काठमाडौँ। साहित्यिक पत्रकार संघले कथाकार हरिश कल्पितका दुई कथासंग्रह ‘ग्याब्रियले’ र ‘आस्था’ को परिचर्चा गरेकाे छ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा समालोचकहरू डा. अम्बिका अर्यालले ‘आस्था’ कथासंग्रह र डा. शोभा ढुंगानाले ‘ग्याब्रियले’ कथासंग्रहको परिचर्चा गरेका थिए।
कार्यक्रममा समालोचक डा. अम्बिका अर्यालले ‘आस्था’ कथासंग्रहकाे समीक्षात्मक टिप्पणी गरेकी थिइन्। अर्यालले उनका कथाहरू प्रेमिल, सन्देशमुलक र अलिक लामाे भएकाे बताइन्।
परिचर्चाकार ढुंगानाले ‘ग्याब्रियले’ कथासंग्रहमा समाज, प्रेम, लैंगिक विभेद, डायस्परिक जस्ता अनेक विषय समेटिएकाे बताइन्। हरिशका कथाहरू कलात्मक शिल्पले बेजाेड बनेकाे पनि उनले बताइन्।
अनामनगरस्थित डालो रेस्टुरेन्टमा भएकाे कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ आख्यानकार पद्यावती सिंह र अध्यक्ष लेकालीले कथाकार हरिश कल्पितलाई सम्मान गरेका थिए।
साहित्यकार मन्जिला अनिलले सञ्चालन गरेकाे कार्यक्रममा प्रमुख अतिथि सिंह र अध्यक्ष लेकालीले मन्तव्य राखेका थिए भने कृतिकार हरिश कल्पितले आफ्नो सिर्जना यात्राबारे मन्तव्य राखेका थिए।





