‘कृति परिचयात्मक समिक्षा
ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका ५, यसममा जन्मेका कुमार काफ्ले पेसाले माध्यमिक विद्यालयका शिक्षक हुन् । सिद्धिचरण पुस्तकालयका संस्थापक अध्यक्ष उनी साहित्यप्रति विशेष गरि कथा र लघुकथा लेखनमा सक्रिय छन् । उनले शिशिर वसन्त साहित्यिक मासिक र हातेमालो साहित्यिक सङ्गम पत्रिकाको सम्पादन कार्य पनि गरेका छन् । कथा यात्री कुमार काफ्लेको ‘हजार सपना’ उपन्यास २०७२ सालमा प्रकाशित छ भने उनले ‘लिखु पालिका गीत’ लगायत अरु थुप्रै गीत, कविता, निबन्ध, नियात्रा पनि रचना गरेका छन् । यहाँ भने उनको नवीनतम् लघुकथा सङ्ग्रह ‘सपना कतिपय’ को परिचय प्रस्तुत गरिएको छ ।
नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनद्वारा प्रकाशित कुमार काफ्लेको ‘सपना कतिपय’ लघुकथा सङ्ग्रहभित्रका जम्मा चौवन्नवटा लघुकथाहरू छन् । अहिले नेपाली साहित्यमा धेरैभन्दा धेरै लेखिनेमा परेको छ लघुकथा । हिजोआज फुटकर र सङ्ग्रहकै रूपमा पनि धेरै लेखिने र प्रकाशन हुने लघुकथा नेपाली साहित्यको दशको दशकदेखि बीसको दशकसम्म सुषुप्तावस्था रह्यो र यसलाई तीसको दशकका केही युवा कवि लेखकहरूले सक्रियताका साथ लेख्न प्रारम्भ गरेका थिए । तर फेरि लघुकथा लेखनमा केही सुस्तता आएको कारण यसको लेखनले खास उन्नतिको उचाइ छुन नसके पनि पचासको दसकदेखि लघुकथा लेखनले विस्तारै गति लिएको थियो।
प्रविधिको विकाससङ्गै आएको नयाँ नयाँ पद्धतिको कारण जब सामाजिक सञ्जालमा लघुकथाका समूहहरू खोलेर यसलाई बढि सामाजिकीकरण गरियो तब लघुकथा लेखनले तीव्रता लिएको पाइन्छ । सामाजिक सञ्जालमा ‘लघुकथा कुनो’ नामको समूह खोलेर कथाकार एवम् कवि नारायण तिवारीले लघुकथा लेखनलाई अघि बढाए । कुमार काफ्ले ‘लघुकथा कुनो’ को एडमिन पनि हुन् । उनी कथा, लघुकथा लेखनको अलावा समीक्षा समेत गर्ने गर्दछन् ।
‘लघुकथा कुनो’को स्थापनापश्चात धेरै युवा र स्थापित लेखक कविहरूले लघुकथा लेखनमा रुचि मात्रै देखाएनन् लघुकथा लेख्नमा पनि उत्तिकै सक्रिय भए । फलस्वरुप लघुकथाका पुस्तकहरू पनि धमाधम प्रकाशन हुन थाले । यो लघुकथाकारहरूको निम्ति खुसीको कुरा पनि हो । यही खुसीमा सामेल भएका छन् लघुकथाकार कुमार काफ्ले ।
लघुकथाकार काफ्लेका अधिकांश लघुकथामा नेपाली जनजीवन, समाज र राजनीतिक अस्तव्यस्ता, बेथिती, विकृति र विसङ्गतिबाट उत्पन्न अनेक सामाजिक कुरीति र परम्पाराबाट प्रारम्भ भएका अनेक महत्वपूर्ण पक्षहरूलाई समावेश गरिएको छ । प्रायः गाउँ र गाउँलेहरूको जीवन चरित्र, सामाजिक अवस्था र दिनचर्याका जटिल विषयहरूलाई लघुकथामा प्रस्तुत गरिएको छ । लेखकले आफैंले अनुभव र अनुभूति गरेका अनेकौँ विषयलाई साहित्यको माध्यमबाट अभिव्यक्त गरेको हुन्छ । आफू बाँचेको समय, त्यो समयको सामाजिक र राजनीतिक अवस्था तथा त्यसबाट जनजीवनमा परेको प्रभावलाई नजिकबाट नियालिरहेको एउटा लेखकले तिनै विषयलाई साहित्यिक रचना मार्फत जनसमक्ष अभिव्यक्त गर्नु नै लेखनको उद्देश्य पनि हो । जीवन र जगतलाई मुख्य केन्द्रबिन्दु मानेर लेखक लेखनमा अग्रसर भएको हुन्छ । चाहे त्यो कविता, निबन्ध, कथा, उपन्यास, नाटक र संस्मरण नै किन नहोस् त्यसमा मानिसको जीवनको महत्वपूर्ण पक्ष आवद्ध भएकै हुन्छ ।
यस सङ्ग्रहभित्रका लघुकथामा पनि लघुकथाकार काफ्लेले यौन पिपासुहरूको कुकृत्य, समाजमा महिलाहरू प्रतिको शोषण, दुर्व्यवहार जस्तो कि बोक्सीको आरोप लगाएर मानव मल–मुत्र ख्वाउनु, छाउपडी गोठमा राख्नु, छोरी मात्र जन्माई भनेर हेँला गर्नु, शारिरिक र मानसिक याताना दिनु आदिजस्ता विषयलाई सशक्तरूपमा प्रस्तुत गरिएको छ । यसरी हेर्दा उनका लघुकथाहरूमा समाजको सजीव चित्रण पाइन्छ । धेरैभन्दा धेरै सामाजिक विषयमा लेखिएका लघुकथाहरूमा हाम्रो देशको राजनीति र सामाजिक दूरावस्थाप्रति असन्तोष र आक्रोश व्यक्त गरिएको छ ।
हाम्रो समाज खासगरी गाउँले समाजमा प्रायः जसो घटिरहने दैनिक घटना र त्यसबाट पीडित महिला र शोषित वर्गमाथि भइरहेको अन्याय र असमानताले गर्दा अहिलेको एक्काइसोँ शताब्दीमा पनि हाम्रो समाजको स्थिति कस्तो छ, र हाम्रो समाज कहाँ छ भन्ने कुरा यी लघुकथाहरूबाट प्रष्ट हुन्छ ।
यस लघुकथा सङ्ग्रहमा स्वतन्त्रताको लागि आवाज उठाइएको छ । ऋण लिएर मोजमस्ती गर्नेको दुःखद् स्थिति, प्रेम विवाहपछि पति र पत्नीबीचको मनमुटाव हुँदा एकले अर्कोप्रति विगतको चरित्रमाथि प्रश्न उठाइएको, आफ्नो स्वार्थको निम्ति मालिकको घरको कुकुर र विरालोको पनि प्रशंसा गर्नुपरेको वाध्यता, गरिबीको फाइदा उठाएर गरिएको विदेशी अतिक्रमण र चलखेल, राजनीतिक स्वार्थमा लिप्त भएका नेताप्रति आक्रोश व्यक्त गर्दै सार्वजनिक समारोहमा नै नेता उपर जुत्ता प्रहार गरेको यथार्थता, देशमा चलेको माओवादी आन्दोलनले ल्याएको परिवर्तन र विकृति, शहर पसेको छोराले आमाप्रति गरेको उपेक्षा र त्यहीँ छोरालाई आमाले दर्शाएको ममत्व, पीडित र एक्ली महिलाप्रति कुदृष्टि लगाउनेहरूको आँखामा खुर्सानीको धुलो छर्किदिनुपर्ने बाध्यता, पश्चिम नेपालमा महिलालाई महिनावारी हुँदा छाउपडी गोठमा राखिने कुसंस्कार र परम्पाराको विरोध, जुवाडेको कथा, भ्रष्टाचारीको कर्तुत, राजनीतिक परिस्थित बदलिए पनि पटक पटक आन्दोलन गर्नु परिरहेको अवस्था, धनले मात्र मान्छे सुखी हुँदैन र त्यसको निम्ति जिउने कलाको पनि आवश्यकता पर्दछ भन्ने उपदेशहरू पनि छन् लघुकथाहरूमा ।
यसका साथसाथै अहिलेको अवस्थामा वैदेशिक रोजगारीको निम्ति विदेशमा गएको छोराको लास बाकसमा पार्सल भएर आउँदा परिवारमा परेको बिछोडको पीडा, छोरीलाई पढाउन हुँदैन भन्ने अभिभावक प्रतिको व्यङ्ग्य, नेताको भनाई र गराइमा तालमेल नखाने कटु यथार्थता, शहर पसेको युवा संसारभर महामारीको रूपमा फैलिएको कोभिड–१९ नामक कोरोनाले गर्दा गाउँमै फर्किनु परेको बाध्यता, चेलिबेटी बेचबिखनको कथा, विदेश गएको लोग्नेले पठाएको पैसामा मस्ती मार्ने स्वास्नीमान्छेको कथा, वृद्ध र पत्नी वितेपछि एक्लो भएको वृद्ध पुरुषको पीडा, बाहिरी अनुहारको रङ हेरेर मात्र कसैप्रति पनि दुर्व्यवहार गर्नुहुन्न भन्ने कुरा, आफ्नो आमा–बाबु र सासु–ससुराप्रति गरिने विभेद, प्रकृतिको संरक्षण गर्नुपर्छ भन्ने मान्यता आदि अनेकौँ विषयका कथाले हाम्रोजस्तो गरीब देशको गाउँघरका जनताको जीवन, सामाजिक र राजनीतिक अवस्थाको धेरै चित्रण गरेको छ । यथार्थमा यी कुरा हाम्रो दैनिक जीवनमा घट्ने घटनाहरू नै हुन ।
यी कथा पढेपछि हामीलाई घर, परिवार, समाज र देशप्रति आफूले गर्नुपर्ने दायित्व र कर्तव्यप्रति सचेत मात्र गराउँदैन त्यसको बोध समेत गराउँछ । सरल भाषामा लेखिएका यी लघुकथाहरू अवश्य पनि लघुकथामा अभिरुची राख्नेहरूको निम्ति पठन योग्य छन् ।
अन्त्यमा लघुकथाकार कुमार काफ्लेलाई यो नयाँ कृतिको लागि हार्दिक बधाई दिँदै भविष्यमा कथा, लघुकथा लेखनमा अझै सफलता प्राप्त हुँदै जाओस् भन्ने शुभकामना ।
कृति: सपना कतिपय
लघुकथाकार: कुमार काफ्ले
विधा: आख्यान
प्रकाशक: नमस्ते आधुनिक लघुकथा मञ्च, चितवन
पृष्ठ : १२०
मूल्य : रु.३३३/-
महालक्ष्मी न.पा.५
टीकाथली, ललितपुर ।