“उजेली, ए उजेली ! हैन, कहाँ मरी यो ? बस्तुको भकारो सोहर्नु, दाना पानी खुवाउनु , एकछिन पछि भाइलाई स्कुल पुऱ्याउनु काम कत्ति छ ? आफूलाई मेलामा जान ढिला भइसक्यो ।” आमा कराउनु भयो ।
हस्याङफस्याङ गर्दै उजेली पधेँराबाट पानी लिएर आई । आमाले उसलाई काम अह्राएर मेलामा जानुभयो । उसले हतार हतार गरेर सबै काम सकी अनि भाइलाई विद्यालय पुऱ्याउँन गई । सधैँझै आज पनि गुरुले पढाएको कुरा उसले लुकेर सुनी । त्यो देखेर गुरु साँझपख उजेलीको घरमा पुग्नु भयो ।
उसकी आमालाई भेटेर भन्नु भयो, “उजेली टाठी बाठी छे । विद्यालय भर्ना गरिदिनु पर्छ ।”
आमाले झर्किदै भन्नुभयो, “मास्टरसाप, अर्काको घर खाने छोरीको जातलाई किन पढाउने ? बरू कुलको इज्जत धान्न काम पो सिकाउने हो । राम्रो घर पाए बिहे गरेर पठाइ दिने हो ।”
गुरुले सम्झाउनु भयो, “अर्काको घरमा जाने छोरीलाई
आत्मनिर्भर बनाउन त झन पढाउनु पर्छ नि !”
आमा र गुरूका विवाद सुनिरहेकी उजेलीले मनमनै सोची, “पढ्नका लागि त छोरा भएर जन्मनु पर्ने रहेछ । आफ्नो त कर्म नै खोटो !”
उसैबेला उजेलीलाई हेर्न भनेर मामाले केटो लिएर आउनु भयो । कुराकानी मिल्यो । बिहेको दिन निश्चित हुँदै थियो, केटा जुरूक्क उठ्यो र भन्यो, “मेरो एउटा चाहाना छ, त्यो भए मात्र बिहे गर्छु ।”
आमा र मामाले भयभित हुँदै सोधे , “कस्तो चाहना हो ?”
उसले गम्भीर हुँदै भन्यो , “मेरी श्रीमती भएपछि यिनले कम्तीमा पनि स्नातकसम्म पढ्नु पर्छ ।”
– भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४, नवलपुर



