साझेदारलाई धोका दिएर छोटो अवधिमै व्यवसाय एकलौटी बनाएपछि ऊ साहु चन्द्रमान भनेर काठमाडौँमा प्रख्यात हुन थाल्यो । राम्री श्रीमती, एक छोरा र एउटी छोरी थिए उसका । छोराछोरी दुवै महङ्गो स्कुलमा बोर्डस बस्दथे । उसकी पत्नी व्यापारमा सघाउँथी । गाडी थियो, व्यापारमा सघाउने नोकरचाकर थिए । नभएको भनेको घरमात्रै थियो । त्यो पनि ऊ बनाउदैँ थियो । गत वर्ष नारायणस्थानको भिआइपी बस्ने एरियामा पाँच आना जग्गा महङ्गो भाउमा किनेको थियो । त्यहीँ घर बनाउने धुनमा थियो । इन्जिनियरले पाँच कोठाको साँढे दुई तले घरको नक्सा लेराएका थिए । ऊ आफैंले घरको नक्सामा अलि परिवर्तन गर्न लगायो । त्यसपछि ठेकेदारहरू कामको दर लिएर आए । एउटाको दरले चित्त बुझाएन । व्यापारी न ठहऱ्यो । चारजनाको चारथरी दर हेऱ्यो । आखिरमा सबैभन्दा कम तोक्नेलाई काम दियो । ठेकेदार भारतको झारखण्ड निवासी थियो ।
शुभ साइत हेरेर घरको जग हाल्न थाल्यो । पिल्लर राख्ने ठूला खाडलहरू खनिए । रडलाई ठड्याएर हात्ती पाइले निर्माण भयो । इन्जिनियरले भने बमोजिम गर्दा सिङ्गल टाइबिमसम्म आउँदा दस लाख खर्च लाग्यो । डबल टाइबिम गर्दा त थप पाँच लाख लाग्ने अनुमान ठेकेदारले लगायो । पैसा कम लगाएर राम्रो घर बनाउने उसको योजना थियो । ठेकेदारसँग “डबल टाइबिम नराख्दा के हुन्छ” भनी सल्लाह माग्यो । ठेकेदारहरू साहुको मन बुझेर सल्लाह दिन खप्पिस हुन्छन् । त्यसमाथि भारतीय ठेकेदार ! ‘काम चलेगा’ भनी सल्लाह दियो । ऊ आफैंले पनि छरछिमेकीले घर बनाएको देखेको थियो । कतिले वाल सिस्टमकै भरमा तीन तले ठड्याएका थिए । कतिले चार लाइनको रड चार वटा मात्रै राखेको पिल्लरको भरमा पाँच तले घर ठड्याएका थिए । अलि अगाडि त डबल टाइबिमको चलनै थिएन । एउटै टाइबिममा विशाल भवन बन्दथे । ती सबैलाई विचार गरी भित्रभित्रै सोच्दथ्यो “मान्छेले यस्तरी त घर बनाएर ढुक्कसाथ बसेका छन् भने मैले अनावस्यक रूपमा बढी खर्च किन गर्नु पऱ्यो र ?” उसले त्यसपछि अर्को टाइबिम त राख्यो तर छ वटा रड राख्नुपर्नेमा चारवटा, एक रोडा बालुवाको सट्टा दुई रोडा बालुवा मात्रै । इन्जिनियरले त्यसलाई स्वीकार गरेका त थिएनन् तैपनि उसले आफूसँग पर्याप्त पैसा नभएको बताएपछि उनी मौन बसे । सरकारी इन्जिनियर त त्यत्तिकै मान्नेवाला थिएनन्; उसले केही रकममा रिझाएर त्यसलाई पास गरायो ।
इन्जिनियरलाई पैसामा किनेपछि उसको मनोबल बढ्यो । आफ्नो रुचिअनुसार निर्माण सामग्री किन्न थाल्यो । एक पटक ठेकेदारले “बालुवामा मट्टी मिसिलिएको छ । अच्छा बालुवा थोडा बढी पैसेमे म लेराइलिन्छु” भनी सल्लाह दियो । उसले ठेकेदारलाई विश्वास गरेन । कमिसन खाएर ठेकेदारले ठग्छ भन्ने सोच्यो । अलि बढी पैसा तिरेर आफैं ल्याउने वाचा दियो । अर्को दिन गारो लाउन सिमेन्ट र बालुवा अत्यावश्यक थियो । भण्डारमा भएजति सकिसकिएको थियो । बजारमा अभाव । त्यसमाथि राजनीतिक पार्टीको नेपाल बन्द । उता ठेकेदार कराएको करायै थियो; “लेबर मिस्त्रीके घाटा कौन देगा” भनेर । चिनेको पसलेलाई भनेर उसले मालसामान बल्लबल्ल मगायो । बढी मूल्यमा बोरा प्वाल परेर चुहिएको सिमेन्ट अनि काम चलाउ बालुवा । त्यतिखेर चाहेर पनि उसले भनेजस्तो माल पाउन सक्ने अवस्था थिएन । साहुले जस्तो माल दिन्छ त्यस्तै काम गर्दै गयो ठेकेदारले । उसलाई काम सकिनासाथ ज्याला लिनुसँग सम्बन्ध थियो । अरू कुरामा बेपरवाह थियो । हुन त ठेकेदारले केही समय पैसा नमागे नि हुने जस्तो त उसलाई भएको थियो तर ठेकेदार कमाउन आएको थियो । कहिले “खाजा खानेके लिए पैसा चाहियो ।” कहिले “कामदारके नानी बिरामी भइल ।” कहिले “पैसा नामिल्नेसे लेबर मिस्त्री नाआई ।” आदिजस्ता अनेक बहाना बनाएर काम गरेभन्दा दोब्बर ज्याला माग्दथ्यो । उसले चाहिँ मागेजति नदिएर काम अनुसार दिन्थ्यो । इन्जिनियरले संवेदनशील ठाउँमा एक चारको मसला बनाउनु पर्छ भने पनि ठेकेदारले एक छ कै मात्रामा बनाउने गर्दथ्यो । नबनाओस् पनि किन; सिमेन्ट सकियो भन्नासाथ साहुले सङ्का गरेर उसैले खाएकोझैँ गर्दथ्यो । बलियो गिट्टी चाहिन्छ भनेर इन्जिनियरले भने पनि बजारमा चलेको थियो दर्शन ढुङ्गा मिसिएको गिट्टी । फेरि भनेकोे बेलामा बजारमा सामानै नपाइने । लेबर, सामान र पैसासँग समन्वय मिलाउनै कठिन । उसले दर्शन ढुङ्गा मिसिएको गिट्टी “होला त” भनेर शङ्का गर्दा ठेकेदारले “क्यूँ नहोगा साहेव ! हमने यिसी गिट्टीसे सात तले एपार्टमेन्ट बनाइलिएको छु” भनेर विश्वस्त पार्थ्यो । त्यसपछि पाएसम्म राम्रै माल नपाए त्यहीँ भए पनि “काम चलेगा” भनेर ल्यायो । इन्जिनियरले पखालेको बालुवा राख्नुपर्छ भनेको ठाउँमा पनि ठेकेदारको “चलेगा” भन्ने सल्लाहमा आधा जसो पाँगो मिसिएको ढिस्कोको बालुवा हाल्यो । एक नम्बर इट्टा केही महङ्गो पर्ने हुँदा त्यसको सट्टामा “दुई नम्बर भी काम चलेगा” भनी लगायो । गारो लाउँदालाउँदै पानी हाल्नुपर्ने थियो । व्यापारमै समय दिनुपर्ने भएकोले चाहिँदो मात्रामा पानी हालेको थिएन । तयारी ढोका र प्लाइका सामानको व्यापार थियो उसको । भारत तथा चीनबाट मगाएर यहाँ बेच्नुपर्ने । नेपाली सामान कम गुणस्तरको भनेर कमै बिक्थ्यो । चाबेलजस्तो व्यस्त ठाउँमा उसको व्यापार राम्रो हुन्थ्यो ।
चालीस लाखको लागतमा साँढे दुईतले घर बन्छ भनी इष्टिमेट गरेर इन्जिनियरले नक्सा बनाएको थियो । दुई तला पुगेपछि उसले नक्सा पास गराएको थियो । त्यसपछि आफैं इन्जिनियर बनेर आफैंले चाहे जसरी त्यसमाथि साँढे दुई तला थपेर साँढे चार तला अग्लो बनायो । सरकारी अनुगमन आएमा त्यही दुई तले नक्सापास देखाउने उसको विचार थियो । यहाँ सरकार आफैं बस्ने कैयौँ कार्यालय भवनका नक्सा पास नभएका कुरा उसले राम्रै बुझेको थियो । नागरिकहरूका त कतिकति । यही बहानामा छुटकारा पाइन्छ भन्ने उसले अनुमान लगायो । त्यसरी घरमात्रै ठड्याउँदा पचपन्न लाख रुपियाँ लाग्यो । “इन्जिनियरले भनेको जस्तो गरेको भए त त्यति पैसा अढाई तलामै सकिन्थ्यो” भनी ठेकेदारसँग कुरा गर्दथ्यो । “बन्द हडतालले सामानको डेढ गुना भाऊ बढाई लियो हजुर !” भनेर ठेकेदार सही मिलाउँथ्यो । घर कमजोर भयो कि भन्ने आशङ्काको बादल मनमा मडारिन थाल्दा साथ ठेकेदारले सात तले अर्पाटमेन्ट कमसल मालले बनाएको भन्ने कुरा दिमागमा आएर शान्त हुन्थ्यो । पत्नीसँग भने कम पैसामा ठूलो घर बनाएँ भनेर फुर्ती लाउँथ्यो । बिदामा आउँदा छोराछोरी पनि दङ्ग पर्दथे; आफ्नो घरलाई देखेर ।
त्यति पुगेपछि घरको फिनिसिङ गर्न थाल्यो । अब भने पैसा नभएपछि त्यही जग्गा बैँकमा राखेर ऋण निकाल्यो । घर कर्जा निकाल्न गाह्रो हुनेभएकोले व्यापारकर्जा निकालेर घरमा हाल्यो । अग्राखको चेक झ्याल हाल्यो । झ्यालमा सिसा फिट गऱ्यो । ढोका त आफ्नै पसलको छानीछानी ल्यायो । भनेजस्तो रङले घर चिटिक्क पाऱ्यो । ठाउँठाउँमा राम्रो बुट्टा हाल्न लगायो । महङ्गै सामानहरू भान्छाकोठा र नुहाइधुवाइ कोठामा हाल्यो । भऱ्याङ र प्यासेजमा मार्बल बिच्छायो । कौसी, भऱ्याङ र बार्दलीमा टिलिक्क टल्कने महङ्गो स्टिलको डण्डी राख्यो । “वाह क्या राम्रो घर !” भनी वरपरकाले भन्न थाले । त्यही शब्द सुन्नलाई ऊ लालायित थियो । त्यसैको लागि बीस लाख रुपियाँ खर्च गरेको थियो । जुन घर राम्रो त्यही घर हाम्रो भन्ने सोच भएकाहरू भाडाको लागि सोध्न आए । तीन तला भाडामा दिएर डेढ तलामा आफू बस्ने उसको योजना थियो । साइत जुराएर घरको पूजा गरेपछि भाडामा बस्न दिने बतायो ।
बैशाख महिनाको शुभ दिनमा ठूलो पूजा लगायो । इष्टमित्र, साथीभाइ, व्यापारका कर्मचारी सबैलाई बोलाएर ठूलै भोज गऱ्यो । रमाइलो गरेर डेराबाट आफैले बनाएको भव्य महलमा सऱ्यो । समय क्रममा तलका तीनतलामा राम्रो परिवार हेरेर भाडामा लगायो । त्यसपछि यदाकदा कौसीमा बसेर महङ्गो ब्राण्डको चुरोट तानेर हावामा धुँवा फेक्दै सोच्ने गर्दथ्यो — “अब भने मेरा दुःखका दिनहरू गए । चालीस पचास हजार रुपियाँ महिनामै भाडा आइहाल्छ । छोरा नातिसम्मलाई पनि यही घरले पुग्ने भयो ।”
अफसोच ! अर्को वर्ष मध्य रातमा ठूलो भुइँचालो गयो । भुइँचालोकै कारण सहरका ठूल्ठूला अपार्टमेन्टहरू भत्किए । ऐतिहासिक धरोहरहरू मासिए । गाउँका कच्ची घरहरू त जगैदेखि भाषिय। कैयौँले ज्यान गुमाए । धेरै मान्छे हताहत भए । भुइँचालोले घर नभत्काए तापनि सानोतिनो नचर्किएको घरै थिएनन् । गारोमा रौँजस्तो चिरामात्रै पारेर भए पनि भुइँचालोले आफ्नो उपस्थिति जनाएरै गएको थियो । यस्तोमा ऊ मात्रै कसरी बिटुलो हुन सक्थ्यो र ? उसको घर पूरै ढलेन, कोल्टेमात्रै पऱ्यो । घरको गारो सबै क्रस चिन्ह लाए जसरी चर्किएका थिए । कतैकतै इट्टा खसेका पनि थिए । धन्न ऊ लगायत उसका सबै परिवार सकुशल रहे । यसैमा उसले चित्त बुझायो ।
घर कोल्टे परे लगत्तै उसको परिवारसहित डेरामा बस्ने सबैको खुला चौरमा पालको बास भयो । जहाँ घर नभत्किएकाहरू पनि थिए; फेरि अर्को भुइँचालो आएर ज्यान नगुमाउनु परोस् भनेर । ठूलो भुइँचालो गएपछि ठूलै पराकम्पनहरू पटकपटक गएर मानिसका सातो लिइरहन्थ्यो । उसले एक हप्तासम्म सोच विचारै गर्न सकेन । पत्नी र बालबच्चाहरू(जो भूकम्पपछि स्कुल बिदा भएर घर आएका थिए), भूकम्पको डरले उसकै साहारा खोज्थे । पराकम्पनहरू जाँदा उनीहरूले उसलाई समाउँदा नडराउन ढाडस दिन्थ्यो ।
एउटै पालमुनि धेरै सुत्नेहुँदा गफगाफ भएर हतपति निन्द्रा आउँथेन । त्यसमाथि बेलाबखत आउने पराकम्पन र लामखुट्टेको सँगीतले लागेको निन्द्रा पनि खुल्थ्यो । त्यस्तो बेला बल्लबल्ल निन्द्रा पर्नासाथ सपना देख्यो । सपनामा उसको कोल्टे परेको घर यसो भनेर बोल्दै थियो – “मलाई माफ गर बाबु ! मैले तिमीलाई घाम पानी, स्याँठ हुरी जे आए पनि ढाल बनेर सुरक्षा दिएकै थिएँ तर यसपल्ट भुइँचालोले मलाई नै हराइदियो । धन्य तिमी र तिम्रो परिवारलाई मर्न दिइनँ । मलाई क्षमा गर बाबु !” त्यसको प्रति उत्तरमा भन्दै थियो –“हैन विश्वकर्मा पिता ! मैले हजुरलाई भुइँचालो प्रतिरोधात्मक बनाउन सकिनँ । दोष मेरै हो ।” त्यति नै बेला टोलमा आएको यस्तो आवाजले आत्तिदै ऊ ब्युँझियो – “चोर आयो ! चोर चोर ! गुहार ! गुहार !” त्यो सुनेर एउटै पालमुनि सुतेकामध्ये एक जना अलि सर्तक हुँदै बोल्यो –“सबै जना पालमा सुतेको मौका पारेर कसको घरमा चोर आयो ? यो चोरलाई कस्तो ज्यानको माया नहुने रैछ ? हामीलाई घर ढलेर थिच्ला भनेर यता बारीको पाटामा सुत्छौ । उता चोरलाई मौका पो भएछ ।” दुई चार जना हिम्मतवाला आवाज आएतिर डौडिए पनि । तर उनीहरू पुग्दा चोर बेपत्ता भइसकेको थियो ।
हप्ता दिनपछि छरछिमेकीहरूले उसको घर हेर्दै ठेकेदार र इन्जिनियरको लापरवाहीलाई दोष देखाउन थाले । कतैकतै उप्किएको प्लाष्टरको छ इन्ची मोटाइलाई देखाउँदै भन्दथे –“हेर त ! बढीमा दुई इन्ची प्लाष्टर गरे पुग्ने ठाउँमा कति मोटो गरेर घरलाई लोड बनाएको !” अरूले यसो भने पनि “अप्ठ्यारो परिस्थितिमा जस्तै मै हुँ भन्ने मान्छेले पनि सत्य स्वीकार्दछ” भने जस्तै; एकान्तमा उसको अन्तरआत्माले भने ऊ आफैँलाई दोष दिइरहेको हुन्थ्यो । चलचित्रमा झैँ उसको मानसपटलमा एकएक गरी यस्ता दृश्यहरू घुम्न थाल्थे –
इन्जिनियरको रायलाई आफैँले सच्याउन लाएको । ठेकेदारलाई पूर्ण विश्वास गरेको । त्यतिबेला भित्री मनले भनिरहेको हुन्थ्यो – “ठेकेदारले भनेको भरमा घर बन्ने भए मैले इन्जिनियरको सहयोग किन लिएँ हुँला ? बुद्धि बिग्रेसी कसको के लाग्छ र ?” त्यसपछि डबल टाइबिम कमजोर बनाएको दृश्य घुम्यो । क्रमशः पर्याप्त पानी गारोमा नदिएको, कमसल गिट्टी र बालुवा प्रयोग गरेको चित्रहरू चलिरहे । तर यस्ता कठोर दृश्यहरू भने अरूले देख्न थाले; जुन साँच्चै उसैले देख्नु पर्थ्यो –
‘ग्राहकहरूलाई झुक्याएर सक्कली भनेर नक्कली माल बेची बढी मुनाफा लिएको दृश्य ।’ उसको घर भूकम्पले कोल्टे पाऱ्यो भन्ने सुनेपछि एउटा पीडित ग्राहकको मानसपटलमा यो दृश्य घुम्यो । ‘साझेदारलाई छल गरी हटाएको ।’ यो चित्र त्यही साझेदारको सम्झनामा आयो; जसले धोका पाएको थियो । उसले मनमनै भन्यो – “बाँचिरहनुपर्छ भगवान् ले देखाउँछन् भन्ने कुरा साँचो रहेछ ।” ‘सरकारलाई घुमाएर तिर्नु पर्ने कर नतिरेको । मजदुरहरूले पसिनाको मूल्य उचित नदिएको भनी चित्त दुखाएको ।’ यी दुई दृश्यहरू इमान्दार कामदारको दिमागी मोनिटरमा चल्दैगर्दा उही कामदारको अन्तरमनले आफैंलाई भन्दथ्यो –“अर्कालाई रुवाउनेको एक दिन आफू पनि रुनुपर्ने दिन आउँदो रहेछ ।”
– रामकुमार पण्डित
[ सिमलटार, काठमाण्डौँ । ]
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।