उसको घर पुग्दा ऊ धमाधम भान्सामा ठिक चुलो अगाडिको भाग खुर्पीले खन्दै थियो । मुन्नाकी आमा उसलाई एकोहोरो गाली गर्दै हुनुहुन्थ्यो “नगर न ए मुन्ने ! बजिया तेरा बाजेले भेटे भने पानी पनि भन्न नपाउलास नि ।” म त्यहाँ उपस्थित भएको सायद आभाष उसले पाएको थिएन । ऊ आमालाई सम्झाउँदै थियो “नकराउन आमा, केही हुँदैन क्या !” म परिस्थिति पर्गेल्ने प्रयास गरिरहेको थिएँ । निमेषभरमै उसले लाम्चो आकारको बस्तु निकाल्यो । त्यो बस्तु सर्वाङ्ग प्लास्टिकले बेरिएको थियो । उसले जतनसाथ त्यो प्लास्टिक खोल्यो । मेरी बास्सै त्यो त बन्दुक रहेछ । भरुवा बन्दुक । उसले म त्यहीँ भएको चाल पाएर म तर्फ हेर्यो र चोर औंलाले निधारको पसिना पुछ्यो । मेरो जिज्ञासु भाव अनुहारमा लत्पतिएको देखेर होला सायद हल्का मुस्कुराउँदै बोल्यो “एकछिन बस्दै गर ल ! म आईहाल्छु।” ऊ बन्दुक सुम्सुम्याउँदै ग्वालीभित्र छिर्यो र एउटा पूरानो मैलो पोलिष्टरको सुर्कने झोला पछाडि अनि काँधमा बन्दुक बोकेर पूर्वीदिशा तर्फ उन्मुख भयो ।
साँझले आँगन टेक्न केहि पाईला मात्र बाँकी थियो । त्यो झम्के साँझको छिपछिपे अँध्यारोबिच काँधमा बन्दुक बोकेर कहाँ हिंडेको होला मुन्ना । प्रश्न अझै मष्तिकमा ज्युँदै थियो । तर लगत्तै थाहा पाएँ खै कसले हो तारहान्नेको डाँडाको कोप्चोमा निगाले चितुवा बच्चा सहित बसेको खबर सुनाईदिए पश्चात उ त्यही चितुवाको सिकार गर्न त्यता तर्फ गएको रहेछ ।
म गौरिडाँडा मामाघर बसेर पढ्थें । मुन्ना र म सहपाठी थियौं । हाम्रो टेष्ट परीक्षा सक्किसकेकोले घरमै बसेर आसन्न एस. एल. सी. परीक्षाको तयारी गरिरहेका थियौं । म दिनभरिको अध्ययन पश्चात साँझ पख उसलाई भेट्न उसको घर गएको थिएँ । तर उसको सुषुप्त शिकारी रहर जागृत भएर शिकारमा निस्केको थियो । उसकी दिदी तथा आमाबाहरू चिन्तित देखिनु हुन्थ्यो । साँझको बेला चितुवाको सिकार गर्न बन्दुक बोकेर निस्केको उसलाई देखेर परिवारका सदस्यहरू त्रासको गहिरो खाडलमा परेको जस्तो हुनुभएको थियो । त्यसमाथि सरकार माओवादी द्वन्द्व उत्कर्षमा थियो । कुनै सुराकी या सुरक्षाकर्मीले भेटे भने ज्यानै जान सक्ने कुत्सित संभावनाको खुकुरी गर्धनमाथी झुण्डिएको थियो । तर ऊ यावत संभावनाहरुलाई जामा पहिल्याई दिएर सिकार गर्न गएको थियो । सायद ऊ त्यस्ता प्रतिक्रियात्मक टिप्पणी र घटनाक्रमसँग अभ्यस्त थियो । म अन्य उपस्थित व्यक्तिहरूसँग भलाकुसारी गरेर त्यहीं बसिरहेको थिएँ । केहि क्षण पश्चात अँध्यारोमा एक्कासी परदेशबाट फर्केको छोरो झैं जुम्लुङ्ग आँगनमा देखापर्यो । तर उसको आँखा र खुट्टामा उत्साह भन्दा पराजय र थकान देखिन्थ्यो । उसले काँधको बन्दुक बिसायो र थकित लवजमा भन्यो “झुर भयो नि ! म त्यहाँ पुग्नु र चितुवा मेरो दकस पाएर भाग्नु एकैचोटि भयो । सिकार गर्न नि पाईएन फेरि बच्चा पनि सारिसकेछ ।”
हामी प्रायः स्कूल जाँदा सँगै जान्थ्यौं । बाटाभरि उसका शिकारी किस्सा मुख मिठ्याई मिठ्याई सुन्थ्यौं । गौरिडाँडाबाट बर्दिबास जनता स्कूल पढ्न जानेहरू धेरै भएतापनि हामी अर्थात मुन्ना, म, महेश, तारा अनि सन्जिबको छुट्टै समूह थियो । सन्जिब अरुजस्तो हिंड्न सक्दैनथ्यो । बेला बेला हामी मध्ये कसैले उसलाई साईकल चढाएर स्कूल लैजाने गर्दथ्यौं । हामी स्कूल नियमित जाने गरे तापनि मुन्ना भने बेला-बेला गयल हुने गर्दथ्यो । फर्केर आएपछि ऊ काम विशेषले वा शिकार खेल्नको निम्ति गएल भएको तथ्य हामीलाई सुनाउने गर्दथ्यो । हुनपनि उसलाई शिकारहरुको बासस्थान थाहा थियो । आनीबानी र आवाज थाहा थियो । चराहरुको उडान र गुँड बनाउने तरिकादेखि बच्चा हुर्काउने समयको जानकारी उसलाई राम्रोसँग थियो । उसको गुलेलीको निशाना छल्न जस्तै चलाख चराहरूलाई पनि हम्मेहम्मे पर्थ्यो ।
टेस्ट परिक्षा पश्चात हाम्रो एउटा स-स्यानो जमघट भएको थियो । सो जमघटमा ताराले ठट्टैठट्टामा, “हामीलाई कहिल्यै शिकारमा लान्नस माने, तँ आफूमात्र जान्छस” भनेर प्रश्नको बल्छि थापे । उसले पनि प्रश्नको बल्छिमा योजानको शिकार उन्दै भनेको थियो,“भर्खरै गहुँ काट्ने सिजन शुरु भएको छ । गहुँ खेतमा चर्न ढुकुर परेवाहरु खुब आउँछन । त्यहिबेला जाने भए जाऊँ साथी हो म त हरदम तयार छु ।” उसको प्रस्तावमा विमति राख्नुपर्ने कुनै कारण थिएन । तसर्थ हामी सहर्ष राजी भयौं ।
शनिवारको दिन । मौसम भर्खर धोएर सुकाएको सुतीको कपडा जस्तै सुकिलो थियो । मध्य आकाशबाट घाम पश्चिम दिशातर्फ लुरुलुरु ओरालो झर्दै थियो । पारि गाऊँबाट तारा आईपुगे । म मामाघरबाट मिसिएँ । माथ्लो दिशाबाट महेश र सन्जिब प्रकट भए । हाम्रो पूर्वयोजना अनुरुप नै मुन्ना बारुद, छर्रा लगाएतका अन्य खरखजानाको तयारी गरिरहेको रहेछ । हामी पुग्यौं । उसले हामीलाई मुस्कानले स्वागत गर्यो । मुस्कुराउँदा उसका मंगोलियन आँखा झन चिम्सा भए । गुलेली लगायतका अन्य सामाग्री हामीले बोक्यौं । उसले काँधमा बन्दुक बोक्यो । हामी रणभूमीमा युध्द गर्न हिंडेका सैनिक झैं पूर्वदिशातर्फ अघि बढ्यौं । मुन्नाको घर कोहि हुनुहुन्थेन । बाटामा पनि कोहि भेटिएनन् । यसर्थ हामीलाई कता हिंडेको भनेर प्रश्नको हँसियाले ठुँग्न आउने पनि कोहि भएनन् । हामी फुक्काफाल थियौं । हाम्रो गन्तव्य तारो हान्ने डाँडा ओर्लिएर रातु खोला पारिको तुलसी फाँट थियो ।
तारो हान्ने डाँडाबाट खोलातिर ओर्लिंदै गर्दा एउटा अग्लो रुखको हाँगामा ठूलो चरा बसेको देखियो । हामीले त चिने पो । उसैले सो चरा धनेस चरा भएको र हाम्रो शिकारको पहिलो निशाना त्यसैलाई बनाउने योजना सुनायो । ऊसको योजनामा हामीले हाम्रो स्विकृती सूचक मुन्टो हल्लाएर सदर ठोक्यौं र लगत्तै उसको इशारा बमोजिम एउटा झाडीमा ओझेल परेर बस्यौं । ऊ भने धमाधम बन्दुकमा बारुद, छर्रा आदि भर्न थाल्यो । बन्दुकमा खजाना भरिसके पश्चात उसले भरेको बन्दुक काँधमा राखेर धनेस चरातर्फ तेर्स्यायो र आँखा चिम्म गरेर खै के स्मरण गरेर हो कुन्नी, घुँडा टेकेर बस्यो । हामी धड्कनको गती पनि चराले सुन्छ झैं गरेर सास पनि एकहोरो मात्र फेरेर बस्यौं । उसले एउटा आँखा चिम्सो पारेर बन्दुकको घोडा दबायो । ठूलो आवाजले तार हान्नेको पाखो थर्काउँदै बन्दुक पड्कियो । बन्दुक त पड्कियो तर बन्दुक पड्किएसँगै धनेस चरा अत्तालिएर लामो पखेंटा फट्फटाउँदै रुखबाट उडेर भाग्यो । उसले सुस्केरा छाड्यो । “धत्तेरिका के भो हौ !” खेद प्रकट गर्यो । हामी पहाड झैं स्थिर भयौं । पछि उसले आफैंले सान्त्वना स्वरुप शिकारमा जाँदा कैयौं पटक रित्तो हात फर्किनु परेको किस्सा सुनायो। हामी पनि साँझमा निदाएको ताप्रे बिहान फुर्तलो देखिए झैं भयौं ।
हामी ओरालो झर्यौं। हामी ओरालो झर्दै गर्दा घाम पनि सुस्तरि सुस्तरि आकाशबाट पश्चिम दिशातर्फ अल्छि मान्दै हिंडिरहेको थियो । हामी साँच्चै शिकारमा थियौं । यो अनुभूतिले पनि होला हाम्रो शरिरमा नवीन ऊर्जा सञ्चार भएको थियो । शिकारको उत्साहले गन्तव्य अझ छोटो भैरहेको थियो । रातु खोलाको सङ्लो पानीमा हामीले हातखुट्टा पखाल्यौं र हाम्रो भर्खरै भएको असफलताको दोषलाई पनि त्यहीं पखालेर छोड्ने प्रयत्न गर्यौं । मुन्नाले हामीलाई बग्दो पानीमा माछा पक्रने काईदा सिकायो । तर ऊ बाहेक हाम्रा प्रयास निरर्थक भए। हामी रमिते मात्र भयौं ।
केहि क्षणमै हामी तुलसी फाँटमा थियौं । गहुँ भर्खरै काटिसकेका खेतहरुमा गहुँका ठुटा सेताम्मे दिखिन्थे बुढो मान्छेको ठूटे दारि जस्तै । मुन्ना यात्राको अग्रमोर्चामा थियो । हामी उसको गती पछ्याउँदै हिडिरहेका थियौं । मौसममा कता-कता बिस्तारै मधुरो फिक्कापन मिसिन थालेको थियो तर मनभरि रंगीन आकांक्षाहरु वर्षे बादल झैं मडारिरहेको थियो । तुलसी फाँटमा केहि किसानहरु काम गरिरहेका देखिए । काँधमा बन्दुक बोकेका ४-५ जना उरन्ठेउला केटाहरु हिंडेको देखेर होला उनीहरुले हामीलाई अनौठो नजरले हेरे । शायद माओवादी पो भन्ठाने कि! तर बोल्ने आँट भने गरेनन ।
तुलसी फाँटका केहि गराहरु काटेपछि अघिअघि हिंडेको उ एकाएक रुख झैं उभियो । उसको गतिको गाम्भिर्य बुझेर हामी पनि रुख वरपरका पोथ्रापोथ्री झैं स्थिर भयौं । उसले हामीलाई अग्लो आलीमा छेलिन साउती गर्यो । हामी छेलिएर छापामार शैलीमा अलि अर्को गरोमा नजर बिछ्यायौं । त्यहाँ ढुकुर र परेवाहरु सराबरी भएर चर्दै रहेछन । उसले आफ्नो गन्तव्य भेट्टाएको आभाष पायो भने हामीले उत्साह । हाम्रा उत्साहित मुटुभरि तुफानका लहर उठ्न लागे तर उ अनुभवी शिकारि झैं धीरताको साथ बन्दुक भुँईमा बिसाएर हामीलाई सांकेतिक लवजमा भन्यो, “तिमीहरु यहीँ बस म पल्लो आलीमा गएर निशाना लगाउँछु ।” हाम्रा मौन आँखाबाट शुभेच्छाका भाव प्रकट भए । ऊ युद्ध भूमीको सैनिक जवान झैं घिस्रिंदै पल्लो गराको आलीमा छेलिएर बन्दुकको खजाना जोरजाम गर्न लाग्यो । हामीलाई एकाएक ओठतालु सुकेजस्तो, पिसाबले च्यापे जस्तो भयो । तथापि हामी संवेदनाको तिब्र उतारचढावलाई नियन्त्रण गर्ने प्रयास गरिरह्यौं । मुन्नाले बन्दुकमा बारुद भरिसकेपछि नाल खेतको आलीमा राखेर निशाना लगायो । तत्कालै सारा फाँट थर्काउँदै बन्दुक पड्कियो । हामी बन्दुक पड्किएको दिशातर्फ दगुर्यौं । बन्दुकको छर्रा लागेर घाईते भएका वा मरेका ढुकुर परेवा खोज्न हामी दौडिएका थियौं तर अफसोच सबै सबै उडेर गएछन । उसले हामीलाई वरपर खोज्न लगायो र संभावनालाई संजिवनी छर्किने प्रयत्न गर्यो। तर सबै निरर्थक साबित भयो, एउटै शिकार फेला परेन । उसले निराशाका फिक्का रंग अनुहारमा पोतेर भन्यो, “हत्तेरिका ! आज कस्तो साईतमा शिकारमा हिंडिएछ एउटै हात नलाग्ने भो ।” उत्साह भरिएर छचल्किएका हामी एकाएक रित्ता घैलाजस्ता भयौं । मुखबाट एकैनास निराशाका सुस्केरा चल्न थाले। पर खेतमा काम गरिरहेका मानिसहरु निर्नीमेष हामीतिरै हेरिरहेका देखिए ।
हामी सबै थकित आरोही झैं खेतको आलीमा बस्यौं । “के गर्ने त मुन्ना खै शिकार त केही नहोला जस्तो भयो त?” भन्दै ताराले किंकर्तव्यविमुढ भावमा सन्देह प्रकट गरे । बाँकी साथीहरुको स्थिति पनि भिन्न थिएन । उसले पनि शिकार खेलेर साथीहरुलाई देखाउने उसको उत्साह एकाएक घाममा परेको बिहानीको शितजस्तै हुनेभो भन्ठानेर होला उसका तिखा आँखाले पुनः बन्दुकको कलपुर्जा चेकजाँच गर्यो । कलपुर्जा सबै साबुत थिए । निराशाको अन्धकारमा हल्का आत्मविश्वासको रंगिन कोलाज जड्दै उसले थप्यो, “धेरै दिन भएछ शिकार नगरेको साथी हो । निशाना राम्रो लागेन । तर ढुक्क हौ तिमरु केहि न केहि त तिमीहरुलाई अवश्य चखाउँछु ।” उसको आश्वासनको उर्जाले हामीभित्र एकाएक स्फूर्ति भरिएर आयो।घाम पहेंलोबाट फिक्का रातो रंगमा परिवर्तन हुँदै थियो । पश्चिम आकाशमा घामको रंगको आभा बाक्लिँदै जान थाल्यो । हामी पाँच भाइ केही अनौपचारिक भलाकुसारिमा मग्न थियौं । यसैबिच उसका सिकारी आँखा आकाशतर्फ सोझिए । हामीले पनि उसका आँखा पछ्यायौं । तर हामीले केहि कुराको भेउ पाउन सकिरहेका थिएनौं। एकछिनमै उसले एकाएक उत्साहित भएर भन्यो, “लौ केटा हो उ त्यो बाँसझाङमा ढुकुरले गुँड लाएको हुनुपर्छ र बच्चा पनि होला जस्तो छ । जौं त्यतै ।’’
उसले इङ्गित गरेको दिशातर्फ हामी रवाना भयौं । हामी त्यहाँ पुग्नु र ढुकुर त्यहाँबाट उडेर भाग्नु एकैपटक भयो । हो रहेछ उसको सिकारी अनुमान सहि निस्क्यो । त्यहाँ ढुकुरको गुँड र जोडि बचेराहरू रहेछन । उसले बन्दुक हामीलाई जिम्मा लगाएर बचेरा निकाल्न बाँस झाङतर्फ लम्कियो । हामी अन्यमनस्कको भावमा आँखा बाँस झाँङमा केन्द्रित गरेर तल कुरिरह्यौं। उसका सिपालु हातगोडाले सहजै उसलाई माथि उकाल्यो । तर उ गुँडमा पुग्नु अगावै ढुकुरका वयस्क बचेराहरु भुर्रर्र उडेर गए। तर लामो उडान भर्न नसकि अलि पर खेतको आलीमा गएर बस्यो । हामीले केही प्रतिक्रिया जनाउनु अगावै उ बाँसझाँङबाट बुर्लक्क खेतमा हामफाल्यो । हामी ति बचेरा पक्रिन दौड्न थाल्यौं । उ पनि हाम्रो म्याराथुनमा मिसिन आइपुग्यो। ढुकुरका बचेरा भएको ठाउँमा पुग्दा ति पुनः उडेर गए र अलि परको खेतमा बस्न पुगे । उसले साउतीको भाकामा हामीलाई रोक्यो र गुलेली लिएर त्यतातर्फ लम्कियो । हामी सास थामेर खाँबो झैं उभियौं।एउटा बचेरा उसले प्रहार गरेको गुलेलीले तत्क्षण मर्माहत भएर भुक्लुक्क ढल्यो भने अर्को चाहिं पुनः आफ्नो कलिला पखेंटा फट्फटाउँदै उडेर गयो । हामी उडेर गएको ढुकुर तर्फ दौडियौं । साना-साना आली कान्ला नाघ्दै दौडिरहेका थियौं हामी । म त्यस दौडको अग्रमोर्चामा थिंएँ । मैले सुस्तरि उडेको ढुकुर लगभग भेट्टाउन लागिसकेको थिएँ । एउटा अग्लो आली मात्र बाँकि थियो। म आफ्नो सम्पूर्ण प्रयास एकत्रित गरेर त्यो आली नाघ्ने प्रयास गरें। मेरो आँखाको गन्तव्य आलीभन्दा पनि उडिरहेको ढुकुर थियो । तर मेरो प्रयासमा दुर्भाग्यको भेल आएर ठोक्कियो । आली नाघ्दै गर्दा मेरो दाहिने खुट्टा आलीमा ठेसिन पुग्यो । मेरो तरल र सलिल प्रयासमा अग्लो बाँध ठडियो । म पिडाले रन्थनिएर मट्याङ्ग्रा लागेर भुँई खस्दै गरेको चरा झैं भुँईमा खसें। मेरो मुखबाट पिडाको आर्तनाद निस्कियो ।
त्रसित ढुकुर म भन्दा केहि अघि मात्र मेरै लयमा खस्यो। मेरो पछिपछि दौडिरहेका साथीहरु मलाई सम्हाल्न आईपुगे । नजिकै खसेको ढुकुर समात्न तारा त्यतातर्फ दौडिए। म सकिनसकि उठें । दाहिने खुट्टाको बुढि औंलामा तीव्र पिडाको अनुभुत भयो । खुट्टा टेक्नै सकिनँ। साथीहरुले औंला तानतुन पारिदिए तर पिडाको पारो फिटिक्कै घटेन ।
हामी ढुकुरका दुई बचेरा पक्रेर थकित मुद्रामा आलीमा बस्यौं । नखाउँ त दिनभरिको शिकार खाउँ त कान्छा बाउको अनुहार भनेजस्तो भयो । सिकार सोचेजस्तो हुन नसकेकोमा मुन्ना खिन्न थियो । हामीलाई भने यस्तो सिकारको अनुभव खासै नभएकोले रमरम स्वाद भने लागेको थियो । तर मलाई शिकार भन्दा मर्केको खुट्टाको चिन्ता लाग्न थाल्यो । एकैछिनमा खुट्टा सुन्निएर हात्तिपाईले रोगीको जस्तो भयो। तैपनि हात लागेको शिकार सदुपयोग गर्ने निष्कर्षमा हामी पुग्यौं ।
घाम डुबिसकेको थियो । त्यो निर्जन फाँटमा झ्याउँकिरीको आवाज स्पष्ट सुन्न थालीसकेका थियौं हामीले । साथीहरुले मिलेर झिक्राझिक्रि जम्मा पारेर आगो सल्काए । सिकार आगोमा पोल्न लाग्यौँ । त्यो समयको भोगाईको सामु हाम्रो उपलब्धि गौण थियो। तर हामीले जे महसुस गर्यौं र भोग्यौं त्यो नै हाम्रो उपलब्धि थियो । पोलेको त्यो स्याखुने शिकार हामीले बाँडिचुँडि खायौं। हल्ला गर्यौं । सन्ध्याको तरल नीरवतामाथि धावा बोल्यौं । साथीहरु नाचे उफ्रिए । साँझको गहिरो अन्धकार जमिनमा खस्नु अघि नै काँधमा बन्दुक भिरेर हामी तुलसी फाँटबाट क्रमशः रातुखोला तर्दै गौरिडाँडा उक्लियौं । म खुट्टा घिसारि घिसारि हिंडिरहेको थिएँ साथीहरुको सहयोगमा। गौरिडाँडा उक्लिंदा साँझ रातमा रुपान्तरित हुने क्रममा थियो । मामाघर पुग्दा खानाखाने बेला भैसकेको रहेछ। म चुपचाप खाना खाएर माथि उक्लिएँ । मामाघर पढ्न बसेको भान्जो खुट्टा खोच्याउँदै शिकारबाट घर पुग्दा मामाले केही भन्नुहोला भन्ने डरले मनभित्र घरजम गरेर बसेको थियो ।
भोलिपल्ट बिहान मामाले मेरो खुट्टाको बारेमा थाहा पाईसक्नुभएको रहेछ । पढ्न बसेको मान्छे यस्तो काल परिस्थिति भएको बेला बन्दुक बोकेर शिकार खेल्न जानु राम्रो नभएको आशयका केही अनौपचारिक शब्दहरुले मलाई सम्झाउनु भयो। म सँग शब्द निख्रिएका थिए । त्यसैले निरुत्तर रहें । केही दिनसम्म खुट्टाले दुःख दिईरह्यो । माइजूले स्नेह पूर्वक तयार पार्नुभएको केही घरेलु औषधी प्रयोग पश्चात ४-५ दिनमै खुट्टा साबिक अबस्थामा फर्कियो । मेरा दिनहरु सेकेन्ड, मिनेट, घण्टा र दिन भएर चिप्लिरहे । म पनि समयको गतिसँगै चिप्लेटि खेलिरहें । एस एल सी त्यसबेला अगम्य पहाड भएर मेरो अगाडि उभिएको थियो । पढाईको रफ्तारले हिम्मत आर्जन गर्नु थियो त्यो भिमकाय पहाड उक्लिन । र म प्रयास गरिरहेको थिएँ ।
एक अर्को दिनको साँझ ।
झम्के साँझ आँगनसम्म आएर ढोकाभित्र पस्न भ्याएको थिएन । म शांयकालीन घुमफिरको निम्ति डगरतिर एक्लै टहलिरहेको थिएँ । उत्तरतिरबाट मुन्ना म तर्फ आईरहेको देखें ।
“यार ! एउटा सहयोग गर्नुपर्यो । “म नजिकै आएपछि उसले मसँग सहयोगको याचना गर्यो । मैले नाइँनास्ती गर्नुपर्ने कुरै थिएन । सोचें पढाईसँग सम्बन्धित केही प्रश्नहरु होलान् । तर उ सोचेभन्दा अलि नै गम्भिर भएर बोल्यो,“हेर न, घरमा बन्दुक राखेको बाआमाले कराएर हैरान पारिसके । भिनाजुको बन्दुक पुऱ्याईदिनुपर्ने भो । जाउँ न है तल बर्दिबास । सोरबिगे डाँडाको जंगलै जंगल झर्ने हो । जंगलको फेदिमै त छ भिनाजुको घर ।”
परिस्थिति मैले सोचेभन्दा पृथक देखियो तैपनि म तयार भएँ । आखिरमा ऊ अन्तरंगको साथी जो थियो । उसले अझ थप्यो,“म खाना खाएर यता निस्किन्छु तिमिपनि निस्किहाल है त ।”
मेरो मुन्टो स्वीकृतिसुचक भावमा हल्लियो ।
उ एकछिन पछि आइपुग्यो । म मामाघरबाट निस्किएँ । खाना खाईसकेकाले खासै पीर त थिएन तर कता कता अदृश्य पीरले भने मन च्वास्स च्वास्स घोचिरहेकै थियो ।
चल्ती बाटो छलेर हामी पूर्वतर्फ हान्नियौं । उसले कुशल शिकारि झैं काँधमा बन्दुक बोकेको थियो । म उसको पदचाप पछ्याईरहेको थिएँ । साँझले हामीलाई अन्य अनावश्यक आँखाबाट जोगाईरहेको थियो । हाम्रा पाईतालाका तालमा साँझका झ्याउँकिरिहरुले धुन मिसाएका थिए । हामी बिस्तारै गफ गर्दै अघि बढिरहेका थियौं । सोरबिगे डाँडाबाट हाम्रो गति खोल्सीको बाटोतर्फ लम्कियो । उसै त कुन कानमा सुन भनेजस्तै उसै त साँझ त्यसमाथी सालको जंगल । अँध्यारो छिचोलिनसक्नुको थियो । उसले सानो टर्चलाईट पनि बोकेको रहेछ। टर्चलाईटको पिलपिले उज्यालो पछ्याउँदै हामी हिंड्न थाल्यौं । सालका सुकेका पात बाटाभरि थिए । हिंडदा सुकेका पात सऱ्याक-सुरुक गर्दै आवाज आईरहेको थियो । तर किन हो किन जंगल छिरेपछि भने मनभित्रको चिसो एकाएक हराएर गयो । उसले आफ्नो जीबनकालमा यो भन्दा अनकन्टार बाघ भालु लाग्ने जंगल कैयौं पटक हिडिसकेको वृत्तान्त सुनाएर मेरो उत्साहमा अझै बल थप्यो । म उसका गहिरा र लामा वार्तालापमा किनाराको साक्षी मात्र भएर मसिना प्रतिक्रिया दिईरहेँ । करिब २०-२५ मिनेट जंगल हिंडेपछि बर्दिबासको पुर्व पश्चिम राजमार्गमा गाडी दौडिरहेको देखिए ।
जंगल छिचोल्नु र उसको भिनाजुको घर आउनु एकैपल्ट भयो । हामी टाढाबाट आएका पथिक अन्जान घरमा बास माग्न आए झैं ठिङ्ग उभियौं । घरभित्र बत्ति बलिरहेको थियो । बरिपरि अन्य घरहरु थिएनन् । उसले आफ्नो मौलिक भाका अलि लामो पारेर बोलायो, “भिनाजु! ए भिनाजु । दिदी को हुनुहुन्छ घरमा?”
भिनाजु बाहिर निस्किए । भात खाँदै रहेछन् । हात जुठै थियो। को हो भन्दै हामीलाई हेरे ।
“म क्या मुन्ना! ” उसले हल्का मुस्कुराउँदै प्रष्ट्यायो ।
“ए मुन्ना पो? झकि त यतिबेला?
मुन्नाले काँधबाट बन्दुक बिसायो र भन्यो, “घरमा सारै किचकिच गरे त्यसैले ल्याईदिएको । फेरि अहिले शिकार खेल्न जाने वातावरण पनि त छैन ।”
“ठिक गरिस मुन्ना । मलाई पनि कहिले पुलिस आएर, कहिले माओवादी आएर तेरो घरमा बन्दुक छ रे खै ले भन्दै हैरान पारिसके । अब आफैं शिकार हुन लागिसकियो के को शिकार नि ! ” उनि अलिकति मुस्कुराए र लगत्तै गम्भिर लबजमा थपे, “भोली बिहानै यो बन्दुक बन्चरोले चिरेर दाउरा बाल्छु । खेलै खत्तम ।”
मुन्नाले प्रतिक्रिया जनाएन । झन मैले जनाउने कुरै भएन । उसले मेरो परिचय गराईदियो । म परिचयको मुस्कान मुस्कुराएँ। हामी गयौं है दिदीलाई भन्दिनु भनेर हामी हिंड्यौं । भिनाजुले पनि, “लौ राम्रोसँग जाओ। समयकाल ठिक छैन । ”भनेर बन्दुक बोकेर घरभित्र पसे । घरभित्रबाट दिदीले आज यतै बस भनेको सुन्यौं। तर हामी आँगनबाट बाटो उक्लिसकेका थियौं । त्यसैले पछि आउँला है भनेर हाम्रो खुट्टाको रफ्तार बढायौं ।
हामी हलुङ्गा भयौं । हाम्रो हलुको खुट्टाले कतिबेला जंगल छिचोल्न पुगेछन आफैंलाई पत्तै भएन ।
“ताराको घर जाने की?” उसले मेरो प्रतिक्रिया जान्न चाह्यो ।
“भैगो नजाउ । घर पुग्न ढिला हुन्छ।” मैले आफ्नो तर्क पेश गरें ।
हाम्रो सहपाठी ताराको घर त्यतै पर्दथ्यो तर रात छिप्पिदै गएकोले हामी ताराको घर नपसि सरासर पश्चिम दिशातर्फ लम्कियौं। आफ्नो साथी तारालाई नभेटेपनि आकाशका ताराहरु छरपष्ट देखिए। सोच्यौं रात त मज्जैले परिसकेछ ।
म मामाघर पुगें । घर पुग्दा मामा ड्युटिमा हिंडिसक्नुभएको रहेछ भने भाई बहिनीहरू पढिरहेका थिए । र म पनि किताब खोलेर पढ्न थालें ।
“दाई ! कता जानुभएको थियो?” भाईले सोध्यो ।
“मुन्नाको घरतिर ।” मैले झुठ बोलें ।
शायद झुठ बोल्नु त्यस बेलाको क्षणिक आवश्यकता थियो ।
समाप्त
– मधुर भट्टराई
बर्दिबास-१४, महोत्तरी
[ २०५५ सालको घटनाक्रमसँग सम्बन्धित संस्मरण ]
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।