ललितपूर ।
निबन्धकार ध्रुव जोशीको “आफैंलाई खोज्दै” निबन्धकृतिको लोकार्पण भएको छ । ललितपूरमा नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा शनिवार भएको एक कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा.डा. भरतकुमार भट्टराई, प्रकाश सायमी, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा.रामकुमार पाँडे, पवन आलोक, ध्रुव जोशी लगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको हो।
प्रमुख अतिथि पोखरेलले जोशीका निबन्धहरु कवित्व भाव मिसिएका, कथानकताले भरिएका आफूले पाएको बताए । उनले ८१ बर्षको उमेरमा पनि लेख्ने हुटहुटी हुनु निक्कै प्रशंसनिय भएको बताए । कृतिबारे प्रा.डा. भरत कुमार भट्टराईले चर्चा गरेको उक्त कार्यक्रममा ललितपूर साहित्य समाजका अध्यक्ष प्रा.डा.रामकुमार पाँडे, प्रकाश सायमी, पवन आलोक लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी स्रष्टा ध्रुव जोशीले निबन्धको रचना गर्भको बारेमा जानकारी दिए ।
कार्यक्रमका सभाध्यक्ष एवं नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले लेख्नु ठूलो कुरा नभएको बताउँदै लेखेर पाठकको मन जित्नु ठूलो कुरा भएको बताए । उनले ध्रुव जोशीका आत्मपरक निबन्धले पाठकको मन खिच्ने देखिएको बताए ।
समाजका केन्द्रीय सदस्य मधु पाठकको सञ्चालन रहेको उक्त कार्यक्रममा रञ्जना निरौलाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्


