‘सर! म अलि अस्वस्थ छु । ज्वराे आएकाे छ । फेरि श्रीमतीको डेलिभरी पनि हुने बेला भएकाे छ । अहिले म फिल्ड जान सक्तिन । एक हप्ताकाे बिरामी बिदा स्वीकृत गरिपाऊँ । ‘उसले विनम्र हुँदै हाकिमलाई निवेदन बुझायाे ।
हाकिमले रुखाे स्वरमा भने – ‘अहिले बिदा मिल्दैन । पुलकाे निर्माण कार्य सम्पन्न गरेर आउनुस् । अनि बल्ल बिदा पाउनुहुन्छ । कामदारहरू प्राविधिक कुरेर बसेका छन् रे! ठेकेदारले आजै पठाइदिनु भनेकाे छ । आजै जानुस् ।’
अनि, खरिदारले ७ दिनकाे भ्रमण आदेश तयार पारेर स्वीकृत गराएर उसलाई फिल्ड पठाए ।
बिरामी भएकाेले दुई घण्टाकाे पैदल दुरी उसलाई चार घण्टा लाग्याे । साँझमा मात्र ऊ याेजनास्थलकाे क्याम्पमा पुग्याे ।
साँझ उसलाई खाना रुचेन । ज्वराे झन्-झन् बढ्दै गयाे । कामदारहरूले जडिबुटी र सिटामाेल खुवाए । उसलाई निद्रा परेन । अनि श्रीमतीलाई सम्झेर आँसु बगाइरह्याे ।
बिहान कामदारहरूले उठाउन खाेज्दा ऊ मरिसकेको थियाे । कुल्लीहरू आएर अफिसमा खबर गरे । अनि, प्राविधिकले ऊप्रति अन्याय भएकाे भनेर विज्ञप्ति निकाले ।
उता श्रीमतीले अस्पतालमा आजै मात्र छाेरा जन्माएकी थिइन् ।
– नवराज न्याैपाने ‘माैन’
[ मातातीर्थ, काठमाडौं ]



