“बाबु नानी हो! हाज हामीले केही ज्ञानका कुरा गर्ने छौँ।”- मास्टर हुकुमसिहँ क्लास भित्र प्रवेश गर्दै भने।
“हस् सर ।”-सबै बालबालिकाले सँगै भने।
” स्याबास !”-बच्चाहरूको समर्थनले उनि प्रसन्न हुँदै भने।
“अब हाम्रो परिक्षा संगारमै आएको छ। त्यसैले पढाइमा लापर्बाही कत्ती गर्नु हुँदैन होकी होइन ?”- हुकुमसिहँले सोधे।
“हो सर “- सबैले एकमुष्ट मा भने।
“गुड् ! हाम्रो समाजलाई धुम्रपान, मदिरापान र सुर्तीजन्य पदार्थ, लागुऔषधले नोक्सान गरेको हुन्छ। यसले हाम्रो स्वास्थ्यमा नराम्रो प्रवाह पारेको हुन्छ। सुर्तीजन्य चीजले स्वास्थ्यलाई रोगी बनाई दिन्छ। त्यो मात्र होइन समाज घरपरिवारमा एक प्रकारको कलेस नै पैदा गर्दछ। यी बस्तुहरूको उपयोग ठिक होइन। “मास्टर हुकुमसिहँले धुम्रपान र मदिरापान सम्बन्धी विस्तृत रूपमा क्लास चलाए र ब्ल्याक बोर्डमा पनि लेखे।
सबै बालबालिकाहरूले आ-आफ्नो कापीमा नोट गर्नथाले।
उनले खल्तीबाट गुट्खा निकालेर मुखमा राख्दै बाहिर निस्कीए। उनको यो व्यवहार देखेर सबै बालबालिका उनैतिर ट्वाल्ल परे।
एकछिन पछि मास्टर हुकुमसिहँ घुमेर क्लास रूममा प्रवेश गर्दा उनि छक्क परे क्षणभर ब्ल्याक बोर्ड नियाले सर्मिन्दा भए र चुपचाप बाहिरिए।
भित्र ब्लेकबोर्डमा उन्ले नोट गरेका शब्द सँगै उनैको गुट्खा खाँदैगर्दाको चित्र बनाईएको थियो।
– सुरेशकुमार पाण्डे
[ दाङ घोराही १८ ]



