शोभा खनाल कोइराला साबिक अमरापुरी २, नवलपरासी हाल गैंडाकोट १५, नवलपुरमा जन्मिएकी हुन् । लक्ष्मी मा.वि. गैंडाकोट १५, अमरापुरीमा ३० वर्ष शिक्षण सेवा गरेर निवृत्त भएकी छिन् । विभिन्न साहित्य समाज र धार्मिक संस्थामा संलग्न उनी साहित्य सँगै समाजिक सेवामा रुचि राख्छिन् । संयुक्त गजलसङ्ग्रह र संयुक्त कवितासङ्ग्रहका साथमा फुटकर रचनाहरू प्रकाशनमा ल्याइसकेकी शोभाले आफ्नो पहिलो कवितासङ्ग्रह सहित नेपाली साहित्यमा उपस्थिति जनाएकी छिन् ।
उनको कवितासङ्ग्रह ‘मनको बाँसुरी’ सँग सम्बन्धित भएर जनक कार्कीले गरेको कुराकानी प्रस्तुत छ ।
‘मनको बाँसुरी’ छन्द कविता सङ्ग्रहमा के कस्ता विषयवस्तुमा रचिएका कविताहरू समावेश गरिएका छन् ?
– मनको बाँसुरी कविता सङ्ग्रहमा तत्कालीन कोरोना कहरबाट संसारभरि नै चेतनशील मानव जातिमा परेको असर, साथै विद्यालय बन्द हुँदा परेको बालबालिकाको अवस्था र डरत्रास हटाएर आत्मबल, मातृभूमिको सुन्दरताको वर्णन, प्रकृतिसँगको प्रेम, प्रणय मिलन-विछोड, देशभक्ति, ईश्वर भक्ति, सहिदप्रतिको धारणा, पिता माताप्रति श्रद्धा, गुरुभक्ति, नारीको वेदना, वैदेशिक रोजगारमा युवा पलायन हुँदा युवाहरूलाई आह्वान, समाजमा विद्यमान विकृति विसङ्गति, जातीय भेद, राष्ट्रकै संवाहक गुरु, छोरीकाे विवाहकाे क्षण, चाडपर्व र शुभकामना, पर्यावरण र सम्पदा, पुत्रीकाे स्वागत, आडम्बरीपन यस्तै यस्तै भावमा गरी मनकाे ‘बाँसुरी कविता’ सङ्ग्रहमा ६४ वटा कविताहरू छन् ।
यहाँ पहिलोपटक कवितासँग कसरी साक्षात्कार हुनुभयो ?
– हुन त मेरो नजानिँदो समयमा ११/१२ वर्षको उमेरमै गीत कविता फुर्ने गर्थ्यो तर नेपथ्यमा थिएँ लुकाएर नै डायरी भरेकी थिएँ तर छन्दमा भने थिएनन् ।
जस्तै उतिबेला,
छोरीले नि पाउनुपर्छ पढ्ने लेख्ने हक ।
छोरीलाई हेला गर्ने चलनलाई रोक ।।
दुई दिनको जिन्दगीमा किन गर्ने रिस ।
कोही अर्ती दियो भने त्यो झन् ठुलो विष ।।
…….यस्तै थिए
बालककालका मेरा कविताको डायरी नै बसाइँसराइमा हराएपछि त्यसै सेलाए त्यसमा मेरो जाँगर पनि । त्यसपछि क्याम्पस पढ्दा बिदाइको कार्यक्रममा विछोडको एक कविता सुनाएकी थिएँ सो कविता प्रथम पटक हजुरबुबा हजुरआमा समक्ष सुनाउने जमर्को गरेँ त्यतिबेला हजुरबुबा खुसीले भलभल रुनुभयो हजुर आमा मेरा नातिनीको साथी छुटे भनेर रुनुभयो, त्यतिबेला नै मलाई चसक्क भएको थियोे। तर अगाडि बढाउन सकिरहेकी थिइनँ र केही वर्ष पछि फेरि विद्यालयमा गीत संगीत संयोजक बनेर कार्यक्रममा मैले रचना गरेका गीत कवितामा बालबालिकालाई नचाउने अवसर पनि पाएकी थिएँ तर छन्दमा भने थिएनन्।एक दिनको संयोग हो शुक्रबार विद्यालय सकेपछि माइतीघरमा आमाले हजुरबुबाको महाकाव्य प्रजातन्त्रोदयबाट झ्याउरेछन्दमा वाचन गरिरहनुभएको थियो म टुप्लुक्क पुग्दा आमाले मेरो हातमा सो महाकाव्य थमाइदिँदै विद्यालयको पुस्तकालयमा लगेर राखिदेऊ कमसेकम विद्यार्थीले त पढ्छन् अनि गीत कविता रच्छु भन्थ्यौँ यसो बाको कविता हेरेर छन्दमा लेख्न सक्दिनौ र पढेकी मान्छेले प्रयास त गर बाको आत्माले आशिष् दिन्छ त्यति भन्दै हुनुहुन्थ्यो। म त छाँगाबाट खसेझैँ भएँ हो त म उहाँको वंशज भएर पनि किन गर्न सकिनँ झन् झन् पछुतो लाग्यो मेरी आमाले मेरो आँखा खोलिदिनुभयो हो अवश्य प्रयास गर्नेछु आमा भन्दै पाण्डु र प्रजातन्त्रोदय दुई महाकाव्य बोकेर घरतर्फ लागे त्यसपछि अक्षर संख्या गनेर ३ +२ +३ +२+३+३ =१६ अक्षरमा कोर्न थालेँ
प्रथम छन्दको कविता हजुरबुबामै समर्पित यस्तो थियो-
चसक्क मन गलेको तन यो आत्मा जलाई
पुगेन ध्यान आएन ज्ञान खै किन मलाई ।
कवित्वपन बुझिनँ बाबा छँदा म हजुर
ती मठा श्लोक नपढी बसेँ अहिले छौ दूर ।
लुकाएँ स्वयं प्रतिभा पनि रुचिको विषय
कसरी लेखूँ छन्दमा श्लोक मनमा ली भय ।
दिनुहोस् बाबा आशिक स्वर्गबाट नै भए नि
लेख्ने छु पक्का अठोट मेरो सङ्कल्प यै छ नि ।।
कविता लेख्छु भन्ने चेत कसरी आयो ?
– यसरी माथिको भावना अनुरूप नै हजुरबुबा नबित्दै मैले कविता सुनाउँदा उहाँको नयनबाट झरेको खुसीको आँसु अनि उहाँको महाकाव्यका मिठा श्लोक, आमाको हौसला, भानुभक्तलाई घाँसीबाट प्रेरणा मिलेजस्तै मलाई पनि कविको नातिनी भएर आज किन मैले केही लेख्न सकिनँ साँच्चिकै मैले पढेको व्यर्थ छ, मेरै हजुरबुबा छन्ददाता कविवर हुनुहुन्छ उहाँसँग मैले केही सिक्नुपर्छ भन्ने भावना पहिले आएन यस्तै यस्तै पछुतो भावले भित्र भित्रै पिरोलिइरहे साथै लेख्छु भनेर अडान पनि लिएँ।
यहाँको विचारमा कविता के हो ? कविता के होइन ?
– कविता भनेको समाजकाे दर्पण हो समाजमा विद्यमान परिवेश यथार्थ चित्रण गरिन्छ साथै समाजलाई चेतनारूपी धारिलो हतियार कलमको माध्यमबाट समाजमा रहेका विकृति, विसङ्गति, कुरीतिलाई औल्याउँदै परिष्कार भावनाले समाज रूपान्तरण गर्ने धारिलो साधन हो कविता । कविको हृदयमा तरङ्गित भावना हो कविता यसलाई लेख्छु नै भनेर लेख्न बस्दा फुर्ने होइन जतिबेला जे देख्यो त्यहीं बखतमा नै फुर्ने मीठो खुराक हो कविता । मेरो धारणामा भने कविता के होइन ? त भन्नुपर्दा कविता कतै कतै संकुचित मानिसको सोचाइमा कविले पोखेका भावना सबै उसकै जीवनमा घटेका मात्रै रच्यो ओहो! यो त प्रेममा परेको रहेछ धोका पाएछ अहो! समाजको निकै विद्रोही रहेछ वा राजनैतिक विरोधी, धर्म विरोधी रहेछ भन्ने सोचाइले गर्दा अझैसम्म कवि प्रति हेर्ने दृष्टिकोण गलत रहेकोे पाइन्छ तर कविताले कुनै पक्षको विरोधी नभई जस्ताको त्यस्तै नराम्रो पक्षलाई मार्ग निर्देशन गर्न खोज्छ तर आमूल परिवर्तन नै गर्न सक्छ भन्ने साधन चाहिँ होइन कविता, सर्वसिद्ध नै हुनसक्छ भन्ने होइन कविता । दाेस्राे पक्षमा भन्नुपर्दा केवल छन्द वा लय मिलाउँदैमा कविता कहिल्यै कविता हुँदैन, कवि बनी सम्मान प्राप्तिकै लागि कविता लेख्नेहरूकाे भिडमा असल कवि खाेज्न निकै गाह्राे हुन्छ अत: कविता भावकाे शक्ति बिम्बप्रतीक, ऐतिहासिक, आधुनिक समाजकाे ऐना हाे, केवल लेख्नकै लागि लेखिएकाे कविता हाेइन ।
आजको यो डिजिटल युगमा कविताको महत्त्व के कस्तो देख्नुहुन्छ ?
– हो परापूर्व कालमा कविहरूलाई कविता जहाँ जे फुर्यो त्यो संकलन गर्न गाह्राे थियोे न त कापीकलम थिए न त मोबाइल ! सानो उदाहरण; धेरै पछि मेरो हजुरबुबाको पालामा पनि बाँसको कप्टेराको निभ जस्तो बनाएर मसी चोप्दै लेख्नुपर्थ्यो भने कति कठिन भयो होला अनुमान गर्न सकिन्छ । तर आजभोलि डिजिटल युगको विकास भएको छ साँच्चिकै हामी भाग्यमानी छौँ हातहातमा डायरी कलम, मोबाइल छ जतिबेला जे फुर्यो उतिबेला टाइप गरेर रचना संकलन गर्न सहज भएको छ अनि फैलाउन पनि सामाजिक सञ्जालले निकै सहयाेग गरेकाे छ । साथै सर्वसुलभ तरिकाले छापाखानामा तत्काल पुस्तक तयार पार्न सकिन्छ त्यसैले पनि कवितालाई उजागर गर्न सजिलो भएको छ ।
यहाँलाई मनपर्ने तीनजना कविको नाम लिनपर्यो भने कसलाई सम्झिनुहुन्छ ?
– मलाई सबैभन्दा मनपर्ने कवि महाकवि लक्ष्मी प्रसाद देवकोटा हुन् भने कवि पं. रामनाथ खनाल, कविवर प्रा. गोविन्दराज विनोदी ।
यहाँलाई मनपरेका तीनवटा पुस्तक कुनकुन हुन् ?
– मलाई मनपरेका तीनवटा पुस्तकमा महाकवि लक्ष्मीप्रसाद देवकोटा -गीति खण्डकाव्य- मुनामदन, आदिकवि भानुभक्त आचार्य- आध्यात्मिक महाकाव्य- रामायण, कवि पं. रामनाथ खनाल- पौराणिक महाकाव्य- पाण्डु ।
छन्द कविताको विकासको लागि के गर्नपर्ने देख्नुहुन्छ ?
– छन्द विकास कार्यक्रमका लागि समसामयिक पिरियडमा केही लागि पर्नुपर्ने देखिन्छ । अब केवल छन्दमा लेखेर अक्षर मिलाउने मात्र हाेइन छन्दमा पनि भाव राख्न सक्नुपर्छ बिम्ब प्रतीक राख्नसक्नुपर्छ । अलङ्कारहरूद्वारा युक्त कविताकाे प्रशिक्षण स्थान स्थानमा दिइरहनुपर्छ युवापुस्ताका भाइबहिनीहरूलाई सदा मार्गदर्शन दिइरहनुपर्छ भने अग्रजहरू पनि आफ्नाे कर्तव्य सम्झेर उनीहरूलाई छन्द कवितामा रुचि जगाउँदै मार्गदर्शन गरिरहनुपर्छ ।
‘मनकाे बाँसुरी’ कविताका केही कवितांशहरू सुनाउनुहोस् न ।
हाे प्राण चल्दा किन छैन मान
पछाडि मर्दा अझ पिण्ड दान ।।
लागेँ पखेँटा नभमा फिँजाई
चरी छ रित्ताे गुँडमा रुवाई ।।
गरीखान गाह्राे छ चीत्कार बाेकी
तिमी विश्व खाने महाकाल हाे कि ।।
स्वराेजगारी अब मन्त्र खाेज
फर्केर आऊ परकाे नसाेच ।।
डाँडाका भिरमा फुलेछ कसरी सेतै बुकी वल्लरी ।
काँडाबीच गुलाफ फुल्छ जसरी शाेभा छरी मञ्जरी ।।
रहे सबै जान अन्जानमाथि
हाेस् आज आफैँ सित राज्य साथी ।।
अन्त्यमा यहाँलाई भन्न मन लागेका कुरा व्यक्त गर्न सक्नुहुन्छ ।
– अन्त्यमा के भन्न चाहन्छु भने साहित्य भनेको समाजलाई दुरुस्त देखाइदिने दर्पण हो । सामाजिक कुरीति, यौनजन्य अपराध, लैङ्गिक विभेद, युवाामा बेरोजगार समस्या, चाडपर्वको नाउँमा भित्रिन पुगेका वैदेशिक सभ्यता र तडकभडक, जातीय भेद, वातावरण प्रदुषण साथै जलवायु परिवर्तन, राजनैतिक अस्थिरताले सर्वसाधारणमा परेको असर, मातापिता अनि गुरु प्रति हराउदै गएको श्रद्धा यस्ता व्यवहारलाई औल्याउँदै मार्गनिर्देशनको काम कविका करकलमले गर्नेछ अत: साहित्यलाई सदा सम्मान गरिरहनुपर्छ साहित्यका साधकहरू जन्मिरहनुपर्छ, जन्माइरहनुपर्छ । एवंम् मेरा यी विचारहरूलाई शुभचिन्तकहरू सामु पुऱ्याउन सहयाेग गर्नुभएकाेमा हजुर ‘जनक कार्की’ लगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु। जय साहित्य ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।