काभ्रे। सुनकोसी वाङ्मय प्रतिष्ठान पठन संस्कृति विकासतर्फ अग्रसर भएको छ।
यसै क्रममा जिल्ला प्रहरी कार्यालय, काभ्रेलाई पुस्तक हस्तान्तरण गरेको छ।
मंगलबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्कालाई प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाललगायतले पुस्तकहरू हस्तान्तरण गरेका हुन्।
उक्त अवसरमा प्रमुख प्रहरी उपरीक्षक खड्काले ‘जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको नवप्रवर्तनीय कार्य “हामी पनि पढ्छौँ” अभियानअन्तर्गत घुम्ती पुस्तकालयमार्फत विभिन्न विधाका पुस्तकहरू संकलन गरी यस कार्यालय मातहतका सम्पूर्ण प्रहरी इकाइहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको ज्ञान, बुद्धि, विवेक र आत्मस्फूर्तिमा वृद्धि हुने र व्यवसायिक, व्यक्तिगत तथा सामाजिक जीवनलाई समेत सकारात्मक टेवा पुर्याउने उद्देश्य राखिएको’ जानकारी दिनुभयो।
उहाँले अभियानमा सघाउ पुर्याएकोमा सुनकोसी वाङ्मय प्रतिष्ठान परिवारलाई धन्यवाद दिनुभयो।
प्रतिष्ठानका अध्यक्ष सिलवालले घट्दो पठन संस्कृतिलाई उकासेर पठन संस्कृतिको विकास गर्न प्रतिष्ठानले विभिन्न अभियानहरू सञ्चालन गर्ने उद्देश्यले अघि बढ्न लागेको जानकारी दिनुभयो।
पुस्तक हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


