नरिसाउने हैन, रिसाउँछिन् आमा !
कथाकार शुषमा चित्रकारलाई मैले पुलकित हुँदै सुनाएँ, “दिदी, मैले आमाप्रति समर्पित गरेर अनेकौँ कविताहरू लेखेको छु । भावी दिनमा कृतिको रूपमा प्रकाशन गर्ने सोचमा छु ।”
उहाँले पनि मलाई पुलकित हुँदै सुनाउनुभयो, “बधाई छ भाइ । सङ्ग्रह निकाल्दै हुनुहुन्छ, त्यो पनि शब्दहरू आमाप्रति समर्पित गरेर । खुसी लाग्यो । शुभकामना, छिट्टै निस्कियोस् ।”
उहाँले मलाई शुभकामना दिँदै गर्नुहुँदा, ‘आमा’प्रति समर्पित उहाँकै एउटा कवितालाई पनि पक्रिइहालेँ–
‘नरिसाउने हैन, रिसाउँछिन् आमा !
तर, चिसोमा जमेका सेता तुषारा
बिहानी घामको न्यानोले
पग्लेसरि
सन्तानका लागि
एकैछिनमा पग्लिहाल्छ
उनको कोमल मन ।’
पुराना याद
एकताका कथाकार शुषमाले फेसबुकमा नियमित रूपमा स्केचसहित हाइकुहरू पोस्ट गर्दै आइरहनुभएको थियो ।
यो उहाँको एउटा साहित्यिक अभियान जस्तै थियो ।
मैले पनि नियमित रूपमा उहाँका हाइकुहरू फेसबुकमै पढ्दै आइरहेको थिएँ । उहाँका हाइकुहरू मलाई मन पर्थ्यो, खुब मन पर्थ्यो ।
जस्तै:
यादको कुची
बादलको क्यान्भास
आकृति तिम्रो ।
भिज्यो सडक
मनभित्रको गर्मी
पुराना याद ।
अँध्यारो रात
जूनको टहटह
तिम्रो नियास्रो ।
भिज्यो सडक
कमलो मन तिम्रो
किन रुझेन ?
‘थाहा’ त थियो
ठम्याउन सकिनँ
ठेगाना तिम्रो ।
छोटा कविता
कथाकार शुषमाको अफिस म कार्यरत अफिस नजिकै थियो । त्यसैले पनि उहाँसँग भेट्न मलाई सहज हुन्थ्यो ।
बेलाबेलामा उहाँ र म भेटिरहन्थ्यौँ । भेटका क्रममा, प्रायजसो कविताकै विषयमा बोल्थ्यौँ ।
उहाँले एक दिन मैले लेखेका संस्मरणहरूको विषयमा टिप्पणी गर्नुभयो, “साह्रै राम्रो लेख्नुभयो भाइ । तपाईँको भाषाशैली मीठो छ । तपाईँको छोटा कविताका पनि आफ्नै विशेषता छन् । सिर्जना गर्दै रहनुहोला । तपाईँको कविताहरू हेरेर मैले पनि केही छोटा कविता लेखेकी छु ।”
एउटा किताब जस्तै
संस्मरण लेख्ने क्रममा आँखा रसाएर आउँथ्यो ।
‘दादा, तिमी किन रोएको ? नरुनू, म छु …’ शीर्षक संस्मरण लेख्ने बेलामा पनि त्यस्तै भयो ।
‘हाम्रो कथाघर डटकम’मा प्रकाशित ‘दादा, तिमी किन रोएको ? नरुनू, म छु …’ शीर्षक संस्मरण पढेर कथाकार शुषमाले यस्तो प्रतिक्रिया दिनुभयो, “प्लिक्सीको अवसानपछिको संस्मरण कथा जस्तै छ । हुन त, हरेक व्यक्तिको व्यतीत भइसकेको समय आफैँमा एउटा किताब जस्तै हुन्छ । जसलाई पढेर बन्द गरिसके पनि कुनै न कुनै क्षणहरूमा त्यसका पृष्ठहरू घरिघरि पल्टिरहन्छन् ।”
मैले केही सुनाउन नपाउँदै उहाँले फेरि सुनाउनुभयो, “मानसिक वार्ड, मानसिक बिरामी, अहिले पनि धेरैका लागि केही शब्द हुन् – साझा गर्न अप्ठ्यारो, असहज लाग्ने कुरा । साझा गरे पनि धेरैका अन्तःकरणले छुन नसक्ने कुरा । शरीरको घाउ सबैले देख्न सक्छन् । तर, धेरैले नदेख्ने अबोध मनभित्र प्लिक्सीको गुमाएको चोट लुकाएका अक्कलको त्यो पीडा बिरामी बनेर जब मानसिक वार्डमा पोखियो । अनुमान गर्न सक्छु – अक्कललाई, उनको परिवारलाई कति भारी थियो होला ! ती पल र पीडालाई उनले प्रेरणा बनाए र यसैबाट उनको पहिचान बनेको छ ।”
नर्सहरूको मायालु व्यवहार
अस्पतालमा भर्ना भएर बस्दा पनि म नर्सहरूकै संरक्षणमा कविता लेखिरहन्थेँ, पुस्तक पढिरहन्थेँ । यसै क्रममा ‘नर्स’ (शृङ्खला कविता सङ्ग्रह) को जन्म भएको थियो – अस्पतालकै बेडबाट !
‘नर्स’ (शृङ्खला कविता सङ्ग्रह) प्रकाशोन्मुख छ । यो कृति तीनवटा भाषामा तयारी अवस्थामा छ – नेपाली, तामाङ र अङ्ग्रेजी भाषामा । मूल नेपालीबाट तामाङ भाषामा अनुवाद कवि तथा मातृभाषा अभियन्ता एकिना अगाध र अङ्ग्रेजी भाषामा अनुवाद कवि तथा अनुवादक चन्द्रबहादुर लामाले गर्नुभएको छ ।
यसै ‘नर्स’ कृतिबारे कथाकार शुषमाले आफ्नो धारणा मिहीन ढङ्गले राख्नुभएको थियो, “नर्सहरूलाई पढेँ । बिरामीलाई निको पार्ने औषधि सँगसँगै नर्सहरूको मायालु व्यवहार पनि हो भन्ने कुरा राम्ररी व्यक्त गर्नुभएको छ ।”
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।