विश्व कविता दिवस २१ मार्चका दिन मनाइन्छ। संयुक्त राष्ट्र संघको शिक्षा, विज्ञान र संस्कृति संगठन (UNESCO) ले सन् १९९९ देखि विश्व कविता दिवस (World Poetry Day) मनाउने निर्णय गर्यो। त्यसैको परिणामस्वरूप २१ मार्चका दिन विश्व कविता दिवस मनाइँदै आइएको छ। युनेस्कोले विश्व कविता दिवस मनाउनु पर्नाको कारण यसरी उल्लेख गरेको छ— ‘भाषिक विविधतालाई कविताको माध्यमबाट समृद्ध बनाउनका लागि प्रत्येक वर्ष विश्व कविता दिवस मनाउन परेको हो।’ यसको उद्देश्य ‘विश्वभर कविता पढ्ने, लेख्ने, प्रकाशित गर्ने, सिकाउने संस्कृतिको विकास गर्ने’ पनि हो। विश्व कविता दिवस मनाउने घोषणा गर्दा युनेस्कोले भनेको थियो— ‘काव्य अभियानको ताजा पहिचान र योगदान अभिवृद्धि गरी राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा कविताको व्यापक प्रसार गर्नु विश्व कविता दिवसको मुख्य अभिप्राय हो।’
यसअघि पनि कतिपय देशमा काव्य दिवस भनेर अक्टोबरमा मनाइने प्रचलन थियो। रोमन कवि भर्जिलको जन्मदिन १५ अक्टोबरमा कतिपय देशमा काव्य दिवस मनाइन्थ्यो। बेलायतले अक्टोबरको पहिलो बिहीवारलाई ‘काव्य दिवस’ मनाउने गर्थ्यो।
पेन इन्टरनेशनल (PEN International) को प्रस्ताव अनुसार संयुक्त राष्ट्र संघको युनेस्कोले ‘विश्व कविता दिवस’ मार्च २१ मा मनाउने घोषणा गरेपछि अहिले विश्वभर यो दिवस विशेष रूपमा मनाउँदै आइएको छ।
विश्व कविता दिवस २०२५ को नारा— ‘शान्ति र समावेशिताका लागि पुलको रूपमा कविता’ (Poetry as a Bridge for Peace and Inclusion) रहेको छ।
उपरोक्त जानकारीसहित हामी सम्पूर्ण ‘हाम्रो कथा घर डट कम’ परिवारको तर्फबाट सबै कविता प्रेमीहरूमा सन् २०२५ को विश्व कविता दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
हाम्रो कथा घर संरक्षक – डा. दामोदर पुडासैनी ‘किशोर’


