काठमाडौं | नेपाल स्रष्टा समाजले रेखा-पवन स्रष्टा सम्मान वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने भएको छ।
नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमितिको फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।
रु. १ लाख १ सय ११ रुपैयाँ नगद राशि र सम्मानपत्रसहितको उक्त सम्मान नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता, गीति क्षेत्रमा रिजालले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै अर्पण गर्न लागिएको समाजले जनाएको छ। नेपाली साहित्यको श्रीवृद्धिमा लागिपरेका, ६० वर्ष उमेर पुगेका, र उत्कृष्ट रूपमा लेखनीलाई निरन्तरता दिइरहेका स्रष्टामध्येबाट उक्त स्रष्टा सम्मान अर्पण गर्न थालिएको पनि विज्ञप्तिमा जनाइएको छ।
रेखा-पवन स्रष्टा सम्मानका लागि यस पटक वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको संयोजकत्वमा नाम सिफारिस समिति गठन गरी समितिले सिफारिस गरेको नामलाई नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमिति बैठकले अनुमोदन गरेको अध्यक्ष ‘रोदन’द्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।
वरिष्ठ साहित्यकार पवन आलोक तथा उहाँकी धर्मपत्नी रेखा कँडेलको नाममा उहाँका छोरीहरू बिमला कँडेल थापा, रिता कँडेल बस्नेत, अनिता कँडेल, छोरा सुनिल कँडेल र बुहारी माला कटुवाल कँडेलले समेत यो सम्मानका लागि अक्षयकोष व्यवस्था गरिदिएका समाजका प्रचार समितिका संयोजक प्रदीप सापकोटाले जानकारी दिए।
आगामी फागुन २४ गते काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सम्मान समर्पण गरिने बताइएको छ।


