हामी परिवारका सदस्य जसमा मेरा श्रीमान विश्वनाथ तिमिल्सिना, छोरी प्रशंसा तिमिल्सिना र म लेखक स्वयम् भूमिका गैरे तिमिल्सिना भएर जाने निर्णय गर्यौं । त्यसका लागि हामीले २०८० साल कार्तिक १० गतेलाई रोज्यौँ । त्यस दिन बिहान ४:०० बजे हाइसमा चढ्यौँ । करिब ७:०० बजे मुग्लिन पुग्यौँ र खाजा खायौँ । हामी १०:०० बजे थानकोट पुग्यौँ ।
थानकोटबाट सिधैँ दक्षिणतर्फ रहेको चन्द्रागिरि पर्वत समुन्द्री सतहदेखि २५०० मिटरको उचाइमा अवस्थिति रहेको छ । ऐतिहासिक र धार्मिक महत्त्व बोकेको उक्त स्थान अत्यन्तै रमणीय रहेको पायौँ । यो डाँडो काठमाडौं र मकवानपुरको संगम पर्ने रहेछ । यस स्थानमा छिन- छिनमा मौसम परिवर्तन भइ रहदो रहेछ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य राम्रो देखिने रहेछ ।
चन्द्रागिरिमा प्रसिद्ध भालेश्वर महादेवको मन्दिर अवस्थित रहेछ । त्यो धार्मिक स्थलबाट पूर्वमा काठमाडौं उपत्यकाको दृश्य देख्न सकिदो रहेछ । पश्चिममा मकवानपुरको चित्लाङ उपत्यका देख्न सकिने रहेछ । उत्तरमा अन्नपूर्ण हिमाल, लाङटाङ हिमाल, गणेश हिमाल , गौरीशंकर हिमाल , सगरमाथा हिमाल लगायतका अनेकौं हिमालहरु देख्न सकिन्छ । दक्षिणमा दामन एवम् महाभारत पर्वत देखिन्छ । धार्मिक , प्राकृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको मन्दिर पवित्र धार्मिक स्थलकासाथै आफैँमा भ्यू टावर हो, रहेछ । भालेश्वर डाँडालाई योग र साधना गर्न मिल्ने उपयुक्त ठाउँ पनि मानिने रहेछ ।
भालेश्वर मन्दिर नजिकदेखि एक सय मिटरको लामो बाल खेल बगैंचा रहेको छ । चन्द्रागिरि डाँडा करिब ३६ हेक्टर क्षेत्रफलमा निर्माण भएको रहेछ । डाँडामा पुग्न केबलकारको व्यवस्था रहेछ । एक डब्बामा ८ जना यात्रु अट्ने रहेछ । केबलकार मार्फत चन्द्रागिरि डाँडामा पुग्न चौध मिनट लाग्दो रहेछ ।
नेपाल एकीकरण अभियानको प्रारम्भबिन्दु पनि यहीँ चन्द्रागिरि पर्वतबाट शुरु भएको भन्ने जनविश्वास रहेको पायौँ । शाह वंशीय राजा पृथ्वीनारायण शाह भालेश्वर महादेवको मन्दिरमा आउनु भएको थियो रे ! त्यस ठाउँबाट पूर्वतर्फ फर्केर काठमाडौंलाई राम्रोसँग नियाली सकेपछि गोर्खा राज्यमा गाभ्ने इच्छा गर्नु भएछ । मन्दिरको पूर्वपट्टि नै पृथ्वीनारायणको सालिक पनि रहेछ । राज्य एकीकरणको तिव्र इच्छा पृथ्वीनारायण शाहले भालेश्वर महादेवसँग मागी उक्त इच्छा महादेवले पूरा गरेको जनविश्वास रहेको पायौँ । त्यसकारण भालेश्वर महादेवको मन्दिरलाई इच्छापुरेश्वर मन्दिरका नामले पनि जानिने रहेछ।
चन्द्रागिरि डाँडा अत्यन्तै रमणीय स्थान , धार्मिक पवित्र स्थल, बाल फनपार्क, खेल बगैंचा आदिले पनि मनमोहक रहेको छ । त्यहाँबाट देखिने उपत्यका, हिमाल मकवानपुरको चित्लाङ, हेटौंडा जाने पहाडी घुमाउँरो बाटोको दृश्यले पनि अझ बढी लोभ्याउदो रहेछ ।
हामी ३:०० बजे त्यहाँबाट फर्क्यौँ र खाना खायौँ । करिब ४:०० बजे हामी गाडी चढ्यौँ । हामी बेलुका १०:०० बजे सकुशल घर आइपुग्यौँ ।
चन्द्रागिरि गएपछि मानिसलाई छुट्टै , अलौकिक आनन्दको अनुभूति हुने रहेछ । सुन्दर , शान्त, पवित्र , प्रदुषणरहित, स्वच्छ वातावरण रहेको छ । यस्तो धार्मिक, प्राकृतिक एवम् ऐतिहासिक महत्व बोकेको ठाउँको संरक्षण र प्रवर्द्धन हुनु आवश्यक छ । स्वदेशी तथा विदेशी पर्यटकहरु भित्र्याई आर्थिक आय- आर्जनको गतिलो माध्यम बनाउँनमा सरोकारवालाको ध्यान जानू आवश्यक छ ।