“असार मासको समय सबै किसानहरू खेतमा धान रोप्न व्यस्त, कति खेतहरु रोपी सकिएकोले हराभरा वातावरण, पृष्ठ भुमिमा “हरियो डाँडा माथि हलो जोत्ने साथी हो हो माले हो हो संगितको धुन बज्दै”,
एउटा हट्टाकट्टा जवान करिब ३० बर्षको व्यक्ति हातमा बाँसको मोटो लठ्ठी बोकेर रिसमा रन्किँदै अगाडि बढ्दै, अलिकति अगाडि सानी नानी करिब ४ बर्षकी चिच्याउँदै रुँदै सकि नसकी भर्खर लगाएको बारीको डिलमा दौडँदै।”
“ए ए लडि नानी हिलोमा” – माथिल्लो घरे माइला बा
( जवान पुरुष – स्याने वास्तविक नाम हरिहर पन्डित, दह्रो स्वभावमा बच्चीलाई हिलोबाट हावामा तान्दै लठ्ठीले बेजोड सँग खुट्टामा हान्दै )
“अझ रून्छेस् चुपलागेर हिँड” – स्याने
“हैन हे स्याने पण्डित कति साह्रो हानेको त्यो कलिलो, निमुखो बच्चालाई, हड्डी भाँचिएला नी” – सानी
(बच्ची अघि अघि रुँदै, आँशुधारा चुहाउँदै, सिगानको लर्को मुखमा तर स्याने रोकिएन उ पछि पछि लौरोको झटारो माथि झटारो हाँन्दै घरसम्म पुग्यो)
सानी -” हैन हो माइला बा के गरीछ त्यो बच्चिले त्यस्तो गल्ती, रामेले गोरु चुटे झै चुट्यो त आफ्नै भान्जीलाई पण्डितले आज।”
माथिल्लो घरे माइला बा – “के हुनु मंगली बिउ नपुगेर स्याने पण्डितकोमा बिउ माग्न गकी थिई, सानी बच्ची अन्टि भन्दै पछ्याइछे त्यसैले आउँ जाम नानी मेरो घर भन्दै मंगलीले ल्याइछ। बच्ची पनि पछ्याउँदै आई मंगलीलाई, अनि रोपाइँको लागि तयार पारेको खाँना बटुकीमा खान दिँइछ । अब पण्डितकी नातीनी सार्कीकोमा खाना खाए पछि पर्दैन त झटारो।”
पाैडेल बा- (कम्मरमा हात लाउँदै कान थाप्दै माथिल्लो बारी बाट)
“सहि गर्यो पण्डितले आजैदेखि संस्कार, संस्कृति पुस्तैदेखि चल्दै आइरहेको चलन मान्न छाडे भने के गर्छन् भोलि? केटाकेटीलाई तहलाउने नै चुटेर हो, देखेसी थरर काप्ने बनाउँनु पर्छ।”
सानी – “केटाकेटीलाई तहलाउने त हो बुबा तर पनि त्यो ४ बर्षको बच्चालाई के थाहाँ जातपात, थाहाँ नै भएकालाई पनि त्यती साह्रो अमानवीय पाराले चुट्ने त होइन नि । मंगलीले बच्चालाई मायाले दिई, बच्चाको आत्माले माग्यो खायो, जति सुकै मेरो बच्चाको भन्दा बढी माया लाग्छ दिदीको छोरीको भनेर गफ चुटे पनि आज त्यो बच्चिको ठाँउमा उसको छोरा भएको भए हात उठ्यो त? बरु खान नपाउन् आफ्नो बच्चा अरुकोमा पाल्ने त होइन रहेछ ।”
°°°°°
( साँझको समय, बच्ची आँगनमा खेल्दै, स्याने खाटमा बसेर आँप चुस्दै, त्यतिकैमा डाक्टर गोविन्दको उपस्थिति)
डाक्टर – के छ हो लेक्चर साहेब, कस्तो छ त कलेज तिरको हाल खबर ? अनि के को उपलक्ष्यमा हो नी निधारमा रातो अबिर कडा देखीन्छ त?”
पण्डित – के हुनु डाक्टर साब, आज जिल्ला स्तरिय निबन्ध “स्वतन्त्रता, समानता र मौलिक हक” मा प्रथम भईयो ५०,००० नगद अनि यी हेर्नुस सम्मान पत्र (गर्वले छाती तन्काउँदै भित्र छिरेर सम्मान पत्र निकाले र देखाउँदै ) । बा, आमाले आँट नदिएर हो नत्र म नि हजुर झै डाक्टर भएर हिँड्ने योग्यताको मानिस पो त।”
(कोलाहलको हाँसो गुन्जिन्छ, भर्खरै एस.ई.ई.दिएको मंगलिको छोरो रामे काँधमा बोकेको हलो लिएरै आँगनमा सबै कुराहरु सुन्दै वाल्ल पर्छ, सानी नानीको राता डाम बसेका खुट्टामा निहार्छ अनि पुरुषार्थ साथ उभिएको स्याने र त्यो सम्मान पत्र खै कता हराउँछ…………)
काठमाडौं -१०, नयाँ बानेश्वर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।