Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता: प्रेमको आयतन | सरस्वती पुडासैनी | हाम्रो कथाघर

फाल्गुन २, २०८२

पोस्टरमा स्मार्ट लघुकथा शृङ्खला: २५ | हाम्रो कथाघर

फाल्गुन १, २०८२

बाल-उपन्यास: अद्भूत विवाह | नन्दलाल आचार्य | हाम्रो कथाघर

माघ २९, २०८२

“फिर्दोसको साँचो” सपना, आत्मा र यथार्थको मिश्रण, नेपाली समाजको यथार्थ चित्रण

माघ २८, २०८२

संस्मरणात्मक निबन्ध : सपना र सपनाहरू | मधुर भट्टराई | हाम्रो कथाघर

माघ २७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » व्यक्तिगत निबन्ध: नामको कथा र नामको विवेकशास्त्र | हाम्रो कथाघर

व्यक्तिगत निबन्ध: नामको कथा र नामको विवेकशास्त्र | हाम्रो कथाघर

गैर आख्यान - निबन्ध
मधुर भट्टराईमधुर भट्टराईसाउन २३, २०८२481 Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

मधुर भट्टराई


नाममा के छ? शायद साहित्यमा सबैभन्दा धेरै लेखिएको र पढिएको क्लिसे हुन सक्छ यो । तर जसरी मानिसहरू पृथक प्रवृत्ति र प्रकृतिमा बाँच्छन्, त्यसैगरी मानिसका नामको पनि त छुट्टै अस्तित्व छ, पहिचान छ । अझ भनूँ, प्रत्येक नामको आफ्नै कथा छ, दर्शन छ । शेक्सपियरले आखिर ‘नाममा के छ र?’ भनेर लेखे भन्दैमा नामलाई हल्का रूपमा लिनु पनि त उचित भएन नि । त्यसैले जे छ, नाममा छ । अन्यथा मानिस फगत हाड मासुको थुप्रो न हो ।

मानिस आजन्म नाममा बाँच्छ । मृत्युपर्यन्त बाँच्ने भनेको नाममै न हो । भानुभक्तले रामायण किन लेखे? नामका लागि । घाँसीले कुवा किन खनाए? नामकै लागि । नामका लागि मानिसले के-के पो गरेको छैन र! ताजमहल बनाए, मन्दिर ठड्याए, युद्ध लडे ।

मानिसको जिन्दगीबाट नाम झिकिदिने हो भने के बाँकी रहन्छ र ? त्यसैले त भनिन्छ नि: नाम होस् या बदनाम होस्, तर गुमनाम नहोस् । नामको तिर्खा चेतनशील हरेक मानिसलाई हुन्छ । नामको सम्बन्ध अस्तित्वबोधसँग हुन्छ, पहिचानसँग हुन्छ ।

तर हरेक मानिसको बेग्लै नाम-कथा हुने रहेछ । कसैको सामान्य होला, कसैको विशेष । फरक यत्ति न हो । नाम निम्छरो वा अब्बल जेसुकै होस्, यसको मर्यादा र गरिमा व्यक्तिको कर्मले निर्धारण गर्ने न हो । यसैले नामभन्दा कर्म ठूलो । तर जस्तोसुकै भए पनि आफ्नो नामचाहिँ उच्च कोटीको हुनुपर्छ भन्नेमा शायदै कसैको दुविधा होला । तर नामसँग कर्मको तादात्म्यता रहन सके झन् सुनमा सुगन्ध भैहाल्यो ।

मेरो जीवन-अध्यायमा पनि नामको बेग्लै कथा छ, व्यथा छ, जसरी अरूको हुन्छ । तर समस्याचाहिँ के भने सनातनी हिन्दु कुलमा जन्मिने अधिकांशले दुईवटा नामको भारी बोकेर हिँड्नुपर्ने संस्कार । भलै यो संस्कारमा अहिले भने क्रान्तिकारी परिवर्तन आएको मान्न सकिन्छ । एउटा न्वारनमा राखिने, अर्को बोलाउने नाम । यी दुवै नामहरूको सन्तुलन मिलाइराख्नु पनि चुनौतीपूर्ण काम नै हुने रहेछ । एउटालाई न्याय गर्दा अर्को अन्यायमा परिहाल्ने ।

आमा भन्नुहुन्थ्यो, म जन्मिएपछि बुवाको मामाकी बुहारी अर्थात् मावली बडीआमा घरमा आउँदा भन्नुभएको थियो रे, “बहिनी, छोरोको नामचाहिँ गाउँभरिमा कसैले नराखेको नौलो राख्नुपर्छ है ।”
“के राख्ने होला त दिदी?” आमाले सोध्नुभएको थियो रे ।
“कि मदन राख्नू कि मधु । साह्रै नयाँ र नौलो हुन्छ ।”
अन्तिममा मदनलाई मधुले जित्यो । बोलाउने नाम चङ्ख भयो । न्वारनको नाम कता हरायो कता । बोलाउने नामले न्वारनको नामको घोडा चढेर हिँड्यो । साथीभाइको जिब्रोमा त्यही नामको लत बस्यो । मेरो कानको भित्तामा त्यही नाम ठोक्किँदै गुञ्जिन थाल्यो । पाँच वर्षसम्म यही नामले धाप मारेर हिँडिरह्यो मलाई ।

पाँच वर्षपछि कृष्णपुर स्कुलको सरकारी रजिस्टरमा मेरो नाम चढ्यो ।
स्कुलको पहिलो दिन । कक्षा-शिक्षकले नाम भन्दै गए । सबैले हाजिर भन्दै गए । “गिरिराज भट्टराई…।” कक्षाकोठा सन्नाटाले भरियो । यताउति हेरेँ । कोही बोलेनन् । “गिरिराज भट्टराई…” दोस्रो पटक शिक्षकको स्वरमा तागतको तीव्रता मिसियो । भट्टराई थरधारी त्यहाँ मबाहेक कोही थिएनन् । सन्देहबीच मेरो जिब्रो फड्कारियो । हाजिर सर… । स्कुलमा पहिलोपल्ट आफ्नो न्वारनको नाम सुनेँ । घोर अचम्ममा परेँ । त्यो नामधारी मनुवा म होइन होला जस्तो लाग्यो । बिस्तारै थाहा पाउँदै गएँ, त्यो त मै रहेछु । आफ्नै कानलाई आफ्नो नामसित अभ्यस्त हुन केही समय लाग्यो । बिस्तारै उमेरको भर्‍याङ उक्लिँदै गएपछि दुवै नामसँग आत्मीयता बढ्न थाल्यो ।

सानैमा सुनेको थिएँ, जिन्दगीमा अरू जेसुकै भए पनि नामचाहिँ कमाउनुपर्छ । मलाई अचम्म लाग्थ्यो, ‘नाम कमाउने’ भनेको के होला ? कतै जागिर खाएर कमाउने हो कि के गरी कमाउने हो, थाहा थिएन । तर जब बिस्तारै चेतनाको मुन्टो टुसायो, सुझबुझको क्षितिज फैलिँदै गयो, बुझ्दै जान थालेँ ‘नाम कमाउनु’ भन्नुको अन्तर्य ।

जनकपुरमा आई.ए. पढ्दै थिएँ । आफ्नो नाम दुनियाँले सुनून्, दुनियाँले परख गरून् भन्ने मोहले मनमस्तिष्कमा बिस्तारै लहर उठाउँदै लगेको थियो । ‘नाम कमाउनु’ भन्नुको अर्थको भँगालो त्यहाँ गएर मिसिने रहेछ । बुझ्दै जान थालेँ ।

म त्यतिबेला मधुपर्क खुबै पढ्थेँ । साहित्यमा नजानिँदो आकर्षण बढेको थियो । साहित्यको सँघारमा तातेताते गरेर आफ्नो लुलो पाइला टेक्दै थिएँ । अचानक भयंकर सपना देख्यो, लुरे महत्त्वाकांक्षाले । मेरो साहित्यकार हुनुको प्रसिद्धि चुलिँदो छ । मैले लेखेका पुस्तकले बजार पिट्दो छ ।

त्यस्तै सपनाको तुइन चढेर शंखेकिराझैँ घिस्रिँदै गर्दा एकाएक आफ्नो ‘ब्ल्याक एन्ड ह्वाइट’ नामले साहित्य-जगत्मा उचित पहिचान नपाउने निष्कर्षमा पुगेँ । हुन पनि रेडियोमा कार्यक्रमहरू सुन्दा वा साहित्यिक पत्रिकाहरू पढ्दा मानिसहरूको नाम या त साहित्यिक हुन्थे या त नाम पछाडि जोडिएको हुन्थ्यो, वियोगी, गरिब, दुःखी, पागल, अनाडीजस्ता वियोगान्तक उपनाम । मलाई पनि त अरूभन्दा फरक हुनु थियो । नामरूपी हिरा मानरूपी नाकमा टल्काउनु थियो । मेरो जोधाहा असार सुरु भयो । नामको खोजीमा धम्मरधुस लागेँ ।

कोठामा एउटा पुरानो र लगभग झुत्रिसकेको शब्दकोश थियो । शब्दकोशको अलि साहित्यिक पाराका सबै शब्दहरू कापीमा उतारेँ । सूचीका उपनाम एउटै चित्तबुझ्दो लागेन । चल्तीको भन्दा अलि भिन्नै हुनुपर्छ भन्ने मान्यताले निर्देश गरिरहेको थियो मेरो चेतन मनलाई । सर्टिफिकेटको भन्दा मेरो चल्तीको नाम अलि ‘ग्ल्यामरस’ लागेकाले सोही नामलाई रङरोगन गर्ने निष्कर्षमा पुगेँ अन्ततः । नामलाई फरक, सहज र पछि हुनसक्ने सम्भावित उचाइलाई थेग्न सक्ने गरी गरिमामय बनाउने ध्येय जो थियो ।

मधुर भण्डारकर हिन्दी सिने उद्योगमा नौलो प्रयोग गरेर भर्खरै स्थापित हुने क्रममा थिए । ‘चाँदनी बार’ र ‘सत्ता’ जस्ता सिनेमा रुचाइएको सिनेमा थियो त्यतिबेला । उनको नाम र ख्यातिले मलाई पनि सहज बनायो र बनाएँ, मधुबाट मधुर ।

थपेको त एउटा नाथे ‘र’ मात्रै न थियो, तर ‘र’ ले कति फरक पाऱ्यो कति! नाम गजबै भयो । उधुमै मन पऱ्यो । नामको माधुर्यले मन पुलकित भयो । हर्षको उभारले अनुहारमा बेग्लै घाम उदायो ।

तर उपनामको लोभको खोला बिना वर्षात उर्लिन थाल्यो ।

के राख्ने होला त उपनाम? दुविधाको घनघोर जङ्गलमा हराएँ । विकल्पका बाटाहरू धेरै थिए, तर ती विकल्पहरूले मन खाएनन् । तैपनि आफ्नो साहित्यिक नामको छेवैमा पालैपालो उभ्याएर हेरेँ । तर तिनीहरू जोडी नमिलेका नवविवाहिता दम्पतीजस्ता देखिए । उपनाम खोजीको प्रसव-वेदनामै बित्यो केही दिन । पुस्तकालय चहारेँ । पत्रपत्रिकाका नयाँ पुराना संस्करणमा घोत्लिएँ । खोज्दाखोज्दै दुईवटा नाम अन्तिम सूचीमा छनोट भए । बुद्धि र बर्कतको तुलोमा वजनदार ठानिएको नामलाई चित्तले पनि तत्कालै सदर ठोक्यो ।

एउटा थियो नामको बीचमा मुस्कान र अर्को थियो रोदन । ती दुई थिए एक अर्काका विपर्यास । तर यी दुईमध्ये छनोट गर्नुपर्थ्यो एउटा ।

मुस्कानले चित्तमा मुस्कानको घाम लगाउन सक्ने सम्भावना दुविधाको पातलो तुँवालोभित्र रुमल्लिएको थियो । यो उपनामले मनको स्वादलाई उचित परख गर्न सकेन । सार्थक त थियो तर आफू परेँ, जन्मजात गम्भीर अनुहार परेको मान्छे । नामले मानिसको स्वभावसँग काँध जोडेर हिँड्न सक्ने क्षमता राख्नेमा संशय देख्न थालेँ ।

बरु अर्को उपनाम ‘रोदन’ले साहित्यिक भाव झल्कायो । साहित्यको आकाशमा बेग्लै उज्यालो भएको तारा हुने सम्भावनाको हरियो झन्डा उचाल्यो । ‘रोदन’ त्यतिबेला मधुपर्कका सम्पादक सुपरिचित साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’को नामबाट कहिल्यै तिर्नै नपर्ने गरी सापटी लिएर आफ्नो नाम र थरको बीचमा इज्जतसाथ स्थान दिएँ ।

त्यसपछि भएँ मधुर ‘रोदन’ भट्टराई । जिन्दगीमा आफ्नो न्वारन आफैँले गरेँ । आफ्नै नामप्रति मोहित भएँ । साथीभाइले पनि खुब मन पराए । नाम त भयो । अब प्रश्न रह्यो, नामलाई कसरी सुपरिचित बनाउने ?

रेडियो नेपालको अनुरोध संगीत कार्यक्रममा चिठी पठाउन थालेको थिएँ । साहित्यिक पत्रिकाहरूमा लेख-रचना सम्प्रेषण गर्नु नियमित आकस्मिकता बनेको थियो । नाम प्रसारित हुँदा र छापिँदा डोपामिनको घैँटो भरिने रहेछ शायद । खुसीले तीन बित्ता उचाल्थ्यो । रगतमा बेग्लै आनन्दको सञ्चार हुन्थ्यो । साथीभाइलाई सुनाउँथेँ । रेडियोमा ‘तेरो नाम सुनेँ’ भन्दा मख्ख पर्थे । कसैले ‘तेरो रचना फलानो पत्रिकामा देखेको थिएँ’ भन्दा खुसी र सन्तुष्टिका रेखा तन्किएर आँखा र कानसम्म पुग्थे । तिनै कर्मलाई जीवन्तता दिन मुठाका मुठा चिठी खसाल्थेँ बर्दिबास र जनकपुरका हुलाक घरहरूमा ।

पठन भोकको लार्भा दिमागभरि भर्खरै घिस्रिन थालेको थियो । अंग्रेजी साहित्यको विद्यार्थी भए पनि क्याम्पसका पुस्तकालयबाट नेपाली उपन्यासहरू खुब पढ्थेँ त्यो बेला । पुस्तकालयमा भएका र नाम सुनेका कुनै ‘क्लासिक’ उपन्यास शायदै बाँकी थिए पढ्न ।

पुस्तक पढिसकेपछि पुस्तकका अनाम कुनामा लेख्थेँ ठाउँ-ठाउँमा आफ्नो नाम र ठेगाना । पछि पढ्ने पाठकले मेरो नाम थाहा पाओस् भन्ने सुषुप्त रहरले घर गरेको रहेछ त्यतिबेला । त्यो पनि त नामको मोहकै कारणले न थियो ।

प्रसिद्धिको लोभले जगाएको भोकको सिलसिला मनको चारैतिर तरेली परेर बसेको थियो । हवाई पत्रिका र गजल लेखनले उधुम मच्चाएको युग थियो त्यो । दिनमै दश-पन्ध्रवटा जति गजल लेख्थेँ । गजल के भन्नु र, गजलको अनुहार परेको, कजल, खजल आदि इत्यादि । नाम पनि साहित्यिक, गजल-कविता पनि लेख्ने खत्रै साहित्यकार भइयो भन्ने भ्रमले आत्मश्लाघाको चुचुरोमा पुर्याइछाड्यो । आत्मरतिको कुहिरोमा कागझैँ भएँ म ।

हवाई पत्रिकाका अंक/विशेषांकमा मेरो नामले राम्रैसँग स्थान पाउन थालेको थियो । हप्ता-दश दिनमा आउने चिठी/हवाई पत्रिकाको घरमा खात लाग्न थाल्यो । किसानगरका चिरपरिचित हुलाकी दाइले मेरो पत्र व्यवस्थापनको यात्रामा सारथी भए । पत्र-मित्रताको लहरो पूर्व मेचीदेखि महाकालीसम्म झाँगियो । गाउँलेहरूले मेरो नाम चिने । साथीभाइले उकेरा हाले । मनले अडेस लागेर रमाउने भित्तो भेटायो ।

उमेरको खोला बग्दै गएपछि, खोलामा बग्दै आएका भ्रम र मोहका दुर्ब्यसन थिग्रिँदै जान थाले । खोला सङ्लिँदै जान थाल्यो । किशोरावस्थामा ती कुराहरू हुनु सामान्य नै हुँदो रहेछ । जेजस्ता थिए, ती जिन्दगीका अनुपम र सम्झनलायक उपलब्धि थिए । ती क्रियाकलापले मिठो अनुभवका पुलिन्दा दिएर गयो । जीवनमा अस्तित्वबोधको बाटो झन् फराकिलो बनाइदियो । सिर्जनात्मकतासँग साक्षात्कार गर्ने आधारभूमि तयार पारिदियो ।

एक दिन उमेरको सिँढी चढिरहँदा एकाएक आफ्नो उपनामसँग मोहभङ्ग भयो । रोदनको भारी बोकिरहन गहुँगो लाग्न थाल्यो र बिसाइदिएँ त्यो उपनामलाई जीवनको एक अनाम मोडको चौतारीमा ।

नामको सोझो अर्थ कर्मसँग जोडिँदो रहेछ । कर्मको सगरमाथासम्म पुग्न निकै बाँकी नै रहेछ । ‘नाम कमाउने’ मोहको दहमा हेलिएको म पौडिन सिक्दा-सिक्दै अनुभवका असला माछा समातेर यथार्थको किनार उत्रिएको थिएँ । यो नै शायद जिन्दगीको सबैभन्दा ठूलो आर्जन थियो । कर्मशील हुन पहिल्याएको स्वप्निल गन्तव्य थियो ।


बर्दिबास-१४, महोत्तरी


प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नामको कथा र नामको विवेकशास्त्र ब्यक्तिगत मधुर भट्टराई

यो पनि पढ्नुहोस्...

संस्मरणात्मक निबन्ध : सपना र सपनाहरू | मधुर भट्टराई | हाम्रो कथाघर

नियात्रा: निर्वस्त्र रातमा प्रेमको कोसेढुङ्गा | हाम्रो कथाघर

संस्मरण: बाल्यकाल | हाम्रो कथाघर

नेवारी समुदायमा माँ तलेजु भवानीको महत्त्व | भाष्कर मैनाली शर्मा | हाम्रो कथाघर

निबन्ध: बादलको रङ्गीन संसार | ज्ञानेन्द्र विवश | हाम्रो कथाघर

संस्मरण: कथाकार शुषमा चित्रकारप्रति – २ | हाम्रो कथाघर

♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

कथा: साइतको विवाह | हाम्रो कथाघर

भर्खरै

कविता: प्रेमको आयतन | सरस्वती पुडासैनी | हाम्रो कथाघर

फाल्गुन २, २०८२

पोस्टरमा स्मार्ट लघुकथा शृङ्खला: २५ | हाम्रो कथाघर

फाल्गुन १, २०८२

बाल-उपन्यास: अद्भूत विवाह | नन्दलाल आचार्य | हाम्रो कथाघर

माघ २९, २०८२

“फिर्दोसको साँचो” सपना, आत्मा र यथार्थको मिश्रण, नेपाली समाजको यथार्थ चित्रण

माघ २८, २०८२

संस्मरणात्मक निबन्ध : सपना र सपनाहरू | मधुर भट्टराई | हाम्रो कथाघर

माघ २७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.