काठमाडौं। सञ्चारकर्मी, कवि तथा साहित्यकारको परिचयबाट स्थापित सुशीला ढकाल अधिकारीले रचना गर्नुभएको राष्ट्रभावले ओतप्रोत गीत भिडियोसहित सार्वजनिक गरिएको छ।
वरिष्ठ गायक तथा संगीतकार शिशिर योगीले स्वर दिएको उक्त गीत कवयित्री अधिकारीकै युट्युब च्यानल ‘सिर्जनाको चौतारी’ मार्फत बुधबार बिहान ७ बजे रिलिज गरिएको हो।
👉 गीत सुन्न/हेर्न यहाँ थिच्नुहोस् 👈
उहाँले राष्ट्रप्रति सम्मानस्वरूप कोरेका शब्दहरूमा आधारित सो गीत ‘शहीद दिवस’ अर्थात् माघ १६ गतेको अवसर पारेर भिडियोसहित सार्वजनिक गरिएको हो।
देशको वर्तमान अवस्थालाई झल्काउने राष्ट्रभावनाले ओतप्रोत जागरण गीत ‘उठ नेपाली, जुट नेपाली’ मा भनिएको छ—
“पहाड हाम्रै हो, तराई हाम्रै हो,
सबै मिलेमा, देशलाई राम्रै हो।
उठ नेपाली, जुट जुट नेपाली (२),
समृद्ध नेपाल हेर्नु छ, न फुट् नेपाली,
उठ नेपाली, लौ जुट नेपाली (२)।”
युट्युब च्यानलमार्फत सार्वजनिक भएको केही घण्टामै उक्त भिडियोसहितको राष्ट्रिय गीतले धेरैको मन जितिसकेको बताइएको छ। मनोहर सुनामले संगीत संयोजन गरेको सो गीत दील समर्पणले रेकर्ड गरेका हुन्। प्रकाश मिश्रले मिक्सिङ गरेका हुन् भने गीतको दृश्याङ्कन बिरेन्द्र भाट विपिनले गरेका छन्।
Acoustic Nepal मा रेकर्ड गरिएको सो गीतको पोस्ट-प्रोडक्सन World Cover Media Pvt. Ltd. ले गरेको हो। चर्चित गायक योगीले गीतका शब्दहरूले आफ्नो मन छोएकाले आफूले यो गीत गाएको प्रतिक्रिया दिएका छन्।
👉 गीत सुन्न/हेर्न यहाँ थिच्नुहोस् 👈
उहाँले यो गीत आजको युगको आवश्यकता भएको र नेपाल तथा नेपाली जनताको नारा बनेको उल्लेख गर्दै संगीत सिर्जना गर्दा र गाउन निकै भावुक भएको बताउनुभयो।
नेपालीहरूलाई एकताको सन्देशसहित फुटेर होइन, जुटेर अघि बढ्न तथा राष्ट्रियताप्रति गम्भीर बन्न आग्रह गर्ने उद्देश्यले गीत सिर्जना गरिएको कवयित्री अधिकारीले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो—
“गीतमा देशको रक्षा गर्न र शान्ति छर्न नेपालीहरू फुट्न हुँदैन भन्ने भाव समेटिएको छ। कृपया मेरो गीत रचनातर्फको पहिलो प्रयासलाई अत्यधिक मन पराइदिनुहुनेछ भन्ने आशा गरेकी छु।”


