(स्रोतकथा)
लघुकथा: खुसीयाली
– खगेन्द्र बस्याल
[ तिलोत्तमा-९, सरस्वती पथ, रुपन्देही। ]
राधा आचार्यले छिमेकीलाई आफ्नो घरमा बेलुकी विशेष खुसीको अवसरमा भनी आमा समूहलाई कीर्तनको लागि निमन्त्रणा गरिन्।
बेलुकी छिमेकीहरू त्यहाँ पुगे। सधैं तिहारमा समेत दीपावली नगर्ने घरमा आज बिजुलीको झिलिमिली थियो।
घरमा आउने सबैलाई उनले हृदयदेखि नै अङ्कमाल गरेर स्वागत गरिन्। परिवारका अरू सदस्यले पनि हातमा फूलका गुच्छा लिएर अतिथिहरूलाई आत्मीयता प्रकट गरे। यसरी खुलेर गरिएको सत्कार आमा समूहले अरू घरमा कहिल्यै अनुभव गरेका थिएनन्।
कीर्तन सुरु भयो। परिवारका सदस्य मात्र होइन, राधाले अरूलाई पनि उत्साहित गर्दै आफूहरूसँगै नाच्न उठाइन्।
तर, मनमा जिज्ञासा खेलिरहेकै थियो। “के को खुसीयाली होला?” कीर्तनमा सहभागी महिलाहरूबीच कानेखुसी सुरु भयो।
“छोराछोरीमध्ये कसैले विदेशमा छात्रवृत्ति पायो कि?”, “नयाँ बुहारी गर्भवती भएकी होलिन्,” “कतै ठूलो चिठ्ठा पर्यो कि?”, “काठमाडौंमा नयाँ घर किने कि?” – यस्तै अनुमानहरू लगाउँदै सबै एकअर्कासँग मुस्कुराए।
कीर्तनको अन्त्यमा, राधा भित्र गइन् र एउटा नयाँ हार्मोनियम लिएर समूहका अध्यक्षलाई हस्तान्तरण गर्दै भनिन्,
“खुसी आफैँ राखेर मात्र हुँदैन, बाँड्न पनि जान्नुपर्छ। आजको यो विशेष खुसी यही हार्मोनियम उद्घाटनको हो।”
सामूहिक हाँसो र तालीले भरिएको त्यो घर साँच्चै खुसीयालीको केन्द्र बन्यो।
~~~०~~~
(उत्तरकथा)
लघुकथा: खुसीयालीको रहस्य
– लक्ष्मी रिजाल
[ सप्तरी ]
“अरे राधा दिदी, आज के विशेष कुरा हो? यस्तो खुसी देखिएको त पहिला कहिल्यैँ थिएन!” समूहकै अग्रज सदस्य बिन्दु देवीले कीर्तनको बीचमै सोधिन्।
राधा मुस्कुराउँदै जवाफ दिन तयार भइन्। तर, उनको जवाफभन्दा पहिले उपस्थित महिलाहरूले आ-आफ्नै अड्कल गर्न थाले।
“छोरी विदेश जाने भिसा आयो होला!”
“नाति आउँदैछ भनेर डाक्टरले भनिन् कि के हो?”
“सुनिन्छ, तिहारमा पनि दिउँसै बसेर भात खान्थे, अब चिठ्ठा परेको छ कि जस्तो छ!”
“के थाहा, काठमाडौंमा घर किने होलिन्।”
राधा चुपचाप सुनिरहिन्। मुस्कानमा कुनै परिवर्तन आएन।
कीर्तन सकिएपछि, उनी बोलिन्, “खुसीका धेरै कारणहरू हुन सक्छन्, तर आजको खुसीको रहस्य त्यो होइन, जुन तपाईंहरू सोचिरहनुभएको छ।”
भित्र गएकी राधा केहीबेरमा हातमा नयाँ हार्मोनियम लिएर बाहिर निस्किन्। सबैको अनुहारमा जिज्ञासा झल्कियो।
हार्मोनियम समूहका अध्यक्षलाई दिँदै उनले भनिन्,
“यो खुसी आजको हाम्रो प्रयास र एकताले दिएको उपहार हो। नयाँ हार्मोनियम किनेर कीर्तन समूहलाई समर्पण गर्न पाउँदा मलाई यो क्षण विशेष लागिरहेको छ।”
अध्यक्षले हर्षले भरिएर भने, “हो दिदी, खुसी भनेको बाँड्न सके मात्र अमूल्य हुन्छ। तपाईंले यो सन्देश सबैलाई दिनुभयो।”
त्यो दिन बिन्दु देवीले आफ्नो धारणा बदलिन्।
“हुन त, खुसीको मापन पैसामा मात्रै हुँदैन रहेछ। सच्चा खुसी भनेको दिलको सन्तोषमा छ।”
त्यस दिन सबैले महसुस गरे –
“संसार जित्नुभन्दा मन जित्नु ठूलो कुरा हो।”
र, राधाको खुसी बाँड्ने क्षमताले त्यहाँ उपस्थित सबैलाई केही न केही सन्देश दिएर घर फर्कायो।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।