स्वीकार
मैले ‘नोरी’ लेखिसकेको थिएँ ।
‘नोरी’ प्रकाशनका क्रममा आवरण–चित्रका निमित्त मैले कवि अमित घिमिरे र भूमिकाका निमित्त कथाकार शुषमा मानन्धरसँग अनुरोध गरेँ ।
उहाँहरू दुवैजनाले सहर्ष स्वीकार गर्नुभयो ।
कथाकार शुषमाले ‘नोरी’का निमित्त प्रेमपूर्वक प्रेरणादायी भूमिका लेखिदिनुभयो भने कवि अमितले प्रेमपूर्वक सुन्दर आवरण–चित्र बनाइदिनुभयो ।
रूपान्तरण
कथाकार शुषमा मानन्धरलाई मैले ‘नोरी’ को पाण्डुलिपि देखाएँ ।
उहाँले पुलकित हुँदै पढ्न थाल्नुभयो ।
‘नोरी’ लाई एक निमेषमै पढिसकाएर उहाँले म तर्फ फर्केर सुनाउनुभयो, ‘ईश्वर भाइ, तपाईँका केही कविताको शीर्षक रूपान्तरण गर्न जरुरी छ ।’
मैले स्वीकारेँ ।
त्यसपछि उहाँले क्रमशः ‘मनोचिकित्सक डा. प्रदीपमान सिंहलाई पत्र’ लाई ‘डा. प्रदीपमान सिंह’, ‘अनुरोध’ लाई ‘याद’, ‘सपनामा’ लाई ‘सपना’, ‘पिङ्गाईलाई प्रेमपत्र’ लाई ‘पिङ्गाई’ र ‘सम्झना’ लाई ‘सम्झनाहरू’ शीर्षकमा रूपान्तरण गर्नुभयो ।
भूमिका;
कवि मञ्जुलले एक दिन मलाई उहाँको घरमा डाक्नुभयो ।
म पुलकित हुँदै पुगेँ ।
मेरो ‘नोरी’ पुस्तक प्रकाशित भइसकेको थियो ।
भेटेलगत्तै कविद्वय मञ्जुल र सुस्मिता नेपाललाई मैले एक-एक प्रति ‘नोरी’ दिएँ ।
उहाँहरू दुवैजना पुलकित हुनुभयो ।
‘नोरी’ आफ्नो हातमा पर्नसाथ कवि मञ्जुलले सुरूमै कथाकार शुषमा मानन्धरले लेख्नुभएको भूमिका पढ्न थाल्नुभयो र केही समय पछाडि उहाँले पुलकित हुँदै म तर्फ फर्केर यति भन्नुभयो, ‘ईश्वर भाइ, मैले शुषमाजीको भूमिका पढिसकाएँ । खुसी लाग्यो । तपाईँलाई उहाँले बुझेरै लेख्नुभएको रहेछ ।’
उहाँको कुरा सुनेर म पनि पुलकित भएँ ।
टिप्पणी
समरप्रतीक डटकममा कवि रसुवाली कविले ‘ईश्वरका कविताः जनयुद्ध, हस्पिटल र प्रेमको त्रिवेणी’ शीर्षकमा ‘नोरी’ बारे टिप्पणी भूमिका सहित यसरी गर्नुभएको छ–
साहित्य सन्ध्याको एक कार्यक्रममा हुनुपर्छ । उनले एउटा चोटिलो कविता सुनाएका थिए । कार्यक्रम सकिएपछि हाम्रो संक्षिप्त परिचय भएको थियो । ईश्वर थोकर, घर तेमाल, अहिले भक्तपुर बस्छु । परिचय दिँदा उनका हातहरू कामिरहेका थिए । ओठहरू हाँसिरहेका थिए ।
त्यसपछि हाम्रो भेटहरू हुँदै गए । अनुभूतिका तीव्र वेग अनि सम्वेदना सहित लेखिएका उनका कविताहरू मलाई खुब मनपर्न थाल्यो । ईश्वर थोकरका कविताहरू छोटा हुने गर्छन् । तर, तिनको आयतन एउटा खण्डकाव्यले भन्दा बढी ओगटेका पाइन्छन् । सहरका एलिट सम्पादकहरू ती छोटा कवितामा कुनै भाव देख्दैनन् । किनकि ईश्वरका कविताले उनीहरूका कोलमहरू भरिदैनन् । आज पनि उनका कविता छाप्न दिगमिग मान्ने सम्पादकको कुनै कमी छैन ।
सधैँ
बिमारीमात्र भइराख्ने मलाई
तिम्रो शुभकामना
फाप्यो सायद
म निको भएँ ।
(‘जीवन’, ‘नोरी’ बाट साभार )
ईश्वरको कविता बुझ्न उनको जीवनलाई पनि बुझ्नुपर्छ । जनयुद्धकालमा ईश्वरका बुबा काभ्रेका माओवादीहरूलाई सेल्टर दिन्थे । यो अभियोगमा उनको बुबा बेपत्ता पारियो । न्यातपोल मन्दिर छेउमा सँगै तेलकासा खेल्ने बहिनीको दुःखद् निधन भयो । १३ वर्षको उमेरमा कडा डिप्रेसनको रोगी भए । अहिले पनि उनी साइको–मेनियाको औषधि खाइरहेका छन् । अपरेसन थिएटरमा पुगेर जिन्दगीलाई घिसारिरहेका छन् । यही दुःखद् डिप्रेसन र त्यसले जन्माएको कवि हुन्, ईश्वर थोकर । उनका कवितामा माओवादी आन्दोलनका अंशहरू छन् । अस्पतालका मर्मस्पर्शी भावहरू छन् । नर्सहरूसँगको माया–प्रेमका अनुभूतिहरू छन् । पछिल्लो उनको कवितासङ्ग्रह ‘नोरी’ हस्पिटलको उराठलाग्दो वातावरणबाट उत्पादित सरल साहित्य हो ।
बजारमा ईश्वरलाई प्रेम–कवि भन्नेहरू धेरै छन् । उनको जीवन नै प्रेमसँग सम्बन्धित छ । उनले प्रेम–कविता पनि लेखेका छन् । त्यसमा एउटा छुट्टै खालको क्यानभास छ । त्यो नेपाली साहित्यमा विरलै पाइन्छ । उनी होनहार वामपन्थी कवि त होइनन् । तर, उनको कवितामा वामपन्थी आन्दोलनका धेरै अंशहरू पाइन्छन् । नरेश शाक्य र मञ्जुलबारे उनले लेखेका कविताहरू यसका प्रमाण हुन् । ‘आपाका साथीहरू …’ त झन् एउटा खरो प्रगतिशील कविता हो । यहीबाट हेर्दा ईश्वरलाई हामीले एउटा सशक्त कविको रूपमा पाउँछौँ ।
तिम्रो साहसलाई
म मान्छु
धेरैबेर आँखा जुधिसकेपछिको
पहिलो भेटमै
तिमीले मलाई सुटुक्क भनेकी थियौ
कि बिर्स्यौ ?
‘म तिमीलाई माया गर्छु ।’
[ ‘पिङ्गाई’, ‘नोरी’ बाट साभार ]
कवि रसुवाली कविले ‘ईश्वरका कविताः जनयुद्ध, हस्पिटल र प्रेमको त्रिवेणी’ शीर्षकमा लेख्नुभएको ‘नोरी’ बारे ‘… उनको कवितामा वामपन्थी आन्दोलनका धेरै अंशहरू पाइन्छन् ।’ भन्ने टिप्पणीमाथि कवि तथा कथाकार बिना थिङ तामाङले पनि तुरून्तै टिप्पणी गर्नुभएको छ, ‘ईश्वर थोकरलाई ईश्वर थोकर नै रहन दिनुस् ।’
सोच
‘नोरी’ प्रकाशनपूर्व नै मैले ‘शुषमा मानन्धर’ शीर्षक दुई कविता लेखिसकेको थिएँ ।
मैले उक्त कविता कथाकार शुषमा मानन्धरलाई देखाएँ ।
उहाँ पुलकित हुनुभयो ।
उक्त कवितालाई मैले ‘नोरी’ मै समावेश गर्ने सोच बनाइसकेको थिएँ । तर, त्यसो गरिएन । ‘शुषमा मानन्धर’ शीर्षक कविता यस्तो थियो–
[ शुषमा मानन्धर ]
१–
अघिल्लो जनममा
तिमी मेरी प्रेमिका हुनुपर्छ ।
यतै कतै–
कुनै मयजुलाई देख्यो कि
तिम्रो झझल्को आइहाल्छ ।
२–
अलिकति
म ढिलो जन्मेँछु ।
नभए उहिल्यै हुनेथियौँ–
तिमी लैला
म मजनु ।
एक भेटमा मैले कथाकार शुषमा मानन्धरलाई सुनाएँ, ‘दिदी, तपाईँलाई समर्पित गरेर मैले एउटा शृङ्खला कवितासङ्ग्रह तयार गर्ने सोचमा छु ।’
उहाँ फेरि पुलकित हुनुभयो ।
समावेश
कवि बिकेश कविनले मलाई समर्पित गरेर ‘थोपा थोपामा जीवनको घाम बटुलिरहेका कवि’ शीर्षक (कवितासङ्ग्रह) तयार गर्नुभएको छ ।
जुन कवितासङ्ग्रह प्रकाशोन्मुख छ ।
उहाँले उक्त कवितासङ्ग्रहमा मेरो बाल्यकालदेखि हालसम्मका जीवनका उकाली–ओरालीहरूलाई कवितामार्फत मिहीन–ढङ्गले समेट्नुभएको छ ।
कवि बिकेश कविनले उहाँको उक्त प्रकाशोन्मुख कवितासङ्ग्रहमा ‘नोरी भुजू : नर्स कविता– ३’ शीर्षक कविता पनि समावेश गर्नुभएको छ–
नोरी भुजू: नर्स कविता– ३
(नर्सहरू कविताजस्तै सरल र सुन्दर हुन्छन्– ईश्वर थोकर)
विज्ञानको कुनै गाह्रो प्रश्नजस्तो
अथवा, गणितको कुनै गाह्रो सूत्रजस्तो
तिमी थिइनौ, प्रिय नोरी भुजू
तिमी त बहुत सरल थियौ
तिम्रा आँखाहरू शुभ्र थिए
तिम्रो मन झनै शुभ्र थियो
र, तिमी बहुत सुन्दर थियौ
यो सुन्दर र विशाल प्रकृति जस्तै
तिम्रा नै शुभ्र आँखाहरू र मनको कोमल स्पर्शले
मैले बाँचिरहेको
मेरो यो दोस्रो जीवन पाएको हुँ
र, पाएको हो मेरो जीवनले, एउटा सुन्दर जीवन
एउटा अर्थपूर्ण र कर्मशील जीवन
मेरी देवी, मेरी प्रिय नोरी भुजू
तिमीलाई मेरो र मेरा सयौँ कविताको थुजेछे ।
(थुजेछे: धन्यवाद)
वन्दना
म नेपाल मेडिकल कलेज, अत्तरखेल, काठमाडौँको ‘अर्थो वार्ड’ मा भर्ना भएर बस्दा सिस्टर वन्दना पोखरेलसँग मेरो परिचय भयो ।
वार्डमा उपचाररत छँदा सिस्टर वन्दनाले मलाई कविता लेख्नका निमित्त धेरै प्रेरणा दिनुभयो ।
उहाँबाट साह्रै प्रभावित भएर मैले अस्पतालबाट डिस्चार्ज भएर आएको केही दिनपछि ‘सिस्टर वन्दना पोखरेलसँग’ शीर्षक कविता नै लेखेँ । उक्त कविता नेपाल प्रज्ञा–प्रतिष्ठानबाट नियमित प्रकाशित हुने ‘कविता’ मा यसरी प्रकाशित भएर आएको थियो–
[ सिस्टर वन्दना पोखरेलसँग ]
मेरो घुँडाको अपरेसन थिएटरमा मैले
तिमीलाई भनेथेँ–
“म कविता लेख्छु ।”
अरू पनि के–के, के–के
तिमीले
सोधेजत्ति भनेथेँ
तर, किन–किन
यत्तिचैँ भन्न सकिनँ–
“म मानसिक रोगको ओखती खान्छु ।”
पछि यो कविता ‘नोरी’ मा पनि प्रकाशित भएर आएको थियो ।
समर्पित
भेटका क्रममा दिउँसोपख सिस्टर नोरी भुजूलाई मैले दुई प्रति ‘नोरी’ दिएँ ।
‘नोरी’ मैले उहाँलाई नै समर्पित गरेर लेखेको थिएँ ।
उहाँले ‘नोरी’ लाई सुमसुम्याउँदै साह्रै भावुक भएर भन्नुभयो, ‘अक्कल, तिमीले मलाई समर्पित गरेर जुन प्रेमले यो पुस्तक लेख्यौ । मेरो जीवनको निमित्त यो गौरवको विषय हो र म प्रतिको तिम्रो प्रेमलाई म आजीवन महसुस गरिरहनेछु ।’
त्यसपछि मैले उहाँलाई नै समर्पित गरेर लेखिएको ‘नोरी’ मै प्रकाशित भएर आएको ‘सिस्टर नोरी भुजूप्रति’ शीर्षक कवितालाई तुरून्तै पक्रिहालेँ –
तिम्रो अगाडि रोइदिएर मैेले
गल्ती पो गरेँ कि !
अझै
सम्झिरहेछु-सम्झिरहनेछु
जनम–जनम
तिम्रा ओसिला आँखाहरू !
– ईश्वर थोकर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।