सञ्चो छैन। पटक्कै सञ्चो छैन आज। टाउको भारी, फुट्ला जस्तो छ। त्यसमाथि वाकवाकी लाग्ने। यसो हलचल गर्दा पनि रिंगटा लागिहाल्ने। खालि पल्टिरहन / सुतिरहन मनलाग्ने। यस्तो भइरहन्छ। समय समयमा यस्तो भइरहन्छ मलाई।
कोठामा म एक्लै खाटमाथि पल्टिरहेको छु। आँखाहरू दलिनतिर केन्द्रीत छन्। आँखामा नीद छैन। झ्याल बन्द गरेको छु, र पर्दा खसालेको छु। झ्याल बाहिरका दृश्यहरू अगोचर छन्। अन्धकार व्याप्त छ। मनमा अनेक तर्कनाहरू उम्लिरहेका छन्। तिनलाई सम्हाल्न सकिरहेको छैन।
मेरो दाजुको विवाह भइसक्यो, लगभग बीस वर्षअघि नै। भाउजू छिन्। उनीहरूकाे एउटै मात्र छोरो छ। मेरो भतिजो कलेजमा पढ्ने भइसक्यो। केटो मायालाग्दो छ। तर उसकी आमा, मेरी भाउजू ठीक छैनन् मेरा लागि। हामीबीच त्यति मिलजुल छैन। बोलचाल समेत हुँदैन वास्तवमा।
दाजु पछिको म, माहिलो, एकल, भुतुङ्गो छु। विवाह गरेको छैन। कारणहरू अनेक छन्। के गर्नु, विवाह गर्न त मनलाग्छ तर………..।
हाम्रा बाबु-आमाहरू मास छर्न गइसके उहिल्यै। करिब दस वर्षअगाडि। अहिले उनीहरू केवल सम्झनामा छन्।
बाबुको सानो जागिर थियोे। आमाको केही थिएन। हाम्रो पसल पनि थियो। पसलमा बिहान बेलुका बाबु बस्नुहुन्थ्यो। दिनभरि हामी बस्थ्यौं। त्यो त्यति चल्ने खालको भने थिएन।
मेरी बहिनीको पनि विवाह भइसक्यो। ज्वाईं असाध्यै सिधासादा छन्। कुनै लपनछपन छैन। काम गरिखान्छन्। उनीहरूको पनि एउटी छोरी छिन्। अत्यन्त हिस्सी परेकी, छुनुमुने, फुच्ची, बोकुँबोकुँ लाग्ने, मेरी भाञ्जी ।
बहिनी पछिका दुई भाइहरू छन्। केही समयअघि मात्र उनीहरू दुईजना कै पालैपालो बिहे भयो। दुईवटै बुहारीहरू सँगै छन्। भिन्न भएका छैनन्। उनीहरूले मलाई अनादर गरेका छैनन् अहिलेसम्म।
केहीबेर पसलमा बसें। कच्याककुचुक बेचें। गोजीमा एक खिल्ली चुरोट लुकाएँ। भाइ आइपुग्यो। उसलाई पसल जिम्मा लगाएर म घरपछाडि गएँ। हतारिएर पाइखानामा पसें। छिनमै हलुका भएर निस्कें। पछि मटानमा उक्लें। क्षणभर सुस्ताएँ। खाना खान बुइगलमा गएँ। आफैं पस्केर खाएँ। अनि, कोठामा फर्कें।
‘कत्ति मात्र सुत्न सक्या! केही काम गर्नु छैन। खालि घिच्यो, पल्ट्यो।’ भाउजूको फतफताइले मेरो तन्द्रा टुटेको छ। पक्कै मलाई सुनाएकी हो। रिस नउठेको होइन। तैपनि सहेको छु। जवाफ दिएको छैन आजसम्म। मनभरि प्रतिक्रियाहरू नभएका होइनन्। मुख खोल्दिनँ। तनभरि कामजरो छ। हलचल गर्दिनँ। एकतमास सोचिरहेको छु। अरू केही गर्न सकेको छैन।
कति थुनिएर बस्नु कोठामा। वाक्कदिक्क लाग्छ। बच्चैदेखि एक्लो परेको मान्छे म, अहिलेसम्म एक्लै छु। साथीहीन छु। र, उपायहीन पनि।
‘तँ बौलाएकै होस्। झ्यालमा उँधोमुण्टो लाएर झुण्डिस्। तँलाई बाँच्न मनलाग्या छैन। मर्न चाहेको हो तैंले?’ दाजु मसँग रिसाएर कराइरहेको थियोे। म भने चुपचाप थिएँ। खासमा मलाई होसै थिएन। यो धेरै अघिको घटना थियो।
‘तँलाई मर्नै मनलागेको हो भने जा परको त्यो इनारमा हाम्फालेर मर् , जा! कि बागमतीमा अहिले बाढी आइरहेको छ, त्यहीँ फाल हान् , जा! ‘ दाजुको रिस चर्को थियो। वचनवाण तीखो थियो। रिसले म धेरैचोटि डामिएको छु। वाणले घोचिएको छु। सख्त घाइते भएको छु। तर मर्न सकेको छैन।
एकदिन भाइले भन्दै थियोे – ‘हामीले तिमीलाई मन्दिरबाट उठाएर ल्याएका थियौं। तिमी त्यहाँ बेहोस पल्टेका थियौ। मुखभरि र्याल काढेर छटपटाइरहेका थियौ। मान्छेहरूको हूल थियोे। तिमीलाई एक्लै टाढा नजानू भन्या होइन? हूलमूलमा नजानू भन्या होइन? मान्ने होइन। कति सम्झाउनु!’
हो, मलाई मान्छेहरूको भीड देख्न हुन्न। कुनै गाढा रङ्ग देख्न हुन्न। भाउन्न भइहाल्छ। सबै चीज घुम्न थाल्छन्। अँध्यारोले छोप्छ। केही देख्दिनँ। ढलिहाल्छु। सानै उमेरदेखि हुनथालेको हो यस्तो।
दाजु मास्टरी गर्छन्, र भाउजू पनि। दुबैजनाको कमाइ पुग्दो छ। बहिनी आफ्नै घरमा सन्तुष्ट छिन्। भाइहरू पनि यताउता गर्छन्। मजाले कमाउँछन्। बुहारीहरू पनि टाकनटुकन गर्छन्। म मात्र ……….। हामीबीच ठाकठुक त परिरहन्छ। यद्यपि हामी संयुक्त परिवारमा छौँ।
कति कुराहरू खेलाएर बस्नु मनमा! सबै बेकारका कुराहरू हुन्। सुतेको छु। निदाउन खोज्छु। तर निद्रा लाग्दैन। के गर्दा निद्रा लाग्छ, थाहा छैन। दलिन गन्छु। तकिया मिलाउँछु। सिरक तानेर ओढ्छु। आँखा चिम्लन्छु, चिम्लिरहन्छु।
एउटै टोल। झन् छिमेकी नै। बेखामान साहु। ठूलो किराना पसलका मालिक। एउटी श्रीमती , एउटा छोरा र एउटी छोरीका अभिभावक। उनकी श्रीमती घरायसी एवं पसलको काममा यथोचित सहयोग गर्छिन्। छोरा आवारागर्दी गरेर हिँड्नमै व्यस्त रहन्छ। छोरी नखरमाउली, चमकदमक देखाएर घुम्नमा अभ्यस्त छिन्। यिनी म पसलमा रहँदा बेलामौकामा जिस्किन आइरहन्छिन्। यद्यपि म तरुनीहरूसित जिस्किन जान्दिनँ। लाटो छु। उनीहरूका बोलीचाली तथा हाउभाउ बुझ्छु, तैपनि म केही भन्न र गर्न सक्दिनँ।
साहुकी छोरी आइन्। मेरो सामु टुसुक्क बसिन्। छिल्लिएर हाँसिन्। के के भनिन्। म अवाक् रहें। उनी हाँसिरहिन्। जिस्किइरहिन्। मेरो पालो, उनीलाई च्याप्प समातें। अँठ्याइदिएँ। उनीले कुनै प्रतिक्रिया जनाइनन्। केवल मुस्काइरहिन्। यसो अँगालो मारेर म्वाई खान खोजेको त, पछाडिबाट कसैले मेरो कठालो समातेर तानिहाल्यो। म डराइहालें। बक फुटेन। सर्वाङ्ग भिजें। पछि झल्याँस्स बिउँझें। ज्या, सपना पो देखेको रहेछु! दिउँसै।
खाटबाट ओर्लें, झ्याल खोलें पर्दा हटाएँ। घर बाहिर अन्धकार छ। फाट्टफुट्ट बत्तीहरू बलेका छन्। मानिसहरूको आउजाउ पातलो छ। नजिकका देवलहरूबाट घण्टीहरू बजेका आवाजहरू आइरहेका छन्।
कोठा बन्द गरेर निस्कें। जीउ शिथिल छ। कुनै काम-कुरा गर्ने जाँगर छैन। सुस्तरी भरेङबाट तल छिंडीमा झरें। अँध्यारोमा छामछाम छुमछुम गरें। भित्तो छाम्दै अघि सरें। बाहिर निस्कने ढोकाको छेवैमा पुगेपछि अडें। बत्ती बालें। छिंडीभरिको परिवेश उज्यालियो। मेरा तन मन पनि उज्यालिए।
हठात् पाइखानामा पसें। छिनमै निवृत्त भएँ। हात-मुख धोएँ। अनि, तत्काल बाहिरिएँ।
यतिखेर म पसलमा छु। साथमा, सानो भाइ छ। बुहारी पनि छिन्। मलाई देखेर होला सायद, यी भाइ बुहारी दुबै मुख फुलाएर बसेका छन्। कुरा गर्दैनन्। चुपचाप भित्र-भित्रै रिसाएका होलान्।
एकछिनपछि बुहारी निस्किइन् , सँगसँगै भाइ पनि। पसलमा म एक्लो परेको छु। केही छैन।
एउटा ग्राहक आइपुग्छ। ऊ बोल्छ – ‘साहुजी, हरियो मलहम छ?’
म भन्छु – ‘छ।’ ‘यो घाउमा लगाउने हो?’ – उसको प्रश्नमा म बोल्छु – ‘हो नि, यसले घाउ च्वाट्टै निको पार्छ।’
‘दिनोस्!’
उसलाई मलहम पोको पारेर दिन्छु।
ऊ पुनः बोल्छ – ‘शिलाजित पनि छ त?’
‘छ।’ – म।
‘अलिकति दिनोस् न! ढाड दुखेर हैरान भो। अलि बलियो हुनुपर्यो, स्वास्नी भाग्लिन् भन्ने डर के!’ – ऊ हाँसिरहेकै छ। म उसलाई शिलाजित दिंदै भन्छु – ‘दूधसँग मिसाएर खानु!’ ऊ पैसा तिरेर जान्छ। म मनमनै बरबराउँछु – स्वास्नी हुनेलाई भाग्लिन् भन्ने डर, मजस्तो कोही नहुने भुतुङ्गोलाई केहीको डरभर छैन। आनन्दै!
कल्याङमल्याङ छ सडकमा। छेउछाउका घरहरू र त्यहाँ अवस्थित पसलहरू शून्यप्राय: छन्। बरु गल्ली कुकुरहरूको चुरीफुरी छ।
– ‘तारेमाम, माधव साहु!’
– ‘तारेमाम!’
– ‘ के छ हालखबर?’
– ‘ठीक छ, तिम्रो?’
– ‘ठीकै।’
– ………………..।
यिनी मेरा बालसखा, राजमानचा। मसित एकदमै हित्तचित्त मिल्ने। यिनीलाई भेट्यो वा देख्यो कि पुराना दिनहरू याद हुने। ती दिनका सम्पूर्ण कुराहरू सम्झिने भन्या! अहिले त यिनी विदेशमा बस्छन् क्यार! कहिलेकाहीँ पसलमा आउँछन् , यसो गफसफ गर्छन् र गइहाल्छन्। खुब पढेका छन्! काम गरेका छन्। पैसा पनि मनग्गे कमाएका छन्। तर पनि, घमण्डी छैनन्।
एकदिन हामी दुई बागमतीमा माछा मार्न गएका थियौं। बल्छीमा गँड्यौला उनेर पानीमा फाल्ने चलन थियोे। माछा बल्छीमा अल्झिएपछि माथि तान्थ्यौं। त्यस दिन हामीले थुप्रै माछा मारेका थियौं। घर फर्किंदा साँझ परिसकेको थियो। माछा पोको पारेको झोला नजिकैको झाडीमा लुकाएर हामी आ-आफ्ना घर फर्केका थियौं। घरमा गाली र पिटाइ खानु नपरोस् भनेर यसो गरेका थियौं।
भोलिपल्ट बिहान त्यो झाडीमा जाँदा माछाको पोको थिएन। पोको कसले उडायो, थाहा भएन। सायद कुकुरले तानेर लग्यो कि!
कुनै अर्को दिन। हामी गौरीघाटमा पौडी खेलिरहेका थियौं। बागमतीमा बाढी उर्लिएको थियो। पौडिइरहेकै थियौं। अचानक हामीलाई बगायो। हामी उत्रिन सकेनौं। आत्तियौं। करायौं। कसैले बचाउन आएनन्। बग्दाबग्दै तल आर्यघाटमा पुगेपछि मात्र किनारामा निस्किन सक्यौं। पानी धेरै पिएर भुँडी टुन्न भइसकेको थियो। धन्न बाँच्यौं। त्यतिबेलाको कुरा सम्झिंदा अहिले पनि जीउ सिरिङ्ङ हुन्छ।
‘माधव, हिङ गोली छ?’ – टोलका चन्द्रमान काकाले साेधे।
जवाफमा मैले हाँसेर भनें – ‘छ, कति रुपैयाँको दिऊँ?’
‘एक-दुईवटा देऊ न, यसो मुखमा हाल्न।’
दुईवटा गोली दिएँ।
पैसा नदिईकन गए। साह्रै लोभी छन्। लाजसरम पचेका। त्यत्रो सम्पत्ति छ। दुईजना बूढाबूढी मात्र। सन्तान छैन। तैपनि, मक्खीचुस।
भित्तेघडी टाङ-टाङ बज्यो, अल्छीलाग्दो। हेर्छु, बेलुकीको नौ बज्यारैछ। पसल बन्द गर्नुपर्ने। एक्लैले थुन्न सक्दिनँ, के गरूँ!
भाइ आइपुगेको छैन, न बुहारी नै आउँछिन्। रिस उठ्दो छ। भोक लागिसक्यो। उनीहरू मजाले खाईपिई आ-आफ्ना कोठाभित्र पसिसकेका होलान्। म भने…..।
एउटा मान्छे ढलमलिंदै आइपुगेको छ। टोलकै नामुद रक्स्याहा, सोमे। दिनभरि ट्याक्सी चलाउँछ, र साँझ परेपछि हल्लनदास। अनर्गल बकिरहन्छ। वास्ता
गर्दिनँ। घर पुगेपछि स्वास्नीसँग रडाको मच्चाउँछ।
– माधव, बिहे गर्ने होइन?
– हो, केटी पाए पो !
– किन नपाउनु, जत्ति पनि पाइन्छ। म खोजिदिऊँ?
– हुन्छ।
– कोही नपाए, मेरी स्वास्नी नै दिऊँला। हुन्न?
– ………………..।
म केही बोल्दिनँ। यस्तो बकम्फुसेसँग के बोल्नु!
हतारहतार पसल बन्द गर्नतिर लाग्छु। सामानहरू यताउता राखनधरन गर्छु। पैसा बटुल्छु। एउटा भाइ आइपुग्छ। सहयोग गर्छ।
घरभित्र पस्दा दस बजिसकेको हुन्छ। सिधै बुइगलमा उक्लिन्छु। भान्सामा पस्छु। हातमुख धुन्छु। पकाएर राखिएका खानेकुरा पस्कन्छु। खानथाल्छु, छिनमै खाइभ्याउँछु। तल झर्छु, आफ्नो कोठामा पस्छु, कपडा फेर्छु, पाइखाना जान छिंडीमा ओर्लिन्छु। हल्का भएर माथि कोठामा उक्लिन्छु। पसेर कोठामा खाटमाथि लम्पसार पर्छु। आँखा चिम्लिहाल्छु।
आँखा खुले। सखारै चाहिँ होइन। घाम छिप्पिइसकेको छ। झ्याल खोलें। पर्दा पनि उघारें। एकफेर बाहिर हेरें। सडकमा मानिसहरूको आवतजावत कम छ। सबै आ-आफ्ना काममा व्यस्त छन्। परको एउटा घरको आँगनमा मान्छेहरूको घुँइचो देखिन्छ। कोलाहल सुनिन्छ। किन होला, मनमा कुतूहल जाग्छ। तत्काल लुगा लगाएर म सडकमा
झर्छु। फटाफट त्यस घरतर्फ लाग्छु।
घरको वरिपरि भीडमभीड। अनेक आवाजहरूको कोलाज। कंकला स्वरमा कसैको रोदन। प्रहरीहरूको पनि उपस्थिति।
म भीडको पछिल्तिर गएर उभिन्छु। कुराहरू सुन्छु। त्यस घरकी एउटी चेलीले छिंडीको सिलिङमा झुन्डिएर आत्महत्या गरेकी रहिछन् रातिको समयमा। कसैले पनि सुइँको पाएनछन्। लामो सुसाइड नोट पनि लेखेर छोडेकी छिन् रे। बिचरी!
मलाई बस्न मनलागेन त्यहाँ। लगत्तै फर्किहालें।
घर! उही हाम्रो घर। किन हो, घर घरजस्तो लाग्दैन। मसानजस्तो लाग्छ। यहाँका मानिसहरू मानिसहरूजस्ता लाग्दैनन्। मुर्कट्टाहरूजस्ता लाग्छन्। यो घर ढले हुन्थ्यो, यहाँका मानिसहरू मरे हुन्थ्यो यस्तै लाग्छ।
निरस छ जिन्दगी। आजको दिन पनि उराठ र उदास बित्लाजस्तो छ।
कोठाबाट बाहिर निस्केको मात्र, भाउजूसित जम्काभेट भयो। मैले सिधा हेरिनँ। उनीले मलाई आँखा तरेर हेरिन्। मुख पनि चलाइन्। पछि फतफताएर गइन्। सहेरै बसें म।
पेट दुख्यो। हतारै भयो। छिंडीमा झरें। पाइखानामा पसें। निकैबेर बसिरहें । ढोकामा कसैले ढकढकाएको सुनें। हठात् उठें, र निस्कें।
धारातिर गएँ। हातमुख धोएँ। खुट्टा पखालें। दाँत माझें। फेरि एकचोटि हात धोएँ, र रुमालले पुछपाछ गरी घरबाहिर आएँ।
अब म यो घरमा केही गर्दिनँ। केही पनि खाँदिनँ। बस्दा पनि बस्दिनँ। एक बस्दिनँ, दुई बस्दिनँ। बरु कतै जान्छु।
यतिखेर म आर्यघाटमा छु। यद्यपि यहाँ मानिसहरू मृत्युका लागि आउँछन्, मृतकका लागि आउँछन्। मलामी आउँछन्। मरणका निम्ति हो यो स्थान, जीवनका निम्ति होइन। तथापि म यहाँ मर्नका लागि कदापि आएको होइन। फगत विरक्ति भगाउन सुमधुर जीवन-सङ्गीत पनि सुन्न पाइन्छ कि भनेर आएको हुँ।
पशुपति मन्दिर स्थिर छ। अन्य देवालयहरू पनि सम्पूर्णत: मौन छन्। श्लेषमान्तक वन मुक छ। रुखहरू चञ्चल छन्। बाँदरहरू उग्र छन्। बागमती अविरल बगिरहेको छ। चिताहरू जलिरहेका छन्, अर्थात् चितामाथिका लासहरू जलिरहेका छन्। मानिसहरू कोही निन्याउरा देखिन्छन् , त कोही हँसिला पनि देखिन्छन्। वातावरण निस्तब्ध छ। जे होस्, जीवन गतिशील नै छ।
•••
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।