Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: गाता देवी

कथा: गाता देवी

रामकुमार पण्डित
हाम्रो कथा घरहाम्रो कथा घरअशोज २१, २०८१0 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

सिमलटारमा गाता देवी उत्पत्ति भइन् भन्ने खबर फैलिदैँ गएपछि भक्तहरूको चहलपहल बढ्दै गयो । एक भक्तबाट अर्कोमा कुरा हुन थालेपछि त कता कताबाट भक्तहरू ओइरिरहन थाले । यो कुरा पत्रकारहरूले पनि थाहा पाएपछि पत्रपत्रिका, अनलाइन मिडिया र युट्युव च्यानलमा प्रसारण गर्न थाले । जसले गर्दा व्यापक मात्रामा भक्तजनहरूको उपस्थिति हुन थाल्यो । हालसालै गठन भएको सिमलटारको मन्दिर व्यवस्थापन समितिलाई नै चाँजोपाँजो मिलाउन हम्मेहम्मे भयो । त्यस गाउँको पीपलको रूखबाट उत्तरतर्फको चौबाटोको, पश्चिमतर्फको कुनोमा अवस्थित यस मन्दिरको दर्शन गरे, आँटेको काम सिद्ध हुने र ज्ञान आफ से आफ फुर्दछ भन्ने विश्वास फैलियो । यी मातालाई पुस्तक मनपर्छ भन्ने थाहा हुन आएपछि मान्छेहरूले थरिथरिका पुस्तक किनेर चढाउने गर्न थाले ।

एक जना पत्रकारको “किन यी गाता देवीलाई पुस्तक मन परेको हो ?” भन्ने प्रश्नको जवाफमा पुजारीले भनेका थिए “एक रात मलाई सपनामा गाता देवीले दर्शन दिएकी थिइन् । उनले के भनिन् भने, ‘म गाता देवी हूँ । मेरो मूर्तिमा जसले पुस्तक, पत्रपत्रिका चढाउँला, उसले आँटेको कामको लागि दीव्य ज्ञान पाउँला । विद्यार्थीले आफ्नो पुस्तक चढाए परीक्षामा सोधिएका प्रश्नको उत्तर आफसे आफ आउँला । सोधार्थीले शोधग्रन्थ लगायत साहित्यिक पुस्तक र पत्रिका किनेर चढाए; सोही अनुसारको ज्ञान पाउँला ।” पत्रकारले यस भनाइलाई अनेक तोडमोड गरेर आकर्षक पारामा भिडियो बनाएर सामाजिक सञ्जालमा हालेपछि भाइरल भयो । त्यसपछि कतिले त अनलाइनबाटै पुस्तक चढाउन थाले भने मन्दिरमै गए विशेष फल प्राप्त हुन्छ भनेर विश्वास गर्ने भक्तहरू चाहिँ पुस्तक पत्रपत्रिका बोकेर आउन थाले ।

तल तुरतुरे धारोदेखि नै यस्ता सामग्रीहरू यत्रतत्र छरिएको पाइन थाल्यो । त्यो छरिएको सामग्री बटुलेर कुप्रयोग गरिए हानी हुन्छ भन्ने जनविश्वास हुन थालेपछि त्यस्तो गर्ने आँट कसैको भएन । त्यहीँ धारोदेखि नै दायाँबायाँ पुस्तक पसलहरू लस्करै खुले । हरेक पसलमा भीड हुन थाल्यो । पसलेलाई पनि भ्याइनभ्याइ । अझ परीक्षा चल्ने समयमा त टेक्ने ठाउँ नै भएन । चियानास्ता लगायत अन्य फुटकर पसलहरू पनि प्रशस्तै खुले । भारतीय व्यापारीहरू पनि जादु सर्कस देखाउने देखि घरायसी सामग्रीहरूको व्यापार गर्न थाले । त्यस भेगको हरेकका घरकोठाको भाडा महङ्गो दरमा तिरेर मान्छेहरू व्यापार गर्न बसे । गातादेवीको कृपाले यस इलाकाकै आर्थिक स्तरमा कायापलट भयो ।

दर्शनार्थीहरूसँग पत्रकार एवं युट्युबरहरूले अनेक प्रश्न सोधेर सामाजिक सञ्जाल भरे । एउटा दर्शनार्थीको, “यहाँ आएर एक अध्याय पढेपछि तुरुन्तै तेस्रो नेत्र खुल्दो रहेछ” भन्ने अन्तर्वार्ता भाइरल भएपछि त्यस उपरान्त आउने दर्शनार्थीहरूले आफूले ल्याएको सामग्रीको एक अध्याय पढ्न थाले । समय हुनेले त पूरै पढेर सक्दथे । कसैले त्यसरी पढेको भिडियो खिचेर तुरुन्तै सामाजिक सञ्जालमा हाले । कसैकसैले त लाइभ नै पढेर देखाए । त्यसपछि त यस मन्दिरमा आउनेहरूको भीड रामहिटी देखि नै हुन थाल्यो ।

कैलाशबोधि विद्यालय हातादेखि आरूबारी निस्कने चोकसम्म एकतर्फी बाटो कायम गरेर ट्राफिक व्यवस्थापन गर्न थालियो । भक्तहरूले चढाएका पुस्तक तथा भेटीमध्ये, भेटीलाई पारदर्शी रूपमा व्यवस्थापन गरिएको थियो भने पुस्तक तथा पत्रपत्रिकाहरू पुस्तकालय तथा गरिब पढ्ने विद्यालयहरूमा निःशुल्क वितरण गरिन्थ्यो । यसरी एउटी गातादेवीको कारण पुस्तकालयमा पुस्तकहरू भरिभराउ हुन थाले । गरिब विद्यार्थीहरूले पढ्न पाए । उता पुस्तक पत्रपत्रिका बिक्री हुन थालेपछि लेखकहरूले राम्रो पारिश्रमिक पाउन थाले । मानिसहरूवीच आपसमा देशको हितको लागि लुकेर बसेका विषयमा पनि वार्तालाप हुन थाल्यो । प्रत्यक्ष अप्रत्यक्ष लाभको बढोत्तरी हुँदै थियो, अचानक राज्यको आँखा लाग्यो ।

पुलिस प्रशासन लाएर पुजारीलाई पक्रियो । पुलिसले छानविनको नाममा भेटी दान दक्षिणा हिनामिना गरेको आरोप लगायो । पुजारीले आफू निर्दोष भएको अनेकौ प्रमाण दिने प्रयास गरे तर अन्धो कानुनको सहारामा पुलिसले नपत्याएको बहाना गऱ्यो । कागले कान लग्यो भन्नासाथ कागको पछिपछि दगुर्ने अन्धो समाजले सामाजिक सञ्जालभरि पुजारीको विपक्षमा धेरै आपत्तिजनक शब्दहरू खन्याउन थाले । पुजारीको पक्षमा आएको आवाज लाउडस्पिकर मुनि भद्रको आवाजझैँ मधुरो भयो । त्यति भएपछि सरकारलाई बाटो खुल्यो । माननीय मन्त्रीले आफ्नो मान्छेलाई पुजारी बनाए । गाउँको मन्दिर व्यवस्थापन समिति भङ्ग गरी आफ्नै संयोजकत्वमा अर्को समिति गठन गरे । काम गरेजस्तो गरेर सात पुस्तालाई पुग्ने गरी अकुत सम्पत्ति जोड्न अभ्यस्त मन्त्रीले यस मन्दिरलाई दुहुनो गाई बनाए ।

उता पुजारीलाई जेलमा यातना दिएर अपराध कबोल गराउने कसरत भइरहेको थियो । पहिले जिउभरि लातका लात हानेर नील डाम गराएपछि उनको जिउमा ड्रमका ड्रम पानी खन्याए । त्यसपछि करेन्ट लगाए । एउटा भुसतिघ्रे हबल्दारले चर्को आवाज निकाल्दै “किन यस्तो गरिस् भन् !” भनेपछि डरले थरथराएको आवाजमा सत्य बोल्न थाले पुजारी ।

“म यसै गाउँमा जन्मिएको एउटा सामान्य परिवारको मामुली मान्छे हूँ । गाउँमा औपचारिक शिक्षा लिएका भन्दा व्यवहारिक ज्ञान भएकाको बाहुल्यता थियो र छ । मैले स्नातकोत्तर सकेर जागिर खान थालेँ । सामान्य जागिरको भरमा मेरो सानो परिवार ठीकठाकै चलिरहेको थियो । एक दिन एक जना विद्वानबाट थाहा पाएँ कि वेद तथा पुराणहरू साहित्य हुन् । संस्कृत शिक्षा पढ्नेले ती पुस्तकहरू साहित्यिक विभाग अन्तरगत पढ्दछन् । मैले त्यस अघिसम्म त्यस्ता पुस्तकहरू भगवान् स्वयंले लेखेका हुन् भनी विश्वास गरेँथेँ । जब यो सत्य थाहा पाएँ तब मलाई भित्रैदेखि साहित्यको सेवा गरेर मान्छेहरूमा चेतना छर्ने ईच्छा जाग्यो । संयोगले म एउटा साहित्यिक पत्रिकासँग जोडिन पनि पुगेँ ।

त्यस पत्रिकाको व्यवस्थापकको रूपमा काम पाएँ । काम त पाएँ तर निजी क्षेत्रले निकालेको पत्रिका भएकोले, मैले त्यहाँबाट तलब पाउनुको सट्टा उल्टै पैसा हाल्नु पर्दथ्यो । त्यसमा संलग्न सबैले दामासाहीले पैसा लगाएका थिए । महिनामा दुईतीन हजार हाल्नुपर्ने वाध्यता मलाई थियो । त्यो पैसा कसरी जोहो गर्ने हो भनेर बडो समस्यामा थिएँ म । निजी जागिरको पैसा घर खर्चमै ठीक्क थियो । एक पटक त्यताबाट यता अलिकति तानेको मात्रै के थिएँ मेरी पत्नी मसँग रिसाएर ठूलो झगडा गरिन् । त्यसपछि उनीसँग क्षमा मागेर गाउँघरको मुख हेर्न थालेँ । घरघरमा गएर वार्षिक ग्राहक बनिदिन अनुरोध गरेँ । धेरैले अस्वीकार गरे । थोरैले वाचा टार्न नसकेर स्वीकारे । महिनाको पच्चीस रुपियाँले वर्षको तीन सय पर्दथ्यो । त्यति पनि दिन धेरै मान्छेहरूले मन गरेनन् ।

कसैले भन्थे “साहित्य पढ्ने मान्छे नै छैन ।” कसैले भन्थे “तीन सयले कुखुराको एक किलो मासु आउँछ ।” उफ् ! पढ्दै नपढेपछि कसरी चेतना आउँछ ? त्यो माथि, सानोसानो पैसाभन्दा पनि सानो चित्त देखेर अचम्म लाग्यो । एक वर्ष पूरा भएपछि ती अलिकति मान्छेले पनि नविकरण गर्न रुचि देखाएनन् । तर एक जना भलादमीले भने पैसा नतिरी पत्र पत्रिका नपढ्ने राम्रो बानी देखाए । ती एक जनाको पैसाले मलाई पुग्थेन । अब अर्का दुई जना भने सित्तैमा पढ्ने बानी लागेका थिए । पैसा तिर्न मरेको जस्तो गर्ने तर सित्तैमा पढ्न नपाए नानाथरीका भन्दथे । यद्यपि ती दुई सरकारी जागिर खाने ठूलै पदका थिए । जसले दिनमै दुई सय त चुरोटको धुवाँमा उडाउँथे । जे भए पनि मैले पत्रिकाको काम त्याग्न सकिनँ । पत्रिकामा काम गर्दै साहित्य सिर्जना गर्न थालेर मेरो लेखाइ स्तरीय भइसकेको थियो । त्यसपछि मैले आफैले लेखेको पुस्तक छपाएँ ।”

धैर्यपूर्वक सुनिरहेको हबल्दारले सोध्यो “के किताब ?”

पुजारीले भने “कथा पुस्तक । त्यसमा मैले धार्मिक, सामाजिक, राजनितिक, प्रेम आदि विषयमा लेखेको थिएँ । त्यो पुस्तक बिक्छ कि भनी मैले सहरको पुस्तक पसलमा झुण्ड्याउन लगाएँ । बिहान अफिस जाँदा हेर्थे, त्यो पुस्तक त्यहीँ झुण्डिएको हुन्थ्यो । बेलुका फर्कदा हेर्थे, त्यहीँ हुन्थ्यो । भोलिपर्सि जहिले हेरे पनि पुस्तक त जस्ताकोतस्तै थियो । त्यो बाटो पर्दा मेरो आँखा पहिले त्यही पुस्तकमा ठोक्किन्थ्यो । कतै जानुपर्दा त्यो पुस्तक राखेको पसलको बाटो भएर मेरा पाइलाहरू सोझिन्थे । पुस्तक बिकेको थिएन । धुवाँ, धूलो र घामले पुस्तकको गाता खुइलिन थालिसक्यो, अँहँ पुस्तक बिक्दैन ।

अचानक एक दिन त्यो पुस्तकले रुँदै मलाई केही भनेझैँ लाग्यो “मलाई बचाऊ आमा ! म यहीँ मर्न लागेँ ।” त्यस रोदनले मलाई बडो चिन्तित तुल्यायो । यता फेरि पत्रिका त नकिन्ने गाउँलेलाई पुस्तक किन् भनेर भन्न सकिनँ । न त सित्तैमा दिए पनि पढ्छन् नै भनेर विश्वास गर्न सकेँ । मैले देखेको थिएँ कि जबरजस्ती पुस्तक बेच्ने लेखकको भुत्ला उसको अनुपस्थितिमा मान्छेहरूले नराम्ररी खुइल्याउँथे । साहित्यकारहरू समाजबाट ठगिइरहेका थिए र छन् । कागजको मूल्य तिरेर पाइने पुस्तकबाट पाठकले अमूल्य ज्ञान पाउन सक्दछ । लेखककै विचारविमर्श मार्फत समाज परिवर्तनको ढोका खुल्न सक्दछ । तर किन मान्छेहरू यस्तो कुरा बुझ्दैनन् ? आश्चर्यको कुरा त यो थियो र छ कि; हजार पन्ध्र सय जति पर्ने श्रीमद्भागवत पुस्तक किनेर मानिसले आफैँले पढ्ने हो भने पनि ज्ञान पाउन सक्दछ तर किन पण्डित लगाएर दसौँ लाख खर्च गरी पारायण लाउनु पऱ्यो ? पढ्न नजान्नेले अहिले पनि युट्युबबाट सुन्न सक्दछन् । पण्डितले वाचन गरे पितृ तर्ने नत्र नतर्ने भन्ने झुटो कुरामा किन विश्वास गर्छ मान्छे ? आफैँले पढे त धेरै बुझ्दो हो, पण्डितले वाचन गर्दा कताकता मन डुलाएर बसेकोले कति बुझ्ला र ? भन्ने बेलामा ज्ञान महायज्ञ, गर्ने बेलामा चाहिँ अज्ञान कर्मले को कति तर्ने हुन् खोई ? सत्य बोल्ने साहित्यकारलाई यहाँ दुनियाँले ढोङ्गी देख्दछ तर अनेक ढोङ्ग रच्ने पण्डित पुजारीलाई मान्छे भगवान्को अवतार ठान्दछन् । तिनीहरूको खुट्टैमा ढोग्छन् । कुनै जमानाका साहित्यकारले लेखिदिएको पौराणिक साहित्यको छलपूर्वक प्रयोग गर्ने पण्डितको कति इज्जत छ, कति ठूलो कमाइ छ तर वर्तमान समयको पुराण लेख्ने साहित्यकारको किन इज्जत छैन ।

मलाई यही समाजले बगरमा बस्ने दुःखियाको भेष धारण गरेर कुण्ठाको घनले मनभित्र जमेको सत्यको चट्टानलाई प्रहार गरीगरी छियाछिया बनाइदियो । त्यसको उपाय स्वरूप मान्छेहरूले पढुन् र केही सिकुन् भनेर गाता देवीको मन्दिर स्थापना गर्न भित्रभित्रै प्रेरणा मिल्यो । मैले जे गरेँ राम्रो गरेँ जस्तो लाग्छ । यसमा गर्व महसुस गर्दछु ।”
अघि दुई सय भोल्टको करेन्ट लगाएर झट्का दिने पुलिसलाई अहिले पुजारीको कुराले हजार भोल्टको झट्का लागेजस्तो भयो । लेखक साहित्यकारलाई बाल नदिनेमध्येमा आफू पनि एक हूँ झैँ गऱ्यो । उसले विनम्रतापूर्वक भन्यो “मलाई लाग्छ तपाँई सम्मान र पुरस्कारको हकदार हुनुहुन्छ । तर त्यो मेरो बशमा छैन । माथिको आदेश यस्तो छ कि, तपाइलाई जबरजस्ती अपराधी कबोल गराउने र छआठ वर्ष जेलमा सडाउने ।” पुलिसको कुरा सुनेपछि एक्कासि न्याउरो मुख लाउँदै पुजारी एकोहोरिए ।

– रामकुमार पण्डित
का.म.पा. ६ सिमलटार ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा गाता देवी रामकुमार पण्डित

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.