“आमा त्यो मान्छे किन हामीलाई देखेर भुतभुताउँदै फरक्क फर्केर गएको ?” छोरीले अचम्म मानेर सोधिन ।
“हामीले उसको बाटो काट्यौँ रे छोरी ! त्यहीँ भएर हामीलाई गाली गर्दै हिँडेको ।” आमाले जवाफ दिईन् ।
“हामी हिँड्ने बाटो त्यो मान्छेको हो र आमा ?” छोरीले बालसुलभ प्रश्न गरिन् ।
आमाले छोरीलाई बुझाउने प्रयत्न गरिन्, “उसको मात्र हैन नि, सबैको साझा हो ।”
यत्तिकैमा आमाले छोरीलाई मसिनो स्वरमा भनिन् , “ए चुप लाग ऊ तीनजना मानिस आउँदैछन्, बरू हामी खुरूक्क बाटो पारी गैहालौँ खानेकुरा उता पाईन्छ कि ?” यति भन्दै पर्खालबाट हाम फालेर तल ओर्लिए अनि पारी गए । छोरी आमाको पछि लागिन् ।
“धत्तेरिका कालो बिरालोले एकाविहानै बाटो काट्यो !” भन्दै युवति टक्क रोकिईन् र फर्कन खोजिन् । सँगै हिँडेका अर्का व्यक्तिले पनि त्यसै गरे ।
तेस्रो व्यक्तिले उनीहरूलाई सम्झाउँदै भने, “अहिलेको समयमा पनि त्यस्तो सङ्कुचित कुरा गर्ने ? केही हुँदैन हिड्नुहोस्, उस्ले चाहिँ आफ्नो बाटो हिड्न नपाओस् त !” साथीहरूले त्यसोभए उसैलाई अघि लाग्न भने ।
“ल आउनुस मेरो पछि पछि, केही भए मलाई हुन्छ, तपाईँहरूलाई केही हुँदैन ।” भन्दै ऊ अघि लाग्यो, अरू पछि लागे ।
यो दृश्य कुनाबाट चिहाइ रहेकी सानी छोरीले फेरि आमासँग बालसुलभ जिज्ञासा राखिन्, “आमा किन हामीले उनीहरू हिँड्ने बाटो काट्नु हुदैन ? त्यो एकजना दाई अगाडि हिँडेपछि सबै गए कसैलाई केही भएन त ! मलाई त त्यो दाइमात्र मान्छे जस्तो लाग्यो !”
“हो नि ! हामी कालो बिरालोले बाटो काट्यो भने उनीहरूलाई दशा लाग्छ रे ! उनीहरूले कतिपटक हाम्रो बाटो काटेका छन्, खै हामी केही भन्दैनौँ ?,
– ध्रुवराज थापा ‘पुरूष’
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।