लघुकथा सूची
१. लघुकथा: हिस्स बुढी..! ➥ रचना शर्मा
२. लघुकथा: कोडीको पाउ ➥ दिनेश निरौला
३. लघुकथा: संस्कार ➥ प्रेम पुन मगर
१. लघुकथा: हिस्स बुढी..!
✒ रचना शर्मा
“काम छैन काज छैन, खानी बेलामा लाज छैन! कुकुरजस्तै दिनभर हरायो, रात पर्नासाथ ठाडो घाँटी लाएर घर पस्छ!” स्वास्नी कराई।
अब कराउने पालो लोग्नेको।
“तँलाई मात्रै के काम! दिनभर गाउँ डुल्छेस्, तिललाई पहाड बनाउँछेस्, लोग्नेका कुरा काट्न सिपालु छेस्! आफ्नै आङको भैंसी देख्दिनस्, अर्काको आङको जुम्रा खोज्दै हिँड्छेस्!”
दुबैको चर्काचर्की चल्यो। स्वास्नीले साडीको सप्को कम्मरमा कसेर भनिन्, “बाह्र सत्ताईस कुरा नगर! म डुलेर, निमेक गरेर कमाउँछु भने पो बालबच्चा पालिन्छन्! तेरो पारा हेर्दा, जस्तो आफू उस्तै च्यापु!”
स्वास्नीको चर्को आवाज छिमेकीहरूका कानसम्म पुग्यो। उनीहरू झगडा छुट्याउन आए। प्रेमबहादुरले लोग्नेलाई हप्काए, “बिग्रेको घरको भत्केको चाला! के बेइज्जत गरेको?”
निर्मलाले स्वास्नीलाई सम्झाइन्, “तिमी त बुझक्की लाग्थ्यौ, आज त औकात देखायौ! घरको कुरा यसरी सडकमा निकाल्ने? हग्नेलाई भन्दा देख्नेलाई लाज!”
छिमेकीहरूको कुरा सुनेपछि लोग्नेले सम्हालिएर भन्यो, “तपाईंहरूलाई हाम्रो निजी मामिलामा किन चासो? थाहा छैन— ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’!”
❀❀❀
[ लघुटिप्पणी ]
➧ रचना शर्माको ‘हिस्स बुढी..!’ लघुकथाको परिक्रमा
✒ नन्दलाल आचार्य
रचना शर्माको लघुकथा “हिस्स बुढी……!” ले नेपाली समाजको एक यथार्थपरक चित्रण गरेको छ। यसमा घरेलु कलह, सामाजिक हस्तक्षेप र लैंगिक भूमिकाका विविध आयामहरू प्रस्ट पारिएका छन्। कथा छोटो छ, तर संवादप्रधान भएकाले पात्रहरूको स्वभाव, मानसिकता र पारिवारिक संघर्षलाई जीवन्त रूपमा चित्रण गर्न सफल भएको छ।
१. संवादको प्रभाव र यथार्थ चित्रण
कथाको सम्पूर्ण ताना-बाना संवादमै आधारित छ। संवादहरू कडा, चोटिला र समाजका दिनचर्या झल्काउने किसिमका छन्। घरेलु झगडामा प्रयोग गरिने अपशब्द र आरोप-प्रत्यारोपहरू निकै यथार्थपरक छन्। स्वास्नीको “काम छैन काज छैन, खानी बेलामा लाज छैन!” भन्ने वाक्यले लोग्नेको बेकामे व्यवहार उजागर गर्छ। लोग्नेको “आफ्नै आङको भैंसी देख्दिनस्, अर्काको आङको जुम्रा खोज्दै हिँड्छेस्!” भन्ने भनाइले समाजमा महिलामाथि लाग्ने आरोप र उनीहरूकै आचरण माथि प्रश्न उठाउने परम्परालाई उजागर गर्छ।
२. लैंगिक असमानता र महिलाको सङ्घर्ष
कथामा महिलाको श्रमको स्वीकार्यता, पुरुषको निष्क्रियता र समाजको महिलामाथि हुने दोहोरो दृष्टिकोणलाई उजागर गरिएको छ। स्वास्नी दिनभर काम गरेर परिवार पाल्छे, तर लोग्नेले त्यसको कदर गर्दैन, उल्टै गाली गर्छ। यो हाम्रो समाजमा व्याप्त पितृसत्तात्मक मानसिकताको प्रतिबिम्ब हो, जहाँ महिलाको श्रमलाई दोहोरो मापदण्डमा तौलिन्छ।
३. सामाजिक हस्तक्षेप र समाजको परम्परागत सोच
कथामा छिमेकीहरू झैँ समाजले घरेलु मामिलामा हस्तक्षेप गर्ने तर समाधानभन्दा लाजकै पक्षपोषण गर्ने प्रवृत्तिलाई देखाइएको छ। प्रेमबहादुर र निर्मलाले घरभित्रको कलहलाई सार्वजनिक गर्नु गलत हो भन्ने बुझाइ राख्छन्। “हग्नेलाई भन्दा देख्नेलाई लाज!” भन्ने भनाइ नेपाली समाजमा महिलामाथि हुने अनावश्यक दबाबलाई प्रस्ट पार्छ। समाज घरेलु हिंसालाई सामान्यीकरण गर्छ, तर सार्वजनिक रूपमा छलफल हुनु भने असह्य ठान्छ।
४. पुरुष अहंकार र आत्मसम्मानको द्वन्द्व
कथामा लोग्नेको चरित्र स्वाभिमानीभन्दा पनि अहंकारी देखिन्छ। जब छिमेकीहरूले हस्तक्षेप गर्छन्, उसले आफ्नो कुरा फिर्ता लिन खोज्छ। “तपाईंहरूलाई हाम्रो निजी मामिलामा किन चासो?” भन्ने उसको भनाइले पुरुषहरू समाजको हस्तक्षेपलाई अपमान ठान्ने तर महिलालाई सहजै अपहेलना गर्ने मानसिकतालाई उजागर गर्छ।
५. कथाको संरचना र कलात्मकता
कथाले झगडाको मध्यबिन्दुबाट सुरुआत गर्छ, जसले चाँडै पाठकलाई कथाको मूल विषयमा डोऱ्याउँछ। छोटा संवादहरू कथालाई चुस्त बनाउँछन्। घटनाको उत्कर्ष छिमेकीहरूको हस्तक्षेपमा देखिन्छ, जसले समाजको सोचाइलाई उजागर गर्छ।
६. अन्त्यको प्रभावकारिता
“लोग्ने स्वास्नीको झगडा परालको आगो” भन्ने अन्तिम वाक्य घरेलु झगडाको क्षणिकता दर्शाउने लोकप्रिय भनाइ हो। तर यसले घरेलु हिंसा वा असमानताको गहिरो समस्यालाई सामान्यीकृत गर्ने सम्भावना पनि देखाउँछ। यस्तो भनाइले महिला उत्पीडनलाई पनि सामान्य ठान्न सक्ने खतरा रहन्छ।
७. निष्कर्ष
“हिस्स बुढी……!” कथा छोटो भए पनि सामाजिक यथार्थतर्फ तीव्र चोट गर्ने खालको छ। यसले लैंगिक भूमिकाको द्वन्द्व, समाजको दोहोरो मापदण्ड र घरेलु कलहलाई कलात्मक रूपमा उजागर गरेको छ। कथाले पुरुष अहंकार, महिलाको संघर्ष र समाजको सोचाइलाई सजीव ढंगले प्रस्तुत गरेको छ। यद्यपि, अन्त्यमा घरेलु हिंसालाई सामान्यीकृत गर्नुको साटो महिलाको श्रम र संघर्षलाई अझ सशक्त रूपमा प्रस्तुत गर्न सकिने सम्भावना रहेको देखिन्छ।
❀❀❀
उत्तर लघुकथा: गाली पचाउनुस् !
✒ नन्दलाल आचार्य
“भात पकाउनु छैन, घर सम्हाल्नु छैन! दिनभर मुख टम्म पारेर बस्ने, रात पर्नासाथ गफ हाँक्ने!” स्वास्नीले भात थालमा बजार्दै थरथराइन्।
अब लोग्नेको पालो।
“तँ पो के कम! बिहान चिया पसल, दिउँसो छिमेकीको ओछ्यान! तँलाई घरजमको चिन्ता छ कि हल्लाको?”
स्वास्नीले मुख खुम्च्याइन्, “गाली गरेर केही हुन्छ? कमाएर देखा, म केही भन्दिनँ!”
छिमेकीहरू भित्तैपारिको झ्यालबाट सुन्दै थिए। बूढो लालबहादुरले टोपी मिलाउँदै भन्यो, “गाली पचाउन नजान्ने मान्छेले परिवार चलाउन सक्छ र?”
लोग्नेले आँखा जुधायो, स्वास्नीले आँसु पुछिन्। केही क्षण मौनता छायो। अनि लोग्नेले फिस्स हाँस्दै भन्यो, “बुढी, गालि खाए पनि पचाउनु पर्छ, नत्र घरको भित्तै गल्छ!”
❅❅❅
२. लघुकथा: कोडीको पाउ
✒ दिनेश निरौला
“मौकामा हिरा फोड्नु, बेमौकामा कौडी नछोड्नु” रमेशजीले घोषणा गरे, “आजको इन्धन, लजिङ-फुडिङ लगायत सबै खर्च म बेहोर्ने भएँ।” झोलेहरूले पररर ताली बजाए।
“उल्फाको धन, फुपुको श्राद्धे” कसैले चार-पाँच पटकसम्म गाडीमा तेल भरे, कसैले एक हप्ताको दारु र सितन जगेडा गरे। आजका लागि अपुग केही थिएन।
कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। “माटोको भर ढुंगा, ढुंगाको भर माटो” नेताले मुस्कुराउँदै भने, “गुनको बदला गुन तिरौंला, काम परेको बेला सम्झनु।” अनि उनी आफ्नो बाटो लागे।
रमेशजीले जम्मा खर्च हिसाब जोडे पन्ध्र लाख सकिएछ! श्रीमतीतर्फ फर्केर मुस्कुराउँदै भने, “मानो रोप्नु पर्छ, मुरी फलाउन” पन्ध्र लाख लगानी गरेँ, अब पन्ध्र करोडको फाँटको मुद्दामा मेरो जीत पक्का छ!
यो बार्ता चुपचाप सुन्दै गरेको उनका एक मात्र छोराले निराश हुँदै भन्यो “गाई मारेर गधा पोस्नु भो!” आफ्ना भाइहरूलाई अंश नदिन यो “कोडीको पाउ मोल्नु भो?” म आजैदेखि यो घरमा बस्दिनँ!
०००
चिसंखुगढी १, ओखलढुंगा
हाल- विराटनगर एयरपोर्ट
❀❀❀
[ लघुटिप्पणी ]
➧ दिनेश निरौलाको ‘कोडीको पाउ’ लघुकथाको परिक्रमा
✒ नन्दलाल आचार्य
दिनेश निरौलाद्वारा लिखित ‘कोडीको पाउ’ एउटा प्रभावशाली सामाजिक व्यंग्य हो, जसले शक्तिको दुरुपयोग, पारिवारिक स्वार्थ र आर्थिक अनैतिकताको यथार्थ चित्रण गर्छ। कथा छोटो छ, तर यसको चोटिला संवाद, जनश्रुति र नीतिवचनको प्रयोग र सामाजिक यथार्थबोधले यसलाई गहिरो अर्थ राख्ने बनाएको छ।
१. कथाको सार र यसको यथार्थपरकता
कथाको मुख्य पात्र रमेशजी हुन्, जो लोभ, स्वार्थ र राजनीतिक चलाखीको प्रतिनिधित्व गर्छन्। उनले राजनीतिक महफिल जमाउन पन्ध्र लाख खर्च गर्छन्, जुन स्वार्थपूर्तिको लगानी मात्र हो। ‘गुनको बदला गुन तिरौंला’ भन्ने नेताको अभिव्यक्तिले स्पष्ट संकेत गर्छ कि उनीहरू परस्पर फाइदा उठाउने खेलाडी मात्र हुन्।
कथाले एकातर्फ सामाजिक विडम्बनाको यथार्थ खोतल्छ भने अर्कातर्फ पारिवारिक विखण्डनको संकेत गर्छ। रमेशजीको छोराले ‘गाई मारेर गधा पोस्नु भो’ भनेर आफ्नो असन्तोष व्यक्त गर्दा कथा चरम उत्कर्षमा पुग्छ। छोरोको विद्रोहले पुरानो पुस्ता र नयाँ पुस्ताबीचको मूल्यबोधको अन्तर स्पष्ट पार्छ।
२. भाषिक सौन्दर्य र प्रभाव
कथामा प्रचलित उखान, टुक्का, र जनश्रुतिहरूको प्रयोग अत्यन्त प्रभावशाली छ। उदाहरणका लागि-
“मौकामा हिरा फोड्नु, बेमौकामा कौडी नछोड्नु” अवसरवादी मानसिकताको प्रतीक।
“उल्फाको धन, फुपुको श्राद्धे” अनैतिक रूपमा सङ्कलित सम्पत्तिको भड्किलो उपयोगलाई दर्शाउने उखान।
“मानो रोप्नु पर्छ, मुरी फलाउन” स्वार्थपूर्ण लगानीको औचित्य पुष्टि गर्ने पात्रको मानसिकता।
“गाई मारेर गधा पोस्नु भो” गलत प्राथमिकता र अनैतिकताको विरोध गर्दै युवा पुस्ताको असन्तोष।
यी उखानहरूको प्रयोगले कथालाई गहिरो व्यंग्यात्मक बनाएको छ। पात्रहरूले बोलेका संवादहरू चोटिला र छोटकरीमै गहिरो अर्थ राख्ने छन्।
३. सामाजिक सन्देश र व्यंग्यको शक्ति
कथाले विभिन्न कोणबाट समाजको दुरावस्था चित्रण गरेको छ:
क)राजनीतिक अवसरवादिता-:
- रमेशजीले ‘पन्ध्र करोड’ जित्ने आशामा ‘पन्ध्र लाख’ खर्च गरेका छन्, जुन भ्रष्ट राजनीतिक प्रवृत्तिको स्पष्ट उदाहरण हो।
ख) पारिवारिक स्वार्थ-:
- रमेशजी आफ्नै भाइहरूलाई अंश नदिने षड्यन्त्र गर्छन्, जसले नेपाली समाजमा वंशानुगत सम्पत्तिको विषयमा देखिने विवाद र लोभलाई दर्शाउँछ।
ग) युवा पुस्ताको विद्रोह-:
- छोराले आफ्नै परिवारको स्वार्थी व्यवहार देखेर विद्रोह गर्दै घर छोड्छ, जुन परम्परागत मूल्यविन्यासको विरोध र नयाँ पुस्ताको स्वतन्त्र सोचको सङ्केत हो।
४. अन्त्यको शक्ति र सम्भावित अर्थहरू
छोराको असन्तोषपूर्ण विद्रोह कथाको सबैभन्दा बलियो पक्ष हो। ‘कौडीको पाउ मोल्नु भो?’ भन्ने प्रश्नसँगै छोरो घर छोड्छ, जुन पारिवारिक विखण्डनको सङ्केत मात्र नभई मूल्यहीन सम्पत्तिप्रतिको विमुखताको प्रतीक पनि हो।
यस अन्त्यलाई फरक तरिकाले व्याख्या गर्न सकिन्छ- न्याय र नैतिकताको विजय- छोरो आफ्नो बाबुको अनैतिक धन्दालाई अस्वीकार गर्दै स्वतन्त्र जीवन रोज्छ।
पारिवारिक टुटफुटको परिणाम- स्वार्थी निर्णयहरूले परिवारलाई कमजोर बनाउँछन्।
पुरानो र नयाँ पुस्ताबीचको द्वन्द्व- रमेशजी जस्ता पात्रहरू सत्तालाई साधन बनाउँछन्, जबकि छोरो सत्यको पक्षमा उभिन्छ।
५. समग्र मूल्यांकन
‘कोडीको पाउ’ एक उत्कृष्ट लघुकथा हो, जसले सानो कथानकभित्र गहिरो सामाजिक यथार्थ उधिन्छ। कथाको सबैभन्दा बलियो पक्ष भनेको-
क) चोटिला संवाद र उखानहरूको सटीक प्रयोग।
ख) पात्रहरूको चरित्रचित्रणमा रहेको यथार्थपरकता।
ग) राजनीतिक भ्रष्टाचार, पारिवारिक लोभ, र पुस्ताबीचको द्वन्द्वलाई कलात्मक रूपमा उजागर गर्ने शैली।
तर, कथा अझ प्रभावशाली हुन केही सुधार गर्न सकिन्छ-
अ) छोराको चरित्रलाई थोरै विस्तृत बनाउन सकिन्थ्यो- उसले बुबासँग थप संवाद गर्दा चरित्रको गहिराइ अझ खुल्न सक्थ्यो।
आ) नेताको भूमिका अझ स्पष्ट पार्न सकिन्थ्यो- उनी रमेशजीलाई कसरी फाइदा उठाउने मनस्थितिमा छन् भन्ने थप खुलाउन सकिन्थ्यो।
६. निष्कर्ष
‘कोडीको पाउ’ सामाजिक यथार्थ चित्रण गर्ने सशक्त लघुकथा हो। सशक्त व्यंग्य, चोटिला संवाद र सन्देशमूलक अन्त्यका कारण यो कथाले पाठकलाई सोच्न बाध्य पार्छ। कथाले देखाएको पारिवारिक स्वार्थ, राजनीतिक अवसरवाद र नयाँ पुस्ताको विद्रोह नेपाली समाजको तीतो यथार्थ हो।
सामाजिक यथार्थ खोतल्ने, व्यंग्य गर्ने र चोटिलो प्रभाव पार्ने लघुकथाका रूपमा ‘कौडीको पाउ’ सफल छ।
❀❀❀
उत्तर लघुकथा: मोलको मूल्य
✒ नन्दलाल आचार्य
“बाँदरको हातमा नरिवल नपरून्!” माधवले भर्खरै एक ठूलाे ठेक्का जितेपछि आफन्तहरूसँग खुसी बाँड्दै भने। “आज भोज माफ, तामझामको कमी हुँदैन!”
सबै रमाए। कसैले खानपिनको व्यवस्था मिलाए, कसैले गाडी भरिने गरी महँगो रक्सी जुटाए। त्यो रात भोजले सहर ततायो।
कार्यक्रम सकिएपछि माधवले हिसाब गरे, बीस लाख सकिएछ! श्रीमतीतर्फ फर्केर मुस्कुराउँदै भने, “खरायोको सुत्केरी, बाघको न्हुर्की” केही लगानी गर्नैपर्छ, तब मात्र लाखौँ उठ्छ!
छेउमा चुपचाप बसेका छोरा बोल्यो, “कौडीको मोल सुनले तिर्ने?” नहुनु धन, बोक्सीको निम्तो! म अब यो घरमा बस्दिनँ!
छोरो ढोकाबाट बाहिरियो। माधव झसङ्ग भए।
❅❅❅
३. लघुकथा: संस्कार
✒ प्रेम पुन मगर
“बाँदरको हातमा नरिवल! बित्यासै पारेछन् नि हाम्रा भान्जाले!”
दाजु रामबहादुर मुर्मुरिएको देखेर सँगै चिया पिइरहेका श्यामबहादुरले सोधे,
“के भयो दाजु?”
रामबहादुरले लामो सास फेरेर भने,
“पेट भर्ने दाना छैन, के जातिमा लाउने तेल! हेर न, भान्जाको जिद्दी! विदेशमा मजदुरी गरेर बाँकी खर्च जुटाउनै मुस्किल छ। त्यसमाथि ऋण गरेर किनिदिएको बाइक चकनाचुर बनाए। गण्यमान्य, उनी केही भएनन्!”
श्यामबहादुरले गम्भीर हुँदै भने,
“सोच्दा एकदमै दुःख लाग्छ। भान्जाभान्जीलाई सही संस्कारको कमि पक्कै भयो। आफैँ दश फेल, अनि भान्जीले पनि त अस्ति मास्टर्स गर्दै गरेकी साथी बिरुद्ध निकै तीतो ओकलिन्।”
चियाको चुस्की लिँदै उनले थपे,
“नमच्चिने पीङको सय झड्का!”
०००
ढोरपाटन -४, बागलुङ (हाल पोखरा)
❀❀❀
[ लघुटिप्पणी ]
➧ प्रेम पुन मगरको ‘संस्कार’ लघुकथाले परिक्रमा
✒ नन्दलाल आचार्य
शिष्ट लघुकथा लेख्ने प्रेम पुन मगर समकालीन लघुकथा लेख्ने पुस्तामा परिचित नाम हो। पारिवारिक वातावरण र नोकरी परिवेशलाई उनका कथाले विशेष गरेर छोएका हुन्छन्।
१. विषयवस्तु र कथ्यशैली
प्रेम पुन मगरको लघुकथा संस्कार सामाजिक यथार्थ झल्काउने एउटा चोटिलो प्रस्तुति हो। कथाले समकालीन नेपाली समाजमा देखिएको आर्थिक कठिनाइ, पारिवारिक सम्बन्ध र पुस्तान्तर संस्कारको टकरावलाई उजागर गर्छ। मुख्य पात्र रामबहादुरको गुनासोले आधुनिक पुस्ताको व्यवहार र मूल्यबोधमाथि प्रश्न उठाएको छ। कथा छोटो भए पनि यसले पाठकलाई गहिरो सोच्न बाध्य बनाउने प्रभाव छ।
२. पात्रहरू र संवाद
कथामा रामबहादुर र श्यामबहादुर गरी दुई मुख्य पात्र छन्। संवाद शैली नै कथाको मेरुदण्ड बनेको छ। पात्रहरूले बोलेका संवादहरूमा जीवन्तता छ, जसले नेपाली समाजमा चलिरहेको पुस्ता संघर्षलाई स्पष्ट चित्रण गर्छ। रामबहादुरको संवाद ‘बाँदरको हातमा नरिवल!’ भन्ने उक्ति नै कथाको मूल सन्देश सङ्केत गर्ने बलियो सुरुवात हो। यसले पात्रको भावनात्मक आक्रोशलाई व्यक्त गर्छ।
श्यामबहादुरको ‘नमच्चिने पीङको सय झड्का’ भन्ने संवादले परिस्थिति बिग्रनुमा लामो समयदेखि ध्यान नदिइएको संस्कारगत कमजोरीको संकेत गर्छ। यस्ता उखानहरूले कथालाई स्थानीय रंग दिने मात्र होइन, कथाको वजन बढाउने काम गर्छन्।
३. कथाको सामाजिक सन्दर्भ
कथाले नेपाली समाजमा विद्यमान संस्कार र अनुशासनको क्षयीकरणको संकेत गर्दछ। विशेषगरी, कथाले श्रम गरेर कमाएको धनको मूल्य नबुझ्ने नयाँ पुस्ता र तिनलाई सही मार्ग निर्देशन गर्न नसक्ने अभिभावकहरूको मनोदशा देखाउँछ। विदेशबाट कमाइ पठाउने पुस्ताको संघर्ष, ऋणको भार, र नालायक सन्तानको निराशाजनक गतिविधि- यी सबै कथाभित्र गहिरो रूपमा प्रतिध्वनित छन्।
त्यस्तै, ‘आफैं दश फेल, अनि भान्जीले पनि मास्टर्स गर्दै गरेकी साथी बिरुद्ध निकै तीतो ओकलिन्’ भन्ने संवादले शिक्षा मात्र पर्याप्त नभएर सही संस्कारको आवश्यकता रहेको कुरामा जोड दिन्छ। शिक्षित भएर पनि नैतिकता र मूल्यमान्यता कमजोर हुनु भनेको संस्कारको संकट हो भन्ने कथाले देखाउन खोज्छ।
४. भाषाशैली र प्रस्तुति:
कथामा सरल, तर प्रभावशाली भाषा प्रयोग गरिएको छ। उखानटुक्काको प्रयोगले कथालाई लोभलाग्दो बनाएको छ। तर, अन्त्य अलि बढी प्रस्ट र बलियो हुनसक्थ्यो। कथा चिया पिउने क्रममा वार्तालापकै भरमा अगाडि बढेको छ, जसले यसलाई स्वाभाविक बनाएको छ, तर अन्त्यमा पाठकले ‘अब के हुने?’ भन्ने थप जिज्ञासा राख्न सक्ने ठाउँ पनि छ।
५. निष्कर्ष:
कथा छोटो, तर चोटिलो छ। कथाले नेपाली समाजमा पुस्तान्तर संस्कृतिको द्वन्द्व, अभिभावकहरूको पीडा र अनुशासनहीनताको असरलाई निकै राम्ररी चित्रण गरेको छ। संवाद प्रधान शैली कथालाई सजीव बनाएको छ। कथा अझ प्रभावशाली बनाउन पात्रहरूबीचको भावनात्मक अन्तरद्वन्द्वलाई थप उजागर गर्न सकिन्थ्यो। तथापि, संस्कार एक उत्कृष्ट लघुकथा हो, जसले नेपाली समाजको एक यथार्थ चित्र कोरेको छ।
❀❀❀
उत्तर लघुकथा: संस्कार
✒ नन्दलाल आचार्य
“मकैका घोगा टिप्न थाल्नुपर्यो कि कोइली चिरबिर गर्छ, केटाकेटी पनि त्यस्तै भइहाले!”
रामबहादुरले गह्रौँ सास फेर्दै भने। श्यामबहादुरले कपमा चिया चलाउँदै सोधे,
“के भयो दाजु?”
“छोरोले फेरि दस हजारको फोन पानीमा डुबायो। भर्खरै ऋण तिरेको थिएँ। के थाहा, ऊ त फेरि नयाँको जिद्दी गर्दैछ!”
श्यामबहादुरले निधार खुम्च्याए, “बाबुहरूले हाम्रै व्यवहार सिक्छन्। हामीले अघिल्लो महिना गाडी फेरेका थियौँ, खल्ती च्यातिए पनि!”
रामबहादुरले निलो आकासतिर हेरे, “बच्चालाई मिहिनेत गर्ने संस्कार दिनुपर्छ भनेको हजुरबुबा सम्झिनुहुन्थ्यो।”
श्यामबहादुरले निधार खुम्च्याउँदै कप टेबलमा राखे,
“नमच्चिने पीङको सय झड्का!”
०००
सिद्धार्थटोल, उदयपुर।
❅❅❅
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।