सरला जीवनको पन्ध्रौं वसन्त पार गरेर सोह्रौं वसन्तमा पाइला टेकेकी मात्र थिइन्। आमा अकालमै बितेपछि बुवाले सौतेनी आमा ल्याए। त्यसपछि भने सरलाका दुःखका दिन सुरु भए। कक्षा आठमा फेल भएपछि घरबाट उनको स्कुल जाने बाटै थुनियो। अब घरमै चुला–चौका सम्हाल्नु, दुई सौतेनी भाइहरूको रेखदेख गर्नु, घाँस, दाउरा, पानी, पँधेरोमै सरलाका दिनहरू बित्न थाले।
सानैदेखि मोटी, खाइलाग्दो जिउँडालकी थिइन् सरला। त्यही ज्यान देखेर सौतेनी आमालाई ईर्ष्या लाग्थ्यो। किशोरावस्था र बैँसको गतिले पाइला लम्काउँदै गर्दा सरलाको शरीर झन् आकर्षक हुन थाल्यो। उनका स्तनहरू अरु किशोरीहरूका भन्दा निकै ठूला थिए। हुन त उनको जिउँडाल पनि निकै मोटो नै थियो।
“हेर! यो घरमा खाइमतो लागेर, यसको जिउँडाल बङ्गुरको जस्तो भएको! स्तन पनि के भएर यति फुलेका होलान्? ब्याउने आइमाइकाझैँ! कामको भने केही ढङ्ग छैन, आँखामा छारो हाल्ने बाहेक केही जान्दिन,” सौतेनी आमाको यस्ता गाली त दैनिकजस्तै भइसकेको थियो।
“एउटा ठिटो आए त अहिल्यै टाँसो लगाएर पठाउँथे यो आमाटोक्वाइलाई! कति पाल्नु घरमा?”
सौतेनी आमाका यस्ता तिखा वचनले वाक्क भएकी सरला मनमनै भन्थिन्,
“किन सौतेनी आमाले मलाई यति धेरै गाली गर्छिन्? बरु जड्याहा भए पनि बुवाले यति गाली गरेका त छैनन्। के म तरुनी हुनु, मोटी हुनु, मेरा स्तन फुलेर बेलुनजस्ता हुनु मेरो गल्ती हो र? मेरा उमेरमा त यी सौतेनी आमा पनि म जस्तै तरुनी हुनुहुन्थ्यो होला नि, किन त्योचाहिँ बिर्सनुभयो? किन उहाँ मलाई चाँडै बिहे गराउन हतारिएकी? आखिर म त भर्खरै सोह्र वर्षमा लागेकी मात्र त छु। के म साँच्चै परिवारको लागि बोझ भएकी हुँ त?”
उनीभित्र गुम्सिरहेका यस्ता अनगिन्ती प्रश्नहरूको जवाफ भने सरला आफैंसँग थिएनन्।
जड्याहा बाउलाई घरको खासै मतलब थिएन। सौतेनी भाइहरू साना थिए। सौतेनी आमाको टोकसोबारे सरलाले कोसँग दुखेसो पोखून्?
जड्याहा बाउलाई नानाभाँति कुरा लगाएर उक्साउँदै सौतेनी आमाले सरलाको विवाह गरिदिन राजी बनाएको चाल त उनले पाएकी थिइन्। पच्चीस नाघेको, पहिलो घरबार बिग्रेको केटो रमेशसँग चार गेडा अक्षता निधारमा टाँसेर उसैसँग टाँसो लगाएर पठाइदिए जड्याहा बाउ र सौतेनी आमाले।
सरलालाई रमेश हेर्दा कताकता के-के नमिलेकोजस्तो लाग्थ्यो। तैपनि घरमा सौतेनी आमाको कुरा काट्न सक्ने सामर्थ्य कसको पो थियो र?
“रमेश भन्दा त हाम्रो गाउँको भक्ते सिर्कमीको छोरा माने कति ह्याण्डसम! कति चिटिक्क परेको जिउँडाल! अहो, मोराले मलाई पँधेरामा खुब कड्के नजरले हेर्थ्यो,”
सरला मनमनै सम्झिन्थिन्।
“तर के गर्नु? भाग्यमा त यो मान्छेको अवतार नै नपरेकोजस्तो, रुपरङ्ग नमिलेको रमेश लेखिएको रै’छ। अरूको बारेमा सोच्नु पनि व्यर्थ रै’छ, अब यही नै मेरो जीवनको नियति होला,”
भनेर मन बुझाइन् सरलाले।
विवाहको रात रमेश जब सरलाको कोठामा आएर संगै बस्यो, सरला तर्सिइन्। रमेशको स्पर्शले कताकता सरलामा डर पैदा भयो।
तर डराएर पनि के गर्नु? आखिर आफ्नै परिवारले रमेशसँग टाँसो लगाएर पठाएको थियो।
त्यही रात रमेश बिस्तारै सरलाको नजिक आएर सोध्यो,
“सरला, तिम्रा स्तन किन यति बिग्न ठूला? मेरो पहिलेकी स्वास्नी कोपिलाका त यति ठूला थिएनन्। पछि मैले आफ्नै हातले मुसार्थें, अनि अलि ठूला भए। के गर्नु मोरी, म विदेश भएको बेला पल्लो गाउँको जगतेसित पोइला गइछ। क्या मज्जा कि थिई! जिउ त मज्जाले मुसार्न दिन्थी। तर सरला, तिम्रा त स्तन पनि यति ठूला भएर झोलिएझैं लाग्छ, झोलुङ्गे पुलजस्तै लर्थक्क हलिन्छन्—क्यै राम्रो देखिन्न। कि तिम्रा स्तनमा पहिल्यै कसैले हात लगाइसकेको हो र यति ठूला भएका?”
सरला मौन थिइन्। रमेशका प्रत्येक शब्दले सरलामा लाज, घृणा, र रिस उब्जाएको थियो।
‘कोपिला’—उसको पहिलेको स्वास्नीको नाम रहेछ। ऊ विदेश हुँदा अर्कैसित पोइला गएकी रहिछ भन्ने कुरा सरलाले पहिलो पटक रमेशकै मुखबाट सुनेकी थिइन्।
आफ्नो स्तनबारे उसले खुलेआम बोलेको सुन्दा सरलालाई निकै लाज लागेको थियो। पहिलो भेटमै रमेशले आफू माथि जुन शंका प्रकट गर्यो—जसरी आफूलाई चरित्रहीनको रूपमा चित्रित गर्न खोज्यो—त्यसले सरलाको मनमा उसप्रति भित्रैदेखि घृणा उत्पन्न गराएको थियो।
“आफ्नो चरित्रमाथि शंका गर्ने त्यो जिब्रो नै थुतिदिऊँजस्तो रिस उठ्यो!”
सरला मनमनै भनिरहेकी थिइन्,
“मेरो चरित्रमाथि शंका गर्ने तँ भने विदेशमा हुँदा चोखो रहिस् होला र?”
तर ती शब्दहरू केवल मनमै सीमित रहे, उनको मुख भने बन्द नै थियो।
सरलाको मौनता देखेर रमेश हाँस्दै भन्यो,
“आजै मैले यस्तो कुरा गरे भनेर तिमी रिसाएकी हौली हैन सरला,” भन्दै रमेशले उनलाई जबरजस्ती अंगालो हाल्यो।
फेरि जिस्किँदै थप्यो,
“जिउडाल पनि के साह्रो—मोटी हात्ती जस्ती! सायद मोटी भएर नै स्तन यति फुलेका होलान्, है? आजकल त सिलिमको जमाना छ, सरला! सिलिम केटी नै च्वाख हुन्छन् क्या! मोटीसँग त खासै फिलिङ्स नै आउँदैन।”
सरलालाई रमेशप्रति यति धेरै घृणा र आक्रोश जागेको थियो कि उनी नचाहेर पनि आफ्नो रिस काबुमा राख्न बाध्य थिइन्।
तर त्यो भन्दा पनि उसले आफ्नो शरीर र चरित्रलाई जसरी गिज्यायो—त्यो सरलालाई असह्य भएको थियो। उसले आफूलाई वस्तुजस्तो मूल्याङ्कन गर्यो, घिनलाग्दो ढंगले हेर्यो—यही सोच्दा सरलाको मन एकदमै चिसो, कठोर हुँदै गयो।
सरलाले मनमनै भनिन्,
“जसले मेरो शरीरप्रति यति घृणा गर्छ, उसले के मलाई साँच्चै माया गर्ला? जीवनभर साथ देला? कतै उसले मेरो शरीर भोग्न मात्रै विवाहको नाटक त गरेको हैन? फेरि आफूचाहिँ कति न राम्रो—जस्तो कि विश्वकै सबैभन्दा सुन्दर मानिस हो। केहि पनि नमिलेको जिउँडाल! छ्या! फेरि घिनलाग्दो व्यवहार पनि।”
“अरूको शरीर मन नपरे नछुनु नि! के गिज्याउन आएको? लोग्नेको अधिकार जमाउन खोजेको होला।”
रमेशलाई सरलाको शरीर मन परेन भनेर के भयो?
उसले जसोजसो भन्यो, सरला त्यसै त्यसै लम्पसार परिन्—त्यो उनको बाध्यता बनिसकेको थियो।
समाजको नजरमा, स्वास्नी भएको नाताले उनी ‘उसकी’ भइसकेकी थिइन्।
सरलाले नचाहे पनि उसले जस्तो चाह्यो, जसरी चाह्यो—छुने, भोग्ने, उपयोग गर्ने ‘अधिकार’ रमेशले पाएको ठानिन्थ्यो।
नारीको सहमति या असहमतिको अर्थ कहाँ खोजिन्थ्यो र समाजमा।
स्वास्नी भन्ने एउटा सम्बन्ध गाँसिएको भरमा, उसले सरलामाथि पूर्ण स्वामित्व राख्ने लाइसेन्स पाएको हो भन्ने सोच जो छँदै थियो समाजमा।
रमेश लामो समय विदेश बसेको। विदेशी ‘रासलीला’ र इन्टरनेटका अश्लील दृश्यहरूको नशामा डुबेको थियो ऊ। मोबाइलमा पनि खाली यस्तै सामग्रीहरू हेर्थ्यो—र सरला नदेखेझैँ गर्थिन्।
तर उसले चाहन्थ्यो केवल एउटा कुरा—सरलालाई, आफ्नो इच्छा र शैलीमा, आफ्नो शरीरको मनोरञ्जनका लागि प्रयोग गर्न।
उसको नजरमा “लोग्ने हुनु” भनेको “स्वास्नीको शरीर भोग्न पाउने अधिकार” मात्र थियो।
“लोग्ने हुनुको कर्तव्य के हो?”—यो प्रश्न उसले कहिल्यै बुझ्न चाहेन, न त बुझ्नै जरुरी ठान्यो।
सिर्फ सोह्र वर्षको कलिलो उमेरमा, सौतेनी आमाको टोकसोका कारण बालविवाहको बन्धनमा बाँधिएकी सरला—
अहिले रमेशको लागि केवल एक शरीर मात्र थिइन्, जसलाई उसले आफ्नो सुविधा अनुसार भोग्न सक्छ।
उसले जसरी सक्यो, जतिसम्म सक्यो—सरलालाई भोग्यो।
जब कलिलो त्यो खाउखाउ, लाउलाउ भन्ने बेलामा सरला एउटी छोरीकी आमा बनिन्। पहिल्यै सबैले “ठूला” भनेर गिज्याएका उनका स्तन झनै ठूला भए—झन्डै लत्रिन लागेझैं देखिन्थे। तर ती स्तनबाट त अमृतका धारा बग्थे। अरूलाई मन नपरे पनि के भयो र? ती नै त सरलाकी छोरीको प्राण धान्ने आधार बनेका थिए।
उसै त सरला पहिले देखिनै रमेशलाई मन परेकी थिइनन्। आमा बनेपछि त परिवर्तित सरलामा रमेशको चाह झनझन घट्दै गयो। हुन त सरलाको शरीरलाई उसले कहिले पाे मायाले हेरेको थियो र—केवल स्वार्थ पूर्ति गर्न र बोग्न बाहेक। त्यसपछि त रमेशको परस्त्रीप्रति पहिले देखिकै लत झनै बढ्न थाल्यो।
यसै क्रममा एउटी ब्युटी पार्लरकी केटी, रोजीसँग रमेशको हिमचिम बढ्न थाल्यो। रमेश र रोजीको सम्बन्धबारे गाउँभरि हल्ला फैलियो। “रमेशलाई त तरुनी च्याट्ट परेकी स्वास्नी चाहिएको रैछ,” भन्ने कुरा चल्न थाल्यो।
“उमेरले सानी भएर के गर्नु त? त्यो मोटी, फर्सीजस्ती अनि घिरौलाजस्ता झुण्डिएका स्तन भएकी घरकी स्वास्नी सरला रमेशलाई के मन पर्थी र? मोरोले विदेशमा कस्ता-कस्ता तरुनी देखेर आको होला नि! घरमा त फर्सीजस्ती प्यात्त परेकी स्वास्नी—के मन पराओस् त रमेशले?” पहिलेकी स्वास्नी चटक्क मिलेकी थिई, के गर्नु त—विदेशमा हुँदा मोरीले आफ्नो बैँस सम्हाल्नै सकिन। यस्तै टिकाटिप्पणी उनीहरूबारे गाउँभरि चलिरह्यो।
ए सरला! तेरो लोग्नेले त सौता ल्यायो नि — ब्युटीपार्लरवाली सुन्दरी रोजी। चिटिक्क परेकी तरुनी, सधैँ लिपिस्टिक र पाउडर लगाएर बस्ने, हिरोइनजस्ती। गाउँलेहरूले सरलालाई त्यो कुरा सुनाइदिए। तर किन हो कुन्नि, त्यस कुरामा सरलालाई न चिन्ता लाग्यो, न कुनै वास्ता नै गरिन् । किनभने सरलालाई रमेश कहिल्यै आफ्नो सुख–दुखमा साथ दिने जीवनसाथी जस्तो लागेन।
सरलाको उमेर अपरिपक्व भए पनि उनलाई थाहा थियो—रमेशले उनलाई कहिल्यै मनदेखि माया गरेको छैन। विवाहकै दिन आफ्नो शरीरलाई लिएर गिज्याएको र उनको चरित्रमाथि शंका गरेको कुराले सरला रमेशप्रति अति घृणा गर्न थालेकी थिइन्। उनको मनमा रमेशप्रति नमिठो भावना बसेको थियो। रमेशलाई लोग्ने हुनुको अधिकार भोग्न मात्रै थाहा थियो—भोग्यो, सकियो। गर्भवती बनायो, आफ्नो पुरुषधर्म सकियो भन्ने मात्र बुझ्यो उसले।
अत्तरकै झोलमा डुबुल्की मारेकीझैँ देखिने त्यो ब्युटीपार्लरवाली स्वास्नी रोजीलाई रमेशले सौता बनाएर ल्याएकोमा सरलालाई कुनै गुनासो थिएन। किनकि सरलाको मनले भन्थ्यो—रमेश समाजलाई देखाउनकै लागि बनेको लोग्ने नाउँको प्राणी मात्र हो। रमेशका लागि पनि सरला आफुले चाहेको अप्सराजस्ती रूपवती स्वास्नी थिइनन्। बाध्यताले सरला उसको स्वास्नी बनिदिएकी थिइन्।
अब त रमेशका लागि—उसले भने अनुसार लम्पसार पर्न सक्ने—ब्युटीपार्लरवाली सुन्दरी स्वास्नी थिइ रोजी। रातदिन श्रृङ्गार गरेर बस्ने, आफूले चाहेजस्ती स्वास्नी पाएर रमेश मख्ख थियो। उसलाई लाग्थ्यो—रोजी सबै कुरामा निपुण छे। तर, रमेशका लागि रोजीका स्तन भने निकै नरमाइलो लागे रे। गुच्चाजस्ता साना लागेर उसलाई “फिलिङ्स” मा कमी महसुस भएछ।
त्यसैले त रमेश बजारमा गएर छाती उचो पार्ने महँगा महँगा भित्री वस्त्र किनेर ल्याउँथ्यो। छातीलाई चाहेजस्तो बनाउन ब्रेस्ट पिट जेलसमेत ल्याउँथ्यो र आफ्नो ब्युटीपार्लरवाली स्वास्नीको छाती उचो बनाउन सहयोग गर्थ्यो।
प्राकृतिक रूपमा ठूला स्तन भएकी स्वास्नी उसलाई झोलुङ्गे पुलजस्ती झोलिएकी भइ। अब मेकअपले शरीर पोतेर मात्र बस्ने, आफूलाई मन परेकी स्वास्नी पाएपछि त, कृत्रिम रूपमा स्तन जति उचो पारे पनि, जता जे गरे पनि पुग्ने रैछ रमेशलाई। आखिर उसलाई त भावना बुझ्ने स्वास्नीभन्दा, कृत्रिम श्रृङ्गारमा सजिएकी स्वास्नी पो चाहिएको रैछ।
आखिर, स्वास्नी भनेको खेलौना मात्र हो—जसरी भए पनि शरीर न्यानो पार्ने साधन मात्र हो, स्वास्नी त! भन्ने निच सोचाइ भएको रमेशलाई। साँच्चै जीवनसाथी र मायाको अर्थ के पत्तो थियो र? उसको रासलिलाले मात्र भरिएको दिमागले यति मात्र बुझ्थ्यो—स्वास्नी केवल तृप्तिको लागि हो, जुन चाहेको बेला जसरी नि उपभोग गर्न सकियोस्, र मन नलागे पैतालाले थिचिइरहन पाइयोस्।
तर अब सरला चुप लागेर बस्ने पक्षमा थिइनन्। उनले बुझेसकेकी थिइन्—आफ्नो मौनता नै अत्याचारलाई बढावा दिने माध्यम हो। अब उनी रमेशजस्तो स्वार्थी र संवेदनहीन मान्छेको छायाँ भएर बाँकी जीवन बिताउन चाहन्नथिन्। उनी आफ्नी छोरीका लागि एउटा यस्तो संसार बनाउने सपना देख्न थालिन्—जहाँ नारीलाई उसले लगाएको श्रृङ्गारले होइन, उसले बोक्ने आत्मबलले चिनिने होस्। सरलाको आँखामा अब आँसु होइन, आँधी देखिन्थ्यो—परिवर्तन ल्याउने आँधी।
सरला अब रमेशको नजरमा जे जस्ती भएनी, रमेशबाट जति नै तिरस्कृत भएनी अब आफैंलाई परिवर्तन गर्ने अठोट गर्छिन्। उनी अब रमेशकी स्वास्नी मात्र नभएर एउटी आमा पनि थिइन्—उज्यालो भविष्यको सपना देखाउने आमाको आँखा, जस्को आँशु अब कम्जोरीको प्रतीक होइन, साहसको पानी बनिसकेको थियो।
अब उनलाई रमेशसँगको सम्बन्धमा बाँधिएको “स्वास्नी” भन्ने सानो शब्दको कुनै लोभ थिएन। उनलाई ‘स्वास्नी’ होइन, ‘स्वतन्त्र नारी’ बन्नु थियो—जसले आफ्नी छोरीलाई पनि आत्मसम्मान र आत्मबलको पाठ सिकाउन सकून्। समाजले जुन सौन्दर्यको मापदण्ड बनायो, सरला त्यसको विरोध गर्न आतुर थिइन्। उनले आफ्नै शरीर, आफ्नै छायाँलाई पहिलो पटक माया गर्न सिकेकी थिइन्।
“म मेरो जिउँडाल हुँ, मेरो अनुभव हुँ, मेरो पीडा हुँ, र त्यो पीडाबाट फक्रिएको चेत हुँ,” उनले भित्रैदेखि महसुस गरिन्।
उनी अब रमेशको सहमति खोजिरहनु पर्ने अवस्थाबाट बाहिर निस्किइन्। अब उनले आफ्नी छोरीका लागि नयाँ बाटो बनाउनु थियो—जहाँ कुनै पनि छोरी मान्छेले आफ्नो शरीरको आकारका कारण गिज्याइन नपरोस्, न त कहिल्यै उसलाई केवल मनोरञ्जनको साधनको रूपमा हेरियोस्।
सरलाले पहिलो पटक आफूलाई सम्झाइन्—
“म एउटी नारी हुँ। म बोल्न सक्छु। म निर्णय गर्न सक्छु। र म परिवर्तन ल्याउन सक्छु।”
त्यो साँझ, चुलोचौकामा हात चलाउँदै गर्दा उनले आफ्नी छोरीको सुतिरहेको निश्चल मुहार हेरेर बिस्तारै मुस्काइन्।
भित्र कतै एक दृढ स्वर गुञ्जियो—
“अब मेरो यात्रा शुरू हुन्छ। अब म बाँच्नेछु, रमेशको ‘स्वास्नी’ भएर होइन, आफू भएर। मेरी छोरीको आमा भएर”
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।