सदा झैँ पण्डित रमानाथ सखारै उठे। अनि रामनाम लेखिएको एकसरो बर्को ओढेर नुहाउन ढुङ्गे धारामा पुगे। उज्यालो भैसकेको थिएन। आफ्नो कालो पछ्यौराले धर्तीलाई ढपक्क ढाकेर बसेको अन्धकार कुम्लो-काम्लो बोकेर हिँड्ने तर्खर गर्दै थियो। आकाशमा कनिका झैँ छरिएका तारागण रातभरीको जाग्रामले थकित भएर मेलो छोड्ने तर्खर गर्दै थिए। चराचुरुङ्गीहरु गुंडबाट निस्केर उज्यालो हुन लागेको सूचना दिंदै चिर्विराइरहेका थिए। टाढा टाढाबाट कुकुर भुकेको आवाज सुनिन्थ्यो।
धारामा एउटी जनाना नुहाउँदै रहिछन्। रमानाथ अलिक अचम्भित भए। अघिपछि उनी धारामा आइपुग्दा कोही पनि आइपुगेका हुँदैन थे। “आज उठ्न अलीक ढिला भएछ क्यारे..” मनमनै सोचे। पण्डित बाजेको आगमनको गन्ध पाएर हो कि किन हो ती महिला पनि हतारिए झैँ देखिन्थ्यो। नुहाइसकी लुगा फेर्न छेउतिर लागिन्।
अब नुहाउन पर्यो भनी रमानाथ सोच्दै मात्रै के थिए लुगा फेर्दै गरेकी महिलाले नुहाउँदा लगाएको पेटिकोट फुस्कियो। कालो अन्धकारलाई जिस्क्याउँदै हिउँ झैँ स्निग्ध उसको नग्न शरीर बिजुली झैँ चम्कियो। पण्डित रमानाथ स्तब्ध भए। उनीभित्र दमित इच्छा उद्घेलित हुन थाल्यो। रमानाथ बेद बेदान्तका ज्ञाता थिए। उनका उद्घेलित मानसपटलमा विश्वामित्र र मेनकाको कथा प्रवाहित हुन थाल्यो।
अघि प्राचिन कालमा ऋषि विश्वामित्र घोर तपस्यामा लिन थिए। इन्द्रादी देवतागणले उनको तपस्याबाट भयभित भएर स्वर्गकी अप्सरा मेनकालाई विश्वामित्रको तपस्या भंग गर्ने जिम्मेवारी दिइ पठाए। अपार सुन्दरताकी धनी मेनका ऋषि तपमग्न भएका ठाउँमा आइन्। कामदेवले त्यस स्थानमा सुन्दर वाटिका, नदि अनि मायावी झरनाको रचना गरिदिए। मेनका अर्धनग्न भै नदी किनार अनेक भावभंगी र कटाक्ष गर्दै नृत्य गर्न थालिन्। मलय पवन मन्द मन्द बहन थाल्यो। वाटिकामा फूलेका अनगिन्ती फूलहरुबाट प्रवाहित मधुर सुगन्ध चारैतिर फिजिन थाल्यो। मेनकाको शरीरबाट मीठो माधूर्य बहदै विश्वामित्रको नाकबाट प्रवेश गरी उनका मनमा दमित काम वासनाको ढोका ढकढक्याउन थाल्यो। रतिरागको मुस्लोले उनको मनमा पलाएको परमानन्दको इश्वरीय आभालाई तुवाँलोले पहाडलाई ढाके झैँ ढाक्न थाल्यो। स्वच्छ, निर्मल ऐना झैँ चम्किलो नदीको स्निग्ध जलाधारका बीचमा मेनका उन्मुत्त जलचर झैँ नाच्न थाली। उसका कोमल अंग-अवयव जलका धारसंग ठोक्किदा निस्कने मधुर ध्वनी विश्वामित्रका कानमा सङ्गीत झैँ ध्वनित हुन थाल्यो। अपार ज्ञानका कठोर पैताला मुनि कुल्चिएर छटपटाइरहेको रतिभोगको लालसाले विश्वामित्रको हृदय भित्रै विद्रोह सुरु गर्यो।
विश्वामित्रले पट्टल खोले। हरिया पहाडका गर्भबाट उज्यालो झरनाको रुपमा जन्मिइ नागवेली झैँ गरी प्रणय गीत गुनगुनाउँदै बहेकी सुन्दर नदीका बीचमा सफा तलाउ बीच फूलेकी मोहिनी फूल झैँ मेनका नदीबाट जल उठाउँदै चाँदी झैँ उज्वल चेहरालाई निखार्दै थिइ। हिउँ झैँ सेता अनि स्निग्ध उसको शरीरबाट माधुर्य बहिरहेको थियो। उसका सुडौल, केराका थाम जस्ता गोडा विपुल सुन्दरता अनि भरिएको पूर्ण घडा झैँ छचल्किरहेको बैँस धारा बोक्न नसकी थर्थरी काँपिरहेका देखिन्थे। सुन्दर नदीका बीचमा उभिएकी सौन्दर्य र लावण्यका घडाले भरिएकी मेनका तलाउका बीच तैरिरहेको हिमचुचुरो झैँ शोभायमान देखिइरहेकी थिइ। मेनकाको सुन्दरता अनि मनमोहक बैँस धाराबाट बहेको कामाग्नीले वर्षौं देखि घोर तपस्यामा निमग्न विश्वामित्र भित्र रतिराग-लालसाको आगो उद्घेलित पार्न थाल्यो। काम वासनाले वशीभूत हुँदै विश्वामित्र यन्त्रवत् मेनका तर्फ खिचिदै गए। कठोर इश्वरीय ध्यानमा निमग्न विश्वामित्रको कामातुर आत्मा मेनकाको अतुलनीय सौन्दर्य र बैँसमा एकाकार हुन पुग्यो।
विश्वामित्र र मेनकाका कथाभित्र डुबेका पण्डित रमानाथ भित्रको कामेच्छाको क्यानभासमा त्यस नग्न जनानाको कामुक चित्र कोरिन थाल्यो। “पण्डित जी म तल्ला घरे सेती …यो….यो …के गर्न लाग्नु भएको ….पण्डित जी …यस्तो पाप नगर्नुस् …” भय र आश्चर्यका भूमरीमा होमिन लागेकी सेतीका मुखबाट त्रासदीय वाणी निस्किए। तर सेतीको फितला असहमतीपूर्ण प्रतिकारात्मक लवजहरु रमानाथका कानमा मेनकाका मुखबाट निस्किएका उच्छ्वास झैँ ध्वनित हुन थाले। सेतीको भयातुर रोदन र क्रन्दन वासनाका भेलमा बग्दै गरेका उनका मनभित्र मेनकाका कामोत्तेजक प्रणय प्रलाप बनेर घुस्न थाल्यो। सेतीको झिनो प्रतिकार रमानाथको विशाल ख्याती र प्रतिष्ठाका पैताला मुनि दबिन पुग्यो। “मेनका.. मेनका…अनारको दाना झैं रसिलो तिम्रो यौवनको प्याला उठाएर मेरो वर्षौं देखिको अघोर तृष्णा मेटाइदेउ। वासनाका ज्वारले पटपटी फुटेका वन्जर धर्तीमा अमृत विन्दु बनेर मलाई वर्षन देउ।” रमानाथका शब्दहरुमा अपार सन्तुष्टीका डकारहरु झन्किरहे। वर्सात नथामिउन्जेल वासनाको आँधी चली नै रहृयो।
हठात् पण्डित रमानाथको दिनचर्यामा ठूलो परिवर्तन देखियो। सखारै उठने,आधा विहानसम्म पूजापाठ गरी भागवत् पढने अनि शुद्ध शाकाहारी भोजन गर्ने उनको वषौं देखिको नित्य दिनचर्या अनायासै खण्डित भयो। छिन्न भिन्न भयो। ढुङ्गेधारामा घटेको सेतीसँगको रतिरागको घटनाक्रमले विच्छुले झैँ उनलाई डस्न थाल्यो। “हे राम …. ” ओसिलो पीडा मिश्रित निश्वास मुखबाट निस्कियो। पढ्दै गरेको भागवतको पुस्तकका प्रत्येक अक्षरमा सेतीको भय मिश्रीत चेहरा देख्न थाले। आफू भित्र हुर्किएको वासनारुपी दानवका हातबाट आफ्नो अपार ज्ञान, जप, तप, परास्त भएको ठान्न थाले। “धिक्कार छ मैले आर्जन गरेको अनन्य ज्ञान र विद्घतालाई ” मनमनै आफूलाई धिक्कारे। उनको दैनिक कृत्यमा देखिएको आमूल परिवर्तनबाट उनका परिवारजन पनि आश्चर्यचकित थिए।
एकदिन रमानाथको सेतीसँग भेट भयो। मनमनै सेतीसँग भेट नहोस् भन्दै ढुङ्गे धारामा नुहाउन गएका थिए। संयोगले हो या चाहानाले हो सेती टुप्लुक्क आइपुगी। दुबैका मानसपटलमा त्यो दिनको घटनाका परिदृश्यहरुको पुनरावृत्ति भयो। रमानाथका आँखामा पश्चातापको आभा प्रष्ट देखिन्थ्यो भने सेतीका आँखामा अनगिन्ती प्रश्नहरु छचल्किरहेका थिए। केहीबेर दुइ जोडी आँखा एकाकार भए। रमानाथका आँखा सेतीका पेटमा परे। केही भारी भारी झैं देखिन्थ्यो। शरीर पनि डोलो डोलो थियो। आँखामुनि त्रास र विषादका रेखाहरु कोरिएका थिए। एउटा अज्ञात अनि अव्यक्त भयले रमानाथको मुटुको गति बढाइदियो। देदित्यमान भानुको प्रचण्ड प्रकाश सर्वत्र फिंजिइरहेको थियो तर रमानाथका आँखामा औंशीको कालो बादल मडारिन थाल्यो। भविष्यमा घट्न सक्ने गम्भिर दुर्घटनाको आशंकाले छाती ढक्क फूल्यो। मस्तिष्क शून्य भयो। “सन्चै छेस सेती?” रमानाथका गलाबाट कम्पित अनि अनियन्त्रित शब्दहरु निस्किए । प्रश्नमा अलिकति सेतीप्रति स्नेहाभाव देखिन्थ्यो भने अलिकति गभिर आशंका रुझेको देखिन्थ्यो।
रमानाथका मनमा सेतीप्रति कुनै गुनासो वा घृणा थिएन। आफैं प्रति घृणा थियो। आफ्नो अनियन्त्रित वासना प्रति पश्चाताप थियो। अपार ज्ञानसागरमा चुर्लम्म डुबेका रमानाथका मनमा आफूप्रति अपार घृणा पलायो। रतिराग जस्तो तुच्छ वस्तु माथि कत्ति पनि नियन्त्रण नभएको कामुक पुरुषत्वलाई मनमनै धिक्कारे। सेतीका आँखामा हेरे। उसको स्निग्ध आत्माले चित्कार गरेर केही भने झैँ लाग्थ्यो। “पण्डित जी! हजुर त पढेलेखेको विद्वान! धर्म र ज्ञानको सर्वज्ञ! म त एउटी निरक्षर, अज्ञानताको कुहिरोमा काग झैँ हराएकी अनि जात–भात, धन दौलत, ज्ञान–धर्म, पूजा–पाठ सबै तिरबाट ठगिएकी अवला नारी। तर ज्ञान धर्मले पनि पूर्ण अनि धन दौलतले पनि सम्पन्न तपाइ जस्तो महान् आत्माबाट यस्तो कुकृत्य कसरी भयो? परस्त्री गमन अघोर पाप हो भन्ने कुरा तपाइलाई जति कसलाई थाहा होला? काम, क्रोध, लोभ, मोह माथि विजय प्राप्त गरिसकेपछि मात्र मोक्ष प्राप्त हुन्छ भन्ने कुरा हजुरलाई भन्दा बढी ज्ञान कसलाई होला? किन तपाइले परस्त्री जस्तो आफ्नो स्वामित्व नभएको धन माथिको मोह त्याग्न सक्नुभएन?
वास्तव मै रमानाथ ज्ञानी थिए। तपस्वी थिए। मै हुं भन्ने पण्डित पनि उनीसँग शास्त्रार्थ गर्न हच्कन्थे। उनको ज्ञान, धर्म र विद्वताको प्रकाश टाढा टाढा सम्म फिंजिएको थियो। सेतीका अन्तरात्माले चिच्याइ चिच्याइ सोधेका प्रश्नहरु उनका आत्मामा गएर बज्रन्थे। ज्ञान धर्मले तपित उनको आत्मा ती प्रश्नवाणले भेदिएर थर्थरी काप्न थाल्यो। ज्ञानले भिजेको, ध्यान र तपले माझिएको अनि पूजा पाठले पवित्र उनको अन्तरात्मा चिच्याएर भन्न थाल्यो, “रमानाथ! धिक्कर छ तेरो अपार विद्वतालाई! वर्षौंसम्म हिउँद वर्षा खपेर गरेको पूजा पाठ अनि न्यास ध्यानबाट तृप्त भएर पनि तँ भित्र अपवित्र कामुकता हुर्किरहेको रहेछ। धर्म-कर्म रुपी ढोंगको छहारी मुनि दबिएको तँ भित्रको कामाग्नीले डढेलोले बन डढाए झैँ तेरो आत्मालाई भस्मीभूत पारिसकेको रहेछ। सेतीको नग्नता उघारिए पछि गोमनले फणा उठाए झैँ त्यो कामाग्नीको कालो साँप एउटी अवलाको अस्मिता डस्न उद्वेलित भएको रहेछ। सेतीको नग्नता डकारिसकेपछि त्यसबाट जन्मने प्रतिफल र परिणामको प्रधान जिम्मेवारी पनि तेरै हो।” पण्डित रमानाथसँग न त सेतीका आँखामा अवतरित अन्तरात्माले सोधेका प्रश्नहरुको कुनै जवाफ थियो न त आफै ब्रह्म बोध भएका पश्चातापहरु प्रति कुनै उत्तर थियो। पाठ बिर्सेको बिद्यार्थीले झैँ रमानाथले आफ्ना लाचार पाइलाहरु घरतिर घिसार्न थाले। अन्तरात्मामा घन्किरहेका अनगिन्ती यक्ष प्रश्नहरुसँग पराजित हुँदै रमानाथले बाटो तताए।
पाप लुकाएर कति दिन लुक्छ र! रमानाथले गरेको कुकृत्यको परिणाम सेतीका कोखमा पलाउन थाल्यो। सेतीले भुडी बोकेको हल्ला सुकेका पातमा डढेलो सल्के झैँ गाउँभरी फैलियो। “एउटी बाल विधवा कसरी गर्भवती भइ!” गाउँलेहरु परस्पर कानेखुसी गर्न थाले। “यस्ती चरित्रहिन महिलालाई गाउँमा बसी भने हाम्रो सम्पूर्ण सामाजिक संरचना ध्वस्त हुन्छ! सेतीका छिमेकीहरु नै चर्चा र बहस गर्न थाले।
अन्ततः पंचायत बोलाउने निर्णय भयो। चार गाउँका मानिसहरु भेला भए। पण्डित रमानाथ पनि आमन्त्रित गरिए। सेतीलाई भयकर अपराधको अभियुक्तका रुपमा उभ्याइयो। चरित्रहिनको उपमा पाएकी सेती पंचायत सामु कठघरामा खडा भइ । सेती र रमानाथका आँखा फेरी एकपटक एकाकार भए। शून्यता सिवाय केही थिएन सेतीका आँखामा। “ए सेती! तेरो यो गर्भ कसको हो? ” थकाली भीम प्रसादले कड्केर सोधे ।“ साँचो कुरा पंचायत सामु भन्। तँ माथि अन्याय भएको रहेछ भने तैंले न्याय पाउँछेस्” अर्का भलाद्मीले थपे। सेतीलाई कटुतापूर्वक सोधिएका प्रश्नहरु बज्र झैं रमानाथका मुटुमा ठोकिन्थे अनि पसिना बनेर निधारमा उम्रन्थे। मुटुले ढ्याङ्ग्रो ठोक्न थाल्यो। ओठ मुख पटपटी सुक्न थाले। इज्जत र प्रतिष्ठाको भीरबाट लड्न लागे झैं लगलग काँप्न लागे। कठोर दुर्घटनाका भयले छाती भत्भती पोल्न थाल्यो। आँखा अगाडी अँध्यारो छायो। लाचार नजरले सेतीलाई हेरे। उनका आँखामा न त विपूल ज्ञानको चहक देखिन्थ्यो न धन सम्पत्तिको चमक। सेतीले रमानाथका लाचार आँखामा हेरी। उनका विवश नयनले इज्जतको भीख मागिरहे झैँ लाग्थ्यो।
सेतीमाथि रमानाथले गरेको कुकृत्य वास्तवमा बलात्कार मात्र थिएन जातीय अहमताको बुइ चढेर गरिएको दमनको पराकाष्ठा थियो। जातीय, धन दौलत अनि शिक्षाका दृष्टिले पिछडिएकी एउटा अवला नारी माथि ज्ञान, धन र जातीय वैभवले मदमस्त पुरुषद्वारा भएको बर्बर अत्याचार थियो। तर सेतीका मनमा रामानाथ प्रति एउटा स्नेहको मुना पलाइसकेको थियो। हृदयको एउटा कुनामा प्रीतिको अंकुर टुसाइसकेको थियो। कता कता एउटा मीठो सामिप्यताको अनुभूति रसाइसकेको थियो। उसका मनमा हुर्किंदै गरेको त्यो मायाको कोपिला माथि फक्रिदै गरेको झिनो सपना पनि देख्न थालेकी थिई। रमानाथको तेजस्वी चेहरा ज्ञान र वैभवको उज्यालोमा दिपक झैँ चम्किएको ठान्थि।
विषादले टम्म भरिएका आँखा उठाएर सेतीले रमानाथ तिर हेरी । “हरे! ज्ञानले दिप्त, जपतपले उज्वल अनि वैभवले देदीप्यमान त्यो चेहरा आज कसरी चन्द्रमामा ग्रहण लागे झैँ देखिइरहेको छ। भूल त उनले गरेका हुन् तर त्यसको बराबरको भागिदार म पनि त हुं नी। म पनि कठोर भै प्रतिकारमा उत्रिएको भए उनको कामुकता पराजीत पनि त हुन सक्थ्यो। उनको कामुकता म माथि वर्षदा लामो खडेरी पछि भएको जलवृष्टिको सुखानन्द मैले पनि त भोगेकै हुं नी। त्यो क्रिडाको सुख धारामा मैले पनि त अनन्त काल देखिको प्यासी आत्मा झैँ बनेर नुहाएकै हुं नी। आज उनको प्रतिष्ठा दाउमा परेको छ। मेरो एक वचन उनका लागि बज्रपात बनेर उनीमाथि बज्रन सक्दछ।” सेतीका मनमा यस्तै विचारका ज्वारभाटा चल्न थाले।
सेतीसँग घटेको रतिभोगको क्षण मधुर मिलनको माधुर्य बनेर वर्षनुको सट्टा अघोर पापको अनुभूतिको शूल बनेर रमानाथको हृदयमा रोपिएको थियो। “आज सेतीले पंचायत सामु त्यस क्षणको भण्डाफोर गरिदिइ भने..” रमानाथका आँखा अगाडी निष्पट्ट अँध्यारो छायो। “छोरा बुहारीले के भन्ठान्लान…ज्वाइ छोरीको शीर अपमानले कसरी गिर्ला….जोरी पारी खिसी गरेर कसरी हाँस्लान्” चिसो तर लामो निश्वास फाले रमानाथले। एक क्षणको कामोत्तेजनाको आँधीले कसरी उनको वषौंको साधनाकोे बादललाई छिन्नभिन्न बनाइदियो।
पंचायत सामु सेतीले मौनता साधी। पंच भलाद्मीका कस्तै कठोर प्रश्नहरुले पनि रमानाथ प्रतिको उसको प्रतिबद्ध अनुरागलाई भेद्न सकेनन्। बिलकुल पत्थर झैँ बनिदिइ। उसको मौनताले ढाल बनेर रमानाथको धर्मराइरहेको विपूल प्रतिष्ठाको प्रतिरक्षा गरी नै रह्यो।
पंचायतले उसलाई चरित्रहिनको संज्ञा दियो। गाउँ छोडेर जानुपर्ने सजाय पनि सुनाइयो। रमानाथको अघोर पाप कर्मलाई सेतीको अनन्य प्रेम र बलिदानले ढपक्क ढाकिदियो। उनका आँखा अगाडि फैलिएको भय र आशङ्काको तुवाँलो फाटेर झलमल्ल भयो तर निश्चिन्तताको सूर्योदय भने हुन सकेन। अर्को चिन्ताको कालो बादलले उनको अन्तरात्मालाई घेर्न थाल्यो। मनमनै सोच्न थाले “सेतीको नग्नता डकारिसकेपछि जन्मने प्रतिफलको जवाफदेहिताबाट म कसरी भाग्न सक्दछु! उसलाई बदनामीको भंगालोमा झोकिदिएर आफू मात्र कसरी इज्जत प्रतिष्ठाको डुंगामा तैरिइरहन सक्दछु! उसको निश्कलंक ललाटमा चरित्रहिनताको कालो धब्बा थोपरिदिएर आफू मान मर्यादाको सिंहासनमा अवतरण गरिरहनु महापाप होइन र!.. ”एक खाले विपत्तिबाट त्राण नपाउँदै उनका मनमा अर्को पापले डेरा जमाउन थाल्यो। लाचार आँखा उठाएर सेतीका अनुहारमा हेरे। त्याग र बलिदानको अनुपम ज्योतिपूञ्ज सेतीका अनुहारमा उदाइरहेको थियो। कसरी उनको कुकर्मलाइ सेतीले सहजै महादेवले हलाहल विष निले झैँ निलिदिइ।
पंचायत उठ्यो। मानिसहरु तितरबितर भए। अनुरागपूर्ण नेत्रले रमानाथ तिर पुलुक्क हेर्दै सेती पनि उठी। उसका निर्दोष आँखामा सन्तोष र समर्पणको तेज सहजै देख्न सकिन्थ्यो। हेर्दा हेर्दै सेती सदाको लाागि गाउँ छोडेर गइ।
०००
सूर्यविनायक न.पा. – १, भक्तपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।