विद्यालयको सभामा उत्कृष्ट विद्यार्थीको नाम घोषणा भयो। भीडले ताली पिटिरहेको थियो। तर सबैको ध्यान सविनको खुट्टामा थियो। उनका जुत्ता च्यातिएका र पुराना थिए।
सभापतिले प्रमाणपत्र दिनुहुँदै सोध्नुभयो, “तिमीले यत्रो पुरस्कार जित्यौ। तर किन नयाँ जुत्ता नलगाएका?”
सविनले एकछिन चुप लागे। सबैको नजर उनीतिर थियो।
“सर, यी जुत्ता मात्रै होइनन्, मेरो सपना पूरा गर्नको लागि गरेको संघर्षको प्रमाण हुन्,” उनले मुस्कुराउँदै भने।
सभामा सन्नाटा छायो। सभापति पनि झस्किए।
सविनले थपे, “बाबा किसान हो। उहाँको सानो आम्दानीले परिवार चलाउनै मुस्किल हुन्छ। बिहान खेतमा काम गरेर बचेको समय पढाइमा खर्च गर्थेँ। यी जुत्ताहरूले मेरा दुःख, माटो र हिँडाइका अनगिन्ती कथा सँगालेका छन्। मलाई यो पुरस्कार थाप्न जुत्ताको सुन्दरता होइन, मेहनतको चिन्ह लिएर आउनु थियो।”
सविनको उत्तरले सबैलाई गहिरो प्रभाव पार्यो।
उनले अन्तिम वाक्यमा भने, “जुत्ता नयाँ बनाउने पैसा त छँदै थिएन, तर सपना बनाउने आँट कहिल्यै हराएन।”
त्यो दिन पुरानो जुत्ता पहिरेको केटोले सबैलाई मेहनतको नयाँ अर्थ सिकायो।
– स्वस्तिका सिम्खडा
साभार- रचयिताको डायरी
(यस लघुकथाका रचयिता दिवंगत हुनुहुन्छ । लक्ष्मी रिजालको सम्पादनमा उहाँको “प्राणप्रतिष्ठा” लघुकथासङ्ग्रह २०८१ मा प्रकाशित छ ।)
सङ्कलन – लक्ष्मी रिजाल