“उजेली, ए उजेली ! हैन, कहाँ मरी यो ? बस्तुको भकारो सोहर्नु, दाना पानी खुवाउनु , एकछिन पछि भाइलाई स्कुल पुऱ्याउनु काम कत्ति छ ? आफूलाई मेलामा जान ढिला भइसक्यो ।” आमा कराउनु भयो ।
हस्याङफस्याङ गर्दै उजेली पधेँराबाट पानी लिएर आई । आमाले उसलाई काम अह्राएर मेलामा जानुभयो । उसले हतार हतार गरेर सबै काम सकी अनि भाइलाई विद्यालय पुऱ्याउँन गई । सधैँझै आज पनि गुरुले पढाएको कुरा उसले लुकेर सुनी । त्यो देखेर गुरु साँझपख उजेलीको घरमा पुग्नु भयो ।
उसकी आमालाई भेटेर भन्नु भयो, “उजेली टाठी बाठी छे । विद्यालय भर्ना गरिदिनु पर्छ ।”
आमाले झर्किदै भन्नुभयो, “मास्टरसाप, अर्काको घर खाने छोरीको जातलाई किन पढाउने ? बरू कुलको इज्जत धान्न काम पो सिकाउने हो । राम्रो घर पाए बिहे गरेर पठाइ दिने हो ।”
गुरुले सम्झाउनु भयो, “अर्काको घरमा जाने छोरीलाई
आत्मनिर्भर बनाउन त झन पढाउनु पर्छ नि !”
आमा र गुरूका विवाद सुनिरहेकी उजेलीले मनमनै सोची, “पढ्नका लागि त छोरा भएर जन्मनु पर्ने रहेछ । आफ्नो त कर्म नै खोटो !”
उसैबेला उजेलीलाई हेर्न भनेर मामाले केटो लिएर आउनु भयो । कुराकानी मिल्यो । बिहेको दिन निश्चित हुँदै थियो, केटा जुरूक्क उठ्यो र भन्यो, “मेरो एउटा चाहाना छ, त्यो भए मात्र बिहे गर्छु ।”
आमा र मामाले भयभित हुँदै सोधे , “कस्तो चाहना हो ?”
उसले गम्भीर हुँदै भन्यो , “मेरी श्रीमती भएपछि यिनले कम्तीमा पनि स्नातकसम्म पढ्नु पर्छ ।”
– भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४, नवलपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।