विषय सूची
- १. लघुकथा: डोरी – रमेन्द्र कोइराला
- २. लघुकथा: एक सूर्य – खेमराज पोखरेल
- ३. लघुकथा: कर्तव्य – कुमार काफ्ले
१. लघुकथा: डोरी
✒ रमेन्द्र कोइराला
“गु, मुत एकै ठाउँ भयो भने मेरो प्यारो छोराको बिजोग हुनेछ।” यो सोचेर वृद्ध आमाले प्राण त्याग्ने विचार गरिन्।
त्यसदिन खोर, गोठ चारैतिर खोजेर एउटा बाख्रा बाँध्ने डोरी ठिक्क पारिन्। यही क्रममा मनमा कुरा पनि खेल्दै गए। “न रह्यो बाँस न बज्यो बाँसुरी” भने जस्तै न आफू रहिन्छ न छोरालाई दुःख हुन्छ।
उनको दिमागमा बुहारीले गरेका तिरस्कार र अपमानका दृश्यहरू आउन थाले। भातको थाल हुइक्याएर दिने, कहिले चर्को दिने, कहिले खल्लो दिने, छोराको अगाडि ठिक्क पार्ने अरु बेला धारे हात लगाउने, छोराले माया गरेको देख्न नसक्ने आदि दृश्यहरू नाच्न थाले।
छोरो बाहिरबाट आउँदा जाँदा पहिले आफैँलाई भेट्छ, मीठो मसिनो खोजी गर्छ, दिन्छ। तर यो कुरा बुहारीलाई पच्दैन।
आफ्नो भने दिनदिनै रोगले आँखा धमिलो हुँदै गइरहेको छ। यस्तै हो भने एकदिन गु, मुत एकै ठाउँ हुनसक्छ। यो छोरोले देख्न सक्दैन र आफैं सेवा गर्न अघि सर्छ। त्यसै त छोरो व्यस्त छ, त्यसमाथि आफ्नो पनि सेवा गर्न थाल्यो भने उसको बिजोक हुन्छ।
उनले लुकेर डोरी झुन्डिने ठाउँमा राखीन्। अब समय पर्खिन थालीन्। बेलुकातिर सबै पाटीमा जान्छन् त्यतिबेला मौका पार्ने कुरा सोचीन्।
अचानक बाटामा एउटा माइकिङ सूचना सुनीन् – “तपाईंहरू परिवारको किचकिचले नाहकमा अमूल्य जीवन नफ्याल्नुहोला किनभने सरकारले सुविधा सम्पन्न निःशुल्क वृद्धाश्रम खोलेको छ। त्यसमा तपाईंहरुलाई स्वागत छ।”
त्यो सुनेर उनका आँखा चम्किए अनि दौडेर लुकाएर राखेको डोरी बारीतिर मिल्काइदिईन्।
०००
[ लघुटिप्पणी ]
🔴रमेन्द्र कोइरालाको ‘डोरी’ लघुकथाले छाडेका पदचापहरू
✒ नन्दलाल आचार्य
रमेन्द्र कोइरालाको ‘डोरी’ लघुकथाले वृद्ध आमाको मानसिक सङ्घर्ष, पारिवारिक उपेक्षा र आत्महत्याको सोचसम्मको यात्रालाई मार्मिक रूपमा उजागर गरेको छ। यस कथाले नेपाली समाजमा जरा गाडेर बसेको वृद्ध असहायपन, बुहारीको व्यवहार, छोरोको सीमित सक्रियता र पारिवारिक सम्बन्धका जटिलताहरूलाई गहिरो कटाक्षका साथ प्रस्तुत गरेको छ।
१. कथा संरचना र प्रवाह
कथाको संरचना सरल छ तर प्रभावशाली छ। पात्रको मनोदशा क्रमशः विस्तार हुँदै आत्महत्या गर्ने सोचसम्म पुग्छ, तर अन्त्यमा सामाजिक सन्देशको प्रवेशले उसको सोच परिवर्तन गराउँछ। यो मोडले कथालाई केवल दुःखान्तमा सीमित नराखी, आशावादितर्फ मोड्ने कार्य गर्छ।
२. भाषिक सौन्दर्य र प्रभाव
भाषा सरल भए पनि कथा निकै शक्तिशाली छ। “गु, मुत एकै ठाउँ भयो भने मेरो प्यारो छोराको बिजोग हुनेछ।” जस्ता वाक्यहरूले वृद्ध आमाको गहिरो आत्मसम्मान र मातृप्रेम दर्साउँछन्। लघुकथाले कम शब्दमा बढी प्रभाव पार्न सफल भएको छ।
३. पात्रहरूको मनोवैज्ञानिक चित्रण
- क) वृद्ध आमा- उनमा आत्मसम्मानको तीव्र भावना छ। छोरोको मायालाई बुझेर पनि बुहारीको व्यवहारले आहत भएकी छिन्। उनको आत्महत्या गर्ने सोच केवल दुःखबाट उम्कने उपाय मात्र नभई, छोरालाई असुविधा नहोस् भन्ने मातृत्वको पराकाष्ठा हो।
- ख) बुहारी- प्रत्यक्ष संवाद नभए पनि उसको व्यवहार पात्रकै अनुभूति मार्फत देखाइएको छ। उसले वृद्ध आमालाई हेप्छे, तर यस्तो व्यवहारको पछाडि उही समाजका पितृसत्तात्मक संरचनाले बुहारीलाई दिएको भूमिकालाई पनि नजरअन्दाज गर्न सकिँदैन।
- ग) छोरो- ऊ आमाप्रति माया राख्ने भए पनि, समाजमा रहेको ‘पत्नी-आमा बीचको द्वन्द्व’ समाधान गर्न असमर्थ छ। उसको असहायपन कथामा प्रस्ट देखिन्छ।
४. विषयवस्तु र सामाजिक सन्देश
कथाले वृद्धहरूको असहाय अवस्था र समाजमा रहेको बुहारी-आमाको सम्बन्धलाई प्रभावकारी रूपमा उठान गरेको छ। वृद्धाश्रमको प्रसङ्गले पारिवारिक असहयोगको यथार्थ झल्काउँछ। सरकारद्वारा सञ्चालित वृद्धाश्रमले वृद्धहरूलाई जोगाउन सक्छ, तर परिवारको स्नेहको विकल्प बन्न सक्दैन भन्ने अर्को दृष्टिकोणलाई पनि कथाले परोक्ष रूपमा उजागर गर्छ।
५. कथा अन्त्यको प्रभावकारिता
कथा आत्महत्याबाट सकारात्मक मोडतर्फ गइसके पनि, यसको अन्त्य सामान्य रहन गएको छ। वृद्धाश्रमको माइकिङ सुनेर एक्कासी जीवनप्रतिको मोह जाग्नु यथार्थपरकभन्दा अलि प्रचारात्मक लाग्न सक्छ। यदि यो वृद्धाश्रमको सम्भाव्यतालाई वर्णन गर्दै केही मनोवैज्ञानिक सङ्घर्ष थपिएको भए, अन्त्य अझै बलियो हुने सम्भावना थियो ।
६. निष्कर्ष
डोरी नेपाली समाजको यथार्थलाई छोटकरीमा र गहिरोसँग चित्रण गर्ने सशक्त लघुकथा हो। यसले पारिवारिक सम्बन्धको जटिलता, वृद्ध आमाको असहायता, मातृत्वको गहिराइ र समाजका संरचनागत समस्याहरूलाई उकेलेको छ। समग्रमा, कथा सरल भए पनि यसले गहिरो चोट पुर्याउने क्षमता राख्छ।
७. सुझाव
कथा अन्त्यलाई अलि बढी मनोवैज्ञानिक रूपमा बलियो बनाउन सकिन्छ। छोरो र बुहारी बीचको मनोदशालाई अझै सूक्ष्म रूपमा प्रस्तुत गरेमा, कथाले सामाजिक यथार्थलाई अझ प्रभावकारी ढङ्गले उजागर गर्ने थियो। आत्महत्या रोक्ने सन्देशलाई वृद्धाश्रममा मात्र केन्द्रित नराखी, पारिवारिक समझदारी कसरी पुनःस्थापित गर्न सकिन्छ भन्ने कुरामा पनि संकेत गर्न सकिन्छ।
कुल मिलाएर, ‘डोरी’ नेपाली लघुकथाको उत्कृष्ट उदाहरण हो। यसले पाठकलाई केवल भावनात्मक रूपमा छोइहाल्दैन, सामाजिक रूपान्तरणका लागि समेत सोच्न बाध्य पनि बनाउँछ।
उत्तर लघुकथा: नयाँ बिहान
✒ नन्दलाल आचार्य
“आमा, तपाईंलाई भेट्न आएको छु।”
बृद्धाश्रमको शीतल आँगनमा उभिएको छोरोको स्वरमा माया र ग्लानी मिसिएको थियो। वृद्ध आमाले चकित भएर हेरिन्। “तिमी यहाँ कसरी आइपुग्यौ?” आमाले मन थाम्न नसकी सोधिन्। “आमा, तपाईं डोरी फालेर जानुभयो, तर तपाईंलाई छोडेर घर पस्न मन लागेन।” छोरोको आँखामा पश्चात्ताप झल्कियो। आमा गहिरो सास फेरेर वरिपरि हेर्न थालिन्। यो ठाउँ घरभन्दा फरक थियो- शान्त, स्वच्छ अनि न्यानोपनले भरिएको। तर छोरोको मायाले उनलाई झन् बलियो बनायो।
“छोरा, तिमीलाई थाहा छ? जीवन सधैं दुःखै मात्र हुँदैन, आशाको घाम बादलबाट बाहिर आउँछ।” छोराले आमाको हात समात्यो, “हामी घर फर्कौं आमा, अब तपाईंलाई कहिल्यै एक्लो महसुस हुन दिने छैन।” बृद्धाश्रमको बगैंचामा बसेका अन्य वृद्धवृद्धाहरूले त्यो दृश्य हेरिरहेका थिए। आमाको आँखाबाट बगेका आँसुमा अब खुशीको मिठास थियो।
“डोरी त मिल्काएँ तर ममता मिल्काउन सकिनछु।” उनका ओठमा थरथराहट देखिँदै थियो; “अब मायाको डोरी बलियो बनाउनेछु।”
❃❃❃
२. लघुकथा: एक सूर्य
✒ खेमराज पोखरेल
‘एउटै छोरो त छ। त्यसका लागि मैले धेरै जोरजाम गरिसकेको छु। जबकि म अमेरिका आउँदा रित्तो आएको थिएँ।’ ऊ आफ्नो बखान गर्दै थियो।
ऊ याने मेरो साहु, अर्थात् सौकत।
जागिरको सबाल थियो। म ‘हो’ भावमा मुन्टो हल्लाई नै रहेको थिएँ। तर मनमनमा गुन्दै पनि थिएँ कि यो सौकतले किन आफ्नो छोराको यत्ति धेरै बयान गर्छ हँ? त्यसै बेला साहुको छोरो गाडीबाट ओर्ल्यो। स्टोर भित्र पस्ने बित्तिकै उसले बाउलाई ‘हाई ड्याड’ भन्यो। मैले सौकतको अनुहार हेरेँ। खुसी थिएन।
सौकतले सोध्यो, ‘पाँच दिनदेखि घरमा थिएनौ। कहाँ गएका थियौ?’
‘गर्ल फ्रेन्डलाई लिएर क्रुज गएको थिएँ। मम लाई भनेको थिएँ त।’ छोराले भन्यो। एकछिनको सन्नाटापछि छोराले बाउलाई फेरि भन्यो, ‘ड्याड! अहिलेसम्म मेरो एकाउन्टमा पैसा किन नहालिदिएको?’ साहु एकदम रिसाइसकेको थियो। उसको अनुहार निकै अँध्यारो भइसकेको थियो। तर पनि मायालु भावले छोरालाई भन्यो, ‘बाबु। अठार वर्ष भइसक्यौ। अब यो व्यापारको जिम्मेवारी बोक्न थाल। सिक्दै जाऊ। गर्ल फ्रेन्डमा त्यसरी पैसा नसक। मैले ठूलो मेहनत र बुद्धिले सिर्जिएको सम्पत्ति हो।’
‘कस्तो पाकिस्तानी जस्तो झुर कुरा गर्नुहुन्छ ड्याड?, सिक्नुस् न अमेरिकी सभ्यता। तपाईंले गर्ल फ्रेन्ड राख्न पाउनु भएन होला भन्दैमा मैले रमाइलो नगर्ने?’ छोराले प्रतिप्रश्न गर्यो।
सौकत पनि रिसाइसकेको थियो। अनि भन्यो, ‘हो म पाकिस्तानी हुँ। तँ पनि पाकिस्तानी होस्।’
‘कस्तो किचकिच गर्ने होला यी पाकिस्तानका मान्छेले? म पाकिस्तानी होइन। बाई बर्थ अमेरिकन हुँ।’ छोरो गड्गडायो।
‘धेरै झोक चलाइस् भने म तँलाई सम्पत्तिबाट बेदखल गरिदिन्छु बुझिस्।’ सौकत रिसले आगो भयो ।
‘तिम्रो सम्पत्तिको मलाई केही लोभ छैन। तिमी जन्मजात पाकिस्तानी हौ। फर्केर जाऊ आफ्नै देश। धेरै किचकिच गरेर ह्याऱ्यास गर्यो भने नाइन वन वन मा फोन गरिदिन्छु।’ छोरो झन् क्रोधिलो भयो।
०००
[ लघुटिप्पणी ]
🔴खेमराज पोखरेलको ‘एक सूर्य’ लघुकथाले छाडेका पदचापहरू
✒ नन्दलाल आचार्य
खेमराज पोखरेलको “एक सूर्य” लघुकथा प्रवासी जीवनको कठोर यथार्थ चित्रण मात्र होइन, सांस्कृतिक र पारिवारिक द्वन्द्वको सजीव प्रस्तुति पनि हो। कथा छोटो भए पनि यसको गहिराइ अत्यन्त व्यापक छ। यसमा प्रवासी मनोविज्ञान, पुस्ता-भिन्नता, संस्कृति- संघर्ष र पहिचान-भ्रमका जटिल मुद्दाहरू चित्रित छन्।
१. शीर्षकको प्रतीकात्मकता
“एक सूर्य” शीर्षकले बहुआयामिक अर्थ बोकेको छ। सूर्य शक्ति, उज्यालो, अथक श्रम र आत्म गौरवको प्रतीक हो। तर कथा पढ्दै जाँदा लाग्छ, यो सूर्य सौकत हो- जो कठोर परिश्रमद्वारा आफ्नो छोरालाई सुरक्षित भविष्य दिन चाहन्छ। तर अन्त्यमा छोराको प्रतिक्रियाले यो सूर्य अस्ताउँदै गएको जस्तो लाग्छ। सन्तानका लागि आर्जन गरेको सम्पत्ति नै जब बन्धन झैं महसुस हुन थाल्छ, त्यहाँ बाबुको अस्तित्व म्लान भइदिन्छ।
२. प्रवासी मानसिकता र पहिचान सङ्कट
सौकत, जो एक पाकिस्तानी आप्रवासी हो, अमेरिकामा संघर्ष गरेर आफ्नो व्यवसाय चलाउँछ। ऊ भौतिक रूपमा सम्पन्न भए पनि मानसिक रूपमा आफूलाई स्थापित गर्न संघर्षरत छ। ऊ छोरालाई आफ्नो परम्परा सिकाउन चाहन्छ, तर उसले अमेरिकाको स्वतन्त्र संस्कृतिमा हुर्किएको छोरामा त्यो संस्कार देख्दैन। यहाँ बाबु-छोराबीच मूलभूत पहिचानको द्वन्द्व देखिन्छ- बाबु आफ्नो जरा जोगाउन खोज्छ, छोरो ती जरालाई उखेलेर नयाँ परिचय निर्माण गर्न चाहन्छ।
३. भाषा र संवादको प्रभावकारिता
कथाका संवादहरू छोटा, तिखा र अर्थगर्भी छन्। छोराले बोलेका वाक्यहरूमा आत्मविश्वास, विद्रोह र कठोरता झल्किन्छ जब कि बाबुको संवादहरू प्रेम र नियन्त्रणको द्वन्द्वले भरिएका छन्। “कस्तो पाकिस्तानी जस्तो झुर कुरा गर्नुहुन्छ ड्याड?” जस्तो वाक्यमा मात्र होइन, “फर्केर जाऊ आफ्नै देश” भन्ने निष्कर्षात्मक प्रतिक्रियाले प्रवासी अभिभावकहरूलाई तीतो चोट दिन्छ।
४. अन्त्यको मनोवैज्ञानिक प्रभाव
छोराको अन्तिम संवाद, “तिम्रो सम्पत्तिको मलाई केही लोभ छैन। तिमी जन्मजात पाकिस्तानी हौ। फर्केर जाऊ आफ्नै देश।” -ले कथा चरम द्वन्द्वमा पुर्याउँछ। सौकतको सम्पूर्ण जीवनको संघर्ष व्यर्थ भएजस्तो अनुभूति हुन्छ। छोराको प्रतिक्रियाले बताउँछ कि ऊ पैसाको लागि होइन, पहिचानको लागि बाबुसँग टकराइरहेको छ। यो कथाको सबभन्दा चोटिलो मोड हो।
५. कथाको सामयिकता र यथार्थता
आजको विश्वव्यापी आप्रवासी समाजमा यही समस्या बारम्बार देखिन्छ। पहिलो पुस्ताका आप्रवासीहरू आफ्नो संस्कृति सम्हाल्न खोज्छन्, जबकि दोस्रो पुस्ता त्यसलाई बन्धन ठान्छ। लघुकथाले यही संघर्षलाई अत्यन्त कलात्मक रूपमा प्रस्तुत गरेको छ।
६. निष्कर्ष
“एक सूर्य” केवल एउटा प्रवासी बाबु-छोराको कथा मात्र होइन, यो आत्मपरिचयको लडाइँको दस्तावेज हो। सौकतले आर्जन गरेको सम्पत्ति, उसको मेहनत, उसको सपना सबै छोराले एक झट्कामा अस्वीकार गर्दा उसले भोग्ने पीडालाई पाठकले अत्यन्तै गहिरोसँग अनुभूति गर्छन्। कथा छोटो छ, तर यसले प्रवासी समाजका पीडाहरूलाई यति चोटिलो बनाइदिएको छ कि यो कुनै उपन्यास भन्दा कम लाग्दैन।
निस्कर्षतः यो लघुकथा सटिक, गहिरो र यथार्थपरक छ। यसले प्रवासी मानसिकता, पुस्ता संघर्ष र पहिचान संकटलाई कुशलतापूर्वक चित्रित गरेको छ।
उत्तर लघुकथा: नयाँ सूर्य
✒ नन्दलाल आचार्य
‘मैले तिमीलाई त्यो बिजनेस दिने सपना देखेको थिएँ, बाबु!’ सौकतको स्वर भित्रै भित्र थर्थर काँपिरहेको थियो। छोरो हाँस्यो, ‘ड्याड, तिमी सपनामा बाँचेका मान्छे हौ। अमेरिकामा बाँच्छु भनेपछि यहाँकै तरिकाले बाँच्नुपर्छ, हैन र?’ सौकत केहीबेर चुपचाप रह्यो। छोराको आँखामा उसले आफ्नो प्रतिबिम्ब देख्न खोज्यो, तर त्यहाँ अजनबी मात्र थियो।
‘तिमीलाई थाहा छ बाबु, जब म अमेरिकामा पाइला राख्दा एक पैसा थिएन। यी हातले पसिना बगाएर यहाँसम्म ल्याएँ। तिमीले अब…’ छोरोले बीचमै कुरा काट्यो, ‘ड्याड, म तिमी जस्तो बन्न चाहन्नँ! म स्वतन्त्र छु। म चाहे जस्तै जिउनेछु।’ सौकतले लामो सास फेर्यो। हिजोको ऊ सम्झियो- एक्लो, निर्धो, संघर्षरत। आज पनि ऊ एक्लो थियो, तर पराजितझैं।
‘ठीक छ, बाबु! सूर्य कहिल्यै अँध्यारोमा हराउँदैन।’ उसले छोरालाई हेरेर बनाबटी भए पनि मुस्कुराउँदै थप्यो, ‘तर, आफ्नै घर जलाउने प्रकाश म चाहन्न।’
❃❃❃
३. लघुकथा: कर्तव्य
✒ कुमार काफ्ले
“आमा, हजुरलाई त जुम्राले मार्न लागेको रहेछ।”
तातो पानीले नुहाइदिएर जुम्रा हेर्दै गर्दा बाआमाको मुख हेर्न माइत आएकी उजेलीकी छोरीले बोलिन्। नयाँ चप्पल लगाइदिएर मिठो खाना खुवाइसकेकी थिइन्। “यी दाजु भाउजू साह्रै बिकामे भए। बाआमाको फिटिक्क वास्ता छैन!”
छोरीले कुराका सिलसिलामा दाजुभाउजूलाई बेस्सरी थुरी। त्यसपछि उजेलीले छोरीलाई सोधिन्।
“अनि तिम्रा घरका बाआमाको हालखबर के छ त नानी? सबै ठिक छ नि?”
मुख बिगार्दै छोरीले भनिन्- “उनीहरूको कुरै नगर्नुस् आमा, बूढाबूढी भएपछि सधैं उल्टोउल्टो कुरा गर्ने, हामीले खाएको खानेकुरा उनीहरूलाई नहुने, छुट्टै भान्सा लाउनुपर्ने, कामदाम केही छैन, बसेका छन् खाएका छन्। अब त अति भइसक्यो आमा, हामी त वृद्धाश्रमतिर लगेर…!”
आमाछोरीको गन्थन् सुनिरहेका बाले भने-
“भयो छोरी, पुग्यो। अब यहाँ भन्दा बढ्ता नबोल, अनि अर्को कुरा दाजुभाउजू र भाइबुहारीलाई नि अबदेखि अनेकथरि भन्न छोड।”
“बुबा हजुर पनि कस्तो कुरा गर्नुहुन्छ? आमा र हजुर छोराबुहारीलाई केही भन्नुहुन्न। यत्रो सम्पत्ति, घरजग्गा पाएपछि – बाआमालाई त सुखले राख्नुपर्छ नि, …!”
बाले जवाफ फर्काए-
-“हेर छोरी, मान्छेले पहिला आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, अनि मात्रै अरूको बारेमा बोल्न सुहाउँछ, बुझ्यौ?”
०००
[ लघुटिप्पणी ]
🔴कुमार काफ्लेको ‘कर्तव्य’ लघुकथाले छाडेका पदचापहरू
✒ नन्दलाल आचार्य
कुमार काफ्लेको ‘कर्तव्य’ लघुकथा सानो आकारको भए पनि सामाजिक चेतना र नीतिगत सन्देशले भरिपूर्ण छ। कथा आम नेपाली समाजमा रहेको बाआमाप्रतिको व्यवहार, पुस्ता अन्तरको सोचाइ र नैतिकताको प्रश्नलाई उठाउँछ।
१. पात्रहरू र उनीहरूको मनोदशा
कथाका मुख्य पात्रहरू उजेली, उनकी छोरी र बुबा हुन्। छोरी माइत आएकी छिन्, आमालाई नुहाइदिएकी छिन्, मिठो खाना खुवाएकी छिन्, जसले उनको मायालु व्यवहार झल्काउँछ। तर जब दाजुभाउजूको कुरा आउँछ, उनीहरूलाई बेस्सरी सराप्छिन्। यसै क्रममा उजेलीले छोरीलाई उनको ससुराली घरको अवस्थाबारे सोध्छिन्, र त्यहाँ उनले आफ्नै बाआमालाई वृद्धाश्रम पठाउने योजनाको कुरा गर्छिन्।
बुबाले भने समाजको यथार्थलाई प्रतिबिम्बित गर्दै छोरीलाई कटु सत्य भन्छन्- पहिला आफ्नो कर्तव्य पूरा गर, अनि मात्र अरूको आलोचना गर।
२. द्वैध चरित्र र सामाजिक यथार्थ
छोरीको व्यवहार नेपाली समाजको एउटा दुःखद यथार्थ हो। आफ्ना बाआमालाई हेर्न चाहँदैन, तर माइत आइसकेपछि दाजुभाउजूलाई बाआमाको वास्ता नगरेको आरोप लगाउँछे। ऊ आफ्ना ससुराबुबाआमालाई वृद्धाश्रम पठाउने कुरा गर्छे, तर माइतमा आएर दाजुभाउजूलाई दोष दिन्छे। यो द्वैध चरित्र नेपाली समाजमा व्यापक रूपमा पाइन्छ, र लेखकले यसलाई कुशलतापूर्वक उजागर गरेका छन्।
३. संवादको शक्ति र प्रभाव
कथाका संवादहरू छोटा तर प्रभावशाली छन्।
“यी दाजुभाउजू साह्रै बिकामे भए। बाआमाको फिटिक्क वास्ता छैन!” यो संवाद समाजमा देखिने सामान्य आरोपप्रत्यारोपको प्रतिबिम्ब हो।
“अब त अति भइसक्यो आमा, हामी त वृद्धाश्रमतिर लगेर…!”– यसले छोरीको स्वार्थी चरित्र देखाउँछ।
“भयो छोरी, पुग्यो। अब यहाँभन्दा बढ्ता नबोल…” -यो संवाद बुबाको परिपक्वता र गहिरो अन्तर्दृष्टि दर्शाउने सबैभन्दा महत्त्वपूर्ण अंश हो।
४. कथाको केन्द्रबिन्दु
कथाले “कर्तव्य” भन्ने शब्दलाई मूलभाव बनाएको छ। छोरी अरूलाई दोष लगाउन माहिर छे, तर ऊ आफैंले गरेको व्यवहार के हो? बुबाको अन्तिम संवाद नै कथाको मूल सन्देश हो- पहिला आफैं सही बाटोमा लाग, अनि मात्र अरूलाई दोष देऊ।
५. समाजमा कथाको प्रभाव
कथाले समाजका दुई प्रकारका मानिस देखाउँछ-
- क) स्वार्थी सन्तान- जो आफ्ना बाआमाको सेवा गर्न चाहँदैनन्, तर अरूलाई दोष दिन्छन्।
- ख) परिपक्व अभिभावक- जसले जीवनका अनुभवबाट वास्तविकता बुझेका हुन्छन्।
बुबाले बोलेका संवादहरू एउटा मार्गदर्शन हुन्। समाजमा वृद्धहरू उपेक्षित भइरहेका छन्, र छोरीको पात्रले त्यो यथार्थ देखाउँछ। नेपाली समाजमा माइती पक्षप्रतिको भावना प्रबल हुन्छ, तर नैतिकता भने अक्सर स्वार्थमा हराउँछ।
६. साहित्यिक मूल्य
- क) शैली- सरल तर प्रभावशाली छ।
- ख) संवादप्रधानता- कथा मुख्य रूपमा संवादहरूबाट नै अगाडि बढ्छ, जसले यसलाई जीवन्त बनाएको छ।
- ग) मौलिकता- कथाले नेपालकै परिवेशलाई प्रतिबिम्बित गर्छ, जुन यसको सबल पक्ष हो।
७. समापन विचार
“कर्तव्य” कथा छोटो भए पनि यसको प्रभाव गहिरो छ। यसले नेपाली समाजमा रहेको पुस्तागत अन्तर, जिम्मेवारीको दोहोरो मापदण्ड र नैतिकताको प्रश्नलाई उठाएर पाठकलाई सोच्न बाध्य बनाउँछ। छोरीको स्वार्थी चरित्रलाई उजागर गर्दै बुबाको संवादमार्फत लेखकले सशक्त सामाजिक सन्देश दिन सफल भएका छन्। यो कथा नीतिकथा झैं चोटिलो छ, जसले पाठकलाई आत्मविश्लेषण गर्न प्रेरित गर्छ।
८. निष्कर्ष
“कर्तव्य” लघुकथा नेपाली समाजमा नैतिकता, परिवारभित्रको सम्बन्ध र जिम्मेवारीको गहिराइलाई दर्शाउने उत्कृष्ट कथा हो। लेखकले प्रभावशाली संवादमार्फत स्वार्थ, पाखण्ड र कर्तव्यबोधको द्वन्द्वलाई कुशल रूपमा प्रस्तुत गरेका छन्।
उत्तर लघुकथा: कर्तव्यको साक्षी
✒ नन्दलाल आचार्य
– “बुबा, हजुरको कुरा ठीकै होला, तर…”
छोरीले शब्द तानेझैं गरी भनिन्, तर बाले शान्त भावमा उनलाई रोक्दै भने,
– “तर के छोरी? कर्तव्य भनेको केवल शब्द होइन, यो अनुभूत गरिने सत्य हो।”
छोरी केहीबेर मौन रहिन्। आँगनमा बाले अलि अघि खनेको गहिरो सोते परेको खाल्डो देखिन्थ्यो। त्यसैको छेउमा पहेँलिँदै गरेको बोटको पात हावाले हल्लिरहेको थियो।
– “छोरी, तिमीले लगाइदिएको चप्पल मेरा खुट्टामा छ, मिठो खाना पेटमा छ, तर मन कहाँ छ, सोच्यौ?”
छोरीले लाजले आँखा झुकाइन्, “सधैं आफूलाई मात्र ठीक ठानेर अरूलाई दोष दिनु मेरो कदम गलत थियो।”
बाले फेरि पुरानै कुरामा मलजल गरे,
– “उमेरले बुढ्यौली दिन्छ, तर कर्तव्यले जीवन दिन्छ। अरूलाई न्याय गर्नुभन्दा पहिले आफ्नै मनको अदालतमा आफैंलाई उभ्याऊ।”
छोरीका आँखा रसाए। उनलाई आफ्नै शब्दहरूको वजन महसुस भयो।
– “हजुर ठीकै हुनुहुन्छ, बुबा। अबदेखि मेरो पहिलो कर्तव्य आफ्नै ससुरा बा-सासूआमाप्रति हुनेछ।”
❃❃❃
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।