बिहेको कुरो छिन्दा भोकहरूसित सम्झौता गरेकी थिइन देविकाले । उसलाई ज्ञात थियो सपना जति सजिलै देखिन्छ विपना त्यति नै गाह्रो भोगिन्छ । उसले बिहे हुनुअघि सपना नदेखेको पनि होइन । उसले बुनेकी थिई सपनाहरू । तर यथार्थसित उसले सपनाको सम्झौता गरेर दाम्पत्य जीवनमा सुरजलाई भने सम्मको साथ दिइरहेकी थिइ । एकपटक त्यस्तै कुरोमा बिहेअघि आमासित चित्त दुखाइ प्याच्चै भनेकी थिई “बिहे गरेर गएपछि तिमीहरूको आँगनमा टेक्दा पनि टेक्दिनँ ।” देविकाको यस वाक्यले उसलाई मुखाली पुष्टि गरे पनि उ मुखाली कहिल्यै थिइन र आज पनि छैन । उसको यो भनाइमा त उसले आफ्नो सपना दर्शाएकी थिई । एउटी अविवाहित नारीले दाम्पत्य जीवनको मीठो सपना देखे सरी उसले देखेकी थिई सपना…।
सुरजसित उसको बिहे भयो । बिहेपछि उसको सपना,
सपना नै रह्यो वा विपना, त्यो त देविका बाहेक उसको पति सुरजलाई पनि थाहा नहोला। सुरज राम्रो लेखक। कहलिएको कवि। समाजमा नाम भएको मान्छे। तर यो समाजमा कवि पेशा होइन रहेछ। पेशाले सुरज वेरोजगार। जिन्दगीको विविध पाटोसङ्ग देविकाले सम्झौता गरेर सुरजलाई अपनाए पनि भोकसित सम्झौता कहिल्यै गरेकी थिइन। यद्यपि उसको दाम्पत्य जीवनको कतिपय दिनहरू भोकभोकै बिते ।
सुरज विभिन्न पत्र पत्रिकाको नियमित नाम । स्थापित कवि । कुनै साहित्यिक पुस्तक प्रकाशित भए सुरजको एउटा कविता हुनै पर्ने हुन्छ । उसको कविताले यो समाजमा निकै भाउ पाए पनि आजसम्म व्यवसायिक रूपले सुरजको कविताले भाउ पाएको छैन। सुरज आफै पनि आफ्नो साहित्यलाई व्यवसायिक बनाउन चाहँदैन । उसको साहित्यप्रतिको लगन र मायाले उ सफल लेखक भए पनि दाम्पत्य जीवन ओभानै छ उसको। देविकाले भोकहरू कति सहिन् कति । भोकै सुत्थी देविका तर पतिलाई विरोध गर्दिन थिई । पतिको विरोध नगर्नु उनको वाध्यता हो वा पतिव्रता वा त माया यो उसैले मात्र जान्दछे। आज पनि देविका चिसो चुल्हो अघि बसेकी छे । भाँडाहरू रित्ता छन् । उसका आँखा भने अविरल बगिरहेछ मेची महाकाली सरह । सुरज घर आइपुगेको छैन । निकै बेर पछि कोठामा चुरोटको गन्ध पस्छ। चुरोट गनाउनु सुरजको आगमनको सूचना हो । देविका पछि फर्केर हेर्छे सुरजलाई । पलङमा बसी सर सर फुक्दैछ चुरोट सुरज। यतिका दिनसम्म ठूलो नबोलेकी देविका अचानक भयानक रुपमा बोल्छे “कति दिन चल्छ यसरी ?”
चुपचाप टोलाइदिन्छ सुरज उसलाई जवाफ दिन उचित नठाने जस्तै। अझ कर्कश स्वरमा थप्छे देविका “खै के गर्यो तपाईंको कविताले? कति सुतेकाहरूलाई जगायो अनि कतिको भोक मेटायो तपाईंको कविताले?”
“तिमीलाई बोल्न सिकायो मेरो कविताले” गम्भीर उत्तर दिन्छ पत्निलाई सुरज।
“तपाईंका यो दार्शनिक अनि भावनात्मक जवाफले मेरो भोक मेट्दैन । शायद तपाईंलाई थाहा छैन तपाईं जति नै जगाउन खोज्नुहोस् सुतेकाहरूलाई उठ्दैनन् उनीहरू। उनीहरूलाई सपनासित खेल्ने बानी परिसकेको छ अनि जसले झक्झकाए पनि सपना देख्नलाई सुती नै बस्छन्। तपाईं जति नै लड्नुहोस तर भोकहरू विद्रोह बोल्दैनन् । विद्रोह गर्ने आँट उसैले मात्रै गर्छ जसको भकारी सुरक्षित छ। जसको पेटमा टन्न छ अन्न। “पतिको छोटो जवाफलाई आज जीवनमा पहिलोपटक जमेर विरोध बोल्छे देविका। तर पत्नीको विरोधात्मक स्वरहरू सुरजको कानबाट छिरेपछि उल्टै समर्थनमा बोलिदिन्छ सुरज “यही त म बुझाउन चाहन्छु देविका। तर तिमीले बुझेको कुरा अरूले किन बुझ्दैनन् ? भोकहरूले पनि विद्रोह बोल्नु पर्छ। कसैको पेटमा मात्र होइन भकारीभरि नै अन्न हुन्छ भने कसैलाई एक पेट समेत अन्न हुन्न । भोकहरू भकारी विरुद्ध उठ्नुपर्छ, देविका ! उठ्नुपर्छ।”
“शब्द पोख्न जति सजिलो छ जीवनमा त्यसलाई व्यवहारमा उतार्न त्यति नै गाह्रो छ। तपाईंको शब्दहरू सोह्रै आना सत्य भए पनि आज तपाईंको घरमा दुईजना भोकहरू छन् जुन भोकमा अन्न भर्ने जिम्मा तपाईले लिनु भएको छ” देविका अझ आगो बन्छे।
“तिमी र म ?”
“तपाई भोकै हुनुहुन्छ भन्ने म पत्याँउदिन। यदि भोको हुनु हुँदो हो त भोकको मर्म बुझ्नु पर्ने।”
“त्यसो भए तिमी बाहेक को भोकै छ यो घरमा ?”
“यदि भोक तपाईंको घरको यथार्थ हो भने म हुँ तपाईंको घर। तर तपाईंको घर मात्र होइन तपाईंको भविष्य पनि भोकै छ आज।”
“तिमीले भन्न खोजेको मैले केही बुझिनँ प्रष्ट भन।”
“तपाईंले भन्न खोजेको पनि त यो समाजले बुझ्दैन। हुन सक्छ बुझेर पनि अबुझ बन्छ। तर यो प्रष्ट बताइदिएकी छु तपाईंको भविष्य भोकै छ आज मभित्र।”
“किन तिमी कुरा घुमाउँदैछौ ? स्पष्ट बोल।”
“म बाहेक मेरो पेटमा हुर्किरहेको तपाईंको बच्चा भोकै छ आज । अब कविता कोरेर भोकहरूलाई भकारी विरुद्ध आवाज उठाउन लाउने हो कि आफ्नो भविष्यको पेट भर्ने हो तपाईं नै जान्नुहोस् ।”
देविका आफ्नो तर्कको निष्कर्ष नलिई अर्को कोठातिर लाग्छे। आफ्नो सन्तान देविकाको पेटमा हुर्कदै गरेको चाल पाएर आनन्दमय बन्छ सुरज र पत्निको पेट छाम्न लाग्छ। तर पत्नीको पेटमा आफ्नो सन्तान मात्र होइन भोक पनि छ भन्ने आभास गरेर फुत्त बाहिरिन्छ अनि केही क्षणमा खानेकुराहरू लिएर आइपुग्छ सुरज ।
अचेल सुरज कविता लेखनीबाट टाढिएको छ। गुमनाम छ कविताको संसारबाट सुरज। उसलाई आफ्नो भविष्य बनाउने प्रखर भोक छ साथै कविता लेख्ने भोक पनि उत्तिकै दबिएर रहेकोछ। देविकाको पेटको भोक मेटिए पनि छोरीलाई डाक्टर बनाउने भोक लागि नै रहन्छ।
⁰⁰⁰⁰⁰
इलाम
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।