विक्रम संवत् २०८० मङ्सिरतिर हामी शैक्षिक भ्रमणमा गएका थियौँ। सधैँ झैँ कक्षा १० का विद्यार्थीहरूलाई पोखरा लगिएको थियो। नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण भए तापनि पोखराभन्दा मनोरम स्थल अरु कुनै होला र? कम्तीमा मेरो शब्दकोशमा त छैन। जतिसुकै तनाव बोकेको दिमागलाई पनि चङ्गा बनाउने ठाउँ अनि नेपालकै सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य हो पोखरा।
भ्रमण तीन दिनको लागि तय गरिएको थियो; २०८०/०८/१५, १६ र १७ गते। भ्रमणका लागि लत्ताकपडा र अन्य सरसामग्रीहरू तयार गर्नुपर्ने भएकोले अघिल्लो दिन विद्यालयले मध्यान्तरमै बिदा दिएको थियो। सबैजना निकै उत्सुक थियौँ। भोलिपल्ट बिहानको ६ बजेसम्ममा विद्यालय आइपुग्नुपर्ने थियो। अघिल्लो रात मेरा आँखाहरू अनिदा रहे। मेरो मस्तिष्कले पोखराका अनेक आकृतिहरू बनाइरहेका थिए। म फगत बिहान ६ बजेको पर्खाइमा थिएँ। पर्खनु भनेको सबैभन्दा लामो यात्रा गर्नु हो रे। म यात्रा सुरु हुनुअघि नै यात्रा गरिरहेकी थिएँ। पाँच बजेर पैंतालिस मिनेटमा म घरबाट निस्किएँ। स्कुल पुग्दा कक्षाका अन्य पाँचसात जना आइसकेका थिए। कोही तीनै बजे उठिसकेका रहेछन्, कोही सुतेकै रहेनछन् – म जस्तै। बिस्तारै आउनेहरुको लर्को बढ्दै गयो। विद्यार्थीहरु आए र शिक्षकहरुको पनि आगमन भयो। सबैजना जम्मा भयौँ र बिहानको नास्ता गर्न विद्यालय प्राङ्गणमा गयौँ। चियानास्ता गरिसकेर हामी गाडीतर्फ लाग्यौँ। साढे सात बजेतिर यात्राको श्रीगणेश गरियो।
म मलाई सबैभन्दा बढी मन पर्ने गुरुआमासँग बसेकी थिएँ। जो मेरो मनको समीपमा रहेर मलाई जीवन सिकाउनुभयो, जसले मलाई हरपल माया गरिरहनुभयो। जसले मलाई मनुष्य हुनुको उत्तमताबारे बुझाउनुभयो। जसको कारणले म आज म छु र म हुन सक्ने भन्दा थोरै बढी खुसी छु। म मौन भएको बेला मेरो आवाज बनिदिनुभयो। म निराकार भएको बेला मलाई आकार दिनुभयो। आफू आफू जस्तो नलागेको बेला आफू हुनुको सार सिकाउनु भयो। म अपरिभाषित भएको बेला मलाई परिभाषा दिनुभयो। मलाई अपूर्णताको यात्राबाट पूर्णताको यात्रातर्फ लग्नुभयो। जो मलाई चौतारी जस्तै लाग्छ ; जिन्दगीका सम्पूर्ण थकान उहाँकै छेउमा बिसाऊँ जस्तो। मैले उहाँकै सत्सङ्गतले जीवन यात्रा रहेछ भन्ने यथार्थ बुझेँ। उहाँ झ्यालपट्टिको सिटमा बस्नुभएको थियो, म छेउको। यात्रा आफैँमा रमाइलो कुरा हो तर यात्रामा मन पर्ने मान्छे साथमा हुँदा यात्राको बेग्लै मज्जा हुँदो रहेछ। बल्खुहुँदै गाडी गयो। झ्यालबाट अनेक प्राकृतिक सुन्दरताको अवलोकन गर्दै हामी अघि बढ्यौँ। धादिङका खोला, खोलासँगैका ढुङ्गा। खोला हरियो देखिन्थ्यो, ढुङ्गा ठुल्ठुला। गाडीमा केटीहरुले गीत बजाउँदै थिए। कोही गाउँदै थिए, कोही नाँच्दै त कोही चिच्याउँदै। म भने एकोहोरो झ्यालबाहिर हेर्दै प्रकृतिको सुन्दरतामा रमाउँदै थिएँ। म प्रकृतिलाई माया गर्ने प्रकृतिप्रेमी हुँ। प्रकृतिका हरेक भागलाई म उत्तिकै स्नेहसित मुटुमा सँगाल्छु। दिउँसोको एक बजेतिर खाना खान गाडी रोकियो। खानासाना खाइसकेर सबैजना फोटो खिच्न थाले। तल खोला बगिरहेथ्यो, वरपर फूलहरु फुलेका थिए। आहा! कति मनोरम थियो त्यो दृश्य। दिउँसोको तीन बजेतिर हामी गोरखा पुग्यौँ। गोरखा – यो नाम सुन्दा मलाई भिन्नै किसिमको आनन्द आउँछ। नेपाली गजल साहित्यका अत्यन्तै लोकप्रिय गजलकार र मलाई सबैभन्दा बढी मन पर्ने गजलकार एवम् साहित्यकार, प्रदीप रोदन (पाण्डे) गोरखामा बस्नुहुन्छ। उहाँका गजलहरु सुन्दा म निकै आनन्दित हुन्छु। नेपाली गजल साहित्यबाट उहाँको नाम झिक्ने हो भने यो अपूरो रहन्छ। गोरखासम्म पुगेर पनि उहाँलाई भेट्न नपाउनुको पीडाले मलाई आज पनि सताउँछ। त्यो पीडालाई कम गर्न म उहाँका गजलहरु पढिरहन्छु। अरु साथीहरु सङ्ग्रहालय गए, हामी माथि मन्दिर गयौँ। म भर्याङ चढ्दा निकै थाकेकी थिएँ। तर मलाई उहाँले बुझाउनुभएको थियो – जिन्दगीमा थाकेर बस्नु ठिक हो तर हारेर बस्नु बिलकुलै ठिक होइन। त्यसैले मन्दिरबाट फर्किएपछि हामी गोरखा सङ्ग्रहालय गयौँ।
पृथ्वीनारायण शाह नेपाल एकीकरणमा होमिदाका गतिविधिहरुलाई तस्विरमा कैद गरिएका थिए। ऐतिहासिक हातहतियारहरु, त्यतिबेलाका लत्ताकपडाहरु र अन्य आश्चर्यजनक सरसामग्रीहरु हामीले हेर्यौँ। सङ्ग्रहालय पूरै हेरिसकेर तल प्राङ्गणमा फोटो खिच्यौँ। सम्झनाका अलबममा नयाँ तस्विरहरु थपिए। झ्यालबाहिर देखिएका मनोहर दुश्यमा रमाउँदै, हराउँदै हामी अघि बढ्यौँ। अँध्यारो भइसकेको रहेछ। हामी आफ्नै तरङ्गमा केके कुरा गरेर सुस्ताइरहेकै थियौँ। अरू गीत बजाउँदै नाँच्दै थिए। मैले उहाँलाई एउटा प्रश्न गरेँ। उत्तर आएन। फेरि गरेँ, फेरि उत्तर आएन। मैले प्रश्न गरिरहेँ। उहाँले उत्तर दिनुभएन। “आफैँ पत्ता लगाऊ” भनेर मायालु स्वरमा भन्नुभयो। मैले त्यतिपटक प्रश्न त जिन्दगीमा कसैलाई सोधेकी थिइनँ। उहाँले पनि त्यतिपटक एउटै प्रश्न सुनेर सहिरहनुभएको थिएन होला। उहाँले मेरो निधारमा चुम्बन गर्नुभयो। ….त्यो दोस्रो बाजिको चुम्बन थियो। मेरो निधारमा पहिलो चुम्बन पनि उहाँकै थियो। शुद्ध छुवाइले पनि मनका पीडाहरु भाग्ने रहेछन्….। त्यो प्रश्न अझै पनि अनुत्तरित छ। झ्याप्प गाडी रोकियो। दश बजेर पचास मिनेटमा हामी (पोखरा) ड्याम साइडको होटल पुग्यौँ। कोठासोठा हेर्यौँ र को कता बस्ने छलफल गर्यौँ। एघार बजे खाना खायौँ। खाइसकेर हामी कोठातर्फ लाग्यौँ। केटाहरु अर्को बिल्डिङ्मा गए। सबैजना आआफ्ना कोठामा गए तर हल्ला भने अझै सुनिन्थ्यो। हल्ला, ड्याङ्डुङ्, तलमाथि गरेको पाइलाको आवाज – सबै स्पष्ट सुनिन्थ्यो। हामी पनि कहाँ सुतिसकेका थियौँ र! घरि पानी लिन जाने बाहनामा तल जान्थ्यौँ त घरि के। भित्रबाहिर भित्रबाहिर गरिरह्यौँ। मैले कविता सुनाएँ, साथीहरुले रेकर्ड गरेँ। उता केटाहरु फेसबुकमा लाइभ आएका रहेछन्। यता केटीहरु पनि त लाइभ नै थिए।
भ्रमणको दोस्रो दिन अर्थात् २०८०/०८/१६ हामी बिहानको साढे तीन बजे उठ्यौँ। तल गयौँ, मुखसुख धुयौँ, र फेरि माथि आयौँ। त्यतिकैमा अन्य साथीहरु पनि उठिसकेका थिए। लुगासुगा फेर्यौँ र तल प्राङ्गणमा आयौँ। केटाहरु पनि आए। सबैजना आइसकेपछि गाडी निकालियो। चार बजेतिर सराङ्कोट तर्फ लाग्यौँ। अँध्यारै थियो। अनि किन नहुनु? हामी सुर्योदय हेर्न जो जाँदै थियौँ। गाडी तल रोकियो, सराङ्कोटको डाँडासम्म हामी हिँडेरै जानुपर्ने भयो। जीवनमा कति उकाला काटियो होला कति ओराला झरियो होला तर त्यो उकालो काट्दा जतिको रमाइलो अरु कुनै उकालो काट्दा आएन। कारण – मन पर्ने मान्छे साथमा थियो। हामी घरिघरि पूर्वतिर हेर्थ्यौँ। केही दिनअघि मात्र अङ्ग्रेजी विषयमा पोखराको बारेमा पढेका थियौँ। “म्याम अस्ति भर्खर पढेको, प्र्याक्टिकल भयो है” भनेर मैले अङ्ग्रेजी पढाउने म्यामलाई भनेँ। उहाँले जवाफमा भन्नुभयो, “yes!”, करिब पन्ध्र मिनेटको हिँडाइपछि हामी सराङ्कोटको डाँडामा पुग्यौँ। बिस्तारै क्षितिजबाट सूर्योदय भयो। आहा! म त्यो दृश्य कहिल्यैँ बिर्सिन सक्दिनँ। हामीले सामूहिक फोटो खिच्यौँ र तल झर्यौँ। गाडी माथि आइसकेको थियो। गाडी चढ्यौँ र पुनः होटलतर्फ लाग्यौँ। नास्ता गर्ने बेला भयो। ब्रेडअन्डा – यस्तै केही थियो तर मलाई भने सानैदेखि त्यो मन नपर्ने। नास्तापछि फेरि अर्को गन्तव्यतर्फ लम्कियौँ – पुम्दिकोट शिवको मन्दिर, नेपालको दोस्रो ठुलो शिवको मन्दिर। मान्छेहरुको भिड, मानौँ त्यस दिन पूरै जनसङ्ख्या त्यहाँ जम्मा भएका थिए। डमरु त्यति ठुलो थियो कि त्यत्रो ठुलो डमरु त मैले जिन्दगीमा कहिल्यै देखेकी थिइनँ। त्यसपछि विपरीत दिशामा रहेको कुमार पार्वती सुमेरु पर्वत। त्यहाँको मयूरअगाडि फोटो खिच्यौँ। टन्टलापुर घाम लागेको थियो, त्यसमाथि मैले कालो, बाक्लो ज्याकेट लगाएकी थिएँ। ओरालो झरेर शिक्षकहरुले पानी किन्दा स्वर्ग पुगेको अनुभव भयो। मरुभूमिका यात्रीले एक्कासि मरुद्यान भेटे झैँ हामी प्रफुल्ल भयौँ।
यात्राकै क्रममा हामी विश्व शान्ति स्तूप पुग्यौँ। त्यसलाई सेतो गुम्बा पनि भनिँदो रहेछ। त्यस दिन त्यहाँ हजारौँ मानिसहरु आएका थिए। हामीले जुत्ता खोल्यौँ र माथि चढ्यौँ। केही पल सँगै हिँडेकोमा खुसी थियो मेरो जुत्ता पनि, आखिर मन्दिर बाहिरै बस्नुपर्छ जुत्तालाई पनि। स्तूपको परिक्रमा गर्दै फोटो खिच्यौँ। त्यहाँबाट हामी पुनः गाडीतर्फ लाग्यौँ र जुस पियौँ। हामी पाताले छाँगो (डेभिस फल) हेर्न गयौँ। त्यहाँ पनि सामूहिक फोटो खिच्यौँ। समयको चटारो भएकोले छिटोछिटो घुम्नुपर्ने थियो। पाताले छाँगो हेरिसकेर हामी गुप्तेश्वर महादेव गुफा गयौँ। लाइन लामो थियो। गुफा पनि रहस्यमय जस्तै। गुम्म – तातो – हपहपी। सुरुमा त हामी प्रवेश स्थान खोजिरह्यौँ। यता गए उता भन्थे, उता गए एता। जसोतसो अरु मान्छेको पछिपछि लागेर हामी तलसम्म पुग्यौँ। एउटा अचम्मको घटना – गाईको मूर्तिले दुध दिने। दश रुपियाँ हालेपछि गाईले दुध दिने रहेछ। अरुले हालेकाले मैले हालिनँ। हामी तल पुग्दा एकदुई जना शिक्षक र केही विद्यार्थीहरु माथि आउँदै थिए।
“म्याम तल के छ ?” – मैले बिचैमा सोधेँ।
“तलको पानी पाताले छाँगोमा जान्छ” – उहाँले भन्नुभयो।
हामी उहाँसँगै माथि आयौँ। बिचबिचमा फोटो पनि खिच्यौँ। त्यसपछि हामी महेन्द्र गुफातर्फ लाग्यौँ। पत्थर नै पत्थरले भरिपूर्ण, त्यहाँ पनि हामी प्रवेश स्थानको लागि अल्मलियौँ। धेरै अगाडि नजाऊ भन्नुभएकोले हामी भित्रसम्म गएनौँ। बाहिर आयौँ र पुनः गाडी चढ्यौँ।
अब हामी जाँदै थियौँ पोखराको आकर्षणको केन्द्रबिन्दु फेवा ताल। हामी निकै उत्साहित थियौँ। सुषुप्त भएका मेरा शरीरका अङ्गहरुका सम्पूर्ण थकान त्यसैबेला मैले बिर्सन पुगेँ, जब मैले फेवा ताललाई टाढैबाट हाँसिरहेको देखेँ। हामीले सेफ्टी ज्याकेट लगायौँ र डुङ्गा चढ्यौँ। मैले मनमनै तालभित्रको छटालाई इर्ष्या र डाहहरुमा अनुवाद गरेँ। अन्नपूर्ण हिमश्रृंखलाको अवलोकन गर्दै तालमा देखिएको हिमालको छायासँगसँगै बोटिङ गर्दै मनोरञ्जन गर्यौँ। त्यतिखेर मेरा आँखाहरु कस्तो मोहनी मन्त्रको जादूले तीनतीन दृश्य र रङहरुमा कसिएका थिए! तालको बिचमा थियो नेपालको एकमात्र डुङ्गा चढेर दर्शन गरिने मन्दिर – ताल बाराही। डुङ्गाबाट ओर्लिएर सबैजना जम्मा भएर फोटो खिच्यौँ। केहीबेर यताउता घुम्यौँ। फेरि डुङ्गा चढ्यौँ र किनारमा पुग्यौँ। अँध्यारो भइसकेको थियो। हामी सन्ध्या आरती हेर्न थाल्यौँ। सन्ध्या आरती हेर्दा भिन्नै किसिमको आनन्द आउने रहेछ। डुङ्गामाथि चढेर सन्ध्या आरती हेर्दा म कति खुसी थिएँ, भनेर साध्य छैन। केहीबेर आरती हेरेर हामी पोखराको रात्रिकालीन समयमा रमाउँदै गयौँ। उताबाट हल्ला सुनियो, कसैको खुट्टा मर्केको रहेछ। एकछिन आराम गरेर फेरि हिँड्यौँ। राति पनि गर्मी भएकोले सबैले कुल्फी खायौँ। हामी (लेकसाइड) होटल पुग्यौँ। कोठा हेरिसकेपछि बाहिर प्राङ्गणमा सबैजना जम्मा भए। सबैजना आआफ्नै तालमा थिए। कोही गीत गाउँदै, कोही नाँच्दै, कोही वरपर घुम्दै। हामी केटीहरु मिलेर खेल खेल्यौँ। त्यतिखेर मैले मेरा आँखाअगाडि मेरो चन्चले बाल्यकाल देखेँ। फेरि त्यहीँ समयमा पुगेको जस्तो अनुभूति भयो। खाना खाने समय भएको थियो। म लाइनमै हुँदा उहाँ आउनुभयो। मेरो गाला निमोठ्नुभयो। फेरि शुद्ध स्पर्श…।
“मेरो चश्मा देखेकी छौ?” – उहाँले सोध्नुभयो।
“छैन।” – अलि रिसमिश्रित स्वरमा मैले भनेँ।
म उहाँलाई तीस मिनेटदेखि खोजिरहेकी थिएँ। उहाँ भने हामीबिना फेरि लेकसाइडतिर जानुभएको रहेछ। खैर…
खानापछि केहीबेर रमाइलो गरेर हामी पाँचसात जना केटीहरु माथि बार्दलीमा गयौँ। त्यहाँबाट तल दृष्टि लगाइरह्यौँ। कसैको जन्मदिन रहेछ। नाचगान फेरि सुरु भयो। अझै केही समय मनोरञ्जन गरिसकेपछि गुरुहरुले कोठामा जाऊ भन्नुभयो। हामी थाकेको हुनाले मस्त निदायौँ।
भ्रमणको तेस्रो दिन अर्थात २०८०/०८/१७ हामीले बिहानै होटल छोड्यौँ। दुईतीन घण्टाको यात्रापछि खाना खान दमौलीमा गाडी रोकियो। त्यतिबेला मेरो मस्तिष्कमा यो गीत गुन्जिइरहेको थियो – ‘दमौली, हिँड माया मैसँग रमौली’…। खाना खाइसकेपछि फेरि लाग्यौँ, हामी बन्दिपुर पुग्यौँ। त्यहाँको बजार घुमिसकेपछि म्यामले “म तिमीहरुलाई बन्दिपुरको टुँडिखेल लग्छु” भन्नुभयो। मैले पत्याइनँ, उहाँले मजाक गर्नुभएको जस्तो लाग्यो। किनकि टुँडिखेल त काठमाडौँमा मात्र देखेकी थिएँ। एकछिन हिँडेपछि एउटो ठूलो मैदान देखा पर्यो। ‘बन्दिपुर टुँडिखेल’ लेखेको देखेँपछि मात्र पत्यार लाग्यो। केहीबेर घुम्यौँ, फोटो खिच्यौँ र फेरि गाडी चढेर ओरालो झर्यौँ। प्रचण्ड गर्मी थियो। किताबमा पढेकी थिएँ, अनि सुनेकी पनि थिएँ, पोखरामा धेरै पानी पर्छ भनेर तर हाम्रो त्यो बसाइँमा एकचोटि पनि पानी नपरेकोले हुनुपर्ने जति मज्जा भएन। बिचबिचमा गाडी रोकिन्थ्यो। दिनभरि यात्रा गरेर रातिको करिब आठ बजेतिर हामी त्रिपुरेश्वर चोक आइपुग्यौँ र आआफ्ना घरतर्फ लाग्यौँ। यसरी यात्राको इतिश्री भयो।
प्रिय पोखरा ! हाम्रो त्यो बसाइँमा तिमीले पाहुना सम्झेर जुन माया र खुसी दियौ, त्यसले मलाई जीवनभरिका लागि समृद्ध बनायो। मैले अहिलेसम्म चहारेका कुनै पनि भू-भागमा त्यस्तो आत्मीयता र सुखानुभूति पाएको थिइनँ। तिम्रो सम्झना मेरो मनमस्तिष्कमा बारम्बार आइरहन्छ, एक अमूल्य क्षणका रूपमा। तिम्रा ती सुन्दर बिहानीहरू, शान्त साँझहरू, र ताजगी दिने हावाले मलाई नयाँ ऊर्जाले भरिदिएको छ। फेवातालमा डुङ्गा चलाउँदै गर्दा, माछापुच्छ्रे हिमालको छायामा हराउँदा, मैले प्रकृतिको अनन्त सुन्दरतामा हराउने अवसर पाएँ। तिम्रा ती यादगार दिनहरूलाई सम्झेर म सधैँ प्रेरित हुनेछु। तिम्रो त्यो अद्भुत सौन्दर्य र आत्मीयता म सधैँ हृदयमा राख्नेछु। पोखरा, तिमी केवल एक ठाउँ मात्र होइन, तिमी त एउटा अनुभव हौ, जसले मेरो हृदयमा गहिरो छाप छोडेको छ। तिम्रो त्यो माया र आतिथ्यको अनुभव म कहिल्यै बिर्सने छैन। प्रिय पोखरा! मलाई यतिखेर तिम्रो असाध्य न्यास्रो लागिरहेको छ।
०००
त्रिपुरेश्वर, काठमाडौं
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।