काठमाडौँको चिसो साँझ। मधुरो उज्यालोमा डुबेको ग्वार्खु। सहरको भीडभाडमा एउटा सानो चिया पसल, जहाँ विद्यार्थीहरू राजनीतिक बहसमा थिए, प्रेमीहरू एकअर्काका हात समातेर गफिँदै थिए, र कोही एक्लै कप हातमा समाएर अतीतका यादमा हराइरहेका थिए।
सन्तोष त्यहीँ बसिरहेको थियो, एउटा पुरानो नोटबुक खोलेर, जसमा छरपस्ट अक्षरहरू भरिएका थिए। ऊ लेखक बन्न चाहन्थ्यो तर कथाको कुनै सुरुवात भेट्न सकेको थिएन।
त्यसैबेला…
“यहाँ कोही बस्न मिल्छ?” एक कोमल आवाज आयो। ऊ अलि अकमकियो। अगाडि रुपा थिई। सादा नीलो कुर्ता, निधारमा सानो रातो टीका, कपाल खुला छोडिएको र आँखामा अचम्मको चमक भएको।
“मिल्छ… बस्नुस्।”
रुपाले कफी अर्डर गरी अनि आफ्नो झोला टेबलमा राख्दै सोधी, “तपाईं लेखक हुनुहुन्छ?” सन्तोष अलिक बेर हाँस्यो। “लेख्ने चाहिँ गर्छु तर लेखक बन्न सकेको छैन।” “ए… के लेख्दै हुनुहुन्थ्यो?” “थाहा छैन… प्रेमकथा लेख्न मन थियो तर मसँग कुनै कथा नै छैन।” रुपा मुस्कुराई। “कहिलेकाहीँ, आफ्नै कथा लेख्दा राम्रो हुन्छ।” सन्तोषलाई थाहा थिएन, यही एक वाक्यले उसको जीवनमा एउटा नयाँ अध्यायको सुरुवात गर्दै थियो।
ग्वार्खुको चिया पसलमा भएको पहिलो भेट सहज र अनौठो थियो। रुपाले भनेको कुरा सन्तोषको मनमा गड्यो – “कहिलेकाहीँ, आफ्नै कथा लेख्दा राम्रो हुन्छ।” त्यो रात, सन्तोष पहिलो पटक आफ्नो डायरीको खाली पानामा रुपाको नाम लेख्दै थियो।
त्यस दिनपछि उनीहरू फेसबुकमा जोडिए। रुपाले सन्तोषका पुराना लेखहरू पढ्न थाली, प्रतिक्रिया दिन थाली। उनीहरूको च्याट लामो हुँदै गयो – चिया पसलको भेटघाट आखिर लञ्चमा परिणत हुन थाल्यो।
“तिमीलाई लेख्न किन यति धेरै मन पर्छ?” रुपाले सोधी, जब उनीहरू बसुन्धराको एउटा पार्कमा गफ गरिरहेका थिए। सन्तोष – “शब्दमा जीवन देख्छु म। कहिलेकाहीँ शब्दले महसुस गराउने कुराहरू वास्तविकताले गराउँदैन।” “तर कहिलेकाहीँ, वास्तविकता शब्दभन्दा सुन्दर पनि त हुन्छ नि, है?” रुपाले मुस्काउँदै भनिन्। सन्तोष बोल्न सकेन। उसले रुपालाई हेर्यो – ती चम्किला आँखा, जुन कुनै न कुनै कथा बताइरहेझैँ लाग्थ्यो।
एक दिन रुपाले एउटा पुरानो किताब सन्तोषलाई दिइन् – “द लास्ट लेटर” “यो किताबमा एउटा पात्र छ, जसको प्रेम कहिल्यै पूरा हुँदैन। तर उसले अन्तिम चिठी लेख्छ। तिमी पनि कुनै दिन यस्तो चिठी लेख्न सक्छौ?” सन्तोष अलमलियो।
“किन यस्तो प्रश्न?”
“बस्! सोध्न मन लाग्यो।”
सन्तोषले त्यो किताब बोक्यो तर रुपाले दिएको सङ्केत बुझेन। उनीहरूको भेटघाट बढ्दै गयो। कलेज सकिएपछि उनीहरू ग्वार्खुको गुण सिनेमा हलमा सँगै फिल्म हेर्थे, पार्कमा घण्टौँ कुरा गर्थे तर ‘प्रेम’ भन्ने शब्द कहिल्यै बोलेनन्। तर… एक दिन, जब वर्षाले सहरलाई भिजाइरहेको थियो, रुपाले सन्तोषको हात समाइन्। “तिमीलाई थाहा छ, सन्तोष? कहिलेकाहीँ, मानिसले प्रेमको कुरा गर्नभन्दा महसुस गराउन धेरै मन पराउँछ।” त्यो दिन सन्तोषले पहिलो पटक महसुस गर्यो – रुपा सधैँभन्दा फरक देखिएकी थिई र ऊ सधैँभन्दा धेरै खुसी भएकी थिई।
रुपाको हातको स्पर्श सन्तोषका लागि अचम्मकै अनुभव थियो। त्यो कुनै संयोग मात्र थियो कि रुपाले आफूलाई नजिक ल्याउने सङ्केत दिएकी थिइन्? सन्तोषले हल्का मुस्कान सहित सोध्यो – “तिमीले भन्यौ, कहिलेकाहीँ मानिसले प्रेमको कुरा गर्नेभन्दा महसुस गराउन मन पराउँछ। के तिमी यही भन्न खोजेकी थियौ?” रुपा केही नबोली हात छोडिन्। “होइन… यो प्रश्न तिमीले मलाई अहिले सोध्नुपर्ने कुरा होइन।”
सन्तोष – “त कहिले सोध्नु?”
रुपा – “जब तिमी आफैँ बुझ्ने छौँ।”
सन्तोष मुस्कुरायो। उसले बुझ्न त चाहेको थियो तर अझै उसलाई स्पष्ट थिएन। प्रेम कि भ्रम?
समय बित्दै गयो। सन्तोष र रुपा अझ नजिकिन थाले। उनीहरू सधैँ सँगै रहन्थे, सिनेमा हलमा, चिया पसलमा, बागबजारका गल्लीहरूमा हिँड्दै। सन्तोषले कहिल्यै सोचेन कि उसले रुपालाई ‘म प्रेम गर्छु’ भन्ने शब्दहरू बोल्नुपर्नेछ। किनभने यो प्रेम थियो या थिएन, उसलाई नै थाहा थिएन।
तर एक दिन रुपाले केही यस्तो गरिन्, जसले सन्तोषलाई झस्कायो।
उनीहरू बसुन्धराको कफी सपमा बसेका थिए। अचानक रुपाले सन्तोषको डायरी मागिन्। “तिमी सधैँ लेख्छौ; आज म तिमीलाई केही लेखेर दिन्छु।” उनले सन्तोषको डायरी खोलिन् र केही लेखिन्। अनि त्यो डायरी बन्द गरी सन्तोषतिर फर्केर मुस्काइन्।
“आज यो नखोल। जब तिमी सबैथोक बुझ्न र आफूलाई सम्हाल्न तयार हुनेछौ, तब मात्रै खोल्नु।”
त्यस दिनदेखि, रुपा अलि पर जस्तो हुन थालिन्। सन्तोषलाई मेसेज गर्न छाडिन्। पहिले जस्तो खुलेर बोल्न पनि छाडिन्।
सन्तोष घरमा बा बिरामी भएर घर गएको थियो। झन्डै एक महिना ऊ घरकै काममा व्यस्त भयो। यस बीच यी दुवैको एकफेर पनि कुरा भएन। एक महिनापछि सन्तोष फर्कियो र एक दिन आराम गर्यो।
अर्को दिन सन्तोषले त्यो डायरी खोल्ने निर्णय गर्यो। उसले डायरीको त्यो पाना पल्टायो। “सन्तोष, म तिमीलाई प्रेम गर्छु। तर कहिलेकाहीँ माया लुकाउनु नै उत्तम हुन्छ। यदि तिमीले मलाई कहिल्यै बुझ्न सक्यौ भने मलाई फर्केर खोज्नु।”
सन्तोष ती शब्दहरू पढेर एकाग्र कतै टोलाइरह्यो र सोच्न थाल्यो – म अब रुपालाई खोज्न जाऊँ कि आफ्ना भावना मनमै थुनेर राखूँ।
त्यस रात, सन्तोषले अन्तिम पटक रुपालाई म्यासेज गर्यो – “अब कसैलाई नसुनाइदेऊ प्रिय, कुनै दिन सम्बन्ध थियो – प्रेममा थियौँ। बिछोडको पनि आफ्नै इज्जत हुन्छ, हामी बाटोमा भेटियौँ। बाटोमै छुट्टियौँ।”
त्यसपछि सन्तोषले रुपाको नम्बर हटायो अनि आफ्नो डायरीको अन्तिम पाना बन्द गर्यो।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।