—०१
लघुकथा: सचेतना
“बहिनी, यहाँ हजुरको दाजु हुनुहुन्छ, होइन?
उहाँलाई हिँड्दा-हिँड्दै एउटा गाडीले ठक्कर दियो। उहाँलाई अस्पतालमा भर्ना गराएका छौँ। हिंड्नुहोस्, हामीले हजुरलाई अस्पताल पुऱ्याइदिन्छौँ।” कारमा आएका मध्ये एकजनाले कारमै बसेर मोबाइलमा फोटो देखाउँदै भन्यो।
“दादा! कसरी भयो?” उसले फटाफट झोला उठाई र गाडीमा बस्न खोजी। तर, केही सोचेजस्तै गरेर रोकिई।
“यिनिहरूलाई त मैले चिनेकै छैन। दादाले मलाई कतै नजानु भन्नुभएको थियो।” उसले मनमनै सोचेर झोला भुइँमा राखी।
“के भयो? छिटो गर्नुहोस्, नत्र अहिले ढिला हुन सक्छ!” ऊ गाडीबाट ओर्लिन खोज्यो।
रिना र दामोदर दाजु-बहिनी हुन्। उनीहरू नेपालबाट दिल्लीका लागि हिँडेका थिए। तर, लखनउमा कुनै सँगै पढेको साथी भेटिएपछि रेलवे स्टेशनमा टिकट लिएका थिए। रेलगाडी आउन अझै एक घन्टा बाँकी थियो। त्यसैले दामोदरले रिनालाई, “तिमी कतै नजाऊ, म एकछिनमै आउँछु,” भनेर गएको करिब आधा घन्टा भएको थियो।
“हजुरहरूलाई त मैले चिनेकी छैन,” रिनाले भनि।
“ओहो, बहिनी! हिजो हजुर पावेलको घरमा बस्नु भएको थियो, त्यसैले मैले हजुरलाई चिनेको हुँ। हजुरको दाइलाई अस्पताल पुऱ्याएँ र हजुरलाई लिन आएका हौँ। लिनुहोस्, डाक्टरसँग कुरा गर्नुहोस्,” उसले सफाइ दिँदै डाक्टरलाई फोन मिलाएर दिन खोज्यो।
“भैगो, म जाँदिन।” उनले आफ्नो फोन निकालेर फोन गर्न थालिन्। तर, उनलाई याद आयो कि उनीसँग भारतको सिम थिएन। जब उसले फोन गर्न थालेको देखे, ती मानिसहरू कार स्टार्ट गरेर भागे।
“के भयो?” भन्दै दामोदर टुप्लुक्क आइपुग्यो।
❃❃❃
—०२
लघुकथा: चोट
“कति दुःख गर्नुहुन्छ, यो बुढेसकालमा पनि?” दामोदरले रामप्रसादलाई सोध्यो।
“दामोदरजी! मानिसलाई धन-सम्पत्ति बाँचुन्जेल चाहिँदो रहेछ। पहिले सोचेको थिएँ— किन चाहिन्छ धन-पैसा? तर, अहिले धन बिना सास फेर्न पनि गाह्रो छ। दमको बिरामी छु, औषधी महँगो छ। बुढियालाई सुगर र प्रेसरको समस्या छ।
बरु, हजुर अचेल के गर्दै हुनुहुन्छ?” रामप्रसादले सामान ठेलागाडामा थन्काउँदै सोध्यो।
“मेरा दुई जना बाघजस्ता छोराहरू छन्। मलाई के काम गर्नु पर्यो र?
सम्पत्ति नभए पनि खासै चिन्ता छैन। बुढेसकालको सहारा उनै हुन्,” दामोदरले आफ्ना जुँगा बटार्दै भने।
“हजुर, मैले पनि शरीरमा ताकत हुँदासम्म त्यस्तै सोचेको थिएँ। तर, समयको खेल रहेछ।
तीन भाइ छोरा र दुई बहिनीहरू हुर्काएँ। सबैको विवाह गराएँ। अब त फारिक भए भनेर सोचेको थिएँ, तर छोराहरू छुट्टाछुट्टै बस्न थाले।
अचेल बुढी बिरामी छ, म पनि बिरामी छु। तर, औषधी उपचार कसले गरिदिने? त्यसैले अरू काम गर्न सक्दिनँ, यही तरकारीको ठेला लगाएको छु। यहीबाट बुढी र मेरो खर्च चलिरहेको छ,” रामप्रसादले आफ्नो दुःखेसो पोखे।
“किन, छोराहरूले हेरचाह गर्दैनन्?” दामोदरले आश्चर्य व्यक्त गर्यो।
“अब के भनूँ हजुरलाई! बाबु-आमाको मन छोराछोरीमाथि, छोराछोरीको मन उनीहरूकै छोरा-छोरीमाथि। सबैका आ-आफ्नै जिम्मेवारी रहेछन्,” रामप्रसादले मलिन अनुहार बनाउँदै भन्यो।
“यसलाई त गहिरो चोट परेको जस्तै लाग्यो।
कतै मेरो पनि रामप्रसादको जस्तै अवस्था त आउदैन?” दामोदरले मनमनै सोच्यो।
“हस्, रामप्रसादजी, बिदा पाउँ,” दामोदरले बिदा मागेर हिँड्यो।
तर, अहिले दामोदरको अधरमा गहिरो छायाँ परेको जस्तै देखिन्थ्यो।
❃❃❃
दाङ घोराही १८
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।