Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथाकार हरिश कल्पितको कथा: पुष्पलता

कथाकार हरिश कल्पितको कथा: पुष्पलता

आख्यान - कथा
हरिश कल्पितहरिश कल्पितमाघ २१, २०८१3K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

यो चियाको चुस्कीसँगै सायद म तिम्रो यादहरू पनि पिइरहेकी छु। त्यही टेबल, त्यही कुर्सी अनि त्यही सम्झनाका तरङ्गहरू, म एक्लै भए पनि ती स्मरणहरू ताजै छन्।
ती यति सशक्त छन् सायद मेरा वर्तमानहरू नै पनि तिनीहरूसँग हार खान्छन्। जे होस्, यो अनुभव पनि मिठै हुँदो रहेछ। जसरी सधैँ सँगै बसेर पिउँदाका चियाका चुस्कीहरू मीठा हुन्थे।
आधुनिक तडकभडकको जिन्दगी वरिपरि मान्छे व्यस्त जीवनमा केही बेर एक्लै बसेर आफूभित्र आफैंलाई खोज्दा पनि रमाइलो हुँदो रहेछ। अचम्म लाग्छ समय कस्तरी थाहै नदिई वायुवेगले अगाडि बढ्छ। हामी यहीं छौँ, अतीतका ती मीठामीठा यादहरूको पोखरीमा चुर्लुम्म डुब्न सक्छौँ। तिमीसँगै बिताएका ती मीठामीठा सम्झनाका तरेलीहरू मेरा आँखाअगाडि लुकामारी खेल्न आइपुग्छन्।

मन लाग्छ ती यादहरूमा हराइरहुँ, सारा संसारलाई बिर्सेर …! तर कस्तो विडम्बना! चाहेर पनि हराउन सक्दिनँ। यथार्थको भूमरीमा जगडिएकी छु। भनौं अल्झिरहेकी छु। जसरी माकुरो आफ्नो जालोबाट मुक्त हुन सक्दैन, त्यस्तै म पनि मेरो वर्तमानसँग जेलिएकी छु। तर पनि तिम्रा यादहरूलाई मेरा आँखाबाट ओझेल पार्न सक्दिनँ। भनौं म विवश छु। चाहेर पनि भुल्न सक्दिनँ तिमीसँग बिताएका ती मीठामीठा पलहरू।
तिमीलाई कसरी भुल्न सक्छु र! सायद यो जुनीमा त असम्भव छ। कति सजिलैसँग पन्छियौ है मसँग तिमी। कति सजिलै छल गऱ्यौ तिमीले मेरो निश्चल प्रेमलाई। तर पनि म तिमीलाई घृणा गर्न सक्दिनँ अनुराग किन? तिमी कति विवश रहेछौ उफ्फ…..! मलाई किन सबै कुरा पहिले नै भन्न सकेनौ? किन आफ्नो हृदय खोल्न सकेनौ? किन मलाई आफ्नो ठानेनौ? मैले त तिमीलाई हृदयमा सजाएकी थिएँ। आँखामा लुकाएकी थिएँ। तर, तर…! तिमीले मलाई धोका दियौ, आफ्नो झूटो बाध्यता देखाइ मसँग सजिलै पन्छिदियौ। किन त्यसो गयौ अनुराग? किन मलाई आफ्नो वास्तविकता देखाउन सकेनौ? के यही हो तिम्रो प्रेम? किन लुकायौ आफ्नो वेदना मबाट? किन मलाई बाँड्न सकेनौ, किन?

म के गरूँ अब। कुन मुख लिई तिम्रो अगाडि परुँ। उफ्! सोच्दै नसोचेको कुरा भयो। म त तिमीलाई पाउन चाहन्थें। तिम्रो प्रीतिको बगैंचामा फुल्न चाहन्थें। तर मानिसलाई बाध्यताले कसरी विवश बनाउँदो रहेछ भन्ने कुरा बल्ल आज बुझ्दै छु…….!

“हैन के भयो तिमीलाई? किन यस्तरी टोलाइरहेकी? लौ हेर साडीभरि चिया पोखेकी! केमा तल्लीन नि यस्तो विधि हँ?”
पुष्पलता झसङ्ग झस्किन्छिन् अगाडि आफ्नो लोग्नेलाई देखेर। हत्तपत्त साडीमा लागेको चिया टकटकाउँछिन्। आँखाभरि आँसु भरिएर आउँछ। मुन्टो अर्कोतर्फ मोड्छिन्। दुई हातले कपाल मिलाउँदै सोफाबाट बिस्तारै ऐना भएको भित्तातिर जान्छिन्। अनुहार हेर्छिन् ऐनामा, हत्तपत्त आँसुलाई लुकाउने प्रयास गर्दै दुई हातले अनुहार मुसार्छिन्।

“साँच्चै के भयो तिमीलाई भन न? के सोचिरहेकी थियौ? अनि आज अफिस पनि गइनौ कि कसो?” पुष्पलतातर्फ नजर फ्याँक्दै सोध्छन् लोग्ने?

“आज अलि सन्चो भएन, कपाल दुखिरहेको छ। त्यसैले चाँडै आएकी। चिया बनाउँ हजुरलाई?” आफूलाई सम्हाल्न खोज्दै पुष्पलताले भनिन्। “भो पर्दैन” घडी हेर्छन्, “ओहो, पाँच बजिसकेछ, ल ल तयार होऊ, आज पार्टीमा जानुछ। बिर्स्यौ कि क्या हो? अझसम्म अफिसको साडी फेरेकी छैनौ। कहिले फेर्ने हो?” दिक्क मान्दै भन्छन् अमर।

“हजुर मात्र जानुभए हुन्न? आज मलाई अलि सञ्चो छैन। कहीं जान मन लागेको छैन।” सोफामा थचक्क बस्दै मसिनो स्वरमा पुष्पलता भन्छिन्। अमर अलि सश‌ङ्कित हुँदै उनको अनुहार नियाल्न पुग्छन्। फेरि हात अघि बढाउँदै निधार छाम्छन्।

“खै ज्वरो त छैन?”
“हैन टाउको भारी भएको छ।” – सुइय लामो सुस्केर तान्दै पुष्पलता सोफामा ढल्किन्छिन्।
“त्यसो भए तिमी साँच्चै नजाने त?” अमर अलि झर्किदै भन्छन्।
पुष्पलतालाई झनक्क रिस उठ्छ लोग्नेको ताल देखी – “स्वास्नीलाई के भयो कसो भयो? बुझ्नु छैन। स्वास्नीको भावनाको ख्याल छैन। खाली स्वास्नीलाई पुतलीझैँ सिँगाऱ्यो, पार्टीमा साथीभाइसामु प्रर्दशन गऱ्यो। ‘मेरी श्रीमती’ भन्दै चिनायो, घमण्डले गम्कियो। हैन कस्तो निरस लोग्नेमान्छे? यसो स्वास्नीलाई फकाउनु। अहँ, केही थाहा छैन। कहिले प्रेमको दुई शब्द बोल्न जान्या छैन। खालि कामै काम, जहिले पनि हतारै हतार। के गर्ने आफ्नो त कर्मे खोटो।” मनमनै यस्तै गुन्दै एक चोटि लोग्नेको अनुहार हेर्छिन् केही जवाफ फर्काउँदिनन्, बिस्तारै सोफामा ढल्किँदै आँखा चिम्लिन्छिन्।

अमर एकचोटि पुष्पलताको अनुहार पुलुक्क हेर्छन्। उनको ताल देखेर झर्कदै लुगा फेर्न थाल्छन्। दराजबाट एकजोर सुट निकालेर लगाउँछन्, ऐनामा अनुहार हेर्दै कपाल कोर्छन्, र हत्तपत्त जुत्ता पुछेर लगाउँदै भन्छन् – “भरे अलि ढिला हुन सक्छ, खाना खाएर सुते हुन्छ, मलाई कुर्नु पर्दैन।”

पुष्पलता बिस्तारै आँखा खोल्छिन्। लोग्नेको क्रियाकलाप हेरिरहन्छिन्। “ल म गएँ है” तयार भई सकेर बाहिर निस्कने बेलामा भन्छन् अमर।

“धेरै ड्रिङ्ग्स नगरिस्यो नि, खुट्टै भुइँमा नहुने गरी।” सम्झाउने प्रयास गर्छिन् लोग्नेलाई।

“यस्तो जाडोमा अलिअलि पिउन परिहाल्यो नि, ल म गएँ।” हाँस्दै अमर बाहिर निस्कन्छन्।

“पिउन पायो भने त जहिले पनि मख्ख। दिनदिनै पार्टी भन्या छ, रक्सी धोक्या छ। यो रक्सी भन्ने चीज पनि किन बनाएको होला, मान्छे बिगार्नलाई! एउटा एउटा बहाना बनायो पियो।” दिक्क मान्दै लोग्ने निस्केको ढोकातर्फ एकटकसँग हेरिरहन्छिन्।

आज तिनलाई अनुरागको सम्झनाले विह्विल बनाइरहेको हुन्छ। ऊसँग बिताएका ती मीठामीठा अतीतका क्षणहरू आँखा वरिपरि लुकामारी खेल्न आइपुग्छन्। साँच्चै तिनलाई कति मन पर्थ्यो अनुरागका हरेक कुरा। हिस्सी परेको अनुहार, हाँसीहाँसी बोल्ने बानी अनि सधैं तिनीलाई हँसाइरहने। कस्तो रोमान्टिक, कस्तो आर्कषणले भरिएको व्यक्तित्व थियो।

एकदिन तिनलाई साह्रै नरमाइलो लागेको थियो। जाँच बिग्रिएकाले कसैसँग पनि राम्ररी बोल्न मन लागेको थिएन। चुपचाप एक्लै बसेर चिया पिइरहेकी थिइन् र कहाँकहाँबाट अनुराग लुसुक्क अगाडि मेचमा बस्दै तिनलाई नै नियाल्दै भनेको थियो – “साँच्चै आज कस्तो बादल लागेको! भरे त अवश्य पानी पर्छ होला, हगि पुष्पलता?”
तिनी अचम्म पर्दै बाहिरतिर दृष्टि फ्याँक्दै भनेकी थिइन् – “के भनेको, यस्तो चर्को घाम छ, कहाँबाट पानी पर्नु नि! कस्तो हावा कुरा गर्छौ अनुराग तिमी।”

“ए हो र? मैले त बादल मात्रै देखें, अनि वर्षा पनि होला होला जस्तो। खै कहिले देख्न पाउने हो त्यो मधुर मुस्कान?” रोमान्टिक मुद्रामा आँखा नचाई; नाटकीय पारामा भनेको थियो अनुरागले।

बल्ल तिनले अनुरागको बादलको आशय बुझेकी थिइन्। उसको त्यो नाटकीय मुद्रादेखि खित्का छोडेर हाँसेकी थिइन्। जाँच बिग्रेएको भन्ने कुरा पनि त्यो बेला बिर्सेकी थिइन्।

पुष्पलता हाँसेको देखेर अनुराग भन्दै थियो – “बल्ल बादल फाट्यो, अब चाहिँ वर्षा हुँदैन कि पुष्पलता?” मुसुक्क मुस्कुराउँदै तिनको अनुहारमा हेर्न थाल्यो। पुष्पलता पनि मुस्कुराउँदै अनुरागको आँखामा हेर्न थालिन्।

“म तिम्रो उदास अनुहार हेर्नै सक्दिनँ पुष्पलता” आँखा जुधाउँदै भन्दै जान्छ अनुराग – “जिन्दगीको के भरोसा, आज हो कि भोलि, खुसी भएर बाँच्न सिक्नुपर्छ। भविष्य कसले देखेको छ र…?”

“सुखमा त सबै हाँस्छन्, दुःखमा हाँस्नु पो त ठूलो कुरा हो। मेरो त सिद्धान्त यही छ। जति बाँच्नु छ हाँसेर बाँच्ने उदास भएर होइन। हुने हुनामी टारेर टर्दैन क्यारे! जाबो जाँच बिग्रेकोमा यत्रो दुःख! आफ्नो यहाँ जिन्दगी बिग्रेर त दुःखी भएको छैन।” – ठट्‌यौली पारामा भन्दै अनुराग हाँसेको थियो। पुष्पलता पनि अनुरागको नाटकीय पारादेखि खित्का छोड्दै हाँसेकी थिइन्। फेरि एकछिनपछि केही सम्झेझैँ गरी सोधेकी थिइन् – “अनि तिम्रो जिन्दगीचाहिँ कसरी बिग्रियो नि? कि कसैले धोका दियो।” उत्सुकताकावश जान्न खोजेकी थिइन्।

“जिन्दगीले नै ठूलो धोका दियो मलाई पुष्पलता” अलि गम्भीर हुँदै भनेको थियो अनुरागले।

पुष्पलता आश्चर्य मानी अनुरागलाई आँखा तानीतानी हेरिरहिन्। “के हेरेको नि त्यस्तो खाउँला झै गरी? मैले त ठट्टा पो गरेको, हिँड जाउँ चिया पिउन।” यसरी तिनलाई कहिल्यै पनि दुःखी हुन दिँदैनथ्यो। यसरी नाम जस्तै तिनको जिन्दगीमा हर्ष उल्लासको राग ल्याइदिन्थ्यो अनुराग। कति चाहेकी थिइन्, तिनले अनुरागलाई, आफ्नो बनाउने सपना देखेकी थिइन्। तर, अफसोच! तिनको सपना कहिल्यै बिपना हुन सकेन।

जरुक्क उठ्छिन् सोफाबाट, साह्रै प्यास लागेको हुन्छ, किचेनतिर लम्किन्छिन्। एक गिलास पानी घटघट पिउँछिन्। फेरि कोठामा आउँछिन्। टाउको भारी भइरहेको अनुभव गर्छिन्। छातीमा कताकता चसक्क दुख्छ। के गरुँ कसो गरुँ हुन्छ। रेडियो खोल्छिन् र फेरि सोफामा गई ढल्किन्छिन्। रेडियोमा मीठो गीत बजिरहेको हुन्छ – “सपना आखिर सपनै रहेछ, बिपना हुन्न रहेछ…।” पुष्पलता गीतका शब्दहरू सङ्गै अतीतमा हराउन पुग्छिन्।

अफिसको पहिलो दिन तिनलाई साह्रै नै हतार भएको थियो। छिटो अफिस पुग्नु छ, भन्दै हतारिएर खाइवरी ९ बजे नै ठमेलस्थित फुटपार्क टुर्स एन्ड ट्राभल्स पुगेकी थिइन्। अफिसको पहिलो दिन सबैसँग परिचय मै बित्यो। नयाँ ठाउँ नयाँ परिवेश तर पनि खुला विचारधारा भएकी पुष्पलताले चाँडै नै कामको साथसाथै सबैसँग घुलमिल हुन सिकिन। हुन पनि पुष्पलाता जस्ती सर्वगुण सम्पन्न युवतीलाई कसले मन पराउँदैन थियो र। साँच्चै नै अफिसभरि नै पुष्पलताको चर्चा हुन थाल्यो। अफिस जोइन गरेको एक महिनामै सबै काममा पोख्त भइन्। रूपवती पुष्पलताको रूपको जादु चल्न थाल्यो। पुष्पलता मेडम भनेपछि अफिसका सबै स्टाफ तिनका नजिक पर्न चाहन्थे झन् डाइरेक्टरको त प्रियपात्र नै थिइन् पुष्पलता।

सबैले मन पराउने पुष्पलताको भने मन पर्ने एउटै साथी थियो – अनुराग शर्मा। आफूसँग काम गर्ने सहकर्मी अनुरागले प्रभावित पारेको थियो पुष्पलतालाई। पहिलो भेटमै अनुरागको आग्रहलाई अस्वीकार गर्न सकेकी थिइनन् तिनले। कति सजिलैसँग अनुरागले तिनलाई चिया पिउन जाने प्रस्ताव राखेको थियो।

“हलो पुष्पलताजी चिया पिउन जाने हैन? दुई बजिसक्यो, कति काम मात्रै गरिरहनुहुन्छ।” अफिसको पाँचौं दिनमा अनुरागले हाँस्दै आएर भनेको थियो।

तिनी जिल्ल परेर तलदेखि माथिसम्म अनुरागलाई हेरेकी थिइन्। तिनको मुहारमा क्रोधको भावदेखि अनुरागले अलि सर्तक हुँदै भनेको थियो। “ओहो! माफ गर्नुहोला मैले त आफ्नो परिचय दिनै बिर्सेछु, कस्तो भुलक्कड रहेछु।” अनि हडबडाउँदै एकै सासमा भनेको थियो।

“म अनुराग शर्मा, यही अफिसमा दुई वर्षदेखि काम गरिरहेको छु। हिजोसम्म बिरामी बिदा लिएर घर बसेको थिएँ। आजदेखि अफिस आएको, तपाईंको बारेमा सुनेको थिएँ पुष्पबाट। खाजा खाने बेला भैसक्यो, तपाईं मात्र देखें अफिसमा त्यसैले ….”

तिनलाई साह्रै हाँसो उठ्यो अनुरागलाई हडबडाएको देखेर। कति छिटो भनेको थियो आफ्नो बारेमा। अनुरागको सरल र आत्मीय व्यवहारबाट पहिलो भेटमै पुष्पलता प्रभावित भएकी थिइन्। अनि सधैं जसो चिया खान अनुरागसँगै जान थालिन्। अनुरागको बारेमा जान्न साह्रै उत्सुक थिइन्। उसको गफमा लठ्ठ पर्थिन्। हुन पनि अनुराग निकै ह्यान्डसम थियो, अग्लो गोरो वर्ण, हँसिलो मुहार, कहिले शान्त नदेखिने चञ्चल प्रवृत्तिको कहिले के भन्थ्यो कहिले के भन्थ्यो। पुष्पलतालाई हँसाइरहन्थ्यो।

पुष्पलता पनि उसको सामीप्यमा रहन पाए सबै कुरा बिर्सिन्थिन्। तिनको मन प्रफुल्ल हुन्थ्यो। अनुराग तिनको आँखामा बसेको थियो। एकदिन अनुराग अफिस आएन भने पनि तिनलाई काम गर्ने जागर हराउँथ्यो। अनुरागको उपस्थितिले मात्र पनि तिनलाई काम गर्ने जोश जाँगरमा ऊर्जा थपिदिन्थ्यो। तर अनुराग भने कहिल्यै गम्भीर भएन। सधैं उस्तै ठट्टा गरिरहने, हँसाइरहने, जिस्काइरहने। दुःख, पीर, व्यथादेखि धेरै टाढा; लाग्दथ्यो उसलाई, कुनै पीर नै छैन। सधैं हर्षित, सधैं प्रफुल्लित, उसको समीपमा दुःख भए पनि बिर्सन बाध्य हुन्थ्यो।

एकदिन चिया पिउँदै जिस्काउने सुरले अनुरागले भनेको थियो – “साँच्चै तिम्रो नाम लता मात्र भैदिएको भए कस्तो राम्रो हुन्थ्यो, कहाँबाट फटाहा पुष्प आएर नामै बिगारिदियो। हगि पुष्पलता?” आँखामा जिस्काउने भाव थियो। किनकि त्यस अफिसमा पुष्प नाम गरेको एक जना अर्को स्टाफ थियो। जो पुष्पलताको खुबै पछि लाग्दथ्यो। पुष्पलतालाई भने त्यो मान्छे फिटिक्कै मन पर्दैनथ्यो। त्यो अलि भकभके पनि थियो। त्यसैले जहिले पनि पुष्पलताको नाम बोलाउँदा पु पु पु पुष्पलता मेडम भन्थ्यो। पुष्पलता सकेसम्म त्योसँग बोल्न चाहदिन थिइन्। तर पनि त्यो कुनै न कुनै बहाना बनाई बोल्न आइरहन्थ्यो।

अनुरागको कुरामा पुष्पलतालाई झनक्क रिस उठेको थियो। अनि रिसले झर्किंदै भनिन्, “तिम्रो नाम पनि अनुराग नभएर राग मात्र भइदिएको भए कति राम्रो हुन्थ्यो, कहाँबाट त्यो नक्कली अनु बीचमा आइदिएर क्रूर भइदियो।” त्यसपछि जुरुक्क उठेर फटाफट क्यान्टिनबाट बाहिर निस्केकी थिइन्। अनुराग जिल्ल परेको थियो। के भयो पुष्पलतालाई, उसले त खाली जिस्केको मात्र थियो। किन त्यत्तिकैमा रिसाइहालिन्। छक्क पर्दै पुष्पलता गएतर्फ हेरेर अनुराग टोलाइरह्यो।

यसरी पुष्पलताको मुटुभित्र थाहै नदिई अनुरागले डेरा जमाइसकेको थियो। पुष्पलता हरदम अनुरागको कल्पनामा डुब्थिन्। दिनरात गएको थाहा पाउदिन थिइन्। भनौं अनुरागको प्रेममा चुर्लुम्म डुबेकी थिइन्; तर मनको कुरा खोलेकी थिइनन्। किनकि तिनी चाहन्थिन् अनुरागले नै पहिले प्रेम प्रस्ताव राखोस्। मनमनै अनुरागसँग जिन्दगी बिताउने अठोट गरिसकेकी थिइन्। तिनको आँखामा अनुराग बसिसकेको थियो।तिनलाई लाग्थ्यो सधैंभरि अनुरागलाई आँखामा राखिरहुँ।

पुष्पलतालाई विश्वास थियो कि अनुरागले पनि मन पराउँछ भन्ने कुरा किनकि तिनको कुनै पनि कुरालाई अनुरागले काट्दैनथ्यो । पुष्पलताको सौन्दर्यको हरबखत प्रशंसा गरिरहन्थ्यो। सधैं पुष्पलताको नजिक रहने कोसिस गर्थ्यो। पुष्पलताले उसको आँखाको भाव बुझिसकेकी थिइन्। बोल्न चाहेर पनि मौन झैँ अनुरागको आँखामा आँखा जुधाई आँट गरी एकदिन सोधेकी थिइन्।

“अनुराग तिमीलाई कस्ती केटी मन पर्छ?”

अनुरागले पनि आफ्नो आदत अनुसार जिस्किँदै भनेको थियो – “तिमी जस्तै स्वर्गकी परी।” पुष्पलता लजाएको भाव प्रस्ट देखियो।

मनमा एक किसिमको तरङ्ग तरङ्गित भएको थियो। मुटुको धुकधुकी अनायासै बढेर आयो। नजर आफसेआफ झुक्यो र चियाको कपमा गएर स्थिर भयो। “साँच्चै तिमीलाई पाउने केटा त साह्रै भाग्यमानी हुन्छ।” अनुरागले गम्भीर हुँदै भनेको थियो। पुष्पलता छक्क पर्दै उसको अनुहार केलाउन पुगिन्। कफीको प्याला हातमा लिई टोलाएको देखेर मुस्कुराउँदै भनिन् – “कहीँ त्यो भाग्यमानी केटा तिमी नै त…” लाजले भुतुक्क भइन्। त्योभन्दा अगाडि बोल्न सकिनन्। हत्तपत्त कफीको प्याला उठाइ सुरुपसुरुप पिउन थालिन्। मनमा आशाको लहर फैलिएको थियो। उमङ्गको ज्योति चम्केको थियो। कमसे कम आज तिनले नै अप्रत्यक्ष रूपमा प्रस्ताव राखेकी थिइन्।
…..तर एकाएक तिनको उमङ्गको ज्योति झ्याप्प निभ्यो। औंसीको रातझैँ भयो। सन्नाटा छायो, कान बज्न थाल्यो। कहीँ कतैबाट मसिनो झिनो स्वर तिनको कानमा पर्यो। “के गर्ने! मेरो बिहे नभइदिएको भए तिमीसँगै गर्थे। तर के गर्नु र, आफ्नो त कर्मै उस्तो – लामो सुस्केरा तान्दै घुमिरहेको सिलिङ फ्याँन हेर्दै अनुराग टोलाउन पुग्यो।

पुष्पलतालाई त्यस रात साह्रै अत्यास लागेको थियो। यत्रो पाँच पाँच महिना बितिसक्दा पनि कहिल्यै तिनलाई आभाससम्म भएन कि अनुराग विवाहित होला भनेर। ऊ कुनै पनि कोणबाट विवाहित जस्तो लाग्दैन थियो। फेरि उसले कहिल्यै पनि भनेन कि म विवाहित हुँ भनेर। हुन त मैले पनि कहिल्यै सोधिनँ। यो कुरामा ध्यानै गएन। हुन पनि लोग्नेमान्छेको सिउँदोमा सिन्दुर हुँदैन क्यार विवाहित हुँ भन्ने देखाउन। आइमाई मान्छेलाई पो त देखाउनुपर्छ विवाहित हुँ भनी सिन्दुर पोते लगाएर। पुष्पलता साह्रै विचलित भइन्।

हुन पनि अनुरागले कुनै पनि त्यस्तो गलत व्यवहार गरेको थिएन कि जसले गर्दा ऊ विवाहित हुँ भन्दा घृणा गर्न परोस्। तिनी प्रति एउटा निश्चल मित्रवत् व्यवहार गर्थ्यो। तिनको दुःखमा दुःखी हुन्थ्यो, सुखमा सुखी, उसको आँखामा तिनीप्रति पवित्र प्रेम झल्किन्थ्यो। के प्रेम प्राप्तिमा मात्रै हो र? त्योभन्दा ठूलो त त्यागमा हुन्छ। के राधाले कृष्णलाई गरेको प्रेम! प्रेम होइन र? के रुक्मिणीले गरेको प्रेम मात्रै प्रेम हो र? के रुक्मिणीले कृष्णलाई प्राप्त गर्दैमा प्रेम भयो र? राधाको त्यागमा प्रेम थिएन र? खै त कृष्णको अगाडि राधाकै नाम आउँछ। प्राप्ति मात्र प्रेम होइन, त्याग त्योभन्दा ठूलो प्रेम हो। प्रेम अमर छ, अनमोल छ, अजर छ। पुष्पलताको मनमा अनेकौँ तर्कनाहरू आउँछन्। उकुसमुकुस हुन्छिन्। छटपटिन्छिन्, निद्रा लाग्दैन। आँखाबाट अविरल आँसु बहन्छ। सिरानी आँसुले भिज्छ। अनुरागको निर्दोष अनुहार घरीघरी आँखाअगाडि आइरहन्छ। “के गर्ने आफ्नो त कर्मै उस्तो…” घरीघरी अनुरागको आवाज कानमा ठोक्किरहन्छ।

के अनुराग आफ्नो दाम्पत्य जीवनदेखि खुसी छैन? के ऊभित्र पनि अदृश्य पीडा छ? केही त भन्दैन आफ्नो बारेमा। साँच्चै आफ्नो व्यथा लुकाउन त कति जानेको। होस् अब केही पनि सोध्दिनँ। अर्काको दाम्पत्य जीवनको बारेमा सोधखोज गर्नु राम्रो पनि हुँदैन। अब मैले अनुरागसँग टाढिनुपर्छ। मनमनै अठोट गर्छिन्…।

“किन पुष्पलता, आज खाना बनाउनु पर्दैन? के भो तिमीलाई?” सासूको यो आवाजले तिनको अतीत छताछुल्ल भई पोखिन्छ।

“पकाउँछु मुमा, अलि बेला भएको छैन। उहाँ पनि पार्टी गइस्या छ। खाना खान आइसिन्न।” मसिनो स्वरमा भन्छिन्।

“चाँडै आऊ भनिनौ त? चाँडै त कोही घरमा आउने हैन। समय राम्रो छैन, बेलैमा घर आउनुपर्छ नि, खै अजित पनि अझैसम्म घर आइपुगेको छैन। दिक्कै लागिसक्यो! भनेको मान्ने हैन।” सासू फत्फताउन थाल्छिन्।

“अजितबाबुको पनि आज पार्टी भनिस्या थियो।”
“खै मलाई त केही भनेन।”
घडी हेर्छिन्, ओहो सात बज्न लागेछ।
“ल म आरती गर्न जान्छु। आज ढिला भयो।” हतारिदै सासू कोठातिर लाग्छिन्। पुष्पलता सासू गएतर्फ पुलुक्क हेर्छिन् र बिस्तारै उठेर भान्छातिर लाग्छिन्। चामल राखेर राइसकुकर अन गर्छिन्। ग्यास चुलो बाली दालको पानी बसाल्छिन्। अनि काउली लिई काट्न थाल्छिन्।
एक घण्टामै खानेकुरा तयार पार्छिन्, अनि सासूलाई भुजा खुवाइवरी भान्छाको काम सकाउँछिन्। तिनलाई आज खाना खान पनि पटक्कै मन लाग्दैन। एक गिलास चिया लिंदै पुनः बेडरुममा आउँछिन्।

घडी हेर्छिन्, साढे आठ बजिसकेछ। अमर कति बेला आउने हो, चिन्तित हुन्छिन्। अनि चिया पिउन थाल्छिन्। चियाको चुस्कीसँगै तिनका आँखा अगाडि बिहान अफिस जाँदाका दृष्यहरू एक पछि अर्को गर्दै चलचित्र झैँ नाच्न थाल्छन्।

“ओहो, पुष्पलता कहाँ जान लागेकी?” आफ्नो अगाडि पहिलेको अफिसको डाइरेक्टरलाई देख्दा छक्क पर्छिन्।

अफिस जान लाग्या सर, सरलाई आरामै छ? औपचारितावश सोध्छिन्।

“मैरै अफिसमा आए भैहाल्थ्यो नि? किन अरू ठाउँमा काम गर्नुपर्यो, बेकारमा रिजाइनेसन दिएर। कहाँ हो अफिस तिम्रो?” उत्सुकतावस डाइरेक्टरले सोध्छन्।
“तीनकुने हो सर” तिनले हडबडाउँदै भनिन्।
“आऊ म पुऱ्याइदिन्छु।” सेतो कारको ढोका खोल्दै बाहिरै आएर भने।
“सरलाई केको दुःख नि, म बसमा गइहाल्छु नि !” तिनले अलि सङ्कोच वस भनिन्।
“केको दुःख! आउ बस। म पनि एयरपोर्टसम्म जानु छ।” कारको पछाडिको ढोका खोल्दै तिनलाई बस्ने आग्रह गरे। डाइरेक्टरको आग्रहलाई नाई भन्न सकिनन् किनकि डाइरेक्टरले पहिले उसको अफिसमा काम गर्दा पनि अति माया गर्थे। सबै स्टाफहरूको प्रिय पात्र थिए डाइरेक्टर। सबैसँग राम्रो व्यवहार गर्थे। दुई दायाँबायाँ कन्चटमा सेतै फुलेका कपाल, सौम्य मुहार, साँच्चिकै ओजस्वी व्यक्तित्वले परिपूर्ण थिए, पहिलेको अफिसका यी डाइरेक्टर।

पुष्पलता पछाडिको सिटमा गएर बसिन्। डाइरेक्टर अगाडिको सिटमा बसे। ड्राइभरले गाडी सररर अगाडि बढायो।

“अनुरागको बारेमा थाहा भयो तिमीलाई?” एक्कासि डाइरेक्टरको यो सोधाइले उनी झसङ्ग झस्किन्, अनुरागको नाम सुनेर। अनि उत्सुकतावस सोधिन् – “छैन सर, के भयो र अनुरागलाई?” मनमा चिसो पस्यो।

“त्यही अफिसमै छ हैन र सर?” कुरा कोट्याउन खोजिन्।

“ल तिमीलाई थाहा छैन र? अनुराग त अहिले टिचिङ हस्पिटलमा छ। सायद उ अब केही दिनको पाहुना हो।” लामो सुस्केरा तान्दै डाइरेक्टर गाडीको सिसाबाट नजर यता उता दौडाउँछन्।

तिनको मनमा आँधीबेरी चल्यो। मुटु चर्किएर फुट्ला जस्तो भयो। चारैतिर अन्धकारले छोपेझैँ भयो। अनायासै आँखा रसाएर आए। दुई थोपा आँसु तुरुक्क चुहियो। हत्तपत्त साडीको सप्कोले आँसु पुछ्‌दै रुन्चे स्वरमा सोधिन् – “के भयो सर? दुर्घटना भएको हो र?” उनको बोली थर्थराएको थियो।

“कहाँ हुनु नि दुर्घटना! उसलाई त चार वर्षअघिदेखि ब्लड क्यान्सर रहेछ। उपचार गर्दै थियो। त्यस्तो रोग लागेको जस्तो त थिएन। कसैले सुईकोसम्म पाएन। कति हँसिलो थियो! कति इमानदार थियो! मेरो अफिसबाट पनि तीन महिना अघि मात्र राजिनामा दिएको थियो। यस्तो कल्कलाउँदो उमेरमा पनि कस्तो रोग लागेको! फेरि घरको एक्लो छोरा रे, बिहे गरी नातिनातिना खेलाउने कत्रो रहर होला बिचरा आमाबाबुको!” डाइरेक्टर भन्दै जान्छन् एकनासले।

तिनलाई सपनाझै लाग्छ, यो सबै। टोलाउन थाल्छिन्। डाइरेक्टरले भनेको ‘बिहे’ भन्ने शब्दप्रति उनको ध्यान केन्द्रित हुन्छ। कौतूहलवस सोधिहाल्छिन् – “किन र सर, अनुरागको बिहे भैसक्या होइन र?”

“कहाँ हुनु नि! उसलाई पहिलेदेखि नै आफ्नो रोगको बारेमा थाहा थियो रे!” डाइरेक्टरले दुःखी हुँदै भने।

पुष्पलता लामो सुस्केरा तान्छिन्।, सिटमा पछाडि ढल्किन्छिन्। मुटुको धड्कन बढेर आउँछ। असह्य पीडा हुन्छ। आँखा चिम्लिन्छिन्।

हुन पनि त्यस दिनदेखि तिनी अनुरागसँग टाढिन खोजेकी थिइन्। पहिले जस्तो खुल्न सकिनन्। छातीभित्र एकप्रकारको पीडा हुन्थ्यो। न देखाउन सक्थिन्, न लुकाउन नै, दोधारमा परेकी थिइन्। केही दिनपछि घरमा ड्याडी-ममीले बिहेको कुरा ल्याएका थिए। ड्याडीको मिल्ने साथी देव अङ्कलको छोरा अमर सँग। तिनलाई बाध्यताले स्वीकार्न विवश बनायो।

बिहेमा अफिसका सबैलाई बोलाएकी थिइन्, साथै अनुरागलाई पनि। अनुरागलाई बिहेको कार्ड दिँदा उनको हात थर्थरी कापेको थियो। कार्ड हेर्दाहेर्दै आँखा रसाएको थियो अनुरागले पनि तर पनि बनावटी हाँसो हाँस्दै “बधाई छ तिमीलाई” यति मात्र भनी आफ्नो काममा व्यस्त भएको अभिनय गरेको थियो।

तर बिहेमा अनुराग आएन। तिनले धेरै बाटो हेरेकी थिइन्। तर, अनुराग देखा परेन। अफिसका सबै उपस्थित थिए बिहेमा सिवाय अनुराग। अनुरागको एक झलक हेर्नलाई खुबै लालायित भएकी थिइन्। पार्टीमा आएका हरेक नयाँ आगन्तुक अनुरागझैँ देख्थिन्, तर अफसोच अनुरागलाई हेर्न पाइनन्। आँखा अनुरागको प्रतीक्षामा बस्दाबस्दै थाकिसकेका थिए।

यसरी बिहेपछि अफिस छाड्नुपर्यो पुष्पलतालाई। कार्ड दिन गएको बेलामा भेटेको नै अन्तिम भेट थियो अनुरागसँग। यसरी पुष्पलता अनुरागसँगको प्रेमको बगैंचामा फुल्नै नपाई अमरको पोल्टामा झरेकी थिइन्।

“थाहा छ पुष्पलतालाई, उसले एउटी केटी मन पराएको थियो रे तर आफूलाई त्यस्तो रोग लागेकोले भन्न सकेन छ। बिचरा कति मेहनती थियो।” डाइरेक्टरमा यी शब्दहरू सुनी पुष्पलता बिस्तारै आँखा खोल्छिन्, शून्यमा हेरिरहन्छिन्।

डाइरेक्टर भन्दै जान्छन्, “मैले पनि एक हप्ताअगाडि थाहा पाएँ। पुष्पले भनेर, हिजो भर्खर मैले पनि हेरेर आएँ। हरे! कस्तो मान्छे कस्तो भएको छ! हड्डी र छाला मात्र बाँकी रहेछ। च्वःच्वःच्वः… साह्रै माया लाग्यो। साँच्चिकै नियति पनि कति कठोर हुँदो रहेछ। तर पनि मृत्युको त्रासलाई जित्यो अनुरागले। कहिल्यै पनि आफूलाई यस्तो रोग लागेको छ भन्ने आभाषसम्म दिएन कसैलाई। सधैं हँसिलो, सधैं प्रफुल्ल सबैको हेरविचार गर्ने बानी, मेरो अफिसको सबभन्दा बेस्ट स्टाफ। उसको कामलाई कहिले पनि खोट लगाउन परेन।”

पुष्पलता किंकर्तव्यविमूढ भइन्। केही बोल्न सकिनन्। आँखाबाट आँसु झरिरहेको थियो। सिसाबाट बाहिर नजर फ्याँक्छिन्। मनमनै भगवानलाई पुर्काछिन्, “हे भगवान्, मेरो अनुरागलाई बचाइदेऊ।”

टिरिरी कलबेलको यो आवाजले पुष्पलताको अतीत छताछुल्ल भएर पोखिन्छ। दुई हातले आँखाको आँसु पुछ्‌दै ढोका खोल्न तलतिर झर्छिन्, तर कलवेल भने निरन्तर बजि नै रहन्छ टिरिरिरी…..।
°°°°°°
(२०५९।२।१६)

(कथाकारको ग्याब्रियले कथा सङ्ग्रहमा सङ्ग्रहित कथा ‘पुष्पलता’)

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा हरिश कल्पित

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.