Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

गजल श्रृङ्खला – 17

जेष्ठ १७, २०८२

मुक्तक श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

पाक्षिक लघुकथा अभियान – अंक : ०९

जेष्ठ १६, २०८२

कविता: अर्थमै चित्त जाओस्

जेष्ठ १५, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » नियात्रा: योनि म्युजियममा चियाउँदा

नियात्रा: योनि म्युजियममा चियाउँदा

गैर आख्यान - नियात्रा
कृष्ण बजगाईं `लन्डन′कृष्ण बजगाईं `लन्डन′मंसिर ११, २०८१2K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

त्यसो त यात्रा गर्ने उचित समय कहाँ नै आएको थियो र ! तैपनि मनले यात्रामै दौडाइरहेथ्यो । पाइला उठाउन आतुर थिएँ म । उत्प्रेरित गरिरहेथ्यो यात्राले मलाई । बेलायतमा
लकडाउन जारी रहेको चार सय पचास दिन भइसकेको थियो । कोरोना नहटे पनि अर्को महिनादेखि लकडाउन हटाउने कुरा चल्दैथियो । त्यसले मनमा आशाको सञ्चार गराएको थियो ।

०००

जुन २१, सन् २०२१ अर्थात् वर्षको सबैभन्दा लामो दिन । यात्राको सिलसिलामा छु म । यति बेला मन उमङ्गले भरिएको छ । बैँसे घामको पखेटाले अर्धनग्न सुन्दरीका अङ्गहरूलाई चुम्बन गरिरहेको छ । पसिनाले निथु्रक्कै
भिजेका सुन्दरीहरू अघिपछि लागेका छन्, मानौं गर्मी चाहिँ सुन्दरीहरूलाई मात्र भएको छ ।

घरदेखि ट्रेन स्टेसनसम्मको लगभग दश मिनेटको यात्रामा विभिन्न दृश्यहरू घरिघरि आँखामा आइरहन्छन्। कोरोनाको विश्वव्यापी महामारीका कारण बेलायत सरकारको सन्देशमा सकेसम्म घरमै बस्नू, सम्भव हुने जतिले अफिसको पनि काम घरबाट गर्नू भन्ने थियो । सरकारले भने जस्तो सबै सम्भव थिएन । म आफैं पनि नियमित अफिस जाने गरेको छु । सहरमा बस र ट्रेनहरू सञ्चालित छन्। आंशिक रूपमा भए पनि खुला छ बेलायत । रेस्टुरेन्ट, पसल, सङ्ग्रहालय आदि भर्खर खुलेका छन्।
जे होस्, अलिकति भए पनि जीवन चल्मलाएको छ सहरमा ।

लामो समयको लकडाउनका कारण घरमै बस्न बाध्य बेलायतका धेरै मानिसहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको कुरा सरकारी तथ्याङ्कले बताएको छ । लकडाउन र कोरोनाको मार मैले पनि खेपेको हुँ । कोरोनाबाट सङ्क्रमित भएर थला परे पनि कोरोनालाई जितेँ, तर पनि ज्यानमा पहिला जस्तो स्फूर्ति छैन । यात्रा गर्दा मानसिक स्वास्थ्य राम्रो हुने र स्फूर्ति मिल्ने कुरा वैज्ञानिक अध्ययनले बताएको छ । म ताजा हुन र ज्ञान बटुल्न निकै समयपछि यात्रामा निस्किएको थिएँ ।
मुखमा मास्क र गोजीमा सेनिटाइजर छुटाएको छैन मैले । यति भएपछि सुरक्षित भएको महसुस हुँदोरहेछ ।

मेरा उत्साहित पाइलाहरू ट्रेन स्टेसनतिर लम्किरहे । लन्डनमा भर्खर खुलेको संसारको पहिलो योनि म्युजियमले मलाई त्यता डोऱ्याएको थियो ।

‘योनि’ शब्द सम्झने बित्तिकै अनेक कुराहरू मनमा आउँछन्। वास्तवमा योनिलाई सार्वजनिक रूपमा चर्चा गर्न नमिल्ने अङ्ग ठानिन्छ हाम्रो समाजमा । योनि मानव सृष्टिको द्वार हो । योनिप्रति पुरुष मन एकदम आकर्षित हुन्छ । त्यसैले भन्ने गरिन्छ, पुरुषहरूको मन योनिका पछि दौडिरहेको हुन्छ। तथ्याङ्क अनुसार पनि महिलाको तुलनामा अधिकांश पुरुषहरू यौनका कुरा सोचिरहन्छन्।
योनि म्युजियम कस्तो होला ? योनि म्युजियम अवलोकन गर्ने महिला धेरै होलान् की पुरुष ? सार्वजनिक रूपमा एकै ठाउँमा महिला र पुरुषले कसरी सहजै हेर्न सक्लान् योनिका सङ्ग्रहहरू ? यस्तै प्रश्नहरू मनभित्र उठ्दै थिए । मेरो अगाडि लन्डन जाने ट्रेन प्लेटफर्ममा आइसकेको थियो ।
ट्रेनभित्र प्रवेश गरेपछि डिब्बामा चारैतिर आँखा दौडाउँछु । महिला र पुरुष बराबरी छन्। एउटा खाली सिटमा बसेँ । मेरो ठिक अगाडिको सिटमा एक सुन्दरी आएर बसिन्। संयोग कस्तो परेको छ भने ट्रेन ड्राइभर महिला थिइन्। मेरो सामुन्नेको सिटमा बसेकी पनि महिला नै छिन्। म महिलाकै अङ्ग योनिको म्युजियम अवलोकन गर्न जाँदै थिएँ । मनमा अनौठो तर्कना चल्न थाल्यो । योनिविना मानवसृष्टिको कल्पनै गर्न सकिँदैन, तर योनिका बारेमा समाज किन यति धेरै सङ्कुचित ? योनि लुकाउने अङ्ग हो, त्यसमा म सहमत छु । योनिका बारेमा सार्वजनिक रूपमा कुरा गर्न सङ्कोच होला । त्यो पनि स्वीकार गर्छु । तर योनिका बारेमा स्वयम् महिलाहरू नै अनभिज्ञ छन्।
त्यसका बारेमा महत्त्वपूर्ण जानकारी नदिनु उनीहरूमाथिको अन्याय हो । महिनावारी, स्वस्थ यौन सम्पर्क, प्रजनन र योनिको सरसफाइका बारेमा छोरीहरूले मात्र होइन छोराहरू पनि जानकार हुनुपर्छ भन्ने मान्यता राख्दछु म ।

ट्रेन अगाडि बढ्दै गर्दा घरि झ्यालबाट बाहिरको दृश्य हेरेर रमाउँछु, घरि योनिका बारेमा पढेका अनौठा कुराहरू सम्झन्छु । कताकता कुतकुती लगाउँछ त्यसले मलाई र एक्लै फिस्स हाँस्छु । ओहो, कसैले मलाई देखेर पागल त भन्दैन ? फेरि सचेत हुन्छु म ।

मनले अङ्ग्रेजी शब्दकोश पल्टायो । अङ्ग्रेजीमा भजाइना भनिने योनि बुझाउने शब्द ल्याटिन भाषाबाट आएको हो । ल्याटिन भाषामा भजाइनाको अर्थ हुन्छ तरवारको दाप अर्थात् तरवारको खोल । कुन विद्वान्ले यस्तो नाम राखे होला ? जतिपटक सम्झन्छु, एक्लै हाँस्ने गर्दछु । धन्न महिलावादीहरूले भजाइना शब्दको चर्को विरोध गरेका छैनन्। वर्तमान समयको गति र रूप हेर्दै आएको छु । कुनै दिन भजाइना शब्दमाथि महिलावादीहरूले प्रतिबन्ध लगाउने आन्दोलन गरे भने मैले आश्चर्य मान्ने छैन । धेरै पहिले ल्याटिन देशका केही लोक कथा पढेको थिएँ । ती कथामा केही महिलाका योनिमा दाँत हुन्छ भनेर लेखिएको थियो। तर त्यस काल्पनिक कथालाई अहिले पनि वास्तविक ठान्ने मानिससँग एकपटक मेरो संवाद पनि भएको छ । यस्तो उत्तर आधुनिक समयमा तिनको तर्क सुनेर उदेक लागेथ्यो मलाई ।

हिन्दू धर्म र संस्कृतिमा योनिलाई शक्ति र सौन्दर्यको समन्वयको रूपमा लिइएको छ । भारतको
आसाममा अवस्थित कामख्या मन्दिरमा योनिकै पूजा हुन्छ । प्राचीन मान्यताअनुसार त्यहाँ भगवान् शिवकी पत्नी सतीदेवीको योनि पतन भएको थियो । त्यहाँ योनि आकारमा रहेको शिलाको पूजा गरिन्छ । त्यस पूजालाई शुद्ध र पवित्र मानिन्छ । अरू संस्कृतिका मानिसहरूले त्यस्तो पूजालाई कसरी लिँदा हुन् भनेर सोच्छु ।

सार्वजनिक रूपमा हामी योनि र सम्भोगका कुरा गर्नुलाई अश्लीलताको पराकाष्ठा ठान्छौं । तर कतिपय हिन्दू मन्दिरमा योनि देखाइएका र विभिन्न आसनमा सम्भोग गर्दै गरेका मूर्तिहरू देख्न पाइन्छ । वेदमा समेत वर्णन भएकी एक देवी हुन् लज्जा गौरी । ती देवीलाई बच्चा जन्माउने उर्वर क्षमता भएकी कामुक देवीको रूपमा मानिएको छ । शिर नभएकी लज्जा गौरीको शिरको ठाउँमा कमलको फूल हुन्छ । उनको कहीँ उत्तेजक पाराले योनि देखाएको त कहीँ बच्चा जन्माउन लागेको अवस्थामा बसेर
योनि देखाइएको मूर्ति पाइन्छ । पहिलो पटक ती मूर्ति देखेर म रन्थनिएको थिएँ । हिन्दू मन्दिरमा मात्र होइन मध्ययुगमा बनेका युरोपका केही पुराना चर्चहरूमा पनि योनिको आकृति देख्न पाइन्छ । अतिरञ्जित पाराले योनि देखाइएको महिलाका ससाना मूर्तिहरू मैले केही चर्चमा
देखेको छु । ग्रीक देवीका अर्धनग्नदेखि पूरै नग्न अवस्थासम्मका मूर्तिहरूको अवलोकन गरेको छु । पूजा
र प्रार्थना गरिने धार्मिक स्थलमा योनि प्रदर्शन गरिएका मूर्तिहरूलाई सबैले सहज रूपमा लिन्छन्। तर योनि शब्द नै उच्चारण गर्नु हुँदैन भन्नुचाहिँ ढोंग हो भन्ने लाग्छ ।

चर्च र मन्दिरको कुरा मनमा आउँदा अचानक सामुन्ने रहेकी बेलायती सुन्दरीतिर पुलुक्क नजर लगाउँछु । उनका आँखा हातमा रहेको मोबाइल फोनमै टाँसिएका थिए । फेरि म अनायासै इतिहासका पाना पल्टाउन थालेँ ।

अति प्राचीन समयमा मेसोपोटामियामा प्रेम, यौन, सौन्दर्य, इच्छा र प्रजननकी देवी इनन्नाको पूजा गरिन्थ्यो । त्यस बेला योनिलाई जीवन पालना गर्ने र जीवनको सुरुवात गर्ने महत्त्वपूर्ण अङ्गको रूपमा मानेर सम्मान गरिन्थ्यो । मेसोपोटामियाका मानिस योनि आकारका माटाका ससाना आकृतिहरू जन्तरको रूपमा लगाउँथे । त्यसले दुष्ट आत्माहरूबाट बचाउन, बाँझोपन र नपुंसकता हटाउन लाभदायक हुने कुरामा विश्वास गर्दथे । तर अहिले योनि आकारको जन्तर लगाएर कोही बाहिर निस्के भने देख्ने मानिसलेतिनलाई के भन्लान् ? आफैंलाई प्रश्न सोध्छु ।

उसो त कामुकता सम्बन्धी संस्कृत साहित्य र तान्त्रिक साहित्यमा योनिका प्रसङ्गहरू प्रसस्त आउँछन्। बेलायतमा एकपटक योग कक्षामा गएको घटना सम्झना आयो । मानसिक र शारीरिक स्वास्थ्यका लागि लाभदायक मानिएको प्राचीनकालदेखि चलिआएको योगका विभिन्न आसन र मुद्रामध्ये एउटा योनिमुद्रा पनि हुन्छ भन्ने कुरा त्यहीँ पुगेर थाहा पाएको थिएँ । त्यस मुद्रामा दुवै हातलाई योनिको आकार दिएर ध्यानमा बसिन्छ । त्यसो गर्दा व्याकुलता कम हुने र नकारात्मक ऊर्जा समाप्त भएर
सकारात्मक ऊर्जाको विकास हुन्छ भनेर योगगुरुले भनेका थिए । उनको कुरा पत्याउँ कि नपत्याउँ भइरह्यो ।

यस्तै कुरा मनमा चलिरहँदा वाट्फोर्ड हाइस्ट्रिट स्टेसनबाट चढेको ट्रेन अन्तिम स्टेसन युस्टोनमा पुगेर रोकियो । त्यहाँबाट फेरि अर्को ट्रेन चढेर क्याम्डेन टाउन पुग्दा सवा घन्टा बितिसकेको पत्तै भएन । क्याम्डेन टाउन लन्डनको एउटा व्यस्त र सस्तो बजार हो । उक्त बजारमा भुईंमा र सटरमा व्यापार व्यवसाय गर्ने तथा किनमेल गर्ने मानिसको भिड देखिन्छ । विभिन्न देशबाट पुगेका ती मानिसलाई हेर्दा क्याम्डेन टाउन कुनै बहुजातीय सहर जस्तो लाग्छ । त्यहाँ रहेका विभिन्न सुभनियर पसल, व्यस्त र साँघुरा सडक देख्दा त्यसले काठमाडौँको ठमेलको झझल्को दिलाउँछ । त्यहाँ योनिको किनबेच हुने कुरा सुनेको छु । हुन त धेरैथरी व्यापार हुने ठाउँमा योनिको व्यापार हुनु कुन ठूलो कुरा
हो र ? ‘एनी हाउ, पैसा कमाऊ’ न हो !

हिँड्दै जाँदा क्याम्डेन मार्केटमा रहेको योनि म्युजियमको साइनबोर्ड देखेर टक्क रोकिएँ । गन्तव्यमा पुगेपछि सन्तोषको सास फेरेँ । म्युजियम अगाडि पाँच जनाको समूहमा आएका मस्त तरुनीहरू लाइनमा उभिएका थिए ।
उनीहरू खासखुस कुरा गरिरहेका थिए । म अलिक धकाउँदै उनीहरूका पछि सामाजिक दूरी कायम राखेर उभिएँ । मेरो पदचाप सुनेर ती सबैले पुलुक्क मतिर हेरे । डराउनु पर्दैनथ्यो । लजाउनु पर्दैनथ्यो । तर लाजले चिमोट्यो मलाई । योनि म्युजियममा म एक मात्र पुरुष ती युवतीहरूका पछाडि लाइनमा उभिएको थिएँ । अरूले हेर्दा योनिको पछि लागे जस्तो देखिदैन ? कतै तिनीहरूले मलाई लाज पचेको,
थेतरो र बेसरम त भन्ने होइनन् ? यिनैकुराहरू सम्झेर अलिक अप्ठेरो महसुस भयो ।

कोरोनाका कारण सार्वजनिक स्थलमा ‘फेस मास्क’ अनिवार्य भएकाले मेरो मुख छोपिएको थियो । मुस्कान छाड्ने युवतीहरूका ओठ पनि मास्करूपी पर्दाभित्र बन्द थिए । भनिन्छ मानिसको प्रतिक्रिया पढ्ने व्यक्त गर्ने ओठ र आँखा हुन्। तिनीहरूले मेरो आँखा पढे । मुखको प्रतिक्रिया पढ्न पाइनन् । मैले उनीहरूको आँखाको भाषा बुझ्ने प्रयास गरेँ । उनीहरूका आँखा मौन थिए । आफूलाई सहज बनाउन खल्तीबाट फोन झिकेर स्क्रिनमा आँखा लगाएँ । योनि सङ्ग्रहालय हेर्न महिलाको पछि उभिएको पाँच मिनेट बितिसकेको थियो । कुनै पुरुष मेरो पछाडि लाइनमा उभिइदिए हुन्थ्यो भन्ने लाग्दै थियो । तर केही बेरपछि फेरि दुई युवती नै मेरो पछाडि उभिए । त्यसपछि झन् असहज हुन थाल्यो । मनले भनिरहेको थियो – ‘कतै म गलत ठाउँमा त आइनँ ?’ वस्त्रहीन शरीर लिएर लाइनमा उभिए जस्तो महसुस भयो । लाज शरमले गिजोलिएँ । बल्लबल्ल समय निकालेर लामो ट्रेनयात्राबाट त्यहाँ पुगेको थिएँ । फर्केर घर जाने कुनैछुट थिएन । लाजले काज चल्दैनथ्यो । लाज पचाएरै लाइनमा उभिइरहेँ ।

एकछिनपछि म्युजियमभित्रबाट चार जना युवती बाहिर निस्केपछि मभन्दा अघिका युवतीहरू एकैसाथ भित्र प्रवेश गरे । बल्ल म ढोका अगाडि पुगेँ । पुरुषहरू छन्कि छैनन् भनेर टाउको तन्काएर भित्र चियाएँ । धन्न एक जना पुरुषले भित्र अवलकोकन गरिरहेको देखेपछि अलिक ढुक्क भयो मन ।

अर्की एक महिला निस्केपछि भित्र प्रवेश गर्ने मेरो पालो आयो । भित्र पुगेपछि चारैतिर मेरा जिज्ञासु आँखाले सर्सती एक चक्कर लगाए । मैले म्युजियमभित्र योनि आकृतिका विभिन्न सङ्ग्रहहरू होलान् भन्ने ठानेको थिएँ । तर मेरो सोचाइविपरीत त्यहाँ त प्राचीन, मध्य र आधुनिक युगमा महिलामा हुने महिनावारीका कथा र व्यथा पो रहेछन्! योनिसम्बन्धी जानकारी दिने सूचनाको अथाह भण्डार पो रहेछ यो त ! मैले योनिका बारेमा जान्न पाउनु पनि राम्रै
कुरा हो भनेर चित्त बुझाएँ अनि त्यहाँका सूचनामा क्रमशः मेरा आँखा डुल्न थाले।

एउटा सूचना पढ्दा अचम्म लाग्यो। सत्रौं शताब्दीको सुरुवातसम्ममा पनि महिनावारीलाई बुझाउने अङ्ग्रेजीको ‘पिरियड’ वा ‘मेन्सट्रुएसन’ शब्द प्रचलनमा आएकै रहेनछ । त्यस बेला ‘कस्टम अफ वुमेन’, ‘मन्थ्ली सिक्नेस्’, ‘भिजिटर्स’, ‘फ्लावर्स’ आदि शब्दले महिनावारीलाई बुझाँइदोरहेछ । मलाई भने अहिले प्रचलनमा रहेका शब्दहरूभन्दा ती पुराना शब्दहरू खुब मन परे । कर्णप्रिय लागे ।

अङ्ग्रेजीको मेन्सट्रुएसन अर्थात् महिनावारी बुझाउने ल्याटिन शब्द ‘मेनिस’ बाट आएको हो । जसको अर्थ हुन्छ महिना । चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न सत्ताइस दिन लगाउँछ । त्यस्तै महिलाहरूको महिनावारी चक्र पनि सरदर अट्ठाइस दिनको हुन्छ । सङ्ग्रहालयभित्र प्रदर्शनीमा राखिएको जानकारी अनुसार प्राचीन कालमा ग्रिस, रोम र बेबिलोनमा चन्द्रमालाई देवीको रूपमा मानिन्थ्यो । तिनलाई प्रजनन र मातृत्वको प्रतीक हुन् भनेर विश्वास गरिन्थ्यो । त्यस बेलादेखि नै महिलाहरूको मासिक चक्र र चन्द्रमाको चक्र समान रहेको स्विकारिएको थियो । रोचक कुरा के छ भने अहिले पनि कङ्गो देशको एक जातिमा पहिलो पटक महिनावारी सुरु भएकी युवतीलाई एउटा छाप्रोमा पठाइन्छ । तिनका वरपर साथी र आफन्तहरू हुन्छन्। त्यहाँ महिनावारीका बारेमा उनलाई जानकारी दिइन्छ । उनीहरूको संस्कृतिमा रहेको कर्मकाण्ड पूरा गरेपछि मिठोमिठो खाना खाएर महिनावारीलाई उत्सवको रूपमा मनाउँछन् चन्द्रमालाई धन्यवाद दिन्छन्। युवतीलाई महिनावारीका बारेमा अनुभवी महिलाहरूबाट दिइने त्यो तरिका मलाई खुब मन पऱ्यो ।

योनि खोज्दै हिँडेका मेरा आँखा अर्को रोचक जानकारी पढेपछि चकित भए । मध्ययुगमा सेनिटरी प्याडको आविष्कार भएकै थिएन । महिलाहरूलाई महिनावारीको फोहोर रगतलाई कसरी व्यवस्थापन गर्ने भन्ने जानकारी रहेनछ । त्यस बेला महिलाहरूले घुँडाभन्दा मुनिसम्म आउने रातो वा कुनै गाढा रङको पेटिकोट लगाउन र महिनावारीको रगतलाई सहज रूपमा बहन दिने गर्दारहेछन्। त्यसरी बगेको रगतलाई पेटीकोटले सोस्ने हुँदा बाहिरी लुगा रगत लाग्नबाट जोगिदोरहेछ । महिलाहरूले पेटिकोट लगाउनुको खास कारण पनि त्यहीँ पुगेर थाहा पाएँ ।

अवलोकनको क्रममा सङ्ग्रहालयभित्र नेपाल देखेर म झस्किएँ । अक्षर पढिरेहका मेरा आँखा टक्क रोकिए । नेपालको छाउपडी प्रथाका बारेमा लेखिएको जानकारी पढेर लज्जित पनि भएँ । पश्चिम नेपालमा प्रचलित छाउपडी प्रथाअनुसार महिनावारी भएको बेलामा गोठमा बस्नुपर्ने, त्यहाँ शुद्ध खाने पानी, सरसफाइ र सुरक्षा आदिको अभावका कारण महिलाहरूको ज्यान जाने आदि कुराहरू लेखिएको थियो । धन्न केही वर्षअघि त्यस कुप्रथालाई सरकारले गैरकानूनी घोषित गरेको कुरा त्यहाँ लेखिएको
थियो । त्यो पढ्दा मन अलिक हलुका पनि भयो ।

छाउपडी पढिसकेर अगाडि बढेका दुई युवतीले मसिनो स्वरमा नेपाल नेपाल भन्दैकुरा गरेको सुन्दा म झसङ्ङ भएँ । तर म नेपाली हो भन्ने कुरा तिनलाई के थाहा ? किन त्यसै डराएको म ? यदि तिनले म नेपाली हुँ भन्ने थाहा पाएको भए मेरो अवस्था कस्तो हुन्थ्यो होला ? यस्तैकुरा सम्झँदैगर्दा अलिक असजिलो महसुस भयो । महिलाको पीडालाई संसारका शिक्षित र धनी राष्ट्रहरूमा पनि उपेक्षा गरिएको कुरा पहिलो पटक त्यहाँ थाहा पाएँ । बेलायतमा महिनावारीका बेला प्रयोग गरिने सामग्रीमा राज्यको तर्फबाट लगाइने कर हटाउन र ती सामग्री विद्यालयहरूमा निःशुल्क उपलब्ध गराउन पटकपटक जुलस प्रदर्शन
भएको समाचार टिभीमा हेरेको थिएँ । हालै बेलायतको एउटा राज्य स्कटलेन्डमा ती सामग्रीहरू निःशुल्क उपलब्ध गराउन थालेको कार्यलाई सराहना गर्दछु ।
महिलाहरूका लागि कानुन बनाएरै यस्तो सुविधा नेपालमा पनि दिनुपर्दछ । गरिबीका कारण स्यानेटरी प्याड किन्न नसक्ने विद्यार्थी र महिलाहरू थुप्रै छन्। यसका लागि पुरुष सांसदले नबोले पनि केही त बोल महिला सांसदहरू हो !
विदेशी भूमिबाट यिनै शब्दमार्फत उनीहरूलाई झक्झकाउँन पुग्छु ।

जाम्बियामा एक दिन, ताइवानमा तीन दिनसम्म र कोरियामा पनि महिनावारीको बेला बिदा लिन पाइने सूचना पढेर हर्षित हुन्छु । वास्तवमा त्यो अधिकार संसारभरका महिलाहरूले पाउनुपर्ने कुरामा मेरोपनि समर्थन छ ।

एउटा सूचना पाटीलाई मेरा आँखाले खुब रमाइलो माने । महिनावारीका सम्बन्धमा अति शिक्षित तथा विकसित देशदेखि पिछडिएका देशमा प्रचलनमा रहेका अन्धविश्वास र मान्यता पढेर हैरान भएँ । ती अन्धविश्वास कतिपय हराएर गएका छन्। तर कतिपय देशमा तिनका अवशेषहरू अझै पनि होलान्।

बोलिभियामा महिनावारी भएकी महिलाले बच्चा बोक्नु हुँदैन, बोकेमा बच्चा बिरामी हुन्छन् भन्ने विश्वास गर्दारहेछन्।
डोमिनिकन रिपब्लिकमा महिनावारी भएका महिलाहरूले कपाल धुन र नङ पालिस लगाउन हुँदैन ।
जापानमा ‘सुसी’ नामक जापानी खाना बनाउनु हुँदैन भन्ने विश्वास रहेछ । यदि महिनावारी भएको बेला बनाएमा सुसीको स्वाद असन्तुलित हुन्छ रे ।
यस्तो आधुनिक समयमा पनि कस्तो अन्धविश्वास ? छक्क पर्छु ।

मलेसियामा महिनावारी भएको बेला प्रयोग गरेको प्याड अथवा कपडा सिधै फाल्नु हुँदैन । धोएर मात्र फाल्नुपर्दछ । नत्र अनिष्ट आउन सक्छ भन्ने विश्वास रहेछ ।
मेक्सिकोमा महिनावारी भएको बेला नाच्न हुँदैन । नाचेमा गर्भाशय खराब हुन सक्छ भन्ने ठान्दारहेछन्।
तिनमा कतिको सत्यता छ उनीहरू नै जानून । म चाहिँ ती कुरा पढेर हैरान भएँ ।

फ्रान्समा महिनावारीको समयमा ‘मेयोनेस सस’ बनाउनु हुँदैन । यदि बनाएमा त्यो जम्छ भन्दारहेछन्।
बेलायतमा महिनावारी भएको बेला बाथटबको तातो पानीमा डुबेर नुहाउनु हुँदैन भन्ने मान्यता छ ।
पोलेन्डका केही गाउँमा महिनावारीको समयमा सम्भोग गरेमा सम्भोग गर्ने पुरुषको मृत्यु हुन सक्छ भन्ने विश्वास गर्दारहेछन्।
अमेरिकामा भने महिनावारी भएको समयमा जङ्गलमा क्याम्पिङ जानु हुँदैन । गएमा जङ्गली जनावरहरूले योनिबाट निस्कने रगतको गन्ध थाहा पाएर ती महिलालाई आक्रमण गर्न सक्छन् भन्दारहेछन्।

उपरोक्त मान्यता र अन्धविश्वासले एकछिन सोच्न बाध्य बनायो । महिनावारीका बारेमा विकसित देशमा त यस्ता चलन छन् भने नेपालको के कुरा भयो र ? महिनावारीको बेला चार दिन अछुत जस्तो व्यवहार गर्ने कुरा मलाई पटक्कै मन परेको छैन । मानिसको सोचाइमा परिवर्तन आउन अझै समय लाग्ने देखेको छु ।

अलिक पहिले र अहिले योनिका बारेमा मानिसका सोच र व्यवहारमा फरक पाएको छु । अहिले योनिलाई राजनीतिकरण र व्यापारीकरण गरिएको छ । योनिको राजनीति मजाले चलेको छ । योनिको व्यापार खुब फस्टाएको छ । पुरुष र महिला दुवै योनिकै वरिपरि घुमेका छन्। तिनीहरू आआफ्नो स्वार्थअनुसार योनिलाई प्रयोग गर्दछन्। आनन्दप्राप्तिका लागि योनि खोजि हिँड्नेहरूलाई
योनिलेनै घाइते बनाएका उदाहरणहरू हाम्रा सामुछन्। ठुल्ठुला राजनेता, समाजसेवी, व्यापारी, कर्मचारी, कलाकार, लेखक आदिलाई योनिलेनै नाङ्गेझार पारेर पतन गराएको छ ।
सँगै सुतेकी श्रीमतीले योनिको मुद्दा उठाएर आफ्नै श्रीमान्लाई जेलको कोठरीमा पुऱ्याएका छन्। योनिउपर जबर्जस्ती गर्नेहरूले ज्यान समेत लिने गरेका छन्। योनिका कारण विभिन्न ठाउँमा लडाइँभएका छन्। मैले योनिलाई एटम बमभन्दा शक्तिशाली ठानेको छु । म योनिलाई सम्मान गर्दछु तर योनिदेखि एकदम डराउँछु पनि ।

अवलोकनको क्रममा त्यस योनि म्युजियमलाई मैले शैक्षिक केन्द्रको रूपमा पाएँ । त्यहाँ परिवार र स्कुलका बच्चाहरूको अनुकूलको कार्यक्रम आयोजना गरिँदोरहेछ । त्यसको उद्देश्य सानै उमेरदेखि महिला यौनाङ्गका बारेमा कुरा गर्न सहज होस् र महिलाहरूले आफ्नो योनिका बारेमा गर्व गरून् भन्ने रहेछ । म्युजियमले स्वस्थ यौन सम्बन्ध र यौन शिक्षा आदिका बारेमा डाक्टरहरूसँग मिलेर काम गर्दोरहेछ । योनि र महिलाको स्वास्थ्यको बारेमा खुलेर बहस गराउने र उनीहरूमा भएको लाज सरम हटाउनका लागि नै उक्त म्युजियम खोलिएको हो जस्तो लाग्यो ।

कुनै पनि स्थान वा म्युजियम आदि भ्रमण गरेपछि सम्झनास्वरूप त्यहाँको गिफ्टसपबाट केही किन्ने बानी छ । त्यहाँबाट पनि केही लिनुपर्ला भनेर चक्कर लगाएँ । कि–रिङ, डायरी, कलम, पोस्टकार्ड, योनिसम्बन्धी पुस्तक आदि सामग्रीहरू बिक्रीका लागि राखिएका थिए । तर तिनमा जताततै योनिका चित्रहरू अङ्कित थिए । हेर्दै जाँदा अचानक योनि देखेर चकित भएँ । विभिन्न रङगका दुरुस्त योनि आकारका साना ठुला थरिथरिका मैनबत्तीले मलाई आकर्षित गरे । त्यसलाई हातमा उठाएर हेर्न थालेँ । महिलाको वास्तविक योनि नै समाए जस्तो अनुभूति भयो । एक खालको असजिलोपन, एक खालको उत्तेजना महसुस भयो । तुरुन्त त्यसलाई टेबलमा राखेँ । त्यसपछि म सामान्य अवस्थामा फर्केँ । दुरुस्त योनि आकारको मैनबत्ति बनाउने कलाकारको कला र कल्पनाशीलताको तारिफ गर्न मन लाग्यो ।

सम्झिल्याउँछु, आगो बालेपछि पग्लिजान्छन् ती मैनबत्तीहरू । पग्लिरहेको योनि आकारको मैनबत्ती देख्दा पुरुषको मनमा कस्तो प्रभाव पर्दो होला ? आफैंलाई सोधेथेँ ।
योनि म्युजियमका ती सबै सामग्रीहरू मन परे, तर घरमा लगेर कहाँ राख्ने ? मनले सङ्कोच मान्यो । मन परे पनि किन्न सकिन । ती सामग्रीहरू किन्नुको अर्थ म्युजियमलाई आर्थिक सहयोग गर्नु हो । अन्त्यमा डा. जेन गुन्टरले लेखेको ‘द भजाइना बाइबल’ नामक पुस्तक किनेँ ।
सार्वजनिक रूपमा चन्दा उठाएर सञ्चालनमा ल्याइएको म्युजियमको दान बाकसमा पाँच पाउन्डको नोट खसाएर
अलिकति भए पनि सहयोग गरेँ । मन आनन्दित भयो ।

लाज पचाउँदै म्युजियमभित्र प्रवेश गरेको थिएँ । निर्धक्क भएर सबै घुमेँ । योनिका बारेमा एकदम उपयोगी र अथाह जानकारी पाएँ । निस्कनुअघि एउटा सूचनामा आँखा पऱ्यो । त्यसमा लेखिएको थियो – “तपाईलाई महिनावारी हुने गरेको भए पनि वा नभए पनि महिनावारीका बारेमा साथी र परिवारसँग कुरा गर्नुहोस्। अरूलाई जानकारी दिनुहोस्। महिनावारीको सामग्री प्रयोग गर्नबाट वञ्चित महिलाहरूका लागि खोलिएका परोपकारी संस्थाहरूलाई दान दिनुहोस्। महिनावारी हुनु कुनै कलङ्क होइन । यो लाज मान्नुपर्ने विषय होइन । उठ्नोस्। खुलेर कुरा गर्नु होस्।”

योनि म्युजियमको यात्रानुभूति लेख्नु र योनिका बारेमा आफूले जानेको कुरा बताउनु आफ्नो कर्तव्य ठानेँ मैले ।

कृष्ण बजगाईं
लन्डन
krishnabajgai@gmail.com

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कृष्ण बजगाईं नियात्रा योनी म्युजियम

यो पनि पढ्नुहोस्...

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

संस्मरण: पञ्चायतविरुद्धको आन्दोलन र अधुरो अपेक्षा

निबन्ध: नेपाली विद्यार्थीको नजरमा देश

निबन्ध: खडेरीमा पनि फुल्ने फूलहरू

संस्मरण: मित्रताको आयु र गौरीपुर हाउस

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

गजल श्रृङ्खला – 17

जेष्ठ १७, २०८२

मुक्तक श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

पाक्षिक लघुकथा अभियान – अंक : ०९

जेष्ठ १६, २०८२

कविता: अर्थमै चित्त जाओस्

जेष्ठ १५, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.