जङ्गलमा चराचुरुङ्गीको गुञ्जायमान धुन सुनिन्थ्यो। जगन्नाथ गुनगुनाउँदै जङ्गलको बाटो हिड्दै थिए। घमाइलो जङ्गलको छेउमा चतुरे र धतुरे नामका गोठाला केटाहरू घाम तापिरहेका थिए। जगन्नाथको आवाजले उनीहरू चनाखो भए। धतुरेले झस्किदै सोध्यो, “हजुरबा, यस्तो घना जङ्गलमा किन आउनु भयो?”
“पण्डितकोमा जाँदै छु बाबु हो,” जगन्नाथले भने र हतारिँदै आफ्नो गन्तव्यतिर लागे। कामको चपेटले पण्डितसँग छोटो कुराकानी पछि घर फर्किहाले।
घरमा उनकी श्रीमती धनसराले करेसाबारीमा काम गरिरहेकी थिइन्। जगन्नाथले उनलाई भने, “बाको श्राद्धका लागि सामान किन्न बजार लागे, घरमा दुना टपरीको प्रबन्ध गर्दै गर” र उनी पुनः हिँड्दै आफ्नो बाटो तय गरे।
जगन्नाथको मनमा धेरै कुराहरु खेल्न थाल्यो। उनले आफैलाई सोधेँ, “यसपालि लोभी पण्डितलाई के-कति दान गर्नुपर्ला?” उनले सम्झिए, अघिल्लो वर्ष पण्डितले बालाई स्वर्गमा मर्निङवाक गर्ने ठाउँको अभाव भन्दै पाँच रोपनी जग्गा मागेका थिए, र खुसीसाथ दान गरे।
श्राद्धको दिन बिहानै जगन्नाथले सबै तयारी गरे। पण्डित पनि हतारिँदै आइपुगे। “सबै तयारी भयो कि?” पण्डितले सोधे।
“तयारी भइसक्यो, गुरुबा। तर, यसपालि के-कसरी दान गर्ने?” जगन्नाथले जिज्ञासु हुँदै प्रश्न गरे।
पण्डितले लाज पचाउदै हाँस्दै भने, “हिजो सपनामा स्वर्गका बासँग कुरा भएको थियो। स्वर्गको जनसंख्या निकै बढेको रहेछ। अब त्यहाँ बस्नका लागि नयाँ घर चाहिन्छ। यसपालि घर दान गर।”
जगन्नाथले पिता खुसी होलान् भन्ने सोच्दै घर पनि दान गरे। पण्डित खुसी हुँदै घरतिर लागे। धनसराको मन खिन्न भयो, उनले लोग्नेसँग केही बोल्न आँट गरिनन्।
पत्तै नपाई एक वर्ष बितिसकेको थियो। फेरि पण्डितको फोन आयो। उनले भने, “भाद्रपञ्चमीको दिन बिहान ९ बजे श्राद्ध सुरु गर्नु पर्छ। म समयमा आइपुग्छु। मुख्य दानको तयारी पनि गर्नु।”
जगन्नाथले सोधे, “यसपटक के दान गर्नु पर्ला पण्डितजी?”
पण्डितले गम्भीर भएर भने, “स्वर्गसँग नियमित सम्पर्क राख्नुपर्छ। यसपटक दुईवटा आइफोन भए हुन्छ-एक बाको लागि र अर्को मेरो लागि।”
धनसराले यो कुराकानी सुनिरहेकी थिइन्। उनले आश्चर्यजनक स्वरमा भनिन्, “अब त अति भो, तपाईंले पण्डितलाई घरमै पालेर स्वर्गका कुरा गरिरहनुहोला। म त माईत जान्छु!”
जगन्नाथले यो घुर्की ठाने। तर, जब धनसराले कपडा पोको पार्न थालिन्, उनी झस्किए।
“तिमी के गर्दैछ्यौ?” जगन्नाथले सोधे।
धनसराले दृढतापूर्वक भनिन्, “पण्डितको यो ठगी सहने मेरो धैर्य सकियो। अब म कि माइती जान्छु कि समाजका अगुवाहरूलाई बोलाउँछु र यसबारे छलफल गर्नेछु।”
धनसराले समाजका शिक्षक, बुद्धिजीवी र अगुवाहरूलाई बोलाइन्। सल्लाहपछि पण्डितलाई भेट्नको लागि सबै तयार भए।
पण्डित बिहानै जगन्नाथको घर आए। तर, वरिपरि ठूलो भीड देखेर उनी छक्क परे। धनसराले प्रश्नको वर्षा गरिन्,
“पण्डितबा, तपाईंले हालसम्म कति जना स्वर्ग पठाउनुभयो? स्वर्गको जनसंख्या कति छ? के तपाईंको यो काम कानुनी छ? कहिलेसम्म सिधा-सोझा मानिसलाई ठगिरहनुहुन्छ?”
बिचैमा प्याच्च सन्तवीरले थपे, “पण्डितजी यदि तपाईं साँच्चै स्वर्गमा डेलिभरी गर्न सक्नुहुन्छ भने, म पनि तपाईंको सहायक भएर जान तयार छु। के तपाईंले मलाई लैजान सक्नुहुन्छ?”
पण्डित एकछिन बिलाखबन्धनमा परे। उनलाई भित्रभित्रै ठूलै आत्मग्लानी भयो र धेरैबेर सोचेर गल्ती स्वीकार गर्न थाले।
अन्ततः पण्डितले गम्भीर तर नम्र आवाजमा भने, “तपाईंहरूको प्रश्नले मेरो आँखा खोलिदियो। अब म सबै ठगीका सामग्री फिर्ता गर्छु। म भित्रको लोभ र लालचलाई आजैदेखि त्याग्छु। तपाईंहरूको अभियानमा म पनि सहयोगी बन्नेछु।”
धनसराको विद्रोह र समाजको समर्थनले लोभी पण्डितको छलकपटको अन्त्य गर्यो। त्यस दिनदेखि, पण्डितले लोभको बाटो त्यागेर सत्य र इमानदारीको बाटो समाते।
०००
~समाप्त~



