असाध्यै मनमोहक हुँदोरहेछ भर्खरै बादलले छोडेको पहाड । नग्नता सत्य हो । कला कल्पना हो । यदाकदा सत्यभन्दा मीठो हुन्छ कला । र, कलाले रुपान्तरण गर्नसक्छ सत्यका दायरालाई । नग्नतालाई कलाले ढाक्न खोज्नु प्रकृतिबिरुद्ध उभिनु हो, वा, बदल्न खोज्नु हो प्रकृतिको पाराबारलाई ।
बिहान नित्यकर्म सक्दा घामले जिस्क्याउँदै थियो याङ्गुनलाई ।
‘सर, यो हजूरको’ – धोएर आइरन लगाएका कपडाको खात अघिल्तिरको टेवुलमा राखिदिइन् एउटी बहिनीले ।
‘राम्रोसँग धोयौ त काली ?’ – सोध्नुभयो दिलीपजीले । ‘असाध्यै सफा, भर्खर बुनेको जस्तो बनाएँ सर’– सुकिलो कपडा जस्तै चम्किलो देखियो बहिनीको अनुहार । बर्मेली भएर पनि नेपाली भाषामा मीठासपन थियो बहिनीको । श्वेताङ्गे थिइन् बहिनी, त्यसमाथि हल्का तनखा लेपन गरेकी थिइन् मुहारमा ।
‘यस्ती गोरीलाई पनि काली भन्ने हो, बरु सयपत्री भन्नु नि, कि कसो ?’ – बहिनीतिर हेरें मैले ।
‘हो बरु सयपत्री भनेकै राम्रो’ – बहिनी श्वेडागोन पगोडाको गजुरमा झुल्केघाम परेझैं मुस्कुराइन् ।
‘लौ, आजदेखि नाम फेरियो’ – चुटका बजाउँनुभयो दिलीपजीले ।
‘नाम फेरे पनि म, मै हुँ क्यारे, बरु घरमा बाउले पो नचिन्ने हुन् कि ?’ – बच्चा जस्तै प्रकट भयो बालसुलभता बीस वर्षे बहिनीको ।
म्यान्मार पुगेदेखिनै मान्छेको अनुहार देख्दा अचम्भित थिएँ म । सडकमा हिँडिरहेका प्रायः सबै मान्छेको अनुहारमा लेपन गरिएको छ श्रीखण्ड जस्तै लेपले । ‘तनखा’ नाम रहेछ त्यसको । ‘तनखा दलेपछि अनुहार घामले डढ्न पाउँदैन, छाला मुलायम, गोरो र चम्किलो बन्छ, यो त रामवाण हो अनुहारको समस्याको लागि’ – म्यान्मार पुगेकैदिन राजदूतपत्नीले बताउँनुभएको थियो ।
असरल्ल जमातहरुको जात्रा बनिरहेछ याङ्गुन शहर । भिक्षु, भिक्षुणी, ब्यापारी, विद्यार्थी, जागिरे, कृषक जो जो हिँडिरहेछन् प्रायः सबैको अनुहार ढाकिएको छ तनखाले । काला, गोरा, नेप्टा, चेप्टा, मोटा, दुब्ला जसकोपनि सक्कली अनुहारलाई ढाकिएको छ तनखाले । ‘हैन, कहिले देख्न पाइएला बर्मेलीहरुको सक्कली अनुहार’ – एउटा उत्सुकता उगुज बनेर बसिरह्यो मनमा म्यान्मार बसाइभरी ।
बाटो, चोक, गल्ली, पार्क, दोबाटा, चौबाटा जतासुकै छ मान्छेको ताँती । ताँतीलाई मज्जाले छोपेको छ तनखाले । अन्यत्र त शरीर सबै ढाकेपनि अनुहार एउटा त राम्ररी देखाउँछ मान्छेले । त्यही अनुहार लेपको चेपमा परेपछि कसरी ठम्याउँनु मान्छे म्यान्मारमा – मनमा कुल्कुली चलिनै रह्यो क्षणक्षणमा ।
रङ्ग होस् वा तरङ्ग, धेरै थोक एकै ठाउँमा गुजुल्टिएपछि हराउँदोरहेछ स्पष्टता । निस्कँदोरहेछ बेग्लै आकार । मान्छे पनि बस्त्रले छोपियो, श्रृङ्गारले छोपियो, बिचार र सिद्धान्तको घम्साघम्सीमा छाल बन्यो । अनि कसरी बाँचोस् बरा सग्लो मान्छेको रुपमा । भीडमा जन्मेको मान्छे भीडमै हराइरहेछ । भीड भ्रम पनि हो । अँध्यारो पनि हो । आँधीबेहरी र अस्मेल छाल पनि हो । भीडबाट उठेर माथि पुग्न भीडका तानाबाना फाल्न सक्नुपर्छ, भीडका रङ्ग र तुवालो च्यात्न सक्नुपर्छ । भीडको रछ्यान र सीमबाट उठेर उकालो लाग्न नाङ्गै उठ्न सक्नुपर्छ । नाङ्गो उठ्नेसँग न कसरमसर हुन्छ न घमण्डको बुर्लुकबुर्लुक । अरुलाई उछिन्ने रुखनै अग्लो देखिन्छ जगलमा । रुस्सो हुन् वा मार्कस्, नेल्सन मण्डेला हुन् वा थोमस हब्स, इब्सेन हुन् वा इलियट सबै सबैले भीड र तुवालो चिरेर बिचारमा नग्नता ल्याएपछि मात्र स्थापित भएकाहुन् फरक रुपमा ।
तनखाले छोपेका मान्छेहरु धूमिल अनुहारमा सल्बलाइरहेछन् म्यान्मारमा । ज्ञानमा डल हुनेहरुमा पनि ज्यानमा मोडल बन्ने धून कहाँ छैन र संसारमा । काठ घोटेर शरीरमा दल्ने चलन ब्यापकनै रहेछ । सरकारी कर्मचारीको तनखा ‘तँ नखा’ भइरहेको बेला बर्मामा तनखा अमृतलेपको रुपमा प्रयोग भइरहेको पाउँदा हाम्रै श्रीखण्ड, शतिशाल र देवदारको उपयोग कति गर्न सकिन्थ्यो भन्नेमा रन्थन्यायो मन ।
‘कौडीमा पनि मिल्कन्छ भिल्लका देशमा मणि’ भनेर कविशिरोमणि लेखनाथले त्यसै भनेका होइनन् । हाम्रा बन पाखा, बुट्यान, भीर, खोच र खोल्साहरुमा उम्रेका सबै जडिबुटी छन्, फैलेका सबै औषधि छन् तर हामीहरु बिदेशबाट बुटी झिकाइरहेछौं, वैदेशिक मुद्रा सिद्धयाइरहेछौं ।
‘भाउज्यूलाई सधैंभरि तरुनी देख्ने भए तनखा लगिदिन नभुल्नुहोला नि सर । बर्मेली छोरीलाई बर्मेली तनखा भन्दा राम्रो उपहार अरु केही हुनै सक्तैन’– दूतावासकी माताई बहिनीले अघिल्लो दिन सम्झाउँनु भएको थियो मलाई ।
‘अनुहार तनखाले छोपेपछि के तरुनी, के बूढी छुट्याउँनै गाह्रो पर्नेरहेछ, अनि, सधैंभरी तरुनी देखिने भैहाल्यो नि’ – मैले जवाफ फर्काएँथें ।
‘ठीकै त हो नि । दिनभर तनखा लगायो । अरुका आँखा कुहिराका काग हुन्छन् । साँझ घर फर्केपछि तनखा पखाल्यो । अनुहार बिहानको घाम र पूर्णेको जूनजस्तो भैहाल्छ । अनि, देख्न पाउँनु हुन्न त भाउज्यूलाई सधैं तरुनी !’ – अलि बढी स्मित बदना बन्नुभएथ्यो थियो माताई बहिनी ।
‘हो, पक्कै पनि पुरुषहरुको’ चलाखी हुनुपर्छ यो, नारीहरुको अनुहारनै तनखाले छोपेपछि कसैको आँखा नपरोस् भन्ने अभिप्रायले चलाएको हुनुपर्छ यो चलन – मेरो तर्कले हाँसो गुञ्जिएको थियो मजासँग ।
अनुहार आकाश जस्तो खुला हुनुपर्ने हो, धर्ती जस्तो छ्याङ्ग हुनु पर्ने हो, नदी जस्तो निर्मल र हिमाल जस्तो खुलस्त हुनुपर्ने हो । तर आदिमकालदेखिनै अनेकौं बहानामा अनुहार छोप्न बाध्य पारिरहेछ मान्छेले । इस्लाम धर्मका फूलहरु अझै ढाकिइरहेछन् ढक्कनभित्र, हिन्दू धर्मकै कयौं नारीहरु कचल्टिरहेछन् अझै फरियाका सप्को र चुनरीका पत्रहरुले । औषधिको हिसावले राम्रो होला तर अनुहारभरी घुर्र्मैलो खरानी घसेझैं तनखा लेपेर हिँड्दा कहाँ देख्न पाइयो र बर्मेली सुन्दरीको चहक ।
अघिल्लो दिन एउटा बर्मेली बिज्ञापनमा मोडल मोई हे को, डार्ली, जु जु, सु सु नेहरुले तनखाले आफ्नो मुहारलाई ढाकिरहेकी देखेंको थिएँ । उनीहरुको अनुहार तनखाको रौनकले कुहिरोबाट घाम हेर्दै गरेको हिमाल जस्तो रहस्यपूर्ण बनेको थियो ।
बोझो मार्केटको तनखा खण्डमा छौं हामी । जतासुकै तनखानै तनखाको व्यापार चलिरहेछ । नघोटेको काठ तनखा, घोटेको लेप तनखा । बट्टामा तनखा । मुठ्ठामा तनखा । मगमगाइरहेछ बोझो मार्केटनै तनखाले ।
साँघुरो गल्लीभित्र छिऱ्यौं हामी । इन्द्रचोकको पोतेबजार जस्तै साँघुरो गल्ली । पसलहरु भने ठूला ठूला । नौतले घर बनाउने औकात राख्ने तर नौ अङ्गुल बाटो छोड्न कञ्जुस्याँईं गर्नेहरुको जमातनै रहेछ त्यहाँ पनि ।
हामी एउटा पसलमा पस्यौं । त्यो याङ्गुनकै पुरानो तनखा पसल भन्ने जानकारी दिनुभयो दिलीपजीले । पसलका सो केशभरी तनखाका बट्टाहरुले सजिएका छन् । भूँई र भित्ताहरुमा चट्टा लगाइएका छन् तनखा काठहरुले । बाह्र बिक्रेताहरुले बेचेर भ्याएका छैनन् । खरिद गर्नेहरु त गहिरी खेतमा धान रोपिरहेका रोपाहारहरुझैं जागिरहेछन् ।
‘मिङ्लाबा’ – एउटी बिक्रेता बहिनीबाट हामीलाई ध्यान पुऱ्याएको सङ्केत आयो । पहेंलो सर्ट पहेंलै मिड्डिमा सजिएकी ती बहिनीको अनुहारभरि तनखा त थियो तर भद्दा र नसुहाउँदो होइन । झण्डै झण्डै खुर्पानी रङ्गे थियो बहिनीको अनुहार । दुई गालामा तनखालेनै कोरिएको थियो म्यान्मारको चित्र ।
‘हामी तपाईंको गालाको कुन छेउमा छौं ?’ – मैले सोधें ।
‘यी यो डिलमा उभिरहनु भएको छ अहिले’ – शिशामा हेर्दै गालाको नक्शामा देखाउँनुभयो बहिनीले ।
‘ख्वै, मेरो देशनै देखिएन तपाईंको गालामा के किन्नु तनखा ?’ – परिचय पछि म हाँसे ।
‘पख्नुस्, अहिल्यै देख्न सक्नहुनेछ सुन्दर नेपाल’ – अर्की बहिनीलाई बोलाउँनुभयो बहिनीले । मानचित्र हेर्दै पाँच मिनटमै बनाइदिनुभयो बहिनीले गालामा नेपालको चित्र ।
‘चित्त बुझ्यो ?’– बहिनीको प्रश्न ।
‘असाध्यै खुशी भएँ म’ – मेरो जवाफ ।
मेरो नजिकै दुई गोरी युवतीहरु पनि तनखा किन्दै थिए । मैले अष्ट्रियाली वा अमेरिकी ठानेको थिएँ तर उनीहरु रहेछन् इजरायली । एउटी नोआ र अर्की आइला ।
‘दुई वर्ष अघि नेपाल रहँदा हामीले कयौंपटक श्रीखण्ड, बेसार र तीतेपातीको लेप लगायौं । त्यसले शरीरको चमकमा निखारता ल्याउँदो रहेछ । बेसार र श्रीखण्ड त अहिले पनि नियमित लेपन गर्छु म शरीरभरि । यी हेर्नुहोस् त कति चम्किलो छ मेरो ज्यान’ – केराको बोक्रा नङ्ग्याएझैँ फर्लक्कै टि–शर्ट उचाल्नुभयो नोआले ।
नोआका दुई महालङ्गुर र त्यस वारिपरिका भीर, चौर र फाँटहरु सामान्य नारीको भन्दा बढी चम्किलो र स्निग्ध रहेछन् । न कतै दाग, न कतै चाउरी । स्वस्थ स्याउको दाना झैं रङ्ग छरिरहेथे उनका हर अवयवहरुले ।
‘नाईं मलाई त हेर्न लाज लाग्छ’ – देखाउँनेलाई भन्दा हेर्नेलाई लाज लागेको छनक दिएँ मैले ।
‘नग्नता कहाँ हो र लाज ? नग्नता हेर्न नसक्ने मान्छे प्राकृतिक हुनै सक्तैन’ – सखल्ल तर्क थियो आइलाको ।
‘नग्नताको नग्न मिलनबाट जन्मन्छ जीव जन्तु । नानाभाँतीका परिधानहरु बेर्छ उ सुन्दरता लुकाउँन । आखिर नग्न बनेरै मृत्युका नग्न पञ्जाहरुसँग हात मिलाउँछ र नग्न सत्यको उद्घोष गर्छ प्राणी । समाजले परम्पराको नाममा नियन्त्रणको जाल नफिंजाउँने हो भने नाङ्गै हिँडाउँथें म जिन्दगीलाई’ – सुनको मूर्तिलाई खद्दरको जामाको अर्थहीनता भन्ने शैलीमा पोखिनुभयो नोआ ।
‘त्यसोभए किन लेप्नु त मुहारभरी तनखा ? कुहिरोमा अँचेटिएको होइन खुलस्त हेर्न चाहन्छन् आँखाहरुले जून र रुखलाई’ – मेरो तर्क ।
परिधान होइन तनखा, औषधिको रुपमा पो लेपिन्छ यो । अनुहारलाई बचाउँने हो भने आकाशगंगाको छायाँबाट, हल्का लेपे भैहाल्छ नि तनखा । ख्वै, मेरो अनुहारलाई छेकेको छ र तनखाले – पसल्नी बहिनी फेरी एकपटक खुल्नुभयो भञ्ज्याँङबाट देखेको उपत्यका जस्तै ।
आँखाको सार्थकतानै नङ्ग्याउनुमा छ । जन्म नग्नताको एउटा श्रृंखला हो, मृत्यु अर्को श्रृंखला हो नग्नताको । नग्नता यथार्थ हो, सत्य हो र शाहस पनि हो । छोपिनु कायरता हो, कपोलकल्पना हो रहस्यको । समय लुक्न थाल्छ र उदाउँछ साँझ । समय खुल्न थाल्छ र ब्युँझन्छ बिहान । लुक्नुमा कति पीडा, संकोच र अगति उलटपुलट गर्छ । खुल्नुमा कति हर्ष, तरङ्ग र सिर्जना फैलन्छ । नोआ, आइला र पसल्नी बहिनीहरुको खुलाई मेरो लागि ज्ञानको समुद्रमा पौडिएझैं भयो ।
साथीहरुले अर्को पसलबाट बिटाका बिटा तनखा किनेर ल्याउँदा हामी भने गफिएछौं मात्र । मैले ‘चार बट्टा लेप तनखाको तीन हजार च्याट र दुई काठ तनखाको एक हजार तीनसय च्याट भुक्तान गरें । सैनिक तालिम पुरा गरिसकेका नोआ र आइलासँग बिदाइका हात दह्रो रुपमा मिले ।
बोझो मार्केट पार गरेपछि कोन्ज्यादान स्ट्रिटमा लरखरिंदैछ हाम्रो जमात । तनखा बजारको डुड जस्तो गल्लीबाट फऱ्याक सडक र खुला आकाश भेट्दा फुक्का भएको छ मन । नाङ्गो आकाशको छहारी खोज्छ मन पनि ।
छपक्क भीडले छोपेको छ कोन्ज्यादान स्ट्रिटलाई । कोन्ज्यादान स्ट्रिटको किनारमा बजार छ – घरभित्रको बजार र खुला आकाश मुन्तिरको बजार । घरभित्रको बजार भन्दा खुला चौरमा राखिएको बजारमा भीड छ ग्राहकहरुको । चामल, दाल, काजु, पेस्ता, ल्वाङ, नून, तेल, सखर, चिनीका खण्ड खण्ड छन् । अर्कातिर फलफूल र तरकारी किनबेचको मेला चलिरहेछ ।
बस्तुहरुको भीडले तानिरहेछ मान्छेहरुलाई ।
मान्छेको भीडले तानिरहेछ वस्तुहरुलाई ।
गुजुल्टो परिरहेछन् मान्छेहरु । घचारोबाट निस्केको आवाज घनघोर छ, तर अर्थ भेटिएको छैन केही पनि ।
‘टेष्टी फ्रुट ! टेष्टी फ्रुट !!’– लाम्चो अनुहारकी एउटी फलफूल पसल्नीले हातनै तानुँलाझैं बोलाइन् मलाई । अनुहारभरि लतपतिएको तनखाले उनको अनुहार खस्रो कुभिण्डोजस्तो देखिंदैथ्यो । पसिनाका धाराहरुले याङ्गुन नदीका शाखा प्रशाखाको झल्को दिँदैथ्यो ।
‘यो गोर्खादी, यो पानदी, यो लम्बादी’– फलफूलका नामहरु चिनाइन् ती चालिसाले । गोर्खालीहरु बर्मा पस्दा नेपालबाट स्कुस पनि लिएर गए । त्यो नै गोर्खादी भएछ बर्मामा । त्यस्तै स्याउलाई पानदी र सुन्तलालाई लम्बादी भनिंदो रहेछ । फलफूललाई ‘दी’ भनिंदोरहेछ बर्मेली भाषामा ।
पारिपट्टि भीडनै भीडको अर्को झुण्ड सल्बलाईरहेछ । भीडनै भीडले घेरिएको छ काली मन्दिर । काली मन्दिरका तह तह परेका छानाहरु छन् । छानाभरि भीड छ देवी देवताहरुको । प्राङ्गणमा मान्छेको दोहोरीलत्ता, छानाहरु दीपस्तम्भझैं उभिएका देवगण । हिन्दूले भित्तो भेट्यो कि देवता खोज्छ, इस्लामले रित्तो देख्यो कि अल्लाह खोज्छ भन्छन् । अझ मन्दिरनै देखेपछि हिन्दूले के छाड्थ्यो निहुरन ! हामी पनि भीड छिचोल्दै पुग्यौं माता कालीको चरण स्पर्श गर्न ।
ठेलमठेल छ, पेलमपेल छ । भीडमा भलीभाँति हिँड्नुको मजानै अर्कै । भीडमा आँखाले आँखा खोज्नेहरु छन्, भाखाले भाखा खोज्नेहरु देखिए । कसैको च्यापाच्याप चलिरहेछ, कसैको झ््यापाझ््याप चलिरहेछ । युवा युवतीका आफ््नै चलिरहेछ यौवनका रङ्ग । अधवैंशेहरुको बेग्लै चलिरहेछ हाउ भाउ कटाक्ष । फूल प्रसाद बेच्नेहरुको कल्लोल आवाज कचल्टिरहेछ । बूढाबूढीको अनुहारले खोजिरहेछ जिन्दगीको अन्तिम क्षणहरुको आश्रय ।
भीड सगर बनिरहेछ, भीड सागर बनिरहेछ, भीड विश्व बनिरहेछ, भीड ब्रह्माण्ड बनिरहेछ । हुने नहुने सबै कुरा गर्ने ठाउँ हो भीड । जहिले पनि नाङ्गै हुन्छ भीड । जहिले पनि नाङ्गो बनिरहेछ भीड । हामी पनि स्यानो बूँद मात्र त हौं भीडका । भीडका हरेक मान्छेको कुनै न कुनै बहाना बनिरहेछन् मन्दिर र देवी देवता । ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ जस्तो बजार घुम्दा भेटेको देवतालाई साइनो लगाउँने बहानामा छौं हामी पनि ।
मन्दिर परिसरको ढोकामा जुत्ता कुर्न बसेका थिए । उनीहरुलाई दिने रकमको सम्वन्धमा स्पष्ट हुन चाहें म दिलीपजीसँग ।
‘दिनुहोस् न त्यस्तै एक हजार च्याट जत्ति’ – दिलीपजीको सल्लाह मुताविक गरें मैले ।
‘जुत्ता कुरेर बस्नु छ जावो एक हजार च्याट’ मैतिर हुऱ्याईदिए कुरुवाले । अर्को एक हजार च्याट थपिदिएपछि बल्ल थामथुम लागे उनी ।
मुद्रास्फितिको उचाई माथिल्लै रहेछ म्यान्मारमा भन्ने एउटा उदाहरण त्यहीं पनि देखियो । दुई हजार च्याटले त जुत्तै पाइन्थ्यो आफ््नो देशमा । कहिलेकहिं ‘एक दामको ल्वाङ् बचाउँन दस दामको स्वाङ’ समेत सहनु पर्ने रहेछ ।
मन्दिर, बजार, सडक सबैतिर तनखा हिँडिरहेछ । मान्छेहरु छोपिन खोज्दैछन् घामसँग । घाम, नङ्ग्याउँन खोज्दैछ हरेकको सक्कली अनुहार । उज्यालोको भीड हो घाम । सधैं नाङ्गो रहन्छ घाम । तनखाले अनुहार छोप्नेहरु देखाउँन चाहँदैनन् उनीहरुको सक्कली अनुहार । उनीहरुको नियत भने नाङ्गिरहेछ छर्लङ्ग घाम जस्तै । भीड होस् वा सत्य सधैं नाङ्गो हुन्छ, भइरहेछ ।
हामीहरु याङ्गुन बजारबाट फर्कंदैछौं नाटमख रोडतर्फ । बीचमा कोहिनुरझैं चल्मलाईरहिछिन् कान्दाउजी ताल । कान्दाउजी स्वयं अप्सरा जसरी चल्मलाइरहिछिन् । बादल हटेपछिको हिमालझैं झल्मलाईरहिछिन् । नग्न कान्दाउजी निलीम सौन्दर्यमा सुसाइरहिछिन् । कसैले छोपेको भए कहाँ हराउँथ्यो होला कान्दाउजीको कौमार्य !
काराओके प्यालेस रेष्टुरेण्ट अगाडि गाडीबाट ओर्लेर कान्दाउजीसँग कुतकुतियौं हामी केहीबेर । अलिपरबाट एक जोडी छिल्लिंदै हुत्तिदै आए हाम्रै अघिल्तिर । बैंशालु घोडा घोडी हरियो चौरमा उफ्रे जस्तै युवती अघिअघि युवक पछिपछि । हाँसोमा हाँसो छ, स्पर्शमा स्पर्श छ । भाग्न खोजेजस्तो अभिनय तर मुटु मुटुमा टाँसिइरहने उम्मेद छ । किनारमा पानी छ्यापाछ्याप भयो, सल्लाघारीमा स्याँ स्याँ सुँ सुँ र हुरि वतासझैं लुकामारी भयो । ‘बुझ््नुभयो सर तिनीहरुको बीचमा ‘पन्ध्रसय’ परेछ, – कान्दाउजी त पन्ध्रसय फक्राउने थलो पो भएको छ अचेल’ – हाम्रा चालक टिन्लिन्ले कोट्याउनुभयो ।
‘के हो पन्ध्रसय ?’ – मेरो जिज्ञासा । के हुनु उही क्या ‘छिट्टे’ त हो नि । प्रेमी प्रेमीकाको प्रेमलाई ‘पन्ध्रसय’ र घरपरिवारका सदस्यबीचको मायालाई ‘पाँचसय अठ्ठाइस’ भनिन्छ क्या यतातिर – टिन्लिनको अर्थ बुझेपछि हाँसोको फोहोरानै फुट्यो हाम्रो समूहमा ।
‘सरसँग पनि कसैले पन्ध्रसय पार्न खोजेजस्तो छ है म्यान्मारमा’ – माताई मस्किनुभयो कान्दाउजीमा फक्रेको कमलवदनमा ।
‘पन्ध्रसय त कोसँग पऱ्यो होला र ?, अव नेपालमै फर्केर पाँचसय अठ्ठाइसलाई नवीकरण गर्नुपर्ला’ – मेरो जवाफ माताई र टिन्लिनलाई मन पऱ्यो परेन त्यसतिर कुनै बिचारै गरिन ।
‘किन नपर्नु सर, आखिर यो संसार अडिएको यही पन्ध्रसय र पाँचसय अठ्ठाइसमै त रहेछ नि’ – दर्शन खोतल्न खोज्नुभयो माताईले । प्रेमको बिम्बलाई किन ती संख्याले नाप्न खोजियो त्यो त माताई र टिन्लिनले पनि प्रष्ट्याउँन सक्नुभएन कपिलमुनिको सांख्य दर्शनजस्तो पन्ध्रसय र पाँचसय अठ्ठाइसमा केही न केही रहस्य छ जस्तो लाग्यो हामीलाई ।
“कोपिला भन्दा फक्रेकै राम्रो फूल पनि । अरुसाँझभन्दा पूर्णेकै राम्रो जून पनि ।”
दिउँसो सवा एक बजे नाटमख रोडस्थित दूतावास पुग्दा आगोको वर्षा गराइरहेथ्यो घामले ।
दिउँसोको खाना राजदूत भिक्ट्री शमसेर राणाकै निवासमा खाइयो ।
‘यो हजूरको लागि बनाउँन लगाएकी । माछामासु बिनाको परिकार जुटाउँनै गाह्रो’ – राजदूतपत्नीको आवाजसँगै शाकाहारी विरियानी र सातथरि तरकारीहरु टुक्रुक्क बसे मेरो अघिल्तिर ।
‘होइन, बास्ना त शाकाहारीतिरै बढी छ, मीठो पनि उतै छ जस्तो छ, म पनि पुडासैनीसरकै फ्लोरतिर सरुँ कि कसो ?’ – रसाएको जिभ्रो सम्हाल्नै गाह्रो पऱ्यो एक मित्रलाई ।
‘सात्विक खाना, सात्विक शरिर र मन, शाकाहारी भएरनै ज्यान र मन पनि आकर्षक छ नि पुडासैनी सरको’ – थप्नुभयो रविकी मम्मीले । राजदूत भिक्ट्रीले शाकाहारीका सत्र फाइदा बताउँनुभयो । ‘तर, के गर्नु, आफू त सिपाही परियो, सेनामा शाकाहारी स्वभावले काम गर्दैन’ – थप्नुभयो पनि ।
खानासँगै दूतावास परिवारसँग धेरै कुराकानी भए । ‘हजूरका मीठा कविता, गीत र चुटकिला सुन्न पाइयो, चारदिन सँगै वस्दा पनि रमाइलोसँग चार वर्ष विताएझैं लागिरहेछ । हजूरलाई विदा गर्दा त छोरी घर पठाउँन लागेजस्तो भयो मलाई त’ – गहभरि आँसु पार्नुभयो राजदूतपत्नीले ।
‘हजूरसँग त नाच्नै पुगेको छैन मलाई, अव नेपालमै भेटेर रमाइलो गरौंला’ – ग्वाम्लाङ्ग अँगालो हाल्नुभयो राजदूतले ।
‘ससुराली देशबाट फर्कंदै हुनुहुन्छ, जिन्दगीभरी नछुटोस् हाम्रो माया’ – दीलिपजी र रिता भाउज्यू बन्नुभयो अलि बढीनै भावुक । माताई, भरत र सन्ध्या विश्वासको अनुहारमा एकाएक चलिरहेथ्यो अँध्यारो बादल ।
‘भेटिएपछि छुट्टिनै पर्ने रहेछ । जिन्दगीको कुनै मोडमा अवसर मिले भेटिएला कतै कतै । हजूरहरुसँगको यो माया लेखिएको छ जिन्दगीको शिलालेखमा’ – त्यति बोल्न सक्ता नसक्तै झण्डै वर्षिएको म भदौरे झरी जस्तै ।
नाटमख रोड, गोल्डन भ्यालीबाट इन्यालेक हुँदै याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा अपराह्न चार बज्छ घण्टाघरमा ।
पर्वपछि पाहुनाले छोडेको घर जस्तो छ याङ्गुन विमानस्थल । विमानसँगै अल्छि मानेर आगमन गर्छ एउटा उदास समय । र, घस्रँदै घस्रँदै बाहिरिन्छ बायु बेगमा ।
पस्नुको अर्थ निस्कनु पनि हो । पसेर ननिस्कनेहरु गत्यावरोधको शिकार पर्दछन् ।
आखिर साँझ साढे ६ बजे बंगलादेश एयरलाइन्सको बी जी. ०६१ बिमानले हामीलाई पेटमा च्यापेर म्यान्मारबाट गति लियो बंगलादेशको लागि ।
हामीहरुले छोड्दा धिपधिपे बत्तिमा सुस्केरा हालिरहेथ्यो याङ्गुन शहरले । श्वेडागोन पगोडा, इन्या, कान्दाउजी र येयावदीहरु कस्तुरी खोजेका मृगझैं छट्पटाइरहेथे । सुनमा खिया लाग्दैन तर खियाका जराहरुले जकड्याउँन खोजिरहेछन् सुवर्णभूमिलाई । जनताको नाममा जनतालाईनै साँढेको जुधाई बाछाको मिचाइ पारिएका छन् बर्मेली जनता । नाकाबन्दीको चपेटाले सुकेनासले सताए र च्याठ्ठिन नसक्ने बच्चा बनेको छ बर्मा । मान्छे र मानवता सु की को नियतिमा नजरबन्द भोगिरहेछ साङ्लाका सल्याङ्सुलुङमा । आकाशबाट कति सुन्दर देखिइरहेछन् बर्माका फाँट, बस्ती र जङ्गलहरु । तिनीहरु पनि मोहिनी हराएकी प्रेमिका वा मणी मिल्किएको नागझैं उदास र कान्तिहिन कलेवरमा जकडिइरहेछन् । हरेक बन्द ढोकाहरु एकदिन खुल्छन् बाध्य भएर । हरेक अग्ला पर्खालहरु एकदिन ढल्छन् सम्भाल्नै नसकेर । र, नाङ्गिन्छन् हरेक सत्यहरु चहकिलो प्रकाश भएर ।
मनमा बर्षिएका अनेकौं बिचारसँगै चार मिनेटमै म्यान्मारको भूमि दृश्यहिन भैसकेको थियो आकाशबाट । आगाका लप्काजस्ता बादलहरु लेपसिरहेथे नीलो आकाशमा । बिमान चौंतीस हजार फिटमाथि उडिरहेको सङ्केत प्रक्षेपण गरिरहेथ्यो बिमानभित्रको टेलिभिजन मनिटरले ।
घोर अन्धकारलाई एक घण्टा बीस मिनेट छेडेपछि विमान ओर्लियो जिया अन्तर्राष्ट्रिय बिमानस्थल ढाकामा ।
नेपाली दूतावासका कर्मचारी यादव कोइराला र अब्दुल बसारसँगै बिमानस्थलदेखि बारिधारा पुग्दा धेरै ठाउँमा तालका लहरहरुमा बत्तिको उज्यालो लहरिरहेथ्यो ।
‘यो ढाका हो । यहाँ आधा मान्छेहरु सधैं ढाकिइरहन्छन्, आधा खुलिरहन्छन् । सधैं नग्न रहने त कि तालहरु हुन् कि सागर । नग्नता श्रोत पनि रहेछ अरुको लागि । ताल र समुद्र नग्न छन् र पो जलस्पर्श गर्छ सूर्यले र बाँड्छ सर्वत्र । नदी, ताल र समुद्र पनि ढाकिने भए कहाँ पाउँथे र सूर्यले पनि वर्षाको अजस्र स्रोत’ – हामीलाई स्वागत गरेपछि कुरै कुरामा बताउनुभयो राजदूत भगिरथ बस्नेतले ।
बाटा छेउका बेली र चमेलीका सेता फूलहरु सुमसुम्याउँदै बन्द कोठामा पस्दा मनले भन्यो– रातभरी खुला बगैंचामा फूलका नाङ्गा पत्रहरुसँगै बसौं न हुन्न ? रात आखिर नाङ्गोनै सुन्दर हुन्छ । सुन्दर आकाश जस्तो र सुन्दर ताल तलैया र नग्न जङ्गलजस्तो । आखिर यहाँपनि हिसाव गर्नुपर्छ कसै न कसैसँग पन्ध्रसय र पाँचसय अठ्ठाइसका जोड घटाउहरुको ।
समयभन्दा पहिले केहीपनि हात पर्दैन कसैलाई । उज्यालोको समुद्र त्यो बिहानलाई भेट्ने अभिप्रायले रातको काखमा कथा लेख्दैछु म ।
२०६२ आश्विन २३ गते शनिवार
(९ अक्टोवर, २००५)
बारिधारा, म्यान्मार ।