हरेक बिहान पुजाकाे घण्टीसँगै मेराे निद्रा खुल्ने गर्थ्याे। म हाई गर्दै झ्यालमा पुग्थे र जीउ तन्काउँथे। पल्लाे घरका हजुरबा हजुर आमा आँगनमा सारेकाे तुलसीकाे मठमा पुजा गर्दै हुन्थे।लाग्थ्याे-
“याे उमेरमा पनि कति प्रगाढ प्रेम कति गाढा माया।”
म त्याे दृश्य देखेर खुसीले भरिन्थे। भर्खरका युवा जाेडा जाेडी जस्तै लाग्थ्याे, सत्तरी वर्ष काटेका ती हजुरबा हजुर आमा त्यतिखेर मलाई ।
पुजा सकेर दुवै भित्र काेठामा पसेपछि पवित्र देवभूमिकाे दर्शन गरेर फर्केकाे महसुस हुन्थ्याे मलाई। हरेक दिन ती हजुरबा, हजुर आमाले मेराे झ्यालतिर हेरेर आशिर्वाद दिए झैँ लाग्थ्यो ।
मेराे काेठा नजिकै पल्ला घरकाे आँगन ठूलाे तिर्थ झै लाग्थ्याे मलाई।
खाना हजुरबाले बनाउँथे। शारीरिक रूपमा हजुर आमा भन्दा हजुरबा बलियाे र निराेगी देखिन्थे। हजुर आमा राेगी थिइन्। राम्राे सँग आँखा देख्दिनथिन् सायद् हजुरआमाले। ।हिंडडुल गर्न उनलाई हजुरबाकाे सहारा चाहिन्थ्याे। हजुरबाले खाना पकाउँथे र हजुर आमालाई सँगै राखेर खुवाउँथे। खाएकाे जुठाे भाँडा आफै मस्काउँथे हजुरबा अनि सँगै घुम्न जान्थे बजारतिर। मैले हर दिन देख्ने गरेकाे याे उनीहरूकाे दैनिकी थियाे।
एक किसिमले लाग्थ्याे आनन्दमय छ तिनकाे जिन्दगी । कसैकाे आस नराख्ने ती बुढा बुढीकाे पारिवारिक जीवन सम्पन्न थियाे। चार जना सन्तान, दुई छाेरा दुई छाेरी। हराभर थिए बुढा -बुढी ।
सन्तान सबकाे घरजम भैसकेकाे थियाे। छाेरीहरू राम्रै घरमा परेका थिए। छाेराहरू पनि आ- आफ्नाे परिवार सम्हालेर बसेका थिए। नाति नातीनीहरू विदेशमा थिए। ओैंसीकाे दिन मिठाई र केही खानेकुरा बाेकेर छाेरा छाेरी बुढा बुढीकाे सामु टुप्लुक्क आउँथे; ओैपचारिकता देखाउँथे र जान्थे। अघिपछि काेही आउँदैनथ्यो उनीहरू सामु माया बाेकेर। केवल रित्ता थिए बुढा बुढी । के थाहाँ कुन बेला समय कसरी आउँछ क्रुर बनेर।
एक दिन अचानक बुढा बिरामी परे। भाडामा बस्नेहरूले छाेरा बुहारीलाई माथिल्लाे तलामा खबर पुऱ्याइदिए । उनीहरू आउँदा बुढा सिकिस्त अवस्थामा पुगिसकेका थिए।
आफुले मात्र हस्पिटल खर्च बेहाेर्नु पर्ला भनेर कान्छाे छाेराे दाजु भाउजूलाई खबर गर्दै थियाे फाेनबाट।
बुढा हजुरबा हस्पिटल लाँदा लाँदै बीचबाटाेमै मरेकाे खबर सुनियाे। वरपरका छिमेकीहरू मलामी गए। त्यहीँ रात बुढा पशुपति आर्यघाटमा जलेर खरानी भए। त्याे रात म निदाउन सकिन।
भाेलिपल्ट आँगनभरि मान्छे जम्मा भएका थिए। बुढी सेताे पहिरनमा छाेराहरू नजिकै बसेकी थिइन्। सान्तवना दिन आफन्तहरू, छरछिमेकी आउँथे र जान्थेँ। मान्छेका सामु गाेहीले आँसु झारेझैं छाेराहरू रून्थे।
“हाम्रा बुबा हामीलाई छाडेर यति चाँडै जानु भाे।”
छाेरीहरू चिच्चाउँथे। ती रूवाई र चिच्याहट सुनेर मान्छेहरू कानेखुशी गर्थेँ ।
“बाँचुन्जेल कहिल्यैँ वास्ता गरेनन् ; सँगै राखेनन्। मरेपछि समाजलाई देखाउन स्वाँङ पार्छन कति जानेका नाटक गर्न।”
मानिसहरूकाे खण्डन सुनिन्थ्याे। वास्तवमा त्यस्तै थियाे त्याे घरकाे व्यवहार । जेठाे छुट्टिएर बसेकाे। कान्छाेले बा आमाकाे जिउनी सहित अंश खाएर बसेकाे। चार तल्लाकाे घर। तल्लाे तलामा बाबु आमालाई एउटा काेठा, तीन ओटा काेठा भाडामा। महिनाकाे दुई काेठाकाे भाडा बुढा बुढीलाई छुट्टाएका थिए। तिनै दुई काेठाकाे भाडा तीनहजार मासिक थापेर बुढाबुढी पालिएका थिए।
“बुढा भन्दा अघि जान पाए सुखै पाउँथे।”
बुढी बारम्बार आफुलाई भेट्न आउने बुढापाकाहरू सँग भन्ने गर्थिन्। तर बुढाले नै एक्लै बुढीलाई छाडेर गए।
तेह्र दिनसम्म बरखी बारेर काजक्रिया गरिदिए छाेराहरूले र बाबुकाे जुठाे फुकाए।उनीहरूलाई कुनै चिन्ता थिएन पित्रृशाेककाे। चिन्ता थियाे त पैसा खर्चकाे। केही दिन त आमालाई माया पनि गरिटाेपले। कहिले कान्छाेले आफुसँगै राखेर कहिले जेठाेले बाेलाएर एक दुई छाक खान दिएर । दुबै छाेराका पत्नीहरू असल थिएनन्। छाेराहरू पनि आ- आफ्ना पत्नीकाे कुरा काट्न सक्दैनथे।
आफ्नाे कर्तव्यबाट पछि हटिसकेका छाेराहरूसित गुनासाे गरेर के पाउनु थियाे र ? बुढी दु: ख आफैसँग लुकाउँथिन्।आफुले हेर्नू पाे पर्ने हाे कि भनेर छाेरीहरू पनि आवात जावत कम गर्थे।
बुढेसकालमा आफ्ना सन्तानहरूसित सुख दु: ख बाँडेर फूलकाे थुँगा झै हलुका हुने दिन बुढीलाई कहिल्यैँ आएन।
जेठाे छाेराले केहिदिन लगेर उसकाे घरमा राखेकाे थियाे। बुहारीले छिमेकीसँग कुरा काट्दै गरेकाे बुढीले सुनिन। बुहारी भन्दै थिइन्-
“सम्पत्ति जति सबै कान्छाे छाेरालाई पाेसे, अहिले मलाई घाँडाे आइलागेकाे छ। कुन मुखले बस्न सकेकाे हाेला ? उतै छ उनकाे भाग उतै जानु नि ।”
बुढीका आँखा रसाए। मुटु बेस्सरी दुख्याे। के के अड्के जसरी घाँटीमा अवराेध भयाे। बिस्तारै मुटु छामेर थच्च भुइँमा बसिन् र भुइँभरि आँसु खसालिन्। चार वटा सन्तानलाई आफूले कहिल्यैँ फरक नगरेकाे र आफ्नाे गाँस काटेर दु:खमै हुर्काएकाे सम्झिन । आफ्नाे शरीरकाे ख्याल नगर्दा आफु बेलैमा राेगी हुन पुगेकाे र बुढेसकालमा तिनै छाेरा छाेरीबाट आफू अवहेलना भएकाे पीडा सम्झिन थालिन्।
जेठा छाेराकाे घरमा बस्न मन नलागेपछि बुढी पुन कान्छाे छाेराकाे घरमा फर्किन्। कान्छी बुहारी पनि के कम? उनले पनि आफ्नाे रूप देखाएरै छाडिन।
एकदिन बुढीलाई पेटमा गड्बडी भयाे र सन्चाे भएन। याे देखेर कान्छी बुहारीले रडाकाे मच्चाइन्।
“कति घिच्नुपर्छ ? बस्याे खायाे। हेर याे दुर्दशा म त सक्दिनँ।”
त्यसपछि बुढीलाई खान दिन छाेडे। अनि पहिलेकै काेठामा लगेर राखिदिए। भाेक लाग्थ्याे खान पाइँदैन् थियो। दया मायाले वरपरकाले केही दिएमा बुहारी झगडा गर्थिन्। बिचरी बुढी भाेक भाेकै पर्न थालीन्। याे अवस्थामा आएर यस्ताे पीडा ? उनलाई देख्ने सबैकाे आँखा रसाउँथे ।
केही हप्ता पछाडी ,
बेलुकी पख म अफिसबाट फर्किदै थिएँ । पल्लाे घरकाे आँगनमा रूवाबासी देखे। जेठाे छाेरा छाती पिटि – पिटी रूँदै थियाे। कान्छाे छाेरा पनि डाकाे छाेडेर रूदै थियाे। आँगनकाे छेउमा बुढीकाे लास थियाे। छाेरी बुहारीहरू पनि राेइरहेका थिए। मैले त्याे दृश्य देखेर गह्रुङ्गो मन लिएर पाइला अगाडि सारे। बुढीले आत्माहत्या गरिछिन्। मान्छेहरू भन्दै थिए –
” सुख पाइन् बुढीले ।”
तारा के.सी
काभ्रे पनौती