झिलिमिली बालेर बत्ती पालामा
हुन्छ तिहार उज्यालो अहिले सालमा
कागलाई र कुकुरलाई गोरु, गाईलाई
पूजा गर्छन् दाजुभाइलाई, लक्ष्मी माईलाई
स्यानी बैनी सोच्दैछे बसी झ्यालमा
`मेरो पूजा हुन्न र ?´ अहिले सालमा
दाजुभाइ देउसी खेल्छन्, नाच्छन्, रमाउँछन्
भैलो खेल्छन् दिदीबैनी पैसा कमाउँछन्
भैलेनीलाई दक्षिणा खोपे थालमा
पैसा कति बटुल्ने हुन् अहिले सालमा
धनको चाड भनेर धनकै मेलो छ
जता हेर्यो पैसाकै छेलो–खेलो छ
जुवा खेल्ने जुवाडे बसे खालमा
नखेले नि हुन्थ्यो जुवा अहिले सालमा
दाउरा राखी अगेनामा आगो बालेर
पिठो मुछी आमाले दाउन हालेर
रोटी पकाई थुपार्छिन् डाला-डालामा
सेल रोटीले अघाइन्छ अहिले सालमा
भाइटीकाको दिनमा दिदी आउने रे !
निधारैमा सप्तरङ्गी टीका लाउने रे !
चट्ट परी सजिने हो फूलको मालामा
ढाका टोपी ढल्काइन्छ अहिले सालमा ।
– मध्यनेपाल नगरपालिका-६,
भोर्लेटार लमजुङ ।


