमोजिम नै दिएँ । आधुनिकता र नैतिकता संगसंगै बोकिरहेछु । सरकार, ‘सानो परिवार : सुखी परिवार’ भन्थ्यो । त्यसैमा चलेँ । पछिल्लो पटक ‘सुखी नेपाली सम्वृद्ध नेपाल’ भन्छ सरकार । आफूलाई खुसी नेपाली नै लाग्थ्यो । सम्वृद्ध नेपालको दिशामा आफुलाई सरिक गराइरहेकै छु ।
तर एक्कासी के भयो भयो । खाली हो कि हो कि जस्तो लाग्छ । मन त्यसै भाउन्न हुन्छ । कता के दुखेको, के नपुगेको वा के छुटेको जस्तो । मन, दिमाग अरठ्ठ भएर आउँछ । भत्भत्पोल्छ पेट ।
सोफामा बस्दिन । टिभी नखोलेको चार महिनै भयो क्यारे । आज पनि खोलिन । मोबाइलमा युट्युव र सामाजिक सञ्जालतिर आँखा लगाउन मन लागेन । यो मन भरङ्ग भएको छ । मन भरङ्ग भएपछि आफू आफू जस्तो हुदैन रहेछ । भगवान श्रीकृष्णले गीताको कुनै अध्यायमा मेरो मनको यो अवस्थाको बारेमा अर्जुनलाई केही सुनाएका थिए कि थिएनन् हँ ! जान्न मन लाग्यो । फेरि लागेन । कस्तो खोलाको फिँजजस्तो फुल्ने र क्षणभरमै फुट्ने भएको छ मेरो मन ।
शोभा उठ्छे । ट्रयाक र हुक्स लगाउँछे । रेशमी कपाल दाइंमा छर्किएको परालजस्तो जर्रो र छरपष्ट देख्छु । अनुहारमा कान्ति छैन । घडी हेर्छु १०ः२५ बजेको छ । घडीपछि आँखा उसको पेटमै जान्छ । फेरि हो कि हो कि जस्तो लाग्छ । यो मन कागती निचोरे झै अमिलो हुन्छ । ‘केही खानुपर्छ अब ’ शोभा आफ्ना भोका आँखाहरु फ्याक्छे मलाई । म फ्रिज खोल्छु र एउटा सानो क्याटबरी थमाइदिन्छु । उ आधा भाँच्छे र चुस्छे । आधा मेरै मुखमा हालिदिन्छे । म क्याटबरीको गुलियोभित्र गुलियो पाउँदिन । उ वाक्वाकी गर्दै बेसिन तिर दौडन्छे । हरे ! कस्तो हत्ते !
‘हो अब त पक्कै हो’ बेसिनबाट फर्कदै शोभा भन्छे ।
म अनुहार हेर्छु । उहीँ अस्तव्यस्त छ । श्रृंगार नगरिएको आफ्नै बुढीको अनुहार कान्तिहीन लाग्छ । अझ त्यसमाथि उ त भर्खर बेसिनबाट वाक्वाकी गरि फर्किएकी छे । पसिना छुट्न खोजेको छ निधारबाट । आँसुका दुई मोटा दाना झरेका छन्। प्रष्ट बगेको छ गालाबाट चिउँडो तिर । म हेर्छु उसको अनुहार । कस्तो नीरस ! यहीं निधार, यहीं आँखा, यहीं कपाल, यहीं नाक, कान, घाँटी , यहीं सम्पूर्ण अवयवहरु अलि अघिसम्म कति सुन्दर । फेरि अहिले कस्तो कान्तिहीन । कन्तबिजोग ।
भाइवर भर्भराउँछ । हेर्छु । विदेशबाट छोरीले कल गर्न खोजेकी रहिछे । हामी डाइनिङ्ग टेबलको मेचमा बस्छौं । मुखमा बनावटी खुसी मुस्कुराउँछ । म शोभालाई हेर्छु । उसको चेहरामा पनि नक्कली खुसी छ ।
भाइवर अन गर्छु ।
‘काठमाण्डौंबाट छोरी प्यारी लाई नमस्कार ।’
‘सिड्नीबाट बाबामामुलाई दर्शन ।’
हाम्रो सम्वाद सुरु हुन्छ । भाइवरको यो हाम्रो ओपनिङ्ग वा ओयलकमिङ्ग सम्वाद हो । यसपछि कथा, परिवेश, परिस्थिति, काल आदिले जे जे माग्छ त्यतैतिर बरालिन्छौ ।
म सोध्छु, ‘कता, कलेजबाट कोठातिर ?’
‘हैन, काममा जान लागेकी ।’ उ भन्छे ।
हेर्छु, छोरीलाई । उ कपाकप चिकेन बिर्यानी खाइरहेकी छे प्लाष्टिकको टिफिन क्यारेटबाट । कस्तो बदमास जिन्दगी विदेशमा । मेरो मन फेरि हुडलिन्छ । यता नेपालमा हुँदा खाना खान आउ छोरी भनि पाँच पटक बोलाउनै पथ्र्यो । आइसकेपछि थाल, कचौरा, प्लेटमा सबै सफा चट सजाएर दिइन्थ्यो ।
अनि मात्रै उ बिस्तारै खान्थी । विदेशमा त भागमभागको जिन्दगी । बदमास समय । बदमास जिन्दगी ।
खानलाई पनि फुर्सद छैन । हरे !
‘हजुरहरुले खाना खाइस्यो त ?’
छोरी चपाउँदै बोल्छे ।
‘खाना पकाएको छैन ।’
यताबाट शोभाको मलिन आवाज सुनिन्छ ।
‘११ बजिसक्यो, किन नपकाएको ?’
‘ल छिटो छिटो पकाइस्यो । मेरो ४५ मिनेटको यात्रा छ । यही यात्रामा म हजुरहरुले पकाएको र खाएको
हेर्न चाहान्छु ।’
‘हुन्छ ।’ म भन्छु ।
मोबाइल डाइनिङ टेबलमा रहेको थर्मसमा अडेस लगाइदिन्छु । मोबाइलको स्क्रीनमा छोरीको मामु र बाबा प्रष्टसंग देखिएको छ । शोभा मेचमै बसेर छोरीको कुरा सुन्छे । म फ्रिजको तरकारी निकाल्छु । पखाल्छु र फेरि मोबाइलमै
आफ्नो छाँयाछवि देखिने गरि तरकारी काट्न थाल्छु ।
छोरी भन्छे — ‘मामुको अनुहार किन मलिन ?’ फेरि थप्छे —‘खै बाबाको हेरम्त ।’
म बनावटी एक मुठी थप मुस्कान अनुहारमा दल्छु र च्यात्छु आफ्नै दुई हरफ ओठ । दाँतहरु देखिन्छन् ।
‘बाबाको अनुहारमा पनि चमक छैन ।’ छोरी पडकिन्छे, ‘के भयो भनिस्यो त ?’
‘केही भएको छैन ।’ हामी यताबाट बोल्छौं ।
पत्याए पो । उ मरे पत्याउँदिन । म आलु काट्छु । प्याज काट्छु । प्याजको पिरोले आँखामा पोल्छ ।
आँसु बरर्र झार्छु । मडारिएको मन हल्का हुन्छ ।
शोभा भन्छे — ‘खै, म प्याज काटिदिन्छु ।’
उसको पनि मन हलुका बनाउन चाही उसले ।
म चपिङ बोड, चक्कु र एक दाना प्याज उसलाई दिन्छु । उ प्याजलाई काटी बस्छे । के को लागि प्याज काटेको उ भेउ पाउँदिन । छोरीको कुरा सुन्दै र हो मा अँ मिसाउँदै उ प्याजलाई भुजुरी बनाउँछे । अस्तव्यस्त पारामा म उसलाई हेर्छु । मनका आवेगहरु सब प्याजमा टुक्राटुक्रा गरि काटिएका छन्। मनका मैलाहरु आँखाबाट बरर झरेका छन्। म राइस कुकरमा खाना चढाउँछु । आलु, प्याज, गोलभेँडाको तरकारीमा छिपछिपे रस हालिदिन्छु । हरियो खुर्सानी र हरियो धनियाँ काटेर ठिक्क पारेको छ । पाकेपछि माथि माथि छर्किनु पर्छ ।
छोरी भन्छे — ‘मलाई किन आजकाल फोटोहरु नपठाइसेको ? न बाबाले पठाइसिन्छ, न मामुले पठाइसिन्छ । के भयो हजुरहरुलाई ?’
म किचेन स्ल्यापसंगै ठिङग उभिन्छु । के भएको छ भन्नु ? केही त पक्कै भएको छ । मनमा आँधि हुरि नै चलेको छ । डढेलो लाग्दै छ बिस्तारै । सखाप हुँदैछ शरीर । तर भनिदिएँ — ‘सब ठिक छ । केही भएको छैन छोरी ।’
‘अनि किन फोटो र भिडियोहरु नपठाइसेको ? त्यही फोटो र भिडियो हेरेर त मेरो मन रमाउँछ । यहाँको घर, सडक, सफाई, विकास अनि गोरो छाला र नीलो पानी त सब पराई हुन्।’छोरी बोल्दा बोल्दै मलिन भई । तरर्र आँसु झारी । पुछी आफैले । हामीले नदेखेको जस्तो गऱ्यौँ । भावनाको आँसुलाई शब्दको मलमलले पुछ्नै सकिदैन रहेछ ।
४५ मिनेट तुरुन्तै सकियो । छोरी काममा खटिई । आठ घण्टा काम छ रे ।
छोरी ओझेल परेपछि भान्सामा फेरि हामी दुई नै रह्यौं । मोबाइल बोल्न छाड्यो । आफु रोई रोई हामीलाई पनि रुवाएर गई छोरी । धन्न प्याजको तरकारी काटिएछ र हामी रोएको चालै पाइन ।
अब खाना खाने बेला भयो । शोभा उठी । उसको उठाई नै ढिलो छ, आजभोलि ।
म उसको उठाईलाई धीर र शान्त पाराले हेर्छु । हाँसको चाल छ उसको । उठ्दा ट्रयाक पछाडीबाट पेन्टी देखिएको थियो — घ्यू रंगको । नितम्ब जाँतोजस्तो चाक्लिएको छ । पेट हल्का हो कि हो कि ? जस्तो ।
म खाना पस्किन्छु । उसलाई दुई पन्यू । आधा नै हटाई । खाना नै रुच्दैन उसलाई । म आजकाल नबोली हेर्छु शोभाका हरेक गतिविधिहरु । उ पनि हरेक गतिविधिहरु नबोलीकनै गर्छे आजकाल । ‘खाना त खानु पर्छ नी लाटी ।’ म उसको कपाल सुमसुम्याउँदै बोल्छु । उ चुपचाप औँलाहरु ले भातको
सिता गनि बस्छे ।
कस्तो अप्ठेरो ! दुई छोरीहरु छन्। सक्षम, जवान, यस्तो अवस्थामा नयाँ बच्चा जन्माउनुको के अर्थ ? छोरीहरुले के भन्लान् ? समाजले छोराको आशामा लोहनीले बच्चा जन्माउन लाग्यो भन्लान् । हाम्रो समाज पनि छिः कति घिन लाग्दो ! मैले कुरिलो नेपालमा व्यवसायिक खेति अभियान बीस वर्ष चलाएँ । मेरै पछाडीको घरले बुझ्दैन । फोहर व्यवस्थापन गर्दै नेवारहरुको परम्परागत शैली साःगालाई
पुर्नर्जीवन दिई प्रांगारिक मल बनाउने कामको अभियान चलाएको आठ वर्ष भयो । टोलका साथीहरुलाई थाहा छैन । तर मेरी बुढीको खस्केको अनुहार, चाक्लिदै गएको नितम्ब र हो कि हो कि ? जस्तो लाग्ने पेटमा भने वल्लाघरे, पल्लाघरे छिमेकीहरुको चासो बढेको जस्तो लाग्न थालेको छ । अहो, हाम्रो समाज
! पेटभित्रको अदृश्य गतिविधि कसरी थाहा पाउँछन ? आश्चर्य र अन्यौलमा छु ।
शोभा दुई गाँस चारो टिप्छे । म उसका क्रियाकलपाहरुमा आँखा झिम्म गर्दिन । नियाल्छु । मेरो पनि थालमा यहीं चारो छ । हल्का चलाउँछु । हल्का हाल्छु मुखमा । खै ! स्वादै छैन । हिजोआज केहीमा पनि स्वाद लाग्दैन । केहीमा पनि रस देखिदैन । हामी दुबै उस्तै उस्तै छौं । शोभा वाक्क गर्छे र बेसिनमा थुक्छे । थालको चारो थालमै छोड्छे । मलाई पनि चारो टिप्न मन लाग्दैन । थालमै छोडिदिन्छु । छोरीहरुलाई बच्चामा पढाएको सम्झना आयो । उनीहरुको कितावमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले
लेख्नु भएको बाल गीत सम्झेँ —
चिर्चिर गर्छे भङ्गेरो
चिर्चिर गर्छे भङ्गेरी
…………………..
बालगीतको पुरै भाव भङ्गेरा र भङ्गेरीको क्रियाकलापमा छ । प्रेमिल अवस्थामा समस्या, अभाव र अन्यौलमा पनि स्वाद, रस र संगीत हुदो रहेछ ।
सम्झन्छु, २०५५ सालको सुरुवाती दिन । यहीं समयमा बुढीले वाक्वाक् गर्थी । त्यहीँ वाक्वाक् कति प्रिय थियो । त्यहीँ समय उसको चाक्लिदै गएको नितम्बमा कस्तो रस थियो । हो कि हो कि लाग्ने उसको पेटमा कत्रो रहस्य थियो । हो कि हो कि पेट केही महिनामा हो मा परिणत भयो । त्यसपछि उसको अनुहार बिस्तारै खस्किँदै गए पनि शोभाको अनुहारमा छुट्टै आभा थियो । हाम्रो परिवारको शान, मान दोब्बर बन्दै गयो । हामीमा कति धेरै हाँसो खुशी फैलियो । सपनाहरु जन्मिए । सपनासंगै छोरी
जन्मिई । त्यहीँ छोरी अहिले अष्ट्रेलियाबाट सधैं भिडियो च्याट गर्छे । म वर्तमानमा फर्कन्छु । वर्तमानमा उहीँ कोठा, उहीँ मान्छे र उहीँ परिस्थिति छ । साबुन दलेर धुन
मिल्ने भए, परिस्थितिलाई कति मिचिमिचि धुन्थेँ म, तर नमिल्ने । त्यसै छोडिदिएँ ।
शोभाको मिल्किएको खानासहितको थाल सिङ्कमा राख्छु । आफ्नो त पहिल्यै राखिसकेँ ।
भन्छु —‘जुस खाउ बुढी ।’ यस्तो बेला जुसबाट शक्ति लिनुपर्छ ।
उ ‘नाई नाई’ को इशारामा हात हल्लाउँछे ।
सानी छोरी कलेजबाट फर्किएपछि जचाउँन जानु पर्छ । म योजना बनाउँछु । शोभा मेरो योजनालाई ‘हस’ भन्ने संकेत दिन्छे ।
सम्झन्छु, सानो छोरी — उ पनि कलेज पढ्ने भइसकी । यस्तो बेला फेरि बच्चा जन्माउनु, घाममा सुताउनु, तेल लगाउनु, आची सोर्नु, हुर्काउनु, नर्सरी यूकेजी पढाउनु । म त सम्झदा सम्झदै कहालिन्छु ।
म सोध्छु — ‘तिम्रो मिन्स रोकिएको कति भयो बुढी ?’
‘ठ्याक्कै ७२ दिन भयो ।’ शोभा माघको तुसारो झै चिसो पोख्छे ।
म उसको पेटमा आँखा राख्छु । पेट हल्का उचालिएको छ । हो कि हो कि ? जस्तो ।
‘दुई महिनाको भ्रुण कत्रो हुन्छ ?’ शोभा सोध्छे । मलाई पनि के थाहा । गुगल सर्च गरे त पक्कै बताउँछ होला । तर खै र जाँगर ? भनिदिएँ — ‘थाहा छैन ।’
तीन बजे कान्छी छोरी आई । हामी उसको मुख हेर्छौ क्वारक्वार्ती । स साना डण्डिफोरहरु आउन थालेछन्।
‘के हेरेको ?’ आजकालका बच्चा हो । झर्किई भोकको तालमा । आमाले अनार काटिदिई । अम्लेट बनाई दिई । चिउरा र बिहानको त्यहीँ आलु प्याजको तरकारी हाली छोरीलाई टक्राई । छोरी आइप्याडमै मस्त ।
हामी निस्कन्छौं घरबाट । पहिरनमा कुनै परिवर्तन थिएन । म ट्रयाकसुटभित्रै थिएँ बिहानैदेखि । उ पनि ट्रयाक र हुक्समा थिई । त्यसैमा निस्कियौं । स्कुटी पोस्न जाँगर छैन । यो जाँगर ३० दिन यतादेखि क्रमशः हराउँदै जाँदो छ । हामी नजिकको मेडिकलमा छिर्छौ, जो पहिलेदेखि नै हाम्रो चिनजानमा छ । मान्छे बसिरहेका थिए
बेन्चमा । भन्ने के ? सोध्ने के ? प्रश्नले आफैलाई हँसिया देखायो ।
कम्पाउण्डरले सोध्यो — ‘के भयो अंकल ?’
मनमा अनेक कुराहरु खेलाएपछि, आफ्नो जाँगर आफैले मारेपछि यो उमेर ह्वात्तै बढ्दो रहेछ । दुई महिना अघिसम्म यही कम्पाउण्डरले हामीलाई दाई भाउजु भनि टोपल्थ्यो । म चुपै भएँ । शोभाले बोली — ‘पिसाव जचाउन आएको । प्रेग्नेन्टको शंकाले ।’
उसले सानो बट्टा दियो । त्यही बट्टा लिएर बुढी ट्वाइलेट छिरी ।
कम्पाउण्डर मलाई हेर्दै फिस्स हाँस्छ । तर कस्तो नमिठो हाँसो । त्यसो त आजकाल हरेक कुराहरु नमीठो नै लागिरहेकै छ । शोभा ट्वाइलेटबाट निस्किई । कम्पाउण्डरले नाम र उमेर सोध्यो ।
नाम: शोभा लोहनी
वर्ष: ४३
लिङग: स्त्री
‘कति भयो मिन्स रोकिएको ?’
७२ दिन ।
कम्पाउण्डरले कागज र पिसाव एकै ठाउँमा राखेर सानो झ्यालबाट ल्यावपट्टी पठाईदियो । हामी बेन्चमै बस्यौँ । चुपचाप चुपचाप ।
आधा घण्टापछि रिपोर्ट आयो । कम्पाउण्डरले बन्दखाम हामीलाई थमाईदियो । हामी व्यग्र प्रतिक्षामा छौं — नतिजाको । तर यो परीक्षामा हामी पास हुनु छैन । हामी फेल हुन चाहान्छौं यस्तो परीक्षा हामी दुबैले पहिलो चोटी दिएका थियौं, झुक्किएर । तर कहिले, कहाँ, कसरी, केही थाह छैन ।
मैले फटाफट खाम खोलेँ ।
पत्रमा लेखिएको थियो — नेगेटिभ ।
हामी दुबैको आँखा चार भए । शोभा हाँसी । म हाँसे । अघिसम्म हो कि हो कि ? भनिरहेको बुढीको पेटले हैन छैन भनिरह्यो ।
मैले हाम्रो जोडीको सेल्फी लिएँ । फोटोलाई फेसबुकमा अपलोड गरेँ, बुढीलाई ट्याग गरेँ । लाइक, कमेन्ट मकै पड्के झैँ पड्कन थाल्यो ।
अधिकांश कमेन्टहरुमा लेखिएको छ — सुन्दर जोडी
तपाईको पनि कमेन्ट पाउन प्लीज ।
deepak.lohani@gmail.com