काठमाडौं। सुनकोसी वाङ्मय प्रतिष्ठानले कविता वाचन कार्यक्रम आयोजना गरी विश्व कविता दिवस मनायो।
कवि विमल भौकाजीको प्रमुख आतिथ्यतामा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कविता वाचन गरियो।
उक्त कार्यक्रममा कवि विमल भौकाजी, छविरमण सिलवाल, हरिष कल्पित, सुमन सौरभ, प्रदीप सापकोटा, तारा के.सी., प्रेम थापा, गंगा खतिवडा, शशीश्री आचार्यलगायतले आ-आफ्ना रचनाहरू सुनाए।
वाचित रचनाहरू समसामयिक विकृति र विसंगतिविरुद्ध व्यंग्य चेतनासहित प्रेम, सद्भाव र भावनात्मक विषयहरूमा केन्द्रित थिए।
कार्यक्रमका प्रमुख अतिथि कवि विमल भौकाजीले लेखेर लेखिने सबै कुरा कविता नहुने भन्दै मनका भाव प्रकट गर्ने उपयुक्त माध्यम कविता भएको बताए।
प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कार्यक्रमको अध्यक्षता गर्दै प्रतिष्ठान र यसको गतिविधिबारे जानकारी गराउँदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे।
महासचिव प्रदीप सापकोटाले सञ्चालन गरेको उक्त कविता वाचन कार्यक्रममा इखवर नेटका प्रबन्ध निर्देशक बसन्तराज नकर्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको मिडिया सहयोगी इखवर नेट रहेको थियो।


