Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

गजल श्रृङ्खला – 17

जेष्ठ १७, २०८२

मुक्तक श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » यात्राका प्रेमिल तरङ्गहरूभित्रका केही तरङ्ग

यात्राका प्रेमिल तरङ्गहरूभित्रका केही तरङ्ग

पुस्तक चर्चा - समालाेचना
प्रा. डा. गार्गी शर्माप्रा. डा. गार्गी शर्माअशोज ३०, २०८१133 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

प्रस्तुति

‘आफन्तका अनुहार’ भित्र–भित्रै रुमल्लिँदै आँखाको खोजीमा लागेर अपारदर्शी मान्छे–भित्रको ‘आलोकित आयाम’ लिएर यात्रामा हिँडेका दामोदर पुडासैनी यात्राका प्रेमिल तरङ्गहरूमा तरङ्गिदै स्वदेश भित्रिन्छन्, पाठकहरूलाई सोली भरिभरि कोसेली राखिदिएका छन्, सोली खोल्नुपर्छ पोल्टोमा अटाई नअटाई कोसेली पाइन्छ ।

“यात्राका प्रेमिल तरङ्गहरू” साहित्यकार पुडासैनीको पाँचौँ कृतिमा पनि यो गद्य साहित्यको अथवा यात्रा संस्मरण साहित्यको प्रथम कृति हो । उनले एक महिना लगाएर केही पश्चिमा देशहरूको भ्रमण गर्दाको विस्तृत यात्रासंस्मरणको यो कृतिले नेपाली यात्रा साहित्य भण्डारमा गहकिलो उपहार प्रदान गरिएको छ । त्यसैले समालोचक कुमारप्रसाद कोइराला भन्दछन्—
‘दामोदरले यात्रामा देश लिएर गएका छन् र फर्कदा विदेश बोकेर आएका छन् ।’
तर यसको अर्थ उनले विदेशमा देश छोडेर आएका छैनन् बरु कतिपय विदेशीलाई नेपाल चिनाएका छन् नेपालीको केही आनीबानीको परिचय दिएर आएका छन् । अनि आफ्ना पाठकहरूलाई आफू पुगेको ठाउँ, आफूले देखेका दृश्यहरू, कलाकृतिहरू, आफूले सुनेका र भोगेका अनुभवहरू सर्लक्कै राखिदिएका छन् । २०६२ फागनु १८ गतेदेखि सुरु गरिएको यात्राको फन्को २०६२ चैत १७ गते पूरा भएको छ र सोही एक महिनाको फन्कोलाई विहङ्गम दृष्टि दिने प्रयास यहाँ मैले गरेकी छु ।
यात्राका प्रेमिल तरङ्गहरू भित्रको

तरङ्ग – १ लेखकको राष्ट्रप्रेम

दामोदर पुडासैनीको एक हातमा प्रशासनिक साँचो छ, ठाउँ–ठाउँको हिसाब किताब बहीखाता अनुशीलन गर्छन् जाँचप्रताल गर्दछन् अनि अर्को हातमा कलम छ जीवन र जगतको खोजी गर्छन्, टिपोट गर्छन् र पाठक सामु राखिदिन्छन् । यस प्रक्रियामा एक हातको साँचोले अर्को हातको कलमलाई अन्य कलमले साँचोलाई सहयोग गरिरहन्छन्, लेखापरीक्षक र साहित्यकार पुडासैनी सँगसँगै हिडिरहेछन् । हामी हिँड्दा बाटोमा धुलो उड्छ, पैताला खिइन्छ तर उनी हिँड्दा त्यही धुलोबाट नवनव सीर्जना हुन्छ; पैतला खिइन्न बरु सिर्जनालाई ऊर्जा मिल्छ । हामी रुँदा आँसु झर्छ, कवि रुँदा काव्य बन्छ । हामीमध्ये कतिपय विदेश पस्दा देश बिर्सन्छन्, आफूलाई बिर्सन्छन् तर पुडासैनी विदेश पस्दा आफ्नो भूमिलाई आफ्नो भूगोललाई मनभरि राखेका हुन्छन् र विदेशमा जहाँ जे देख्छन् त्यही अनुरूपको आफ्नो देश सम्झन्छन्, कतै हिमश्रृङ्खला देख्दा सगरमाथा सम्झन्छन्, हिउ देख्दा गोसाइकुण्ड अथवा यस्तै यस्तै सम्झन्छन् । ब्रसेल्समा सन् १८१५ जुलाइमा वाटरलुमा भएको भीषण युद्धमा मारिएका असंख्य सैनिकहरूको स्मृतिमा एउटा ढिस्कोमा गर्जनै लागेको भीमकाय सिंहको मूर्ति शान्ति र पुनस्थापनाको प्रतीकका रूपमा राखिएको देखेर उनी पनि मनमनै प्रार्थना गर्दछन्
“हाम्रो देशमा पनि शान्ति र पुनःस्थापना देऊ (पृ. ११७) ।”
जहाँ जहाँ राम्रो परिवेश देख्छन् सोही अनुरूप आफ्नो देशमा पनि होस् भन्ने चाहन्छन् । अमेरिकामा स्वतन्त्रताकी देवीको मूर्ति (विश्वका सप्त आश्चर्य मध्ये एक) को अगाडि उभिँदा उनले आफू पनि जातिभेद, लिङ्गभेद, वर्णभेद र उचनीचको जालो फाड्नका लागि आफ्नो सिर्जना अझ चहकिलो बनाउने प्रण गर्दछन् मनमनै । उक्त मूर्तिमा उनले मानवमूल्य र मान्यता फैलाउने मूल फुटेको देख्छन् र आफ्नो देशका लागि पनि आफ्नो शक्तिले सकेसम्म मानवमूल्य र मान्यता विस्तार गर्ने अठोट गर्दछन् ।
यसैगरी अमेरिका लण्डन आदि देश विदेशका सङ्ग्राहलय देख्दा उनलाई आफ्नो देश स्थिति उक्त देशहरूभन्दा चारसय वर्ष पछाडि परेको छ र उक्त दुरीलाई कसरी तय गर्न सकिन्छ उनका पाठकहरूले विचार गरुन् भन्ने सोच्दछन् ।

तरङ्ग – २ नेपालको प्रशासनिक स्थिति

नेपालको प्रशासनिक स्थितिको तिक्तता यात्रारम्भ गर्नुभन्दा अघि नै व्यक्त गरिएको छ । मानिसहरू भन्ने गर्दछन् “यो नेपाल हो प्रशासकहरू कालोलाई सेतो र सेतोलाई कालो निमेशमै बनाउन सक्छन् ।” त्यही कुसंस्कार र कुकार्यको भोगाइ लेखकले पनि भोग्नु परेकोले सुरुमै त्यसको उल्लेख गरिएको छ । विदेशस्थित नियोगहरूको लेखापरीक्षण, सम्परीक्षण, स्थलगत निरीक्षण र त्यहाँ कर्मचारीहरूलाई प्रशिक्षण दिन परराष्ट्र मन्त्रालय र महालेखा परीक्षकको कार्यालयबाट कर्मचारीहरू पठाउने प्रक्रियामा भ्रष्टता देखिने कार्यमा लेखकको गुनासो छ । आफू सम्बद्ध पहुँचवाला कर्मचारीका पत्नीलाई बिना कारण बिना परराष्ट्र मन्त्रालयले मन्त्री परिषद्को निर्णय बिना नै विदेश घुम्न पठाउछ । यहाँ मनसुन र मनसुनकै देश, घुम्ने मेचमा आसिनकै देश बनिरहेको छ । सोही कार्यालयमा बिहानदेखि रातिसम्म खटिएर लेखापरीक्षण र सम्परीक्षण कार्य गरिरहेका लेखकलाई समेत केही अत्तोपत्तो हुन्न । यस्तो प्रतिनिधि मधुरमण आचार्यको पनि छ,
“प्रशासनमा विवेक र विधिलाई आदेशले छियाछिया पार्ने नेपाली शैलीप्रति रुष्टताको राँको दन्काउनु भयो उहाँले निकै बेर (पृ. ४४) ।

तरङ्ग – ३ शान्तिको कामना

आफ्नो भ्रमणको सिलसिलामा पुडासैनी ‘किशोर’ देख्छन् विश्वमा कहीँ पनि, कोही पनि हत्या हिंसा र अशान्ति चाहँदैनन् । आजको सूचना तथा संचार प्रविधिले पृथ्वी एउटा घर र सम्पूर्ण मानवजाति एक परिवारका बनेका छन् । एउटा देश दुख्दा सिँगो परिवारलाई दुख्छ, एक ठाउँले हत्या र हिँसाले रगत बगाउँदा सम्पूर्ण विश्व रगताम्य देखिन्छ, सबैको मनमस्तिष्क छियाछिया हुन्छ । त्यसैले पोर्चुगलकी पाउला हुन् वा रसियाली कल्याणी हुन् नेपालमा भएको हत्याहिँसाले पिरोलिएका छन्, मौका मिले नेपाल आएर ती पीडितहरूको सेवा गर्न, बम र बन्दुकले बनाएको घाउमा मलमपट्टी लगाउन चाहन्छन्, बम र बारुद बोकेको काँधबाट उक्त भारी हटाउन चाहन्छन् । कोही पनि यस्तो अमानवीय कार्यमा बम र बारूदमा भुटिन चाहँदैनन् र भुटिएको हेर्न पनि सक्दैनन् । यति हुँदाहुँदै पनि राजनीतिको मात लागेर राजनीतिका फोहरी खेलाडीहरू, शक्ति र कुर्सी हत्याउन खोज्नेहरूबाट यस्तो दानवी खेल खेलिन्छ । शक्तिको अगाडि निरीह मानव त्यसै पेलिन्छन्, पिसिन्छन् । सामन्तवादी हुन् या अन्य सबै सबै शक्तिको मातले रक्त पिपासु हुँदा रहेछन् । आफ्नो भ्रमणको सिलसिलामा महादानव हिटलरले आफ्ना विजितहरूका लागि बनाइएको जेलघर देखेर उनीहरूलाई फाँसी दिने सामान, काट्ने हतियार आदि देखेर लेखकको मनै रुन्छ, तनै रुन्छ र अन्तर्हृदयदेखि नै अब नेपालमा यस्तो नहोस् भन्ने चाहना गर्दछन् ।

तरङ्ग – ४ जीवनदृष्टि

दामोदर पुडासैनीको विचारमा यात्रा विहीनको जिन्दगीमा कुनै लक्ष्य हुन्न, कुनै गति हुन्न मात्र ढुङ्गामुढाको जस्तो बोट विरुवाको जस्तो गतिहीन जीवन हुन्छ । उनलाई लाग्छ जहाँ गति हुन्न त्यहाँ जीवनको रङ्ग, लालित्य अथवा विवेक सबै सबै शून्य हुन्छ । यात्रामा मात्र जीवन भेटिन्छ, यात्राका गाह्रा साँगुरा ककेराहरूमा जीवन फुल्छ । त्यसैले जीवनको सार्थकता खोज्न यात्रा गर्नै पर्छ र यस विषयमा पश्चिमाहरू खुब सचेत हुने रहेछन् । यस सन्दर्भमा लेखकले टेक्सास राज्यकी युवती बेकीको अभिव्यक्ति प्रस्तुत गरेका छन् । उनी पूर्वतिरका मानिसहरू बसाइँ सर्न उति नरुचाउने देखेर जिल्लिन्छिन् । उनको विचारमा बेलाबेलामा बसाइँ सर्ने गरेका नयाँ जीवन, नयाँ परिस्थिति र नयाँ परिदेशसँग सङ्घर्ष गर्न साहस बढ्छ र बाँच्नको ऊर्जा बढछ । यसो गर्नाले जीवन रसिलो र मिठो हुन्छ । यात्राको क्रममा नयाँ नयाँ कुरा सिकिन्छ, देखिन्छ । नवीनता अथवा विविधता नै जीवन र सम्पूर्ण बनाउने मसला हो । यसैले लेखक यात्रालाई खुब महत्व दिन्छन् । निश्चय नै हामी अधिकांश नेपालीहरूमा आफ्नो आयबाट केही रकम यात्राका लागि छुट्टयाएर आफ्नै देशको कुनाकाप्चामा या आफ्नो औगातले भ्याउने ठाउँहरूमा घुम्न जाने बानी अवश्य बनाउन परेको छ । पश्चिमाहरूबाट यो बानी हामीले अपनाउनु नै पर्दछ ।

तरङ्ग – ५ जीवन र मृत्युप्रतिको धारणा

पुडासैनी किशोरलाई लाग्छ बाँचेको क्षणमा जुन शान र मान हुन्छ मृत्यु पश्चात् त्यो त्यति महत्वपूर्ण रूपले हुँदैन । राष्ट्रकवि घिमिरेले, ‘बाँचेको क्षण सत्य हो’ भने झैँ लेखक पनि सोच्दछन् जीवित अवस्थामा पाइने ओजस्विता मृत्यु पछि शून्य हुन्छ । सम्मानित व्यक्तिहरूको सालिक देखेर उनी भन्दछन् “जिन्दगी कैयौँ कृति रचेका मान्छे जीवन पछि सालिकमा अनुदित हुन्छन् । नेपोलियन अथवा लेनिन अथवा अव्राहम लिंकन जस्तै सबै महान व्यक्ति एकै रूपमा अनुदित भएका छन्, मृत्यु पछि ।” संसारका राम्रा नराम्रा रीतहरू सालिक बनेर हेर्नु बाहेक उनीहरू अब के नै गर्न सक्दछन् र ! संसार थर्काउने वीरहरू पनि मृत्यु पछि निस्सार हुन्छन् । मझेरीमा उत्तानो परेर सुतिरहेको लेनिनको शव देख्दा उनी सोच्दछन् “लेनिन जीवित हुँदा उनको (लेनिनको) समयको कत्रो महत्व थियो होला, उनको आज्ञा र घोषणा सुन्न, सामीप्य पाउन कति मान्छे मरिमेट्दथे होलान् तर अहिले एक मुठी श्वास र अलिकति गति नहुने बित्तिकै उनको अगाडि मुसो भएर लुक्नेहरू पनि अहिले उनको धज्जी उडाउन सिंहझैँ गर्जिन सक्छन् ।
समय अथवा मृत्यु अति बलवान हुनेरहेछ । जिन्दगी भन्नु शायद मृत्युको खेलौना पो रहेछ । तर यति हुँदाहुँदै पनि जीवनलाई प्यारो गराउने यही मृत्यु हो । मृत्यु छ र त जीवनको मूल्य छ, जीवन प्यारो छ, जीवन केही अनुशासित छ ।” लेखक यो सत्य पनि बुझ्दछन् ।
उनी बुझ्दछन् जीवनमा मृत्यु नभएको भए अहिले हामीले सोचेको मृत्युभन्दा पनि भयावह हुने थियो जीवन । त्यसैले उनी फेरि भन्दछन् मृत्यु साथमा भएर मात्र हामीले यसको मूल्य थाहा नपाएका हौँ ।
“मृत्यु नभए गति हुँदैन, मृत्यु नभए उज्यालो र आकृति पनि कहाँ हुन्छ र ? त्यसैले मृत्यु मजा हो ।”
मृत्यु यति मूल्यवान भएर पनि यसबाट टाढा हुन चाहन्छौँ, क्षणिक जीवन भोग्ने रहर कहिल्यै सकिन्न । कतिपय बेला मृत्युशैयामा सुतिरहेका कुनै पनि व्यक्तिलाई झुठो आश्वासन दिएर उसको बाँच्ने रहरमा ऊर्जा थप्नु पर्ने हुन्छ । यस्तै नाटकीय आश्वासनको ऊर्जा थप्नु परेको लेखकले बताउँछन् । ब्रसेल्समा रहेका नेपालका राजदुत नारायणशमशेर थापालाई अर्वूदले आक्रमण गरिएका विचरा राजदुत रोगले थलिए पनि बाँच्ने रहरले छोडेको थिएन उनलाई । तर कतिपय यस्तो स्थिति पनि आउँछ जब यो शरीर रोग शोक र पीडाले जर्जर पार्दा अन्य कुनै उपायबाट मुक्त हुन नसके पछि मान्छे मृत्युको कामना गर्दछन् । क्यान्सरको असह्य पीडाबाट छटपटिएका महाकवि देवकोटाले आफ्नो असह्य पीडा स्वर्गको आगो चोरेर पृथ्वी बासीलाई दिँदा प्रमिथसले कहिल्यै नसकिने असह्य पीडा भोग्नु परेझैँ ठानेर आफ्ना हितैषीहरूसँग पोटासियम साइनाइड मागेका थिए । यसैबाट स्पष्ट हुन्छ मृत्युबिनाको जिन्दगी कति क्षणसम्म प्रिय होला ! लेखक पनि यही तथ्य बुझेर यसको मूल्यबोध गर्दछन् र भन्दछन्
“प्राणी मृत्युबिनाको जिन्दगी बाँच्न चाहँदैन ।”

तरङ्ग – ६ नारी भाव

दामोदर पुडासैनी ‘किशोर’ को नारीभाव स्पष्ट रूपमा व्यक्त नभए पनि यात्राको क्रममा देखिएका विभिन्न नारीका मूर्तिहरू र भेटिएका नारी प्रतिको अभिव्यक्तिबाट केही बुझ्न सकिन्छ । अमेरिकामा स्वतन्त्रताकी देवीको मूर्ति (Statue of Liberty) देखेर उनी नारीको महिमा सम्झन्छन् । हातमा राँको लिएर उभिएकी महिलाको आसमानी रङको ३०३ फिट अग्लो मूर्ति र जर्मनीको विजयकी देवी (Victory of Angel) को मूर्तिले पश्चिमाहरू पनि नारीको महनीयता मान्ने रहेछन् भन्ने स्पष्ट हुन्छ । विजयकी देवीले पनि एक हातमा सूर्य अङ्कित विजय झन्डा र अर्को हातमा विजयको माला लिएर उभिएकी रहिछन् । विजयदेवीको प्रतिमा जर्मनीको एकीकरण गरे पछि उक्त विजयको नारी स्वरूपा मूर्ति राखिएको रहेछ । यसले नारी शक्ति र नारी सम्मानको परिचय दिएको प्रतीत हुन्छ । नेपालमा पनि शक्ति स्वरूपा नारी दुर्गा भगवती मानिन्छ । कुनै पनि देवताले बाघको सवार गरेको देखिन्न हिन्दु धर्ममा परन्तु भगवती बाघको सवार गर्दछिन् । लेखक नेपालको देवीको यो स्वरूपबाट केही नारीप्रतिको पौराणिक आस्था व्यक्त गर्दछन् । नेपालमा अथवा कतिपय अन्य देशहरूमा पनि नारीप्रतिको प्राचीन आस्थाबाट अभिसिंचित भए पनि वास्तवमा नारीहरू कतिपय कारणले घरेलु हिँसा अथवा सामाजिक हिँसाबाट पीडित भएको पक्ष चाहिँ उनले सम्झेका छैनन् । आफ्नो यात्राको क्रममा जीउडाल मिलेका युवतीहरू देख्दा उनलाई परी जस्तै लाग्छ तर अन्यलाई भैँसी अथवा थसुल्लीहरू भन्न चाहिँ बाँकी राख्दैनन् नेपाली चेलीहरूले विदेशमा दुःख पाएको, बेलायतमा काम नपाएका चेलीहरूले त्यहीका रैथाने नेपालीहरूसँग आश्रम लिन खोज्दा उनीहरूको शोषणको शिकार बन्नु परेको सुनेर लेखक अति दुखित हुन्छन् । मेहनत र मस्तीको जिन्दगीमा आफूलाई विस्थापित गर्न नसके नारी अथवा पुरुष सबैले दुःख पाउँछन् भन्ने हामीले बुझ्नु परेको छ ।

तरङ्ग – ७ सामाजिक परिचय

आफ्नो यात्राको क्रममा लेखक पुडासैनी जहाँ जहाँ पुग्छन्, त्यहाँको केही रीतिरिवाज, कलाकौशल, त्यहाँका मानिसहरूको जीवन शैली आदिको केही छोइने तथ्यहरू सङ्क्षेपमै भए पनि प्रस्तुत गर्न बिर्सन्नन् । पश्चिमी देशहरू युरोपमा होस् या अमेरिका त्यहाँको कानुन र जनताले त्यसको परिपालन गर्ने प्रतिबद्धता देखेर कुनै पनि नेपाली नखिल्लिने कुरै छैन । कतै कुनै बेला कुठाउँमा कसैले आफ्नो गाडी पार्किङ्ग गऱ्यो भने तुरुन्तै प्रहरीले जरिवानाको स्लिप उसलाई थमाइ दिन्छ । आफ्नो भूल सहर्ष स्वीकारेर जरिवाना तिर्न हिचकिचाउँदैनन् किनकि उनीहरूलाई त्यहीँ बस्नु छ, जेल खानु छैन किनकि त्यहाँ नेपालको जस्तो ठगी खाने कानुन लागू हुँदैन । यस्तै हिउँ परेको बेलामा आफ्नो घर अगाडिको हिउँ नुनले पगाल्नु पर्छ र सफा गर्नु पर्छ । यदि कसैले गरेको छैन र त्यहाँ कुनै चिप्ल्यो भने घरधनीले नै उसको औषधि उपचार बेहोर्नु पर्दछ । यसै गरी लेखक भन्दछन् निश्चित ठाउँभन्दा अन्य ठाउँमा अर्थात् सार्वजनिक ठाउँमा बियर किन्न र खान पनि दिइन्न जब कि नेपालमा यसको खास कुनै नियम छैन । यसैले लेखक भन्दछन् “अमेरिकामा जसले जेजस्तो गरे पनि ठीक छ तर राज्यले गर्न नहुने भनेको काम गऱ्यो वा गर्न हुने भनेको काम गरेन भने जो कोही पनि दण्डनीय हुन्छ, त्यसमा शंका छैन ।” अमेरिका मेहनत र मस्तीको देश हो जहाँ रात रातजस्तो हुन्न, दिन दिनमात्र हुन्न, बाटोमा कोही कसैसँग बोल्ने फुर्सद पाउन्नन् मात्र परिचयको अभिव्यक्ति दिन्छन् । मुस्कुराएर कामभन्दा माम बढी खोज्ने र बेकामी भएर बस्ने त्यहाँ कोही पनि बाँच्न सक्दैन । यही भएर नेपालबाट गएका कतिपय नेपालीहरू कुल्लीजस्तै भएर ठूल्ठूला गह्रौँ भारी ओसारेको जे काम पनि गरेको देखेर लेखक भन्दछन् नेपालमा वरको भाँडो पर नसार्नेहरू त्यहाँ गएर तह लागेका हुन्छन् । यही कारण कतिपय नेपाली रैथानेहरू यहाँबाट गएका नौला नेपालीसँग बोल्न चाहँदैनन्, आफ्नो नामथर अथवा गाउँ बताउन चाहँदैनन् ।
यस्तै हाम्रो सामाजिक संरचना अनुसार अभद्र र छाडापन देखिने यौन व्यापारहरू, यौन बजार तथा त्यस्ता नारीहरूको टिप्पणी गर्न पनि साहित्यकार पुडासैनी बिर्सिंदैनन् । कतिपय राष्ट्रमा उमेर अनुसारको कक्षा हुने र स्कुलमा भर्ना भएपछि सम्पूर्ण शैक्षिक सामग्री निःशुल्क दिइने परम्परा पनि उल्लेख गरिएको छ प्रस्तुत यात्रा संस्मरणमा ।

सामाजिक रीतिरिवाज मात्र हैन आफूले देखेको कला कौशल, स्थानहरूको वर्णनमा पनि तत्तत् सम्बन्धी केही विशिष्ट जानकारी पनि प्रस्तुत गरिदिएर पाठकलाई राम्रो परिचय दिन सफल भएका छन् लेखक ।
रसियाली जनआकाङ्क्षाको परिचय पनि स्पष्टसँग प्रस्तुत गरिएको छ । निश्चय नै देशमा स्वतन्त्रता आउँदा राम्रा कुरा मात्र हैन धेरै विकृति विसङ्गति पनि भित्रिने हुन्छन् । यही सत्य रुसमा पनि हुन गयो । कतिपय रसियनहरू यसले गर्दा साम्यवाद ढलेकोमा गरिबी भित्रिएको सम्झेर दुःखी छन् । उदाहरणका लागि उनले गेन्नादि (राजदुतावासको ड्राइभर) लाई प्रस्तुत गरेका छन् । रसियाली साम्यवाद घरायसी भए पछि कतिपय जनताको गास–वास–कपासको निश्चितता गुमेकोले त्यहाँ पनि धनी र गरिब, ठूलो र सानोमा विभेदको ठूलो खाडल देखियो । तर यही लेखकले अरु देशमा गएका नेपालीहरूको भन्दा यहाँबस्ने आप्रबासी नेपालीहरूको स्थिति चाहिँ राम्रो पाए तैपनि यदि भविष्यमा कथंकदाचित कुनै नयाँ कानुन बन्यो भने आफू टाट पल्टिने चिनता कतिपय नेपालीको रहेछ भन्ने पनि उनले थाहा पाए । कारण जेजति त्यहाँका अचलसम्पत्ति हुन्छ पत्नीकै नाममा हुने र व्यापार आदि उनकै सहयोगबाट हुने रहेछ । यसैगरी आफ्ना सन्ततिले नेपाली रीतिरिवाज र नेपाल बिर्सिने डर पनि कतिपय आप्रवासी नेपालीलाई हुने रहेछ भन्ने कुरा पनि यस कृतिबाट थाहा पाउन सकिन्छ ।

तरङ्ग – ८ प्रकृति चित्रण

दामोदर पुडासैनी प्रथम कवि हुन् अनि मात्र निबन्धकार । यसैले प्रकृतिसँग उनको घनिष्ठ सम्बन्ध देखिन्छ । बादल, हिउँ, वन जङ्गल, चराचुरुङ्गी, फूल, डाँडाकाँडापछि घाम जुन जे देखे पनि उनलाई रमाइलो लाग्छ । अनि त्यही आफ्नो काव्यकृतिको सामग्री बन्दछ । त्यसैले हवाइजहाजभित्रबाट देखिएको प्रकृतिले पनि उनलाई कविता रच्न प्रेरणा मिल्छ, जहाजभित्रै कविता लेख्छन् । दिनमा देखेका नयाँ नयाँ दृश्यलाई राति नसुतीकन कविता कोर्दा व्यस्त हुन्छन् । यदि पृथ्वीमा स्वर्गको अनुभूति दिलाउने केही छ भने प्रकृति नै हो भन्ने उनलाई अठोट छ । सडक नदी बगे झैँ लाग्छ, बत्तीले झिलिमिली देखिने सडक उनलाई स्वगङ्गा जस्तो लाग्छ र नदी चाहिँ लमतन्न परेको सडक ठान्दछन् । घरको छाना, सडक पेटी सबैतिर सेताम्मे हिउको दृश्यले सराङ्कोट, माछापुच्छ्रे हिमाल, सगरमाथा आदि सम्झाउँछ । हिमाली देशमा जन्मेका नेपालीले अझै हिउको महिमा नुबुझेर नखेलेको नरमाएको र आफ्नो आयबाट केही बचाएर यात्रा गर्ने बानी नबसेका उनलाई नरमाइलो लाग्दछ । जुनसुकै प्राकृतिक छटाले उनलाई छुन सक्ने र काव्य विषय बनाउन सक्ने उनको प्रकृतिप्रेम सराहनीय छ । यात्राभरि उनले कतै पनि विकराल प्रकृति देखेका छैनन् । स्वस्थ मन स्वस्थ दृष्टि ।

तरङ्ग – ९ निडर प्रस्तोता

दामोदर पुडासैनीलाई निर्भीक र सत्यवादी साहित्यकारको रूपमा चिन्न सकिन्छ “यात्राका प्रेमिल तरङ्गहरू”मा तरङ्गिदा । उनी आफ्ना साथीहरू अथवा आफूसँगैका सहयात्रीहरूको बानी, अनावश्यक धाकधक्कु देखाएर आफ्नो बडप्पन देखाउने र कतै कतै त्यसबाट उनीहरूले झापट खानुपरेको घटना पनि सहज रूपमा व्यक्त गर्दछन् । विशेष गरी उनका सहयात्री जनार्दनजीको जुन राजदूतसँग पनि बजेटको अभाव भएर म पठाइदिन्छु भन्ने बानी प्रायः सबैतिर उल्लेख छ । उनको एउटै रटन रहेछ “हजुरलाई जेजति बजेट चाहिन्छ म पठाइदिन्छु, चिन्तै मान्नु पर्दैन ।” अनि कतिपयले उनको यो आश्वासनलाई सत्य मानेर दङ्ग पर्ने पनि रहेछ । यसैगरी अर्का सहयात्री उद्धवजीसँग केही क्षणको लागि क्यामरा माग्दा दिन नमाने र झुठो बोलेको, उनीहरूबाट साहित्य साहित्यिक तीर्थस्थल (शेक्सपियरको अथवा बाइरन आदिको निबासस्थान अवलोकन गर्दा नमानिएको अथवा रुसमा राजदूत भएर गएका हिरण्यलाल श्रेष्ठले “सिधै राजा (तत्कालिन राजा ज्ञानेन्द्र) सँग कुरा गर्छु अथवा जनार्दनको बजेट पठाइदिने आशवासन सुनेर आफ्ना कर्मचारीलाई बोलाएर तुरुन्तै बजेट माग गर्नु नत्र कारवाही गर्छु” भन्नु अथवा त्यहाँका अन्य कर्मचारीले खुसुक्क राजदूत श्रेष्ठको धज्जी उडाएका जस्ता घटना उल्लेख गर्नु लेखकको निर्भीकताको परिचय मान्नु पर्छ ।

तरङ्ग – १० विश्राम

यसरी “यात्राका प्रेमिल तरङ्गहरू” ससर्ति हेर्दा दामोदर पुडासैनी सिर्जनाका धनी देखिन्छन् । जुनसुकै दृश्य जोसुकैसँगको भेटघाट सबै सबैले उनको मन छुन्छ । अरू शून्य भएर बसिरहेको बेला उनी आफ्ना सिर्जनामा मस्त हुन्छन् । अरू मस्त निदाएको बेला उनी निदाउनै बिर्सेर लेख्न लाग्छन्, हाइकु होस् या कविताको विषय उनलाई कुनै रोज्नु पर्दैन, तिनका कच्चा पदार्थ जताततै देख्छन्, प्लेनमा उड्दा पनि लेख्छन्, भसाइलको बगैँचा देखेर पनि लेख्छन् । आफू गएको र देखेको कुनै पनि स्थान, चित्र कलाकृति सबै सचित्र रूपमा उतार्न सक्छन् । तुषादका मैनका मान्छे हुन् वा भूतको घरको वर्णन होस् या राजदूत परिवारसँगको खानपान होस् सबैको एक रिट्ठो नबिराईकन लेख्न सक्छन् । त्यति मात्र होइन जहाँ जो भेट्यो उसैसँग मिल्न सक्छन्, मुस्कुराएर मित्रता जोड्न सक्छन्, कोहीसँग परिचय जोड्न शाब्दिक भाषा नै नभइनहुने हैन, भाव मात्रले पनि मित्रता गाँस्न सकिन्छ भन्दै कथाकार भवानी भिक्षुको मेरो सानो साथी कथा सम्झाउँछन् । अनि त्यसरी बनाइएका मित्रबाट, हवाइ परिचारिकाहरूबाट पाएको स्नेह र ममता देखेर उनको यात्राका सहयात्री साथीहरू पनि जिल्लिन्छन् । कतै कतै स्थानीय व्यक्तिहरूसँग बोल्दा नमस्कार, कस्तो छ जस्ता शब्दहरू उनीहरूकै भाषाबाट बोलिदिँदा उनीहरू बीच आत्मीयता पनि बढ्ने रहेछ । एउटा मीठो मुस्कानले कसैको पनि मन जित्न सकिने रहेछ ।

यसै गरी प्रस्तुत कृतिमा लेखकले साहित्यको महत्व र साहित्यकारको सम्मान धेरै ठाउँमा हुन्छ भन्ने सगर्व प्रस्तुत गरेका छन् । फ्रान्स, जर्मनी अथवा रुस जहाँ होस् उनले आफू साहित्यकार अथवा कवि हुनाले सबैसँग रमाइलो भेटघाट र जमघट भएको उल्लेख गरेका छन् । रुसमा व्यावसायिक उन्नयनको माध्यमबाट त्यहाँ सम्मानित स्थान ओगटेका जीवा लामिछाने त बेलामा राजदूतले साहित्यकार दामोदर पुडासैनीको बारेमा खबर नगरेकोमा आक्रोसित पनि हुन्छन्— “यो खबर अलि अगाडि नै पाइनुपर्थ्यो । राजनीतिज्ञ आउँदा भने पहिलेदेखि नै स्वागत सत्कारको लागि हल्ला पिटाउँछ राजदूत । साहित्यकार भने फर्कन लागेपछि मात्र हामीलाई खबर गर्नु राम्रो चाला भएन ।” लेखकलाई निश्चय छ सिर्जना अविजित हुन्छ, आतङ्कको पनि केही चल्दैन ।

अरू ठाउँमा भन्दा रुसमा नेपालीहरूको स्थान राम्रो भएको तथ्य मात्र हैन, त्यहाँ एक ठाउँबाट अर्को ठाउँमा बोकेर लैजान हुने काठका तयारी घरहरू बेच्न राखिएको अथवा सडक विस्तार गर्दा एक ठाउँको घर जुरुक्क उचालेर ५० मिटर पर सार्दा कतै पनि एक चिरा पनि नपरेको रुसीहरूको अपार शक्ति पढ्दा कुनै पनि पाठक अवाक् नबनी रहन सक्दैन, यस्तो पनि हुन्छ र भन्ने प्रश्न चिन्ह मनमनै उठ्छ ।

लेखकको भाषिक अभिव्यक्ति कलात्मक मात्र हैन कवितात्मक पनि छ । कतिपय ठाउँमा गद्य कविता पढेझैँ लाग्छ अनि निबन्ध हैन उपन्यास पढेझैँ लाग्छ । उनको सिर्जनाले पाठकहरू पनि आफूलाई उनीसँग मानसिक रूपमा यात्रा गरिरहेको पाउँछन् । उखान टुक्का प्रयोगले उक्त संस्मरणहरू झन् रोचक बनेका छन् । “घामका किरणहरू जस्तै खुलेर आए अँध्यारो ओढ्दै जिन्दगीका चहक खोज्ने कोसेढुङ्गाहरू, एक हुल जुरेलीहरू बिहानको बिस्कुन सुकाइरहेका थिए, बादलुको घुम्टो ओढेर मुस्कुराइरहेको थियो लण्डन, फूलको बास्ना वरिपरि मान्छेको बास्ना डाँडापारिपारि… आदिआदि ।

अन्त्यमा समग्र रूपमा भन्नु पर्दा यो कृतिले नेपाली साहित्यमा महनीय स्थान लिएको छ । यस्तै कृतिहरू लेखकबाट आगामी दिनहरूमा पनि पढ्न पाइयोस् भन्ने कामना गर्दछु ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

डा. दामोदर पुडासैनी किशोर प्रा. डा. गार्गी शर्मा यात्राका प्रेमील तरङ्गहरू समालोचना

यो पनि पढ्नुहोस्...

फिर्दोसको साँचो : नवीन स्वादको पठनीय कथाकृति – सीता अधिकारी थापा

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

‶गरुराहाʺ उपन्यासमा एक दृष्टि – देवेन्द्र मिश्र

पुण्य कार्कीको ‘अरस्तुको अन्धविश्वास’ निबन्धको शल्यक्रिया

प्रेम, आस्था र आदर्शकाे प्रतिबिम्ब: ग्याब्रियले

समीक्षा: नेपाल, पशुपति र शिवलिङ्ग चिनाउने ज्ञान सुचक

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

गजल श्रृङ्खला – 17

जेष्ठ १७, २०८२

मुक्तक श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.