गरिबी केवल एउटा शब्द होइन, यो पीडाको महासागर हो, जसको गहिराइ नाप्न कहिल्यैँ सकिँदैन। यो ती अभावहरूको कथा हो, जसले मानिसको जीवनलाई सपनाहरूको सहरबाट दुःखका गल्लीहरूमा धकेल्छ। गरिबी भन्नु मात्र रित्तो पेट होइन, यो आशाको मृत्युदेखि आत्मसम्मानको क्षयसम्मको अनवरत यात्रा हो।
गरिबीको अर्थ हो— भोकको अनन्तता जसले पेट मात्र होइन आत्मा समेत जलाउँछ। अभावको यस्तो भूकम्प हो, जसले एउटा घर मात्र होइन एक व्यक्तिको समग्र जीवन हल्लाइदिन्छ। जब कोही भोकले सुत्छ, त्यसको भोक पेटमा मात्र सीमित रहँदैन; यसले उसका सपना, आकांक्षा र भविष्यलाई समेत निल्छ। गरिबी एउटा यस्तो कालो छाया हो, जसले सूर्यको प्रकाशबाट समेत मानिसलाई वञ्चित गराउँछ।
गरिबीको मूल स्रोत केवल धनको कमी होइन; यो अवसर, शिक्षा र न्यायको अभावको मिश्रण हो। एक किसानले आफ्नो बालीनाली लगाउँछ तर त्यो किसानको अनुहारमा मुस्कान होइन चिन्ताको रेखा देखिन्छ। किनकि उसलाई थाहा छ त्यो बालीनाली आफ्नो पेट भर्ने भन्दा ऋण चुकाउन पर्याप्त हुन सक्दैन। सहरमा काम खोज्न आएका मजदुरका आँखाहरूमा सपनाको सट्टा निराशा देखिन्छ किनभने उसको श्रमलाई कुनै मूल्य दिइँदैन।
गरिबीको कहानी त्यति पुरानो छ, जति मानव सभ्यता नै। राजा–महाराजाहरूको महलमा दरबारका सेवकहरू भोकले मर्नु पर्थ्यो। औद्योगिक युगमा मजदुरको पसिना स्वामीका सम्पत्ति बने। आधुनिक युगमा पनि गरिबीले आफ्नो स्वरूप बदलेको छैन; आजको गरिबी उहीँ पुरानो अभाव र शोषणको कथा मात्र हो, तर यसको रूप अझ परिष्कृत र जटिल भएको छ।
गरिबीले मानिसलाई केवल आर्थिक रूपमा कमजोर बनाउँदैन; यसले उसको आत्मालाई कमजोर बनाउँछ। गरिबीको वास्तविकता त्यो हो, जब एक आमाबाबुले आफ्ना बच्चाहरूलाई भोकले रोएको देख्छ तर उनीहरूसँग त्यो भोक शान्त पार्न केही उपाय हुँदैन। यो त्यो स्थिति हो, जब एक बालक स्कूल जान नसक्ने कारण आफूलाई अरूभन्दा कम आँक्छ। यो त्यो सत्य हो, जसले मानिसलाई संघर्षशील होइन पराजित बनाउँछ।
गरिबीले मानिसको आँखाबाट आँसु मात्रै झार्दैन; यो आँसुबाट उसको भविष्य समेत मेट्छ। एउटा किसानका खेतमा झुल्किने घाम उसलाई आराम दिने होइन, थप परिश्रमको संकेत गर्छ। रात उसलाई निद्राको होइन, चिन्ताको साथी बनाउँछ। गरिबी केवल एउटा आर्थिक परिभाषा होइन यो हरेक दिनको कष्ट, अपमान र विवशताको श्रृंखला हो।
गरिबीको स्वरुप केवल भोक र नाङ्गोपनमा सीमित छैन। यो शिक्षाको अभावमा झल्किन्छ, जब एउटा बालिका स्कूल जानुको सट्टा घरको काममा दिन बिताउँछे। यो स्वास्थ्य सेवाको अभावमा देखिन्छ, जब एउटा बिरामी उपचारको अभावमा अकालमै मृत्युवरण गर्छ। यो न्यायको अभावमा प्रकट हुन्छ, जब गरिबको आवाज सुन्ने कोही हुँदैन। गरिबी कुनै एक व्यक्तिको मात्र समस्या होइन; यो एक सामाजिक त्रासदी हो।
गरिबीको सबभन्दा पीडादायी पक्ष भनेकै यसको असहायपन हो। जब एक व्यक्तिले गरिबीबाट उम्कन खोज्छ, उसलाई न जाने उपाय थाहा हुन्छ, न त समाजबाट कुनै साथ पाउँछ। गरिबी एउटा भयानक चक्र हो, जसबाट उम्किन प्रत्येक प्रयास असफल जस्तै देखिन्छ। यो चक्र भोकले सुरु हुन्छ, शिक्षाको अभावले गहिरिन्छ र अवसरको कमीले अन्तहीन बनाउँछ।
गरिबी केवल एउटा व्यक्तिगत समस्या होइन, यो समाजको रोग हो। गरिब र धनीको बीचको दूरी जसरी बढ्दै गएको छ, त्यसले सामाजिक असन्तुलनको खतरा झन् बढाएको छ। धनीहरू झन् धनी बन्दैछन्, गरिबहरू झन् गरिब। यो असमानता समाजका हरेक तहमा विष जस्तै फैलिँदैछ।
तर गरिबीको यो गाढा अँध्यारोमा पनि आशाको झिल्को देख्न सकिन्छ। इतिहासले देखाएको छ, जब मानिसले संघर्ष गर्न छोड्दैन तब परिवर्तन सम्भव हुन्छ। गरिबीको अन्त्य केवल दान, अनुदान र सहानुभूतिबाट सम्भव हुँदैन। यसको अन्त्य शिक्षा, अवसर र सम्मानको सुनिश्चितताबाट मात्र सम्भव छ।
गरिबीमाथि विजय प्राप्त गर्न सबैभन्दा पहिले गरिबको मानवीय गरिमा पुनर्स्थापित गर्नुपर्छ। गरिबीको समाधान भनेकै गरिबलाई आत्मनिर्भर बनाउनु हो। जब एउटा व्यक्तिलाई आफ्नो सीप प्रयोग गरेर आफूलाई सक्षम बनाउने अवसर मिल्छ, तब गरिबीको दुश्चक्र तोड्न सकिन्छ।
गरिबीको कथा मात्र दु:खको होइन यो साहस, संघर्ष र मानवताको पनि कथा हो। भोकको पेटले पनि संघर्ष गर्न नछोड्ने हजारौं प्रेरणादायी कथाहरू छन्। गरिबीको जालमा फसेका मानिसहरूले पनि आफ्नो इमान्दारी र श्रमबाट असम्भव जस्तो लाग्ने उपलब्धि हासिल गरेका छन्।
गरिबीको अन्त्य एउटा आदर्श समाजको निर्माण हो। त्यो समाज जहाँ कोही भोकै सुत्दैन, जहाँ हरेक बच्चाले शिक्षा पाउने अधिकार पाउँछ, जहाँ श्रमिकले आफ्नो श्रमको सम्मानित मूल्य पाउँछ। यो केवल सपना होइन; यो लक्ष्य हो, जसलाई प्राप्त गर्न सकिन्छ।
तर यो लक्ष्य तब मात्र सम्भव छ जब समाजले गरिबीलाई केवल शब्दको रूपमा होइन जीवनको कठोर यथार्थको रूपमा स्वीकार गर्छ। गरिबीमाथि विजय प्राप्त गर्न सम्पूर्ण समाजको सहभागिता आवश्यक छ। जबसम्म हामी सबैले गरिबीको यो चक्रलाई तोड्ने प्रयास गर्दैनौं तबसम्म समाजले आफूलाई समृद्ध र विकसित भन्न सक्दैन।
गरिबी एउटा युगौ पुरानो युद्ध हो, तर यो युद्ध जित्न सकिन्छ। यो सपना होइन; यो लक्ष्य हो, जसको प्राप्ति हरेक व्यक्तिको मेहनत, प्रतिबद्धता र समर्पणमा निर्भर छ। गरिबीको अन्त्य भनेकै मानवताको विजय हो। जब गरिबीको अन्त्य हुन्छ तब मात्र साँचो अर्थमा सभ्यता पूर्ण हुन्छ।
– लक्ष्मी रिजाल
सप्तरी



